‘मेरी बास्सै’का काजीबा सिड्नी सयरमा

‘मेरी बास्सै’का काजीबा सिड्नी सयरमा


  • राजन घिमिरे, अष्ट्रेलिया

उनको कलाकारिताको यात्राबारे कुरा गर्ने हो भने उनी एक इतिहास नै हुन् भन्दा अतिरञ्जना ठहरिँदैन। चार दशक अर्थात निरन्तर ४० वर्षदेखि अभिनय यात्रालाई कायम राख्नु भनेको भनेको चानेचुने लगन, लगाव र धैर्यताको कुरा होइन । कलाकारिताप्रतिको उनको यही लगाव वा मोहले आज दर्शकहरू माझ रामचन्द्र अधिकारीको आफ्नै विशिष्ट पहिचान बनेको छ ।

नेपाल टेलिभिजनको पहिलो टेलिचलचित्र पृथ्वीनारायण शाहका कलाकार हुन् अधिकारी । कृष्ण मल्लको निर्देशन रहेको उक्त टेलिचलचित्रमार्फत टेलिभिजनको यात्रा शुरू भएको थियो उनको । ०३६ सालबाट रंगमन्चमा अभिनय गरेपछि कलाकारितामा लागिपरेका अधिकारीले अभिनय गरेको पहिलो चलचित्र भने बासुदेव हो । यो चलचित्रमा नीर शाहको निर्देशन रहेको थियो ।

तीन दर्जन टेलिचलचित्र र ४० भन्दा बढी ठुलो पर्दाको चलचित्रमा काम गरेका शालिन स्वभावका रामचन्द्रलाई पछिल्लो पटक भने बहुचर्चित हास्य टेलिचलचित्र मेरी बास्सैले काजीबाको रूपमा दर्शकमाझ चिनाएको छ ।

मेरी बास्सैका यिनै काजीबा अर्थात रामचन्द्र अधिकारी धर्मपत्नीका साथ यतिबेला आइपुगेका छन् अष्ट्रेलियाको सिड्नीमा ।

सिड्नीमा उनका छोरा-बुहारी, नाती र ज्वाइँ-छोरी बस्छन् भने एक छोरा अमेरिकामा छन् । गत वर्ष अमेरिका पुगेका अधिकारीको अष्ट्रेलिया यात्रा चाहिँ पहिलोपटक हो ।

‘बाक्लिँदै गरेको नेपालीहरूको समूह र यहाँको निती नियम मन पर्यो । नेपालजस्तै यहाँ रहनुभएका नेपालीहरूको माया र मप्रतिको चासोले साँच्चै मन फुरुङ्ग भएर आएको छ’, अधिकारीले भने ।

सजिव अभिनयका लागि माहिर मानिनुहुने अधिकारी ढुक्कैले एक वर्ष अष्ट्रेलिया बस्ने योजना लिएर आएका छन् । ‘अष्ट्रेलियामा रहेका परिवारलाई नभेटेको दुई वर्ष भएछ । न्यास्रो मेटाउन पनि एक वर्ष त पूरै बस्नै पर्छ । मेरी बास्सैमा पनि एक वर्षपछि आउँछु भनेर सिररियलको कथा मिलाएर आएको छु । सिरियलका केही अंश यताबाटै खिचेर पठाउने योजना पनि बनाएको छु, हैरौँ के हुन्छ’, उनले प्रष्ट्याए ।

अष्ट्रेलियामा नेपाली चलचित्रहरूको प्रदर्शन र कार्यक्रमहरूको आयोजना धेरै हुने गरेको उनले पनि सुनेका रहेछन् । यसले अधिकारीलाई खुशी तुल्याएको छ ।

‘प्रवासमा यसरी नेपाली कला र संस्कृतिप्रति चासो बढ्नु राम्रो कुरा हो । हामीजस्ता कलाकारलाई जहाँ रहेपनि नेपालीहरूले मनपराउनुभएको छ । यो हाम्रो लागि गौरवको कुरा हो’, अधिकारीले थपे ।