कुटिल चाल चल्दै माधव

कुटिल चाल चल्दै माधव


madhavnepalनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नयाँ सरकारको प्रधानमन्त्री बन्ने र सुशील कोइराला सरकारबाट विस्थापित हुने सम्भावना प्रबल भएपछि एमालेका नेता माधवकुमार नेपाल निकै ठूलो छटपटीमा पर्नुभएको बुझिएको छ । डेढ वर्षदेखि सरकारको नेतृत्वमा रहँदै आउनुभएका सुशील कोइराला बिना कुनै उपलब्धि पदमुक्त हुने अवस्था आउँदा सबभन्दा ठूलो पीडा र छटपटी कोइराला स्वयम्मा हुनुपर्ने हो, तर कोइरालाभन्दा बढी पीडा माधव नेपालमा उत्पन्न हुनुले नेपाली राजनीति कुन स्तरको कुटिलताबाट गुज्रिएको छ भन्ने स्पष्ट गराएको छ । गत वर्ष पार्टीको अध्यक्ष पदमा उम्मेदवार बन्नुभएका माधव नेपाल केपी ओलीबाट पराजित हुनुभएपछि ओलीका काममा अवरोध पैदा गर्न नेपालले विभिन्न चालबाजी गर्दै आउनुभएको छ । पार्टी अध्यक्षका रूपमा ओलीलाई असफल बनाउन कार्य विभाजन र विभागहरूको गठन कार्यमा अनेक अत्तो थापेर विलम्ब गराउनुहुने नेपालले त्यसनिम्ति आयोजित कतिपय बैठकमा अध्यक्षलाई जानकारीसम्म नदिई अनुपस्थित हुने गर्नुभएको थियो । अब ओली प्रधानमन्त्री बन्नसक्ने सम्भावना बढेपछि उहाँ कुटिल चाल चल्दै ओलीका निम्ति प्रतिकूल परिस्थिति बनाउन क्रियाशील हुनुभएको छ । वर्तमान सरकारको नेतृत्व अक्षम र असफल भएकोले सुशील कोइरालालाई विस्थापित गरी केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्न एमाओवादी र मधेसकेन्द्रित दलहरू बिनासर्त तयार भएका थिए । गत साताको शुक्रबार (जेठ १५ गते) ओलीको निवासस्थानमा एमाओवादीका शीर्ष नेताहरूसँग एमालेका शीर्ष नेताहरूको एक बैठक सम्पन्न भएको थियो । सरकार परिवर्तनमा केन्द्रित उक्त बैठकमा माधव नेपाल तत्काल सरकार बदल्नेभन्दा पनि संविधान निर्माणमा लाग्नुपर्ने धारणा प्रकट गर्दै सहज निकास [smooth exit] को पक्षमा उभिनुभयो । एमाओवादी अध्यक्ष प्रचण्डसँग पहिले नै गुप्त सहमति बनाएर बैठकमा उपस्थित हुनुभएका नेपालले प्रचण्डको ‘संविधान निर्माणमा पनि सहमति बनाएर सरकार परिवर्तनमा जाऊँ’ भन्ने प्रस्तावमा दर्बिलो अडान राख्नुभयो । सरकार परिवर्तनसँग संविधान जोडेपछि संविधानमा तत्काल सहमति नबन्ने, सहमति नबनेपछि ओली प्रधानमन्त्री बन्ने बाटो पनि छेकिने निहित विश्वास र उद्देश्यका साथ माधव नेपाल सो दिनको बैठकमा उपस्थित हुनुभएको थियो । नभन्दै भयो पनि त्यस्तै । यदि त्यस दिन माधव नेपालको भूमिका केपी ओली र एमालेको पक्षमा भइदिएको भए त्यसै दिन सरकार परिवर्तनको निर्णायक प्रक्रिया सुरु हुने प्रवल सम्भावना थियो । प्रचण्ड र माधव एउटै मतमा देखा परेपछि ओलीले ज्यादा माथामच्ची गर्न आवश्यक देख्नुभएन, प्रधानमन्त्री बन्न हतारिएको अर्थ नलागोस् भनेर पनि उहाँले प्रचण्ड र माधवको कुरामा सहमति जनाइदिनुभयो । यसबाट केपी ओली प्रधानमन्त्री बन्नेभन्दा संविधान बनाउने विषयप्रति संवेदनशील हुनुहुन्छ भन्ने सन्देश प्रवाहित भएको छ । तर, माधव नेपालको भित्री उद्देश्य अझै अर्को देखिन्छ । गत वर्षको माघ ८ गते (२०७१) आसपास ओलीले लिनुभएको अडानले उहाँलाई एक राष्ट्रवादी नेताका रूपमा स्थापित गरेको र राजनीतिमा उहाँको उचाइसमेत बढाएको थियो । प्रधानमन्त्री बन्न ओलीले आफ्ना पूर्वअडान र धारणा परित्याग गरे उहाँ ‘एक्स्पोज’ हुने, अडान यथावत् राखे ओली प्रधानमन्त्री बन्ने अवस्था अन्त्य हुने कुटिल चाल चल्दै माधव नेपालले सरकार परिवर्तनसँग संविधान जोड्नुभएको स्पष्ट बुझिएको छ । यसबाट माधव नेपालको ध्यान जसरी भए पनि केपी ओलीलाई सिध्याउने दिशामै केन्द्रित रहेको पुष्टि हुन आएको छ । ज्ञातव्य छ, माधव नेपाल राष्ट्रिय सरकारको नेतृत्व लिन अझै इच्छुक र प्रयासरत हुनुहुन्छ । उहाँ केपी ओलीलाई पन्छाएर सुशील कोइराला तथा प्रचण्डलगायतको समर्थन लिएर ‘राष्ट्रिय’ सरकारको नेतृत्व लिने कसरत गर्दै हुनुहुन्छ । घटनाक्रमले माधव नेपाल केपी ओलीको पक्षमा हुँदै नहुनुभएको पुष्टि गरेको छ ।

सङ्केत बुझेनन् प्रधानमन्त्रीले !
राष्ट्रिय पुनर्निर्माणको जिम्मेवारी पूरा गर्न सुशील कोइरालाको नेतृत्वबाट सम्भव नभएको धारणा नेपाली जनता र नेपालका राजनीतिक दलहरूले मात्र नभई मित्रराष्ट्र तथा अन्य विदेशी मुलुकले समेत बनाएका छन् । सुशील कोइरालाको निकम्मापनबाट आजित दातृ मुलुकहरू प्रधानमन्त्रीमा उहाँ रहिन्जेल खुलेर सहयोग गर्न नसकिने निचोडमा पुगेका छन् । त्यसैले आगामी असारमा गर्ने भनिएको नेपाल सहायतासम्बन्धी बैठकमा उच्च नेताहरूको सहभागिता हुने सम्भावना कम भएको छ । भूूकम्पपछि सबैभन्दा संवेदनशील र सहयोगी बनेको मित्रराष्ट्र भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदीको आगमन सम्मेलनमा नहुने भएको छ । त्यस्तै अर्को छिमेकी मुलुक चीनको पनि उच्च तहबाट प्रतिनिधित्व नरहने जानकारी प्राप्त भएको छ । नयाँ, बलियो र विश्वासिलो सरकारले उक्त सम्मेलन आयोजना गरेको अवस्थामा भने छिमेकी मित्रराष्ट्रसहित अन्य मुलुकबाट उच्च तहको प्रतिनिधित्व हुन सक्ने बुझिएको छ । प्रधानमन्त्री सुशील कोइराला चीनको भ्रमण गर्न अत्यन्त व्यग्र रहँदै आउनुभएको छ । चीनको भ्रमण गर्नका लागि उहाँ पहिले नयाँदिल्लीमा आफ्नो मुख देखाउन चाहनुहुन्थ्यो । जेठ २८ गते (११ जुन) नयाँ दिल्लीको भ्रमण हुने कुरा एकप्रकारले तय भइसकेको पनि थियो । तर, नेपालमा सुशील कोइरालाको व्यापक विरोध भइरहेको, दलहरू तत्कालै राष्ट्रिय सहमतिको सरकार गठनका निम्ति गृहकार्यमा जुटेका र सुशील कोइरालासँग नयाँदिल्ली भ्रमणका लागि कुनै महत्वपूर्ण एजेन्डा नरहेको तथ्यलाई दृष्टिगत गरी भारत नेपालका प्रधानमन्त्रीलाई अलिक पछि दिल्ली भ्रमणको निमन्त्रणा दिने निष्कर्षमा पुग्यो, यसरी कोइरालाको भारत भ्रमण मिति तय भइसकेपछि पनि रद्द हुन पुगेको छ । तर, यता प्रधानमन्त्री कार्यालयले भने अहिलेको विपतकालीन परिस्थितिमा मुलुक छोडेर बाहिर नजाने भनी सूचना प्रवाह गरेको थियो । तय हुनै लागेको भ्रमण रद्द भएपछि सुशील कोइरालाले आफूप्रति अन्तर्राष्ट्रिय समुदायको धारणा कस्तो रहेछ भन्ने स्वतः बुझेर पदत्याग गर्नुपर्ने थियो । तर, उहाँ हरहालतमा सरकारमा रहिरहन प्रयास गर्दै हुनुहुन्छ । आफू देशी–विदेशी सबैका निम्ति बाधक बनेको महसुस सुशील कोइरालाले गर्न नसक्दा नेपालले तत्काल निकास, विकास र समाधान पाउने सम्भावना क्षीण भएको छ ।

विपत्तिजति यिनकै पालामा !
कोइराला र आचार्यमा त्यस्तो के खोट होला ?
कुनै कोइराला प्रधानमन्त्री र महेश आचार्य मन्त्री बनेका बेला देशमा अकल्पनीय विपत्ति आउनु एउटा रोचक दुर्योग बनेको छ । ०४८ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा महेश आचार्यलाई अर्थराज्यमन्त्री बनाइएको थियो । ०४८ देखि २०५१ सम्म कोइराला प्रधानमन्त्री र महेश मन्त्री रहँदा देशमा दुईवटा ठूला विमान दुर्घटना भए । थाई र पाकिस्तानी विमान दुर्घटनाले नेपाली आकाश सुरक्षित नरहेको सन्देश संसारलाई दिएको थियो । त्यस्तै भीषण वर्षात् र बाढीपहिरोका कारण चितवन अस्तव्यस्त बनाएको, पृथ्वी राजमार्गका तीनवटा पक्की पुल एकैपटक बगाएर आवागमन तथा आपूर्तिमा गम्भीर समस्या पैदा भएको र सर्लाहीमा बागमती नदीले तवाह मच्चाएको पनि सोही अवधि (२०५०) मा हो । गिरिजाप्रसाद २०५६ सालको चैतमा पुनः प्रधानमन्त्री बने, यसपटक उनले महेश आचार्यलाई रक्षामन्त्री बनाएका थिए । २०५८ साउनको पहिलो सातासम्म उनीहरू सत्तामा थिए, यसै अवधि (२०५८ जेठ) मा राजदरबार हत्याकाण्डजस्तो बीभत्स घटना नेपालमा भयो ।
यसरी महेश आचार्य अर्थमन्त्री हुँदा राष्ट्रलाई क्षति भएको देखिन्छ भने उनी रक्षामन्त्री रहँदा राजाकै सुरक्षा हुन नसकेको इतिहासले पुष्टि गरेको छ । २०५४ पछि ०५६ को निर्वाचनसम्म गिरिजाप्रसाद प्रधानमन्त्री हुँदा महेश आचार्यलाई कृषिमन्त्री बनाइएको थियो । २०५५ सालमा पूर्वाञ्चलमा बाली नष्ट भएर किसानले ठूलो क्षति व्यहोर्नुपरेको थियो । सुशील कोइराला प्रधानमन्त्री बनेपछि (२०७०) महेश आचार्यलाई वनमन्त्री बनाइयो । अहिले उनी वनमन्त्री मात्र छैनन् प्रधानमन्त्री कोइरालाका अति विश्वासप्राप्त सहयोगी पनि बनेका छन् । यसपटक भूकम्प आएर देशलाई यो शताब्दीकै सबैभन्दा ठूलो क्षति पु-यायो । ‘वन’ भन्नु नै प्रकृति संरक्षणसँग सम्बन्धित मन्त्रालय हो, प्रकृतिको विनाशलीला एउटा कोइराला प्रधानमन्त्री र महेश आचार्य वनमन्त्री हुँदा भएको छ । उल्लिखित तथ्यहरूले नेपालमा कोइराला प्रधानमन्त्री र महेश आचार्य मन्त्री बन्नु नै देशको कुनै न कुनै अनिष्ट या विपत्तिको कारण हो भन्ने दर्शाएको छ । होइन भने अर्थमन्त्री हुँदा आर्थिक क्षति, रक्षामन्त्री बन्दा राजाकै नास, कृषिमन्त्री हुँदा बालीनाली नष्ट र वनमन्त्री भएका बेला प्रकृति नै ध्वस्त हुने स्थिति बन्नुलाई के भनेर बुझ्ने ?
प्रमुख सत्तासाझेदार दल नेकपा एमालेसँग निहुँ खोजेर प्रधानमन्त्री कोइरालाले आफ्नो शासन सत्ता लम्ब्याउन असम्भव छ । एमाओवादी र मधेसी मोर्चासम्बद्ध नेताहरूले जस्तोसुकै वचन दिएका भए पनि अन्ततः उनीहरूले कोइरालाको नेतृत्व अस्वीकार गर्ने निश्चित छ । एमालेले सरकार छोडेपछि एमाओवादी र मधेसी नेताहरूले आफूलाई समर्थन गर्नेछन् भन्ने जुन विश्वास सुशील कोइरालाले गर्नुभएको छ, उनीहरूको समर्थन नहुनेबित्तिकै कोइरालाले अपमानजनक तवरमा पदत्याग गर्नुपर्नेछ ।

