जंगबहादुरका दुस्साहसी काम–३

जंगबहादुरका दुस्साहसी काम–३


राजाको एउटा निजी हात्ती बहुलाएको खबर फैलियो । त्यस हात्तीलाई उनको माहुतेले सदाझैँ बागमतीमा नुहाउन लगेको थियो । नुहाइसकेपछि अचानक दिमाग बिग्रेर उसले माहुतेलाई माऱ्यो । त्यसपछि उसले आफूअगाडि भेटिने जोसुकैलाई पनि आक्रमण गर्दै दरबारतर्फ पाइला बढायो । रगतको प्यासी त्यस राक्षसका डरले सबै मानिस यत्रतत्र भागाभाग गर्न लागे । त्यसलाई समातेर नियन्त्रणमा ल्याउने कुरा सोच्नु पनि निरर्थक थियो । शाही तबेलामा बलिया हात्ती थिएनन् र यस्तो राक्षसजस्तो जनावरलाई तह लगाउन कुनै मानिसले सक्ला भनेर विश्वास गर्नु पनि हास्यास्पद लाग्दथ्यो ।

यसैबीच जंगबहादुरले त्यस अजेय जनावरलाई अधीनमा ल्याउन पाऊँ भनेर राजासमक्ष निवेदन गरे । उनको प्रस्ताव सुनेर राजा स्वाभाविक रूप विस्मित भए र मुस्किलले स्वीकृति दिए । जंगबहादुर तत्काल घोडा चढेर थापाथलीतर्फ हान्निए । उनी बागमती नदीकिनारमा अवस्थित सिंहसत्तलबाट बजारको एउटा घरको छतमाथि चढेर बसे । उक्त हात्ती त्यो बाटोबाट बढ्ने आशङ्का गरिएको थियो । नभन्दै पहिलेभन्दा केही शान्त र केही सरल गतिमा लम्कँदै अपेक्षित समयमा नै त्यो हात्ती त्यही बाटो आयो । धेरै हल्ला भएका कारण रिसाएर उसले उत्पात मच्चाउन नसकोस् भन्ने आशयले मानिसले सडक खाली गरेका थिए । जसै त्यो हात्ती जंगबहादुरले उसलाई पर्खेर बसिरहेको घरबाट अगाडि बढ्न लागेथ्यो, जंगबहादुर अद्भूत सुनिश्चितताका साथ उफ्रेर उसको पीठमाथि चढे । त्यो रहस्यमय चालबाजीको गन्ध सुँघेर बौलाहा हात्तीले उन्मत्त भएर टाउको हल्लायो ।

आफ्नो पीठमा सवार आरोहीलाई खसालेर फ्याँक्ने प्रयासस्वरूप उसले सुँड हल्लायो, तर जंगबहादुर हात्तीको पीठमा एकदमै दरिलो भएर बसेका थिए । उनले आफ्नो साथमा भएको अङ्कुश र कटार कुशलतापूर्वक प्रयोग गरेका थिए । त्यसकै सहायताले उनी आफैँ सशस्त्र भएका थिए । फलस्वरूप हात्तीले उनलाई पछार्न सकेन र पाटनतर्फ कुद्यो । बाटोमा एउटा पुल पथ्र्यो । जंगबहादुर त्यो अवस्थामा ज्यादै आत्तिए किनकि पुलले त्यो भीमकाय हात्तीको तौल थाम्न सक्तैनथ्यो । हात्तीको पीठबाट हामफाल्ने हो भने उनी जहाँको त्यहीँ निश्चित रूपमा मारिने थिए । उनी अङ्कुश र कटार एकनासले चलाउँदै ठूलो स्वरमा चिच्याए । त्यसले गर्दा उक्त हात्ती त्यो बाटो छोडेर अर्को बाटोतिर लाग्यो । जंगबहादुरको इच्छा पूरा भयो । हात्तीलाई त्यो बाटो छोडेर त्रिपुरेश्वरतिर मोडाउन उनी सफल भए ।

तर, बाटोमा एउटा भवितव्य आइपऱ्यो । उनको एकजना बहिरो सेवक बागमतीमा पानी भर्न जाँदै रहेछ । उसलाई देखेर जंगबहादुरले न्वारानदेखिको बल निकालेर चिच्याउँदै उसलाई त्यहाँबाट भाग्ने चेतावनी दिए, तर त्यस बहिरोले सुन्न सकेन । उसको शरीर केही छिनमै टुक्राटुक्रा भयो । त्यो लासलाई आफ्ना हुँडमा च्यापेर यताउति हल्लाउँदै हात्ती त्रिपुरेश्वरतिर अगाडि बढ्यो । यहाँ एउटा जाल तयार पारेर राखिएको थियो । ऊ त्यो जालमा फस्यो र अन्त्यमा जंगबहादुरको अधीनमा आयो । यी सबै कुरा सुनेर राजा चकित भए र उनले मुखबाट यस्तो शब्द प्रकट गरे, ‘जंगबहादुरको मुटु नै रहेनछ ।’

नेपाली समाजमा यो एउटा प्रचलित उखान हो । यो उखान केही र कसैसँग नडराउने अर्थात् अत्यन्त निडर व्यक्तिप्रति प्रयोग गरिन्छ । महाराजधिराजबाट एउटा आशङ्का पनि प्रकट भयो– यो असाधारण साहसी पुरुषले अस्वाभाविक मृत्युवरण गर्ने दिन पो आउने हो कि ? वास्तवमा ऊ हामी सबैभन्दा बहादुर पुरुष हो ।

जनवरी १८४१ को जाडो महिना । एक दिन जंगबहादुर एउटा हरिणको पछि लागिरहेका थिए । यसैबीच उनी हिँड्दै गरेको बाटोमा एउटा डरलाग्दो भालु देखापऱ्यो । सिकारी कुकुरको भुकाई, घोडाका टापको टकटक र सिकारीको चिच्याहटका कारण भालुको शान्ति खलबलिएको थियो । आफ्नै आँखाअगाडि देखेपछि उसले जंगबहादुरलाई नराम्रोसँग आक्रमण गऱ्यो । तर, आफ्नो प्रत्युत्पन्न मति नगुमाईकन उनले दापबाट आफ्नो तरबार थुतेर भालुको मुखमा तीव्र प्रहार गरे । त्यो भालु फरक्कै फर्केर जङ्गलमा कतै हरायो ।

यस्तै अर्को घटना छ– जंगबहादुर आफ्नो मौलिक खेल, सिकार फेला पार्ने जोसले उत्तेजित भएर एउटा ठाडो उकालो चढ्दै थिए, उनका गोडा चिप्लिएर उनी ६० फिट जति तल तादी नदीबीचको ढुङ्गामा पछारिए । उनको दाहिने तिघ्रामा सामान्य चोट लाग्यो, तर त्यसको वास्तै नगरेर हरिणको खोजीमा उनले पौडी खेलेर नदी पार गरे । उनले हरिण मारे र घरमा सिकार ल्याएरै छोडे ।
(पद्मजंग राणालिखित ‘जंगबहादुरको जीवनयात्रा’बाट)

पहिलेको हेर्नुहोस्-

जंगबहादुरका ‘दुस्साहसी’ काम–२
https://ghatanarