न्युयोर्कमा दौरासुरुवालसँगको जम्काभेट

न्युयोर्कमा दौरासुरुवालसँगको जम्काभेट


  • बबिता बस्नेत

०७५ फागुन १२ गते शनिबार न्युयोर्कको भिडभाडयुक्त ट्रेन स्टेसनमा साठी आसपासका लाग्ने एक व्यक्ति दौरासुरुवालमा ठाँटिएर ट्रेन कुरिरहेका थिए । खल्तीमा राखेको उनको मोबाइल बाहिर प्रस्ट देखिएकाले कसैले फुत्त तानेर लगिदेला कि जस्तो लागेर उनलाई हेर्दै भनेँ, ‘मोबाइल अलि भित्र राख्नुस् न, बाहिरै देखिइरहेको छ ।’ उनले मोबाइल मिलाउँदै गर्दा साथमा रहेकी उनकी छोरीले ल…म त हजुर हो कि जस्तो लागिराथ्यो, आवाजले चिनेँ भनिन् । उनी मेरो ठूलो भाइ सबिनकी साथी र बैनी अञ्जना शाह रावलकी भाउजू पर्दिरहिछन्, दुर्गा निरौला, न्युयोर्कमा नर्सिङ पेसामा सम्बद्ध ।

‘बुबाले दौरासुरुवाल लगाउनुभएकाले नेपाली भनेर चिन्न सजिलो भयो, नत्र यति ठूलो सहरको अन्डरग्राउन्ड ट्रेन स्टेसनमा को कसरी हिँडिरहेको छ के मतलब हुन्छ र ?’ मैले भनेँ ।

बुबा बाहिर हिँड्दा प्रायः दौरासुरुवाल नै लाउनुहुन्छ, भनिन् उनले । न्युयोर्कको कुनै अस्पतालमा बिरामी आफन्तलाई भेट्न बाबुछोरी हिँडेका रहेछन् ।

ट्रेनभित्र पसेपछि मंगोलियन अनुहारका दुई युवाहरूमध्ये एकले आफू बसेको सिट छोड्दै बस्नुस् न भन्ने इशारा गरे । ‘सिनियर सिटिजन’जस्तो लाग्ने व्यक्तिलाई मानिसहरूले आफू बसिरहेको सिट छोडिदिनु विदेशमा सामान्यझैँ हुन्छ, खासै वास्ता गरिएन । हिँड्दै जाँदा दुईमध्येका एकले नेपालीमा ‘तपाईंलाई राम्रो सुहाएको छ’ भने । बोलीको लवज सुन्दा दार्जिलिङ/सिक्किमतिरका नेपालीजस्तो लाग्यो । बाबुछोरी ट्रेनबाट ओर्लिएपछि उनीहरूले ‘यस्तो जाडोमा बूढा दौरासुरुवाल दिएर हिँडिराछन्, तर राम्रो देखिएको छ’ भने ।

मैले नेपालको राष्ट्रिय पोसाकका बारेमा धेरैपटक लेखहरू लेखेँ । राष्ट्रिय पोसाक, भाषा केही नराखेर देशचाहिँ केले जोड्ने हो ? भनी प्रश्न उठाएँ । तर, दौरासुरुवालले परदेशको भूमिमा नेपालीहरूलाई एक–अर्कामा जोडिरहेको अनुभवचाहिँ पहिलोपल्ट गरेँ । झापा धुलाबारीका भवानीप्रसाद निरौलाले लगाएको दौरासुरुवालले एक–अर्काप्रति पूर्णतः अञ्जान हामी चारजनालाई एकै ठाउँमा ल्याइदिएको थियो । आफ्नोझैँ बनाइदिएको थियो ।

मेरो न्युयोर्क अनुभवलाई लिएर भोलि राष्ट्रप्रमुखले कुनै दक्षिणबाहु दिनेवाला छैनन्, तर अन्डरग्राउन्ड ट्रेनभित्रको मेरो त्यो भावना मेरो देशप्रतिको गौरवशाली अनुभवका रूपमा जिन्दगीभर रहिरहनेछ । बिनासर्त आफ्नो देशलाई माया गर्नु राष्ट्रियता हो ।

मुलुकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘जिन्दगीमा पहिलोपल्ट दौरासुरुवाल लाइयो’ भनेर सगर्व सामाजिक सञ्जालमा फोटो हालेर अनेक प्रतिक्रिया पाइरहेको बेला न्युयोर्कको दौरासुरुवाल अनुभव भावनात्मक रह्यो । राष्ट्रियता भावनात्मक कुरा हो, कुनै पनि देशको पोसाक, भाषाजस्ता राष्ट्रियताका प्रतीकले नागरिकको भावनाको प्रतिनिधित्व गरिरहेका हुन्छन् । मेरो न्युयोर्क अनुभवलाई लिएर भोलि राष्ट्रप्रमुखले कुनै दक्षिणबाहु दिनेवाला छैनन्, तर अन्डरग्राउन्ड ट्रेनभित्रको मेरो त्यो भावना मेरो देशप्रतिको गौरवशाली अनुभवका रूपमा जिन्दगीभर रहिरहनेछ । बिनासर्त आफ्नो देशलाई माया गर्नु राष्ट्रियता हो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेतृ हिसिला यमीले लेख्नुभएको फोटो क्याप्सन हेर्दा उहाँले राष्ट्रिय पोसाकका रूपमा नभई फेसनका रूपमा दौरासुरुवाल लगाउनुभएको बुझिन्छ । कर्णालीलाई खस प्रदेश मानेर खस पोसाकका रूपमा दौरासुरुवाल लगाइएको भनिएको छ, जेका लागि लगाए पनि सुहाएको थियो ।

डा. बाबुराम भट्टराई र प्रचण्ड नेपालको इतिहासमा यस्ता पूर्वप्रधानमन्त्री हुनुहुन्छ, जसले नेपालको सरकारप्रमुखको रूपमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सर्ट, पाइन्ट, कोट लगाएर सम्बोधन गर्नुभयो । छिमेकी मुलुक भारतका प्रधानमन्त्रीदेखि अन्य विभिन्न मुलुकका सरकारप्रमुखहरूले आफ्नै राष्ट्रिय पोसाक लगाएका बेला उहाँहरूको सुटपाइन्ट फेसनले नेपालीको मन धमिलो बनाएको थियो ।

प्रत्येक वर्ष हुने संयुक्त राष्ट्रसङ्घको महासभा यस्तो थलो हो जहाँ विभिन्न देशका प्रतिनिधिहरू आफ्नो व्यक्तिगत होइन राष्ट्रिय पहिचान झल्काउने पोसाक लगाएर प्रस्तुत हुन्छन् । महासभाका बेला विश्वका थरीथरी राष्ट्रिय पोसाकको प्रदर्शनीस्थलझैँ लाग्छ राष्ट्रसङ्घ परिसर । औपचारिक कार्यक्रममा देशको राष्ट्रिय पोसाक लगाउनु गौरवको कुरा हो । तर, हामीकहाँ माओवादी राजनीतिको मूल प्रवाहमा आएपछि यस प्रकारका गौरवहरूलाई मेटाउँदै हरेक कुरालाई ‘राष्ट्रिय’का ठाउँमा ‘जातीय’ बनाउने कोसिस गरियो ।

राष्ट्रिय पहिचानका ठाउँमा जातीय पहिचानलाई महत्व दिँदै गर्दा माओवादी अध्यक्ष प्रचण्ड र नेता बाबुरामहरूको आफ्नै पहिचान भने न हाँसको चाल न बकुल्लाको हुने अवस्थामा पुगेको छ । उपराष्ट्रपतिजस्तो पदमा पुग्दासम्म परमानन्द झाले राष्ट्रिय पोसाक लाउँदिनँ, नेपाली भाषा बोल्दिनँ भन्नु नेपालीपनप्रतिको घृणाको चरम रूप थियो । बाबुराम भट्टराई सरकारले सबैका पोसाकलाई ‘राष्ट्रिय’ मान्ने भनी हास्यास्पद निर्णय गरेको हो ।

हामीकहाँ जातीय संस्कृति र मूल्यमान्यता झल्कने पोसाकहरू धेरै छन्, आदिवासी, जनजाति, जनजातिभित्र पनि फरकफरक जातिका फरक-फरक पोसाकहरू छन् । आफ्नो छुट्टै भाषा र पोसाक नहुने भनेको क्षेत्री, ब्राह्मण र दलितहरू मात्र हुन् । प्रचण्ड र डा. बाबुराम भट्टराईले लगाउने गर्नुभएको सर्ट, पाइन्ट, कोट जातीय र सांस्कृतिक दुवै हिसाबले बाहुनको पोसाक होइन ।

खाना भनेको भोक मेटाउने कुरा मात्र होइन, संस्कार र सभ्यता पनि हो । अमेरिकामा त्यतिबेला ‘फुड कल्चर’मार्फत देश र देशवासीलाई एक–अर्कामा जोड्ने कोसिस गरिएको थियो । तत्कालीन अवस्थामा अपनाइएको उक्त नीतिलाई राष्ट्रियताका लागि सफल रणनीतिका रूपमा लिने गरिएको छ ।

१९औँ शताब्दीमा अमेरिकामा धेरै इटालियन, जर्मन तथा अन्य विभिन्न मुलुकका आप्रवासीहरू प्रवेश गरेपछि सबैले आ–आफ्नै भाषा, खाना, पोसाक प्रयोग गर्न थालेछन् । सबै आ–आफ्नै तालमा हिँड्न थालेपछि अमेरिकी सरकारले ठूलो सङ्ख्यामा रहेका इटालियन र जर्मन अमेरिकनलाई केन्द्रित गरेर एउटा पोस्टर बनाएछ । पोस्टरमा अमेरिकामा बस्नेहरूले दिउँसो र बेलुकाको खाना जे खाए पनि ब्रेकफास्टचाहिँ अमेरिकन नै खानुपर्ने नियमसहित अमेरिकी ब्रेकफास्ट कसरी बनाउने, खानाको टेबुल कसरी सेट गर्ने, कसरी सर्भ गर्नेजस्ता कुराहरू सचित्र राखिएको थिए । खाना भनेको भोक मेटाउने कुरा मात्र होइन, संस्कार र सभ्यता पनि हो । अमेरिकामा त्यतिबेला ‘फुड कल्चर’मार्फत देश र देशवासीलाई एक–अर्कामा जोड्ने कोसिस गरिएको थियो । तत्कालीन अवस्थामा अपनाइएको उक्त नीतिलाई राष्ट्रियताका लागि सफल रणनीतिका रूपमा लिने गरिएको छ । ती पोस्टरहरू अहिले पनि अमेरिकी म्युजियमहरूमा राखिएका छन् ।

‘बिहान काममा जाँदै गर्दा सडकमा नेपाली टोपी देखेपछि मैले टिपेर ऊ त्यो घरको ढोकाछेउमा राखिदिएँ,’ केही दिनअघि न्युयोर्कको सडक देखाउँदै पत्रकार बहिनी मच्छे गुरुङले भनेकी थिइन्, ‘बाटोमा ढाकाटोपी देखेँ, अलि बढेपछि फर्किएर हेरेँ, अलि कस्तोकस्तो नरमाइलो लाग्यो, यसो सोचेँ, यो घरमा नेपाली बस्छन् होला, कतैबाट फर्कंदा झऱ्यो कि भनेर सडकमा पर्नुभन्दा त घरको छेउमै होस् भनेर टिपेर राखिदिएँ ।’ मच्छेको यो भनाइले भावुक बनाएको थियो । पराइभूमिमा बेबारिसे नेपाली ढाकाटोपी देख्दा उनको मनमा भएको छटपटी व्यक्तिगत सुखदुःखसँग नभएर राष्ट्रसँग जोडिएको थियो । ढाकाटोपीको ठाउँमा भुवादार, ऊनीको या कुनै पनि प्रकारको टोपी भुइँमा देखेको भए उनलाई मतलबै हुने थिएन । त्यस्ता सामान सडकमा कति देखिन्छन्, कति ।

हामी नेपाली कसैले पद प्रतिष्ठा धानी मात्र दिए पनि दङ्ग पर्दै आभारी हुने नागरिकभित्र पर्छौं । वर्तमान उपराष्ट्रपति नन्दकिशोर पुन विभिन्न औपचारिक कार्यक्रममा टक्क दौरासुरुवाल, कोट, टोपी लाएर उपस्थित हुनुहुँदा मन ढक्क फुल्छ, आहा…जस्तो लाग्छ । माओवादी लडाकु पृष्ठभूमिबाट आउनुभएका उहाँले तत्कालीन माओवादीका नेताहरूले पूर्व बनाएको राष्ट्रिय पोसाक लगाउनुहोला कि नहोला भन्ने चासो धेरैलाई थियो । पृष्ठभूमि जेसुकै भए पनि वर्तमानमा नेपाली मनको भावनाको प्रतिनिधित्व गरिरहनुभएकाले उपराष्ट्रपति पुनमाथि कसैले पनि प्रश्न उठाएको देखिएको छैन । दौरासुरुवालको पुनरागमनको श्रेय प्रधानमन्त्री केपी ओलीलाई पनि त्यत्तिकै जान्छ ।