वामदेवको बेग्लै बार्गेनिङ
नेकपा एमालेका उपाध्यक्ष एवम् गृहमन्त्री वामदेव गौतमले आफ्नै पार्टीका अध्यक्ष केपी ओलीसँग ‘बार्गेनिङ’ गर्न थाल्नुभएको छ । सत्ताको दुरुपयोग र भ्रष्टाचारका कारण बद्नाम मानिने वामदेव यतिबेला सुशील कोइराला नेतृत्वको सरकार बचाउन ‘ज्यान फालेर’ लाग्नुभएको छ । यसअघि २०५३ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकार बचाउन पनि उहाँ यसैगरी क्रियाशील हुनुभएको थियो । नेकपा एमालेको विधानले ७० वर्ष उमेर पुगेका नेताले सक्रिय जिम्मेवारीबाट अनिवार्य अवकाश लिनुपर्ने व्यवस्था गरेको छ र वामदेवको उमेर ६८ वर्ष भइसकेको छ । त्यसैले आगामी महाधिवेशनमा उहाँले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन पनि पाउनुहुनेछैन । वामदेव एमालेको विधान संशोधन गरेर भए पनि पार्टीमा महत्वपूर्ण जिम्मेवारी ‘पड्काइरहने’ पक्षमा रहनुभएको छ, किनभने वामदेवको आम्दानीको मुख्य स्रोत नै राजनीति बन्दै आएको छ । कदाचित एमालेको विधान संशोधन गर्न सकिएन भने एमाले परित्याग गरेर एमाओवादीमा आबद्ध भई राजनीतिमा क्रियाशील रहने योजना वामदेवले बनाउनुभएको पनि बताउन थालिएको छ । तर, एमालेमै उच्च हैसियत प्राप्त रहुन्जेलचाहिँ गौतम एमालेमै रहनुहुने उहाँका निकटतम् मानिएका व्यक्तिहरूको भनाइ छ । केपी ओली प्रधानमन्त्री बनेमा कार्यवाहक अध्यक्ष आफूले पाउनुपर्ने माग वामदेवको छ । अहिलेसम्म ओलीले वामदेवलाई कार्यवाहक अध्यक्ष बनाइदिने वचन होइन सङ्केतसम्म दिनुभएको छैन । जबसम्म अध्यक्ष ओलीबाट आफूलाई कार्यवाहक अध्यक्ष बनाइने प्रतिबद्धता प्राप्त हुँदैन तबसम्म ओलीलाई प्रधानमन्त्री बन्न सहयोग नगर्ने, सुशील नेतृत्वकै सरकारलाई निरन्तरता दिने पक्षमा वामदेव गौतम रहनुभएको छ । गौतमले यसरी ‘बार्गेनिङ’ गरिरहेको ओलीले पनि बुझ्नुभएको छ, उहाँ वामदेवलाई ‘कार्यवाहक’ दिन मानसिक रूपमा तयार पनि भइसक्नुभएको हो, तर ‘ब्ल्याकमेलिङ’को शैलीमा ‘बार्गेनिङ’ गरेकोले केपी ओली वामदेवसँग झस्किनुभएको छ ।
यसैक्रममा उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतम वर्तामान मन्त्रिमण्डलमा एक्लिँदै गएका छन् । विनाशकारी भूकम्पपछि उपप्रधानमन्त्री गौतम मनोमानी ढङ्गबाट अघि बढेको तथा राहत वितरणमा एकलौटी गरेको भन्दै एमालेबाटै मन्त्रिमण्डलमा सहभागी मन्त्री गौतमसँग टाढिएका हुन् ।
गृहमन्त्री गौतमले राहतका नाममा आएका सामग्री प्रहरीको सहयोगमा लुकाएको वास्तविक पीडितलाई भन्दा पनि आफन्त र कार्यकर्तालाई वितरण गरेको मन्त्रीहरूले आरोप लगाएका छन् । साथै मन्त्रीहरूले भूकम्पपीडितका नाममा विदेशबाट आएका टेन्ट, त्रिपाल, जस्तालगायतका सामग्री लुकाएको आरोप लगाएका छन् ।
साथै उनले वास्तविक सूचना नदिएको र हरेक काममा कमिसन खान खोजेको आरोपसमेत मन्त्रीहरूले लगाएका छन् । उनीहरूले भूकम्पपीडित नभएकालाई पनि नामै किटान गरी जिल्ला प्रशासनमार्फत राहत दिन लगाएको आरोप लगाएका छन् । स्रोतका अनुसार पछिल्लोपटक अर्थमन्त्री र गृहमन्त्रीको राम्रो बोलचालसमेत बन्द भएको छ । उनीहरूको सम्बन्ध औपचारिकतामा मात्र सीमित भएको एमालेका एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार उपप्रधानमन्त्री र प्रधानमन्त्रीबीच पनि राम्रो सम्बन्ध छैन । भूकम्प आएपछि नै यी दुईबीचको सम्बन्ध बिग्रिएको हो । गौतममाथि सरकारी सूचना लिग गरिएको आरोप पनि केही मन्त्रीहरूले लगाएका छन् । स्रोतका अनुसार सञ्चारमन्त्री मीनेन्द्र रिजालले गृहमन्त्री गौतमलाई सूचना लिक गरेको आरोप लगाएका छन् । मन्त्री रिजालको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘हाम्रा धेरै सूचनाहरू उपप्रधानमन्त्रीमार्फत नै बाहिर जाने गरेका छन्, यस्तो अवस्थामा सरकारी प्रवक्ताको के अर्थ रहन्छ र ।’
साथै उनीविरुद्ध एमालेकै मन्त्रीहरूले पार्टी अध्यक्ष केपी ओलीसमक्ष पनि गौतमविरुद्ध धेरै गुनासा पु-याएका छन् । उनीहरूले एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूको रक्षा नगरेको तथा आफ्नो स्वार्थमा मात्र केन्द्रित भएको गुनासो अध्यक्षसमक्ष पु-याएका छन् । एमालेबाट सरकारमा सहभागी ऊर्जामन्त्री राधा ज्ञवालीले भनिन्, ‘अहिले वामदेव गौतमप्रति मात्र होइन, सबै मन्त्रीले एक–अर्काको गुनासो गरेको देखिन्छ ।’ केही विषयमा कुरा बाझिएजस्तो देखिएकाले केही समस्या भएको मन्त्री ज्ञवालीको भनाइ थियो ।

काम एउटा कुरा अर्कै !
राहत सामग्रीको दुरुपयोग गरेको पाइएमा कडा कारबाही गर्ने भनी प्रधानमन्त्री सुशील कोइरालाले सार्वजनिक प्रतिबद्धता प्रकट गर्नुभएको भए पनि उहाँको सचिवालय भने राहतको दुरुपयोग गर्नेहरूलाई बचाउने अभियानमा लागेको छ । प्राप्त जानकारीअनुसार ललितपुर नखिपोटस्थित रेवती उर्फ रमेश ढकालको घरमा चीनबाट राहतको नाममा झिकाइएका दुई ट्रक सामग्री प्रहरीले गत साता बरामद गरेको र सामानसँगै घरधनी ढकाललाई पनि गिरफ्तार गरेको थियो । चिनियाँ टेन्ट, पानी र ड्राइफुडले भरिएको दुई ट्रक सामग्री ललितपुर जिल्ला प्रशासन कार्यालयले आफ्नो नियन्त्रणमा लिएको छ । तर, ढकाललाई भने बिनाकारबाही छोडिएको छ । ढकाललाई हिरासतमुक्त गर्न प्रधानमन्त्री सुशील कोइरालाका सहोदर भाञ्जा एवम् स्वकीय सचिव रमेश शर्माले ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई दबाब दिएका थिए । शर्माको निरन्तर दबाब थेग्न नसकेपछि सीडीओले ढकाललाई तारेखमा छोडिदिएको तर अहिले निज ढकालले तारेखमा हाजिर हुन पनि छोडेको बुझिएको छ ।

