कपाल झरिरहेको छ ? बदल्नुस् डाइट

कपाल झरिरहेको छ ? बदल्नुस् डाइट


सौन्दर्यको एक महत्वपूर्ण कडी हो शिरको कपाल । यस्तो महत्वपूर्ण कुराको बचावट कसरी गर्ने भन्ने सवाल सौन्दर्य–चेत भएका हरेकको मनमा पैदा भइरहन्छ । यस सवालसँगै कपाल झर्ने समस्याबाट कसरी बच्ने भन्ने कुरा पनि चासोको विषय बन्न पुग्छ ।

कपाल झर्नुको मुख्य दुई कारण छ– कपालको सही किसिमबाट हेरचाह नगर्नु र शरीरमा पोषक तत्वको कमी हुनु । यदि तपाईंले आफ्नो कपालको खास हेरचाह गरिरहनुभएको छ र पनि झरिरहेको छ भने शरीरमा पोषक तत्वको कमी हुनु नै यसको कारण हुन सक्छ । आजभोलि मानिसको खानपान र जीवनशैलीमा निकै परिवर्तन आएको छ, जसका कारण कपालको पोषण तथा विकासका लागि पर्याप्त भिटामिन्स र प्रोटिन्स शरीरलाई मिल्न सकिरहेको हुँदैन । यही कारणले आजका नयाँ पिँढीमा कम उमेरमै कपाल झर्ने समस्या मौलाएर आएको छ । कपाल झर्नुबाट रोक्नको लागि डाइट वा खानपानमा उचित परिवर्तन गर्नैपर्ने हुन्छ । साथै, सुन्दर, स्वस्थ र बलियो कपालको निम्ति कुन–कुन आहार लाभकारी हुन्छ भन्ने जान्नु आवश्यक छ ।

दलहन (दाल) :

गेडागुडी अनाजमा जिङ्क, भिटामिन बी, आइरनजस्ता पोषकतत्व पाइन्छ, जो कपालको निम्ति अत्यन्त महत्वपूर्ण छ । जिङ्कले शरीरमा त्यस्तो हार्मोन सञ्चालन गर्छ जसले कपाललाई बलियो, मोटो र लामो तुल्याउँछ । यदि तपाईंले नियमित रूपमा जिङ्कयुक्त आहार लिइरहनुभएको छ भने कपाल मजबुत भई झर्ने समस्या अन्त्य नै हुन पुग्छ । हाम्रो स्केल्पमा तेल ग्रन्थी हुन्छन् जसले चिल्लो पदार्थ उत्पन्न गर्ने काम गर्छ । यसको कमी भएमा स्केल्पमा सुक्खापन सिर्जना भई कपाल झर्न शुरु गर्छ । आफ्नो कपालललाई पर्याप्त मात्रामा जिङ्क उपलब्ध गराउनका लागि पर्याप्त मात्रामा दाल सेवन गर्नुपर्छ ।

हरियो तरकारी र फलफूल :

कपाललगायत शरीरका सबै अङ्गमा पर्याप्त मात्रामा अक्सिजन एवम् रगत आपूर्ति गर्नका लागि हेमोग्लोबिन आवश्यक पर्छ । कपरले पर्याप्त हेमोग्लोबिन बनाउन मद्दत गर्छ । यसको कमी भएमा कपाल कमजोर भई झर्न थाल्छ । हरियो पातवाला तरकारीमा आइरन, कपर, कैयन एन्टिअक्सिडेन्टस् तथा भिटामिन बी, सी, ई पाइन्छ । साथै यसमा पोटासियम, ओमेगा–३ र क्याल्सियम पनि हुन्छ । यी सबले कपाल झर्नबाट रोक्ने काम गर्छ । दिनहुँ एउटा केरा खाने गरे कपाल बलियो हुन पुग्छ । किनकि, यसमा सुगर, फाइबर, थाइमिन, नियासिन तथा फोलिक एसिडको रूपमा भिटामिन ए र बी पर्याप्त पाइन्छ ।

गाजर र चुकन्दर :

गाजर कपालको निम्ति अत्यन्त लाभकारी हुन्छ । यसले कपाललाई भिटा क्यारोलिन र भिटामिन ए प्रदान गर्छ । गाजर खानाले शिरमा सिबम उत्पन्न हुन गई कपाललाई बढाउँछ । यस्तै, चुकन्दर पनि कपालको निम्ति अत्यन्त फाइदाजनक हुन्छ । चुकन्दरमा आइरन र जिङ्क दुवै प्रचुर मात्रामा पाइन्छ । वैज्ञानिक शोधका अनुसार चुकन्दरमा सबभन्दा ज्यादा एन्टिअक्सिडेन्ट्स पाइन्छ । यसर्थ स्वस्थ कपाल चाहनेले यसलाई भरपूर सेवन गर्दा हुन्छ ।

भिटामिन ‘सी’ र कपालको सम्बन्ध :

भिटामिन सीको कमी भएमा कपालले हाँगा हाल्ने, झर्ने क्रम शुरु हुन्छ । तसर्थ आफ्नो खानामा सुन्तला, कागती, जामुन, तरबुजो, टमाटरजस्ता फलफूल समावेश गर्नुपर्छ । धूम्रपान गर्ने व्यक्तिको हकमा झन् बढी भिटामिन सी आवश्यक पर्छ । त्यसैले धूम्रपान छोडेर अधिकभन्दा अधिक फलफूल खाँदा कपाललाई स्वस्थ र बलियो तुल्याउँछ ।

प्रोटिनयुक्त खाना र कपाल :

प्रोटिनले झरेको कपालको स्थानमा नयाँ कपाल उमार्न सहयोग गर्छ । प्रोटिनको कमीले कपाल पातलो, सुक्खा र कमजोर भई झर्न थाल्छ । काजु, बदाम, अन्नहरू, दूध, पनीर, माछा, अण्डा, चिकन आदि खाद्यपदार्थले पर्याप्त प्रोटिन प्रदान गर्छ ।

कपालसँग भिटामिन ‘ए’को सम्बन्ध :

यदि कपाल छिटो–छिटो गरी झरिरहेको छ भने दुग्ध–उत्पादनहरूमा जोड दिन ढिलो गर्नुहुँदैन । मूलतः प्रोटिनबाट नै कपाल बनेको हुन्छ र डेरी–प्रोडक्टमा प्रोटिन पर्याप्त पाइन्छ । दूधमा कार्बोहाइड्रेट्स, भिटामिन्स, मिनरल्स हुन्छन् जो कपाल उमार्न जरुरी हुन्छ ।

उल्लिखित खानपानले असामयिक रूपमा कपाल झर्ने समस्याबाट छुटकारा दिलाउँछ, यसलाई जीवनमा प्रयोग गरेर अनुभूत गर्न सकिन्छ ।