डायस्पोरामा नेपाली संस्कृति र हाम्रो पत्रकारिता !

डायस्पोरामा नेपाली संस्कृति र हाम्रो पत्रकारिता !


  • डिल्लीराम अम्माई, बेल्जियम

पछि पारिएको तर व्यापक बहस चलाउनुपर्ने आधुनिक नेपाली संस्कृतिबारेको बहस अहिले निष्क्रिय बन्दै गएको छ । न त्यो बहस नेपालका बुद्धिजीवी वा पत्रकार वर्गले चलाउने प्रयत्न गरेका छन् न त झन्डै बाह्र लाखको हाराहारीमा डायस्पोराको मञ्च सम्हालिरहेका एनआरएनएहरूले नै यो बहसको थालनी गरेका छन् ।

प्रवासको नयाँ पुस्ताको अबको संस्कृति र पश्चिमा ज्ञानबारे धारणा के त ? यो सार्थक बहस अब नचलाइरहने अवस्था छैन । उनीहरूलाई हाम्रो पूर्वीय दर्शन र कलाबारे एउटा दृष्टिकोण हस्तान्तरण गर्नु पुरानो पुस्ता मात्र नभएर पत्रकारहरूको समेत दायित्व हो । त्यसैले यो लेखमा पश्चिमा ज्ञानलाई हाम्रो मौलिक कलासँग कसरी जोड्ने भन्नेबारे तर्कहरू राख्न खोजिएको छ ।

आमअर्थमा प्रवासमा हामीले सिक्नुको अर्थ सिकेका सम्पूर्ण कुराको आयात होइन । हामीले सिकेका सम्पूर्ण कुरालाई आलोचनात्मक रूपमा ग्रहण गर्नुपर्छ भन्ने हो । हामीले हाम्रो पहिचानको रक्षार्थ र समाजको हित हुने क्रममा जसरी प्राचीनबाट सिक्दछौँ त्यस्तै विदेश वा पश्चिमी सभ्यताबाट पनि सिक्न कन्जुस्याइँ गर्नुहुँदैन । तलका तर्कहरू यही कुराको वरिपरि छन् ।

हामीले विदेशी राष्ट्र वा आफू बसेको देशबाट राम्रा कुराहरू सिक्नैपर्दछ र हाम्रो इतिहासको विकासक्रमबाट पनि राम्रा कुराहरू सिक्नुपर्दछ । भाँडोमा नभरी राखेको अमिलोमा ढुसी लाग्छ । आधी बोतल अमिलोलाई हामीले पूरा भरेर राख्यौँ भने वर्षौँ केही हुँदैन । हामीले दुवैतर्फको आधी–आधीलाई पूर्ण बनाउने प्रयास गर्नैपर्छ । हामी नेपाली र पश्चिमा दुवै कुरामा निपुण भयौँ भने तिनलाई मिलाएर एउटा हाम्रा मौलिक विशेषतासहितको मौलिक वस्तुमा बदल्न सक्छौँ ।

बीपी र मदन भण्डारीले त्यो प्रयत्न गर्नुभयो राजनीतिक परिप्रेक्षमा । त्यो सिद्धान्तको मौलिकतासहित हामीलाई शिक्षा दिने प्रयत्न पनि गर्नुभयो । उहाँहरू नेपाली र पश्चिमा दुवै सभ्यताको अध्ययनमा निपुण हुनुहुन्थ्यो । उहाँहरूको त्यो निपुणता दर्शनको व्याख्या, साहित्य र व्यवहारमा प्रस्ट देखिन्थ्यो । उहाँहरूका दार्शनिक व्याख्या न त विदेशी रचनासँग ठ्याक्कै मिल्ने खालका छन्, न त पुराना शैलीका नेपाली राजनेताहरूका जस्ता छन् । हामीले उहाँहरूको स्पिरिटको मिहिन अध्ययन गरेजस्तो लाग्दैन । हामीले बीपी र मदन भण्डारीको यो स्पिरिटलाई मिहिन तरिकाले अध्ययन गर्नैपर्छ ।

नेपाली तथा पश्चिमा दुवै सभ्यता र राजनीतिक विकासक्रमको अध्ययनमा निपुण हुनुपर्छ, नेपाली र विदेशी कलाका राम्रा पक्षहरूलाई लिन कन्जुस्याइँ गर्नुहुँदैन । तिनलाई एक ठाउँमा गालेर एउटा नयाँ कलाको रचना गर्नुपर्छ । जुन हाम्रो राष्ट्रिय पहिचानले युक्त हुन्छ । नयाँ पुस्तालाई सुहाउँदो हुन्छ त्यो नयाँ संस्कृति । जुन हामीले चाहेका छैनौँ, तर युरोपियनहरूले संस्कृतिहरूको अन्तरघुलन र रूपान्तरण चाहेका छन् ।

हामी केही यस्तो चिज निर्माण गर्न सक्दछौँ जो न नेपाली हो न त पश्चिमा । त्यस्तो चिज खच्चडकै रूपमा भए पनि नराम्रो हुँदैन । दुई चिज जोडिएर बनेको तेस्रो वस्तु फरक हुनु स्वाभाविक नै हो । बीपी र मदनले त्यही गर्ने प्रयास गरे ।

निश्चय पनि नेपाली र पश्चिमा चिजको यस्तो सफल संयोजन सजिलो छैन । यो प्रक्रियाले गालिन समय लिन्छ । केही यस्ता चिजहरू छन् जसमा विदेशी चिजहरू मिलाउन सकिन्छ । उदाहरणको लागि साहित्यमा भाषा, चरित्र तथा पृष्ठभूमि नेपाली हुनैपर्छ । तर, ती नेपाली किस्ताबन्दी संरचनामै आउनुपर्छ भन्ने छैन । हामीले केही यस्तो चिज निर्माण गर्न सक्दछौँ जुन न नेपाली हो न त पश्चिमा । त्यस्तो चिज खच्चडकै रूपमा भए पनि नराम्रो हुँदैन । दुई चिज जोडिएर बनेको तेस्रो वस्तु फरक हुनु स्वाभाविक नै हो । बीपी र मदनले त्यही गर्ने प्रयास गरे, बुझ्नेले कसरी बुझे थाहा भएन ।

जब कुनै दुई चिज जोडिन्छ, तिनको रूप पनि फेरिन्छ । राजनीतिक, आर्थिक र सांस्कृतिक रूपले नेपालको अनुहारमा ठूलो परिवर्तन हुँदै छ, तर कसरी त्यस्तो परिवर्तन हुँदै छ बुझेकै छैनौँ । नेपाली चिजको अहिले पनि आफ्नै सांस्कृतिक विशेषता रहेको छ । विदेशी चिजहरू पनि निरन्तर परिवर्तनशील छन् । पछिल्लो आन्दोलनपछि नेपालको परिवेशमा विदेशी प्रभावसहितको आधारभूत परिवर्तन आयो । संविधानसभाको चुनाव र अहिलेको स्थानीय चुनावपछि यो नितान्त नयाँ दिशामा रूपान्तरित हुँदै छ । यो पश्चिमा, भारतीय र आफ्नो मौलिक राजनीतिक तत्वहरूको सम्मिश्रणसहित नयाँ दिशामा विकसित हुँदै छ । हामीले जे–जस्तो रूपमा बुझे पनि सत्य यही हो । यसको सही समायोजन गर्न सकिएन भने डायस्पोरामा हाम्रो संस्कृति डुब्छ । यसलाई रूपान्तरित रूपमा बचाउन सञ्चारकर्मीले अहम् भूमिका खेल्नु जरुरी छ ।

दोस्रो विश्वयुद्धपछिका राजनीतिक परिदृश्य अनौठो लागेझैँ नेपालीको लागि यो नयाँ प्रयोग पनि अनौठो लाग्नु अस्वाभाविक होइन । अब हाम्रो ध्यान बीपीले भनेझैँ दुई ध्रुवीय विश्व दृष्टिकोणको अन्तरघुलन प्रजातान्त्रिक समाजवाद वा मदन भण्डारीले भनेझैँ दुई विश्व दृष्टिकोणको अन्तरघुलन बहुदलीय जनवाद तथा त्यो अनुकूलको सांस्कृतिक निर्माणतर्फ मुलुक घिस्रिँदै अघि बढेको अवस्थालाई अस्वीकार गर्न सकिन्न । संस्कृति पनि बहुदेशी सामाजिक तन्तुहरूको आलोचनात्मक ग्रहणमा र खास गरेर समाजवादी समाजका अणुहरूलाई पुँजीवादी संसारका प्रगतिशील आवाजहरूमा मिलाइएर बनाएको कक्टेल झोल हो, जुन नेपाली मौलिकतामा निहित हुनुपर्छ त्यो युरोपको दोस्रो पिँढीसम्म हामीले पुऱ्याउन जरुरी छ ।

यो कुरालाई बुझ्न मिहिन अध्ययनको जरुरी अवश्य हुन्छ । बाहिरबाट हेर्दा संसारका सबै देशहरूको कला र राजनीतिक आधारभूत सिद्धान्तहरू समान हुन्छन् । तर, रूप र शैलीगत भिन्नता अवश्यम्भावी छ । विभिन्न पश्चिमा समाजवादी देशहरूका प्रत्येक कलासँग समाजवादी अन्तर्वस्तु छ । तर, नर्वे, फिनल्यान्ड, डेनमार्क, बेल्जियम, जर्मनी आदिसँग आफ्नो मौलिक राष्ट्रिय चरित्र भिन्नभिन्न छ । तिनीहरूबीच समानता र भिन्नता दुवै छ, साझा गुण र निजी विशेषताहरू दुवै विद्यमान छन् । मेरो बुझाइमा यो एउटा स्वाभाविक नियम हो । सबै चिजहरू चाहे ती प्रकृतिसँग सम्बन्धित हुन्, चाहे समाज वा ज्ञानको क्षेत्रसँग सम्बन्धित हुन्, यस्तै हुन्छन् । एउटै तलाउमा फुलेका कमलका फूलहरूलाई लिऊँ । पहिलो हेराइमा ती समान देखिन्छन्, तर जब हामीले गहिरिएर निरीक्षण गर्न थाल्छौँ, प्रत्येक अर्कोसँग फरक देखिन्छ । दुईवटा उस्तै नितान्त समान फूलहरू खोज्नु असम्भब छ ।

संघर्ष, क्रान्ति, रूपान्तरण आदि सबैको लगभग एउटै आधारभूत सिद्धान्त हुन्छ । तर, जतिबेला केही सम्भाव्यता र प्रधान सिद्धान्तहरूमाथि आधारित भएर प्रयोगको कुरा आउँछ, त्यतिबेला प्रत्येक राष्ट्रमा भिन्नता दृष्टिगोचर हुन्छ । भारतीय स्वतन्त्रता सङ्ग्राम, फ्रान्सको राज्यक्रान्ति, चिनियाँ क्रान्ति, २०४६ को नेपाली जनआन्दोलन र ०६२/६३ को जनआन्दोलनलाई लिऊँ, आधारभूत रूपमा यी सबै क्रान्ति समान छन्, तर तिनको रूपका सन्दर्भमा, जसमा ती सिद्धान्त प्रयोग भए, यी सबै क्रान्तिका थुप्रै भिन्नता छन् । उदाहरणका लागि भारतमा भएको औपनिवेशिकताविरुद्धको आन्दोलन र नेपालमा भएका सबै आन्दोलन स्वाधीनता र प्रजातन्त्र प्राप्तिका आन्दोलन हुन् । तर, यी आन्दोलन सारमा प्रजातन्त्र प्राप्ति वा स्वाधीनताका लागि भए पनि रूपमा अत्यधिक भिन्नता पनि छन् ।

शुद्ध हिन्दी बुझ्नेले सहरिया मिसावट हिन्दी बुझ्दैन । शुद्ध बोल्ने अहिले नेपाल र अन्य देशमा समेत गवाँर ठहरिँदै छ ।

उदाहरणको लागि ०४६ को आन्दोलन शहरकेन्द्रित आन्दोलन थियो भने ०६२–६३ को आन्दोलन राजतन्त्रविरुद्धको गाउँबाट शुरु भएको सशस्त्र विद्रोहको निष्कर्ष थियो । यो जनयुद्धको स्थगन सम्झौताबाट गरिएको मौलिक तथा अनौठो राजनीतिक व्यवस्थापन थियो । त्यस्तै भारतीय स्वतन्त्रता सङ्ग्राम साम्राज्यवादी औपनिवेशिकताविरुद्धको विद्रोह थियो । यी सबै सङ्घर्षपछि संस्कृतिमा पनि भिन्नता आयो, जुन हामीले शुरुमा देख्न सकेनौँ । तर, अहिले भाषागत रूपमा समेत असर गर्नेगरी अभ्यासरत हुँदै गएको छ । चेतनालाई समेत एकखालले असर पारेको छ । सोचाइमा उस्तै प्रभाव देखिन थालेको छ । शुद्ध हिन्दी बुझ्नेले सहरिया मिसावट हिन्दी बुझ्दैन । शुद्ध बोल्ने अहिले नेपाल र अन्य देशमा समेत गवाँर ठहरिँदै छ । हामी पत्रकारहरू पनि त्यसैमा बहकिएका छौँ ।

संसारभरि रहेका समुदायबीच कलाको आफ्नै विशिष्ट राष्ट्रिय रूप र राष्ट्रिय शैली हुन्छ । सबैले यो कुरा बुझ्दैनन् । अझ प्रवासमा रहेकाहरूले यो कुरा बुझ्न झन् मुस्किल हुन्छ । उनीहरू आफ्ना राष्ट्रिय विशेषताहरूको उपेक्षा गर्छन् र अन्धतापूर्वक पश्चिमाहरूको पूजा गर्छन् र के सोच्छन् भने हरेक सन्दर्भमा पश्चिमी सभ्यता नै उत्कृष्ट छ । उनीहरू पूर्ण पश्चिमीकरणको वकालत गर्दै निकै अगाडिसम्म पुग्दछन् । यो गलत हो । पूर्ण पश्चिमीकरण अव्यावहारिक छ र यसलाई नेपाली जनसाधारणले स्वीकार गर्दैन । यो हाम्रो दोस्रो पुस्तालाई बुझाउन सकेका छैनौँ किनकि हामी पनि बहकिएका छौँ ।

फरक सन्दर्भमा भन्दा, कला र प्राकृतिक विज्ञान यस सन्दर्भमा फरक हुन्छन् । औषधि विज्ञानको कुनै राष्ट्रिय रूप हुँदैन, तर कलामा राष्ट्रिय प्रश्न अगाडि आउँछ । यसको मुख्य कारण के हो भने कला भनेको जनताको जीवन, विचार र आवेगको प्रस्तुति हो र यसले राष्ट्रिय परम्परा र भाषासँग अत्यन्त निकट सम्बन्ध राखेको हुन्छ । ऐतिहासिक रूपमा कलात्मक सम्पदा सांस्कृतिक ढाँचाकै बीचबाट विकसित हुन्छ । सत्य यही हो ।

नेपाली कला, संगीत, पेन्टिङ, नाटक, गीत र नृत्य तथा साहित्य प्रत्येकका आफ्नै ऐतिहासिक विकासक्रम छन् । नबुझ्नेहरूले के भन्छन् भने नेपाली मूल्यको कुनै नियम छैन र ती अध्ययनयोग्य अथवा विकासप्रेमी लाग्दैनन् । यसले वस्तुतः नेपाली कलामा एउटा राष्ट्रिय शून्यवादको प्रवृत्तिलाई प्रश्रय दिइरहेको छ । त्यो शून्यतालाई झाँक्ने काम पत्रकारहरूको हो कि होइन ?

संसारमा प्रत्येक राष्ट्रको आफ्नो इतिहास हुन्छ र त्यसका आफ्ना सबलता र दुर्बलता पनि हुन्छन् । आरम्भदेखि नै उत्कृष्ट र निकृष्ट चिज लामो समयसम्म परस्पर एकै ठाउँमा मिसिँदै आएका छन् । तिनलाई छुट्याउनु र निकृष्ट चिजको थुप्रोबाट असललाई अलग्याउनु अत्यन्त गाह्रो काम हो । तर, यो कठिनाइका कारण हामी इतिहासलाई नकार्ने वा उपेक्षा गर्न सक्दैनौँ ।आफूलाई इतिहासबाट अलग्याउनु र आफ्नो सम्पदाको परित्याग गर्नु राम्रो होइन । यो कुरा तर्कसंगत रूपमा लेखक वा पत्रकारले राख्नुपर्छ र बहस चलाउनुपर्छ ।

हामी कि त पूरै सकारात्मक छौँ कि पूरै नकारात्मक । आलोचनात्मक हुनुपर्ने हो त्यो हुन सकिरहेका छैनौँ । हामीले विदेशमा आर्जन गरेको ज्ञानलाई आफ्नै सांस्कृतिक विशेषता र सभ्यताको मर्मतमा प्रयोग गर्न सक्यौँ भने हाम्रो कला र संस्कृतिको भविष्य उज्ज्वल हुनेछ ।

निश्चय पनि यसको अर्थ यो होइन कि हामीलाई आफू रहेको प्रवासबाट सिक्ने आवश्यकता छैन । हामीले प्रवासबाट धेरै कुरा सिक्नैपर्छ । हामीले आधारभूत कुराहरूमा निपुणता हासिल गर्नैपर्छ । हामी विदेशी कुराहरू सिक्छौँ किनभने हामी नेपाली समाजको मौलिक मूल्य-मान्यतासहित विकास गर्न चाहन्छौँ स्वदेशमा र प्रवासमा पनि । यस परिप्रेक्ष्यमा प्राकृतिक र सामाजिक विज्ञान समान छन् । हामीले अन्तबाट सबै राम्रा कुराहरूमा निपुणता हासिल गर्नैपर्छ र त्यसपछि त्यसलाई प्रयोगमा ल्याउनुपर्छ । त्यस प्रक्रियामा त्यसलाई विकसित गर्नैपर्ने हुन्छ । नेपाली मौलिकतालाई छुट्याउन विदेशबाट प्राप्त आधुनिक ज्ञान र पद्धतिको प्रयोग आवश्यक छ । जीवविज्ञान, रसायन विज्ञानलगायत भौतिक विज्ञान र चिकित्सा विज्ञानलाई नै लिऊँ । यी सबै हरेक मुलुकमा आवश्यक छन् । त्यस्तै, हाम्रो मौलिक आयुर्वेदिक चिकित्सा पद्धतिसँग पश्चिमा पद्धतिलाई जोडियो भने त्यो झन् आफ्ना विशेषतासहितको नयाँ र विकसित पद्धति बन्न सक्छ ।

यदि यस्तो प्रयोग प्राकृतिक र सामाजिक विज्ञानमा सम्भव छ भने कलामा यो झन् उपयुक्त मानिन्छ । तर, जतिबेला हामीले सिकिरहेका हुन्छौँ, हामीले त्यसलाई नेपाली कलाको विकास र अध्ययनका लागि प्रयोग गर्नुपर्ने हुन्छ । अन्यथा ती हितकारी हुँदैन । अरूको कला अनुशरण गर्दा नेपाली जनसमुदायको सांस्कृतिक कलाको लागि हुनुपर्छ जसको एउटा आफ्नै पृथक राष्ट्रिय रूप र शैली छ ।

हामीले यो कुरा स्वीकार गर्नुपर्दछ कि आधुनिक संस्कृतिको परिप्रेक्ष्यमा हामी पश्चिमाभन्दा पछि छौँ, हामी पछाडि पारिएका छौँ । के कलाको सन्दर्भमा पनि यही स्थिति हो त ? कलाका क्षेत्रमा हाम्रा सबलाताहरू पनि उत्तिकै छन् । हामीले आफ्ना कमजोरी हटाउने अथवा सच्याउने क्रममा विदेशी राष्ट्रहरूबाट राम्रा कुराहरू ग्रहण गर्ने कुराहरूमा सकारात्मक हुनुपर्छ । यदि हामी हाम्रा पुरानै तरिकामा टाँस्सिइरहन्छौँ र विदेशी साहित्य अध्ययन गर्दैनौँ, त्यसलाई नेपालमा चिनाउँदैनौँ, यदि हामी विदेशी संगीतलाई कसरी सिक्ने र कसरी बजाउने भन्ने कुरा जान्दैनौँ भने त्यो राम्रो होइन । हामी आफ्नोबाहेक सबै खराब भन्ने कठमुल्लावादी पनि हुनुहँुदैन ।

तर, प्रवासको नेपाली पुस्तालाई यो सबको ज्ञान छैन । उनीहरूले यताका सबै राम्रा र नेपालका सबै खराब भन्ने कुरामा विश्वस्त हुन थालेको आभास पाइन्छ । त्यो पछिको लागि खराब मात्र होइन अनिष्टकारी पनि छ ।

हामीले डायस्पोरामा जन्मे–हुर्केका नयाँ पुस्तालाई यो बुझाउन सक्नुपर्छ कि कलामा स्वतन्त्र सिर्जनात्मक गुणहरू हुन्छन् । यो युगको चरित्र, साथै राष्ट्रिय चरित्रले विशिष्ट रूपबाट भरिएको हुन्छ । नेपाली कलाले बढीभन्दा बढी विगतलाई पनि हेर्नु हुँदैन न त ज्यादाभन्दा ज्यादा पश्चिमीकरण नै हुनुपर्छ । यसले व्यापक रूपमा युग र राष्ट्रका विशेषताहरूलाई प्रतिनिधित्व गर्नुपर्छ ।

यो सबै कुरा हामी प्रवासबाट मुलुकप्रतिको आफ्नो दृष्टिकोणको लागि हो । हामी कि त पूरै सकारात्मक छौँ कि पूरै नकारात्मक । हामी आलोचनात्मक हुनुपर्ने हो त्यो हुन सकिरहेका छैनौँ । हामीले आफ्नै सांस्कृतिक विशेषता र सभ्यताको मर्मत गर्नमा विदेशमा आर्जन गरेको ज्ञानलाई प्रयोग गर्न सक्यौँ भने हाम्रो कला र संस्कृतिको भविष्य उज्ज्वल हुनेछ । जुन कुरा हामीले प्रवासमा भएको नयाँ पुस्तालाई बुझाउन सक्छौँ कि सक्दैनौँ हाम्रो सांस्कृतिक विरासतको महत्व र विकासलाई त्यसले धेरथोर प्रभाव पार्नेछ । पत्रकार वा लेखकले अब डायस्पोराको नेपाली समाजमा यो बहस चलाउन ढिला गर्नुहुँदैन ।