विमान चढ्न नहुनाले रेकिइन् पूर्वरानी
पूर्वबडामहारानी कोमल पूर्व श्री ५ महाराजाधिराजसँगै साताभित्र स्वदेश फर्कने तयारीमा रहनुभएको छ । प्राप्त जानकारीअनुसार उहाँको शरीरमा दबिएर रहेका गोलीका छर्राहरू निकालिएको छ र मुटुको दुईवटा नशामा ‘एन्जियोप्लास्ट’ गरिएको छ । दुई महिनाअघि उपचारका निम्ति नयाँदिल्ली पुग्नुभएकी पूर्वरानीको उपचार फोर्टिज एस्कर्ट हर्ट इन्स्टिच्युटमा भएको थियो । शल्यक्रिया सफल भएर हाल पूर्ण स्वस्थ भए पनि चिकित्सकले उहाँलाई विमान प्रयोगमा रोक लगाएका छन् । मोटरबाटो (सडकमार्ग) प्रयोग गर्दा कुनै जोखिम नभए पनि आकाशमार्ग प्रयोगले असर पु-याउने भएकोले पूर्वरानीको स्वदेश फिर्ती विलम्ब भएको हो । उहाँसँगै पूर्वमहाराजाधिराज ज्ञानेन्द्र पनि स्वदेश फर्कनुहुने बताइएको छ । पूर्वरानीले कहिलेदेखि आकाशमार्गको प्रयोग गर्न मिल्ने हो त्यसको जानकारी आगामी बिहीबार (२१ गते) हुने बताइएको छ । चिकित्सकहरूको अनुमति हुनेबित्तिकै उहाँहरू स्वदेश फर्कनुहुने बुझिएको छ । ज्ञातव्य छ, पूर्वरानी कोमललाई २०५८ जेठमा भएको दरबार हत्याकाण्डमा गोली लागेको थियो ।
यसैक्रममा हिजो मंगलबार गोकणर््ँेश्वर नगरपालिका–६ मा रहेको दिवंगत राजा वीरेन्द्रको सालिकमा बत्ती बालेर पूजापाठ गरिएको छ । सहकालका देव मानिने स्वर्गका राजा इन्द्रको नियमित पूजा भइरहने श्री स्वर्गपुरी मन्दिर परिसरमा रहेको राजा वीरेन्द्रको उक्त सालिकमा राजा वीरेन्द्रको पुण्यतिथिको अवसर (जेठ १९)मा मन्दिरका नित्यपुजारी अच्युतप्रसाद भण्डारीलगायतका सर्वसाधारणले पुष्पगुच्छा अर्पण्ँ गरी पूजापाठसहित पुण्यतिथि मनाएका हुन् । ०५८ साल जेठ १९ गते दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको देहावसानपछि ०५९ पुस १४ गते सो मन्दिरपरिसरमा दिवंगत राजा–रानीको सालिक स्थापना गएिको थियो ।

पुजारीका कारण भक्तजन खिन्न
शक्तिशाली भूकम्पका धक्कापछि बन्द गरिएको मनकामना केवलकार अझै सञ्चालनमा आउन सकेको छैन । भूकम्पका कारण केवलकारमा कुनै खराबी नआएकोले सञ्चालनको लागि तयार रहेको मनकामना केवलकार कम्पनीको व्यवस्थापन पक्षले जानकारी दिएको छ । तर, मनकामना मन्दिरका पुजारी इन्सान थापा मगरका कारण केवलकार सुचारु हुन नसकेको स्थानीयको भनाई छ । आम भक्तजन एवम् स्थानीय व्यवसायीहरूले मन्दिरबाहिरै देवीको पूजाआजा सुरु गर्न आग्रह गरिरहेका छन् भने देवीको थानबाहिर पूजा गर्दा राम्रो सन्देश नजाने भन्दै पुजारी पन्छिरहेका छन् । भूकम्पले मनकामना मन्दिरलाई राम्रै धक्का दिएकोले भत्काएर पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पु-याएकोले भत्काउनका लागि खट बाँध्ने काम भइरहेको छ । यसको निम्ति अझै महिना दिन लाग्ने बताइएको छ । आमभक्तजनको आग्रहलाई समेत पुजारीले अटेर गर्दा मनकामना देवीको पूजा गर्न पर्खिरहेका भक्तजन खिन्न बनेका छन् ।

वैदेशिक रोजगारमा डरलाग्दो खुलासा
मानवतस्करको मिलेमतोमा वैदेशिक रोजगार विभागमा हुँदै आएको अनियमित तथा भ्रष्ट क्रियाकलाप विनाशकारी भूकम्पको प्रकोपका बीच झन् बढेको बुझिएको छ । म्यानपावर कम्पनी र विभागका कर्मचारीको मिलेमतोमा मानव तस्करी फस्टाउँदा कारबाही गर्ने हैसियत राख्ने राज्यका निकायहरू भने आँखा चिम्लेर बसेका छन् । घुसबापत प्राप्त अवैध कमको बुझो लगाएर विभागका उच्चपदस्थ कर्मचारी मानवतस्करहरूसँगको लगनगाँठोमा कसिने प्रवृत्ति बढेको सम्बद्ध कर्मचारी स्रोत बताउँछ । बताइएअनुसार कामै नगरी टेलिफोनको भरमा मोटो रकम कमाउन सकिने हुँदा मानवतस्करीको जालोमा अनेक क्षेत्रसम्बद्ध व्यक्तिहरू गाँसिएका छन् । भूकम्पका कारण त्रस्त युवायुवतीलाई सुनौला प्रलोभन देखाएर विमानस्थलदेखि भारतीय मार्ग हुँदै हजारौँ चेली वा नेपाली युवालाई वैदेशिक रोजगारीको नाममा बेच्ने काम भएको छ । यसरी फेरि पनि वैदेशिक रोजगार विभाग मानवतस्करी र भ्रष्टाचारीहरूको अखडा बन्दै गएको छ । सरकारले नै विभागलाई तस्करी र भ्रष्टाचारको अखडा बनाएको विश्लेषकहरूको टिप्पणी छ । भ्रष्टाचारको सवालमा विभागका वर्तमान महानिर्देशक भरतराज सुवेदीको विवादास्पद विगतका कारण पनि विभागका निर्देशक बद्रीबहादुर कार्की, डम्बरबहादुर विकलगायतका ‘बहादुर’ कर्मचारीलाई उनले च्यापेर मानवतस्करीको लाइन मिलाउन लगाएको सन्दर्भ बढ्ता चासो र चर्चाको विषय बनेको हो । अवैध कमाइकै निम्ति वैदेशिक रोजगारीमा जाने सर्वसाधारणलाई दिइने दुईदिने तालिमका सर्टिफिकेट बेच्न विभागले खुला अनुमति दिएको जानिफकारहरू बताउँछन् ।
अत्यन्त गम्भीर विषय त के छ भने वैदेशिक रोजगारीमा जाने सर्वसाधारणलाई तालिम दिन खोलिएका सबै अभिमुखीकरण तालिम दिने संस्थाले विभागका कर्मचारीसँग मिलेर तालिम नै नदिई सर्टिफिकेट बेचेर रकम असुल्ने गरेको, विदेशमा अलपत्र परेर वा विभागसमक्ष गरेको करारनामाविपरीत काम गर्न अस्वीकार गरी स्वदेश फर्कने नेपाली कामदारलाई म्यानपावर र मानवतस्करहरूले स्वदेश फर्कंदै गर्दा या स्वदेश आइसकेपछि तुरुन्तै मृत्यु हुने सिरिन्ज या औषधि प्रयोग गरेर मार्ने गरेकोसम्मका चर्चा सम्बन्धित क्षेत्रमा चल्ने गरेबाट वैदेशिक रोजगारीको क्षेत्र कसरी अपराधीकरणको भासमा परिरहेको छ भन्ने अनुमान लगाउन सकिन्छ । सम्झौताविपरीत बिदेसिएका कामदारले स्वदेश फर्केपछि विभागका कर्मचारी र सम्बन्धित म्यानपावर कम्पनीमाथि उजुरी गर्ने जोखिमका कारण सर्वसाधारणको यसरी इहलीला समाप्त पार्ने र प्रमाण नष्ट गर्ने कार्य पछिल्लो समय बढ्दै गएको स्रोतको दाबी छ । बताइएअनुसार अधिकांश कामदारलाई त विदेशीभूमिमै मारेर फालिन्छ, त्यसका लागि म्यानपावर कम्पनी, एजेन्ट र मानवतस्करहरूले सम्बन्धित देशमा नेपाली दलालकै प्रयोग गर्ने गरेका छन् ।

भूकम्पपीडितका लागि सूचना र कानुनी सहायता केन्द्र
महिला, मिडिया र सूचनाको क्षेत्रमा कार्यरत संस्था मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले भूकम्पपीडितलाई लक्षित गरी गोरखा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा सूचना केन्द्रको स्थापना गरेको छ । सर्वसाधारणमा सूचनाको पहुँचलाई सहज बनाउने उद्देश्यले स्थापना गरिएका सूचना केन्द्रहरूले सर्वसाधारण र सार्वजनिक निकायका सूचनाका लागि एक–अर्कामा पुलको काम गर्ने जनाइएको छ ।
म्यागकी कार्यक्रम अधिकृत स्वर्ण राईका अनुसार विभिन्न निकाय, सङ्घ–संस्था तथा ब्यक्तिगत तहबाट भूकम्पपीडितका लागि गरिएको सहयोग, क्षतिपूर्ति, पुनस्र्थापना एवम् पुनर्निर्माणलगायतका कुराबारे सूचना केन्द्रले सूचनाहरू सङ्कलन तथा वितरण गर्नेछ । यूएन वीमेनसँगको साझेदारीमा स्थापना गरिएको सूचना केन्द्रले गोरखामा रेडियो गोरखा, नुवाकोटमा रेडियो नुवाकोट र सिन्धुपाल्चोकमा रेडियो सिन्धु एवम् ओखरेनी साप्ताहिकसँग सहकार्य गरेको म्यागले जनाएको छ । तीनवटै जिल्लामा सूचना संयोजकहरू राखिएका छन् । सूचना केन्द्र महिलाका लागि लक्षित भए पनि महिलामा मात्र सीमित नरहेको र जो–कोहीले पनि सूचना लिन र दिन सक्ने पनि राईले बताइन् । केन्द्रले भूकम्पपछिको विपत्तिमा भएका लैङ्गिक हिंसाका मुद्दालाई पनि सङ्कलन गर्नेछ ।
यसैगरी महिला र कानुनको क्षेत्रमा कार्यरत संस्था महिला, कानुन र विकास मञ्च (एफडब्लूएलडी)ले भूकम्पप्रभावित जिल्लामा कानुनी सहयोग डेस्कको स्थापना गरेको छ । एफडब्लूएलडीका कार्यकारी निर्देशक सविन श्रेष्ठका अनुसार भूकम्पबाट बढी प्रभावित जिल्लाहरू गोरखा, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, रसुवा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा गरी १४ जिल्लामा कानुनी डेस्कहरू स्थापना गरिएका छन् । डेस्कले जिल्लाका भूकम्पप्रभावित स्थानहरूमा घुम्ती कानुनी सहयोग पनि उपलब्ध गराउने जनाएको छ ।

मिर्गौलापीडितलाई रकम हस्तान्तरण
दुवै मिर्गाैलाले काम नगर्ने भएपछि आफ्नी जीवनसङ्गिनीबाट मिर्गौला दान पाएका, तर उक्त मिर्गाैला आफ्नो शरीरमा प्रत्यारोपण गराउन रकमको अभावमा छटपटिँदै सहयोगको याचना गरेका गुल्मी विशुखर्कनिवासी चन्द्रबहादुर श्रीषको पीडादायी विषयमा गत वैशाख २३ गते घटना र विचारमा समाचार प्रकाशित भएपछि श्रीषलाई सहयोग गर्न दाताहरू अघिसरेका छन् । ‘मिर्गौलादाता भए पनि रकम अभावमा अलपत्र’ शीर्षकमा घटना र विचारमा प्रकाशित समाचारमाथि गुल्मी हराचौर घर भई हाल अमेरिका बस्दै आएका श्रीराम थापाको ध्यानाकृष्ट भएको थापापत्नी कुमारी थापाले जानकारी दिइन् । समाजसेवी एवम् दानशील प्रवृत्तिका श्रीरामकै सक्रियतामा अमेरिकामै दुई लाख ३० हजार नगद रकम सङ्कलन भएको र सो रकम पीडितलाई हस्तान्तरण गरिएको छ ।
सङ्कलित रकम दाताहरूको आग्रहमा गत शुक्रबार घटना र विचारका सम्पादक बबिता बस्नेत, कार्यकारी सम्पादक जयप्रकाश त्रिपाठी र समाजसेवी श्रीराम थापाकी धर्मपत्नी कुमारी थापाले संयुक्त रूपमा पीडित चन्द्रबहादुर श्रीषलाई हस्तान्तरण गर्नुभयो । नेविसङ्घ गुल्मीका पूर्वउपसभापति श्रीराम थापाको सक्रियतामा अमेरिकावासी दानवीरहरूबाट सङ्कलित रकम हस्तान्तरण कार्यक्रममा अर्लाङकोट गाविसका पूर्वउपाध्यक्ष एवम् गुल्मी क्षेत्र नंं. १ का नेविसङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद सापकोटा, पीडितकी धर्मपत्नी एवम् मिर्गाैलादाता सीता श्रीष, भाइ जनक श्रीषलगायत आफन्तजनको उपस्थिति रहेको थियो । यातना दिएर निर्मम हत्या गरिएका बाबु जितबहादुर श्रीषको समाजसेवा गर्ने सपनालाई पूरा गर्न चाहेको बताएपछि अमेरिकामा रहेका श्रीराम मिर्गाैलापीडित चन्द्रबहादुरका बाबु जितबहादुर श्रीषलाई तत्कालीन विद्रोही माओवादीले ०६३ असार १७ गते विशुसखर्क निवासबाट मुखमा कपडा कोची घिसार्दै निकालेर डेढ घन्टाको बाटोमा पर्ने शान्तिपुरीमा ल्याएर हत्या गरेका थिए ।
रकम हस्तान्तरण कार्यक्रममा भावुक बनेर बोल्न नसकेका मिर्गौलापीडित श्रीषले गहभरि आँसु पार्दै दाताप्रति कृतज्ञता ज्ञापन गरेका थिए । रकम हस्तान्तरण गर्दै घटना र विचारकी सम्पादक बबिता बस्नेतले मिर्गौला बिग्रिएर बिरामी परेका श्रीषको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मिर्गौलापीडित श्रीषकी श्रीमती सीतालाई त्यागी र समपर्णको नमुना भएको बताउनुभयो । रकम सङ्कलनकर्ता थापाकी श्रीमती कुमारी थापाले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । श्रीमती थापाले पूजापाठ लगाउनुभन्दा आफ्ना श्रीमान्ले सहयोगका लागि दर्शाएको सक्रियता र उहाँको आग्रहमा रकम सहयोग गर्ने सबैलाई पुण्य मिल्ने बताउनुभयो । यस्तै, मिर्गौलापीडित श्रीषकी श्रीमती सीताले स्वर्गीय बुबाको सपनालाई जीवित राख्न र दुई लालाबालालाई टुहुरो हुनबाट बचाउन आफूले श्रीमान्लाई मिर्गौला दान दिन थालेको बताइन् । सँगै जिउने–मर्ने कसम खाएका श्रीमान्को दुखाइ र पीडालाई बाँडेर समाजमा सकारात्मक सन्देश दिन पनि आफूले यो निर्णय गरेको बताइन् । घटना र विचारका कार्यकारी सम्पादक जयप्रकाश त्रिपाठीले पत्रिकाले राजनीतिक विषयवस्तुलाई मात्र ग्राह्यता नदिई सामाजिक तथा सेवामूलक समाचार सामग्रीसमेत पस्किनु उपयुक्त हुने सोचका साथ घटना र विचारले यस्ता सामग्रीलाई स्थान दिने गरेको उल्लेख गर्दै समाचारको प्रभाव यस रूपमा देख्न पाउँदा घटना र विचार टिमलाई सन्तोष मिलेको बताउनुभयो । नेविसङ्घ क्षेत्र नं. १ का पूर्वअध्यक्ष कृष्णप्रसाद सापकोटाले मिर्गौलादाता श्रीमती सीताले साँच्चिकै देवीको रूप प्रदर्शन गर्नुभएको धारणा राख्नुभयो ।
समाजसेवी श्रीराम थापाको सक्रियतामा सङ्कलित उक्त रकम अमेरिकामा रहेका थापाका अलावा जित थापा, भीम क्षेत्री, कमल कुँवर, विवेक कुँवर, विक्रम कुँवर, खड्ग कुँवर, सन्तु शर्मा, यशोदा दाहाल, लक्ष्मण भण्डारीले सहयोग गरेका थिए । अन्य सहायोग गर्नेमा नवराज पन्थी, हरि थापा, भीष्म केसी, तेजेन्द्र थापा, सन्तोष खत्री, शान्ति भण्डारी, विश्व शाह, कुमार पुन, प्रेमध्वज शाह, मानबहादुर खड्का, रमेश खत्री, राजेश थापा, प्रकाश ज्ञवाली, कृष्ण गौतम, अमृता राना, हेम पुन, चन्द्रा शर्मा, कल्पना कार्की रहेका छन् । समाजसेवी श्रीरामकै सक्रियतामा यसअघि पनि पीडित श्रीषलाई ५० हजार सहयोग गरिएको थियो । उक्त रकम यूकेबाट नरमाया पुनले सहयोग गर्नुभएको थियो । मिर्गाैलापीडित श्रीषको चितवन मेडिकल कलेजमा अप्रेसनको तयारी भए पनि गरिबीका कारण रकम नपुगेर सहयोगको याचना गरिएको छ ।

भूकम्पपीडित कलाकारको कला कार्यशाला
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (चित्रकला विभाग)द्वारा भूकम्पपीडितहरूको सहयोगस्वरुप पीडित कलाकारहरूकै सहभागितामा क्षतिग्रस्त धरहराको प्राङ्गण सुनधारामा कला–सिर्जना कार्यक्रम सम्पन्न गरिएको छ । प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा चित्रकला विभाग प्रमुख रमेश श्रेष्ठले सहभागी कलाकारहरूलाई क्यानभास हस्तान्तरण गरी आरम्भ गरेको कला कार्यशालामा विभिन्न शैली र क्षमता बोकेका पच्चीस भूकम्पपीडित कलाकारले आफूले देखे–भोगेको भूकम्पको अनुभूतिलाई समयको अनुहार हेरी रङहरूसँग आफैलाई रुपान्तरण गरी चित्रकला तयार गरेका थिए । उक्त कलाकार्यशालामा तयार भएका चित्रहरू पछि प्रदर्शनी गरिने र बिक्री भएका कलाकृतिको पाँच प्रतिशत नाफा कलाकार स्वयम्लाई र ५० प्रतिशत कलाकार राहत कोषमा जम्मा हुने बताइएको छ । कार्यक्रमको अन्त्यमा कुलपति रागिनी उपाध्यायले सहभागी कलाकारहरूलाई प्रशंसापत्र प्रदान गर्दै कार्यशालामा प्रत्यक्ष–परोक्ष सहयोग र सद्भावना जनाउने सबैलाई धन्यवाद दिनुभयो ।

अनाथ बालबालिकालाई राहत
‘पूनर्निमार्णका लागि ललितकला’ कार्यक्रमअन्तर्गत नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले मूर्तिकला विभाग सिफलस्थित बालमन्दिरको अस्थाई सिविरमा मूर्तिकला कार्यशाला सम्पन्न गरेको छ । प्रतिष्ठानका सदस्य–सचिव नवराज भट्टको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा करिब ३५ अनाथ बालबालिका सहभागी थिए । रामकृष्ण आश्रमको सहयोगमा लुम्बिनी वल्र्ड पिस फोरमले नेपाल ललितलकला प्रज्ञा–प्रतिष्ठानसँग सहकार्य गर्दै राहत सामाग्रीसमेत वितरण गरेको छ । सो अवसरमा लुम्बिनी वल्र्ड पिस फोरमका संयोजक वासु गौतमले आफ्नो संस्थाले सदा कलाको समर्थन गर्ने प्रतिबद्धता जनाउनुभयो । बाल संगठनको कार्यालय नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकै कार्यालय रहेको सीतभवनमा भएको र विनाशकारी भुकम्पको कारण सीताभवन क्षतिग्रस्त भएकोले त्यहाँ रहेका बालबालिकालाई सिफल स्थानान्तरण गरिएको जानकारी दिइएको थियो ।

मापदण्डविपरीतको होटलमा
अन्तर्राष्ट्रिय रेडक्रसकर्मीको बास
विनाशकारी भूकम्प र त्यसपछि लगातार आइरहेका परकम्पका कारण जनमानसमा त्रास सिर्जना भइरहेका बेला पवित्र मनका साथ उद्धार तथा राहतका लागि खटिएका अन्तर्राष्ट्रिय रेडक्रसकर्मीको जीवन भने खतरामा पारिएको आभास भएको छ । मापदण्डविपरीत निर्माण भएको र भौतिक संरचनासमेत कमजोर रहेको सोल्टीमोडस्थित रेडक्रस केन्द्रीय कार्यालयनजिकैको प्लाटुनियम होटलमा उनीहरूलाई बास बस्ने व्यवस्था गरिएबाट यस्तो अनुभूति गरिएको हो । मापदण्डविपरीत निर्माण गरिएका तथा भूकम्पले क्षतविक्षत तुल्याएका भवन भत्काउन सरकारले सार्वजनिक रूपमै आह्वान गरिरहेका बेला गैरकानुनी रूपमा निर्माण गरिएको भौतिक संरचना कमजोर रहेको प्लाटुनियम होटलमा विदेशी उद्धारकर्मीलाई बसोबासको व्यवस्था मिलाउनु अवश्यमेव जायज ठहरिन सक्दैन । रेडक्रस केन्द्रीय कार्यालयकै भवनमा समेत आवश्यक काममा बाहेक तल्लोतलाबाटै कामकाज गर्न आन्तरिक सर्कुलर भइरहेका बेला अन्तर्राष्ट्रिय रेडक्रसकर्मीलाई त्यस्तो होटलमा बसोबास मिलाउनुको रहस्य बुझिनसक्नु छ । कतै होटल व्यवस्थापनसँग कमिसनको मोहमा परेर सरोकारवाला निकायले प्लाटुनियम होटलको सिफारिस गरेको त होइन भन्ने आशङ्का पैदा भएको छ । होटलमा कोठा बुक गरिएको भए पनि अन्तर्राष्ट्रिय रेडक्रसकर्मी भने परकम्पको भयले कहिले रेडक्रसकै चौरमा त कहिले होटलको लबिमा रात कटाउँदै आएका छन् । ‘आफ्ना समान राख्न र बाथरुम प्रयोग गर्नका लागि मात्र रुम बुक गरेजस्तो लाग्छ, उनीहरूले बुक गरिएको रुममा रात बिताइरहेका छैनन्,’ प्लाटुनियम होटलकै एक कर्मचारीले खुलासा गरे ।
समाचार स्रोतका अनुसार नेपाल चेम्बर्स अफ कमर्सको स्वामित्वमा रहेको उक्त बिल्डिङ २५ वर्षका लागि टेकुस्थित हार्डवेयर व्यापारी प्रकाश दुगडलगायतको समूहले लिजमा लिएर भवन निर्माण मापदण्डविपरीत साढे दुई तला थप गरिएको हो । यसअघि चारतले उक्त बिल्डिङ केही वर्ष कामना प्रकाशनले भाडामा प्रयोग गरेको थियो । त्यतिबेलै आवश्यक स्याहार तथा मर्मत–सम्भार नहुँदा जीर्ण बन्दै गएको भवन ०६८ सालमा दुगड समूहले मासिक पाँच लाख भाडा, भाडाकर र नगरपालिका करसमेत बुझाउने सर्तमा लिजमा लिएर भवनको स्वरूप परिवर्तनका साथै साढे दुई तला थप गरिएको हो । विदेशी पर्यटकलाई नै टार्गेट गरी सञ्चालनमा ल्याइएको उक्त होटलले स्वरूप परिवर्तनका साथै तला थप गर्दासमेत काठमाडौं महानगरपालिकासँग स्वीकृति नलिइएको बुझिन्छ । कतैबाट विरोध आउन सक्ने सम्भावनालाई ख्याल गर्दै होटल व्यवस्थापनले कामनपाका कर्मचारीलाई केही नजराना बुझाएर ‘मुखबुझो’ लगाएको स्रोतको दाबी छ । यत्रो विनाश हुँदा पनि कामनपाका कसैको नजर त्यता पर्न नसक्नुको कारण पनि सम्भवतः यही रहेको बताइन्छ ।
प्राप्त जानकारीअनुसार यहीबीच पर्यटन बोर्डले विदेशी पर्यटक बस्ने होटलको भौतिक अवस्था र उनीहरूले पूर्ण सुरक्षाको अनूभुति गर्न सक्ने अवस्था छ–छैन भन्नेबारेमा जाँचबुझ थालेको छ । ‘कम्पनबाट क्षति पुग्ने मात्र नभएर वर्षात्को सिजनमा जगदेखि नै भासिन सक्ने खतरातर्फ पनि भूगर्भशास्त्रीले सचेत गराएकाले मापदण्डविपरीतका भवनमाथि कामनपा, भवन विभागले जाँच गर्नुपर्ने अवस्था उत्पन्न भएको हो,’ पर्यटन मन्त्रालय स्रोतले थप्यो, ‘विदेशी बस्ने होटलको पुनः परीक्षण गर्नेबारेमा छलफल भइरहेको छ ।’
तीन दशकअघि भारतबाट नेपाल आएका प्रकाश दुगड व्यापारिक एवम् व्यावसायिक क्षेत्रमा विवादास्पद नाम हो । दुनियाँको लगानी गराएर आफू सित्तैको मालिक बन्ने उनको अहिलेसम्मको योजना सफल भइरहेको सम्बद्ध क्षेत्रका व्यवसायीहरू बताउँछन् । विभिन्न व्यक्तिलाई चर्काे ब्याजको प्रलोभन देखाउँदै उनीहरूको घरजग्गा बैंकमा राखिदिएर आफू मालिकका रूपमा देखापर्ने श्रमशोषकका रूपमा पनि दुगड चिनिन्छन् । विगतमा केही प्रहरीका हाकिमलाई सुरा–सुन्दरी उपलब्ध गराएर उनले आर्थिक उन्नति गरेको जानकारहरू बताउँछन् ।
होटलको अध्यक्ष घोषित प्रकाश दुगडले होटलमा काम गर्ने मजदुर तथा अदक्ष कर्मचारीमाथि कतिसम्म शोषण गरेका छन् भन्ने उनीहरूले बुझ्दै आएको २५ सयदेखि तीन हजारसम्मको मासिक सेलरीले नै पुष्टि गर्छ । श्रमशोषणका विरुद्ध अत्यन्तै न्यून तलब पाइरहेकाहरू सरकारले तोकिदिएको न्यूनतम पारिश्रमिक आठ हजार दुई सयको दाबी गर्दै श्रम कार्यालयमा उजुरी गर्ने तयारीमा जुटेका छन् । होटलको रिसेप्सनमा राखिएको टिप्स बक्समा पाहुनाले दिएको डोनेसन रकमसमेत कर्मचारीलाई भागबन्डा गर्न नदिने दुगड कर्मचारीबीच अत्यन्त निम्नकोटिको व्यक्तिका रूपमा परिचित रहेका एक कर्मचारीले बताए । आफ्नो बचाउका लागि दुगडले नेपाल प्रहरी, सशस्त्र प्रहरीका महानिरीक्षकहरू, मन्त्री सुनील थापा, मीनेन्द्र रिजाल, कैलाश सिरोहियालगायतको नाम ‘साथी’का रूपमा लिने गरेको पनि बुझिएको छ ।

पीडित परिवारलाई पन्ध्रहजार वितरण सुरु
भूकम्पपीडित परिवारलाई सरकारले राहतस्वरुप प्रदान गर्ने रू. १५ हजार ललितपुरका दुर्गम गाविसबाट वितरण्ँको थालनी गरिएको छ । भूकम्पका कारण्ँ पूणर््ँ रुपमा Ôति भएका घरको लगत सङकलन भएपछि पीडितलाई दिइने सहयोगलाई निरन्तरता दिइएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले बताए । उनका अनुसार अहिलेसम्म भारदेउ, ठूलादुर्लुङ र कालेश्वर गाविसका पीडितलाई रकम प्रदान गरिएको छ । यसैगरी शङखु, इकुडोल, गोटीखेल, प्युटार, गिम्दी र चन्दनपुर गाविसका पीडितलाई दिइने १५ हजार रुपैयाँ पनि गत सोमबारदेखि नै बाँड्न थालिएको बताइएको छ । भूकम्पले ललितपुर जिल्लाभरिमा करिब २२ हजार घरमा Ôति पुगेको जनाइएको छ ।

जीर्ण भवनमा कर्मचारी त्रसित
नेपालगञ्ज/ सशस्त्र द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादीले बम बिष्फोट गराएर क्षतिग्रस्त तुल्याएको नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय भवनमा पछिल्लो समय कर्मचारी त्रासका बीच काम गर्न बाध्य भएका छन् । कर्मचारी मात्रै होइन जीर्ण भवनमा सेवासुविधा लिन पुग्ने गरेका सयौँ सेवाग्राहीसमेत त्रासमै पर्ने गरेका छन् । पछिल्लो ठूलो (वैशाख २९)को भूकम्प आउँदा उक्त भवनबाट इटा खसेको उल्लेख गर्दै लेखाशाखा प्रमुख राजन केसीले भवन जीर्ण भए पनि सोही भवनबाट काम गर्नुपर्ने बाध्यता रहेको दुःखेसो गरे । विनासकारी भूकम्पको झट्कापछि लेखाशाखाको कोठाबाट इटा खसेपछि झनै जोखिम बढेको कर्मचारीहरु बताउँछन् ।
भूकम्पका परकम्प आउँदा कर्मचारी र सेवाग्राहीहरूमा भागाभाग चल्ने गरेको छ । ‘पछिल्लो भूकम्पबाट देशभर ठुलो क्षति भएको अवस्थामा जीर्ण भवनमा आउन पनि डर लाग्छ,’ भूकम्पपछि कार्यालयमा पुगेका एक सेवाग्राहीले भने– ‘अन्यत्र सुरक्षित स्थानमा केही दिनका लागि भए पनि कार्यालय सारे ढुक्क हुन सकिने थियो ।’
जीर्ण भवनमा दैनिक कार्य सञ्चालन हुन समस्या हुने भएपछि उपमहानगरपालिकाको नयाँ भवन निर्माण कार्य चलिरहे पनि भवन निर्माण कार्यमा ढिलाई भइरहेको छ । नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी प्रमुख विष्णुप्रसाद भुसालले भूकम्पपछिको असहज अवस्था र भूकम्पले बारम्बार धक्का दिइरहँदा पनि कार्यालयमा बसेर काम गर्नुपरिरहेको बताए । नेपालगन्ज उपमहानगरपालिकाझैँ जिल्ला प्रशासन कार्यालय बाँकेमा कार्यरत कर्मचारीहरूले समेत जोखिमका बीचमा काम गर्नुपरिरहेको बताए ।

नौ वर्षीया कार चालक !
नौ वर्षीया बालिकाले कुनै अनुभवी चालकले झैँ परिपक्व ढङ्गले गाडी ड्राइभ गरेको सुन्दा पत्याउन गाह्रै पर्छ । तर, अर्घाखाँची, ठाडा–३ अमराईनिवासी ऐश्वर्या पौडेलले यस्तै अपत्यारिलो काम गरेर सबैलाई चकित तुल्याउँदै आएकी छिन् ।
कपिलवस्तुको वाणगंगा–१४ मा रहेको कपिलवस्तु विद्या मन्दिरमा कक्षा ४ मा अध्यनरत बालिका ऐश्वर्या निर्ढुक्कसँग कार चलाएर सडकमा गुड्छिन् । बा.१०च ४३६१ नम्बरको कार आफ्नो घरदेखि लामो दूरीको पहाडी बाटो पटक–पटक ड्राइभ गरेको उनका परिवारजनको भनाइ छ । ऐश्वर्याका बुबा कुलराज पौडेलका अनुसार ०६२ साल चैत २४ गते जन्मिएकी ऐश्वर्याले तीन–चार वर्षको उमेरदेखि नै ड्राइभिङप्रति रुचि देखाउन थालेकी थिइन् । सानो उमेरमा गाडी चलाउनु एउटा जोखिमपूर्ण कार्य भए पनि आफ्नी छोरी ड्राइभिङ सिटमा बसेपछि उनको व्यक्तित्वमै फरकपन आउने तथा परिपक्व ड्राइभरले चलाइरहेकोजस्तो अनुभूति मिल्ने आमा कान्ता पौडेलले बताइन् ।
नेपालको सन्दर्भमा यसअगाडि पनि स–साना बालबालिकाले समथर स्थानमा गाडी चलाएका उदाहरण नभएका होइनन्, तर गाडीको चाप तथा पहाडी साँघुरा सडकमा निर्ढुक्क गाडी चलाउने ऐश्वर्याजस्ता बालिका कमै भेटिएलान् । गत साता उनको घर रहेको स्थान अमराईदेखि आफैँले गाडी चलाएर परिवारका सदस्यलाई जिल्लाको प्रसिद्ध सुपादेउराली मन्दिर पु-याएकी ऐश्वर्याको साथमा ड्राइभिङको समयमा उनका बुबा रहने गर्दछन् । तर, ध्यानयोग्य के छ भने ऐश्वर्याले आफ्नो ड्राइभमा कुनै गल्ती गरिछिन् भने पनि तत्काल उनका बुबाले सुधार गरिदिन सक्ने चान्स भने पटक्कै रहँदैन । सिकारु गाडीमा जस्तो दुवैतर्फ ब्रेक र क्लज सो गाडीमा नभएको कारण सबै कुरा बालिका ऐश्वर्याले नै सम्हाल्ने गरेकी छिन् । कच्चा उमेर र लाइसेन्स पनि नभएको कारण उक्त बालिकाले ड्राइभ गर्ने समय आफू पनि सो गाडीको अगाडि वा पछाडि रहने गरेको उनका बुबाको भनाइ रहेको छ ।
आफ्नी कान्छी छोरीलाई नौ वर्षको उमेरमा कार र मिनीट्रक ड्राइभ गर्न सिपालु तुल्याउने अमराईनिवासी कुलराज पौडेल स्वयम्को पेसागत जीवनी पनि कम रोचक छैन । जिल्लाभरमै सबैभन्दा ठूलो संयुक्त परिवारलाई मिलाएर राख्न सफल बनेका उनले सुरुवातमा दुई–चारवटा कुखुराका चल्लाको व्यापार गरी खर्च चलाएका थिए । कामप्रतिको लगाव र मिहिनेतका कारण हाल उनी गाडी र जमिनको सफल व्यापारीका रूपमा परिचित बनेका छन् । कसैले गाडी खरिद गरेर बिक्री वा सट्टापट्टा गर्ने कार्यमा दुःख पाएको छ भने उनलाई गुहारे तत्काल समस्या समाधान हुन्छ । यसरी उनीसमक्ष आएका कुनै पनि गाडी बढीमा दश दिनभित्र बिक्री हुनु एक चमत्कारभन्दा कम नभएको उनलाई चिन्नेजान्नेहरू बताउँछन् । कुनै पनि गाडीको मोडेल र कम्पनीको आधारमा दुवै पक्षलाई चित्त बुझाएर कारोबार गर्दै आएका पौडेलसँग हाल करोडौँको सम्पत्ति रहेको छ ।

सद्भावनाद्वारा भूकम्पपीडितलाई सहयोग
राजनीतिक पार्टी तथा निजी क्षेत्रबाट भूकम्पका पीडितहरूलाई सहयोग गर्ने क्रम जारी रहेको छ । भूकम्प अति प्रभावित क्षेत्रमा पुगेर अधिकांश राजनीतिक दलले सहयोगलाई जारी राखेका छन् । यसै क्रममा सद्भावना पार्टीले धादिङका पीडितलाई राहत वितरण ग-यो । यही १५ गते री गाविसको सल्लेरी गाउँका भूकम्पपीडितलाई सद्भावनाका केन्द्रीय सदस्य विधान केसीको नेतृत्व टोलीले विभिन्न सामग्री वितरण गरेको छ ।
गणेश हिमालको फेदीमा रहेको गाउँमा अधिकांश तामाङ जातिको बाहुल्य छ । सद्भावनासहित अरोमा इन्टरनेसनल प्रालि जावलाखेलको संयुक्त आयोजनामा भएको राहत वितरणमा गाउँका सबै पीडित सहभागी थिए । ६५ परिवारलाई वितरण गरिएको राहतमा २५ परिवारलाई जस्तापातासहित घर निर्माणका सामग्री, ३० परिवारलाई त्रिपाल, ३० थान सुत्ने लत्ताकपडा, ३० बोरा खाद्यान्न, ५ सय पिस महिलाका लागि स्यानिटरी प्याडलगायतका सामग्री वितरण गरिएको छ । राहत वितरण कार्यक्रममा अरोमाका अध्यक्ष नवीन रिसाल पनि सहभागी थिए ।
त्यस्तै, स्पेनमा बस्ने नेपालीले भूकम्पपीडितका लागि एक करोड रुपैयाँ सङ्कलन गरेका छन् । स्पेनमा बस्ने पत्रकार प्रकाश तिवारीले जनाएअनुसार सङ्कलित रकममध्ये ४५ लाख गैरआवासीय नेपाली सङ्घको काठमाडौंस्थित बैंक खातामा जम्मा भइसकेको छ । बाँकी ५५ लाख रकम सङ्कलन गरेर केही दिनभित्रै पठाउने तयारी भएको एनआरएन स्पेनले जनाएको छ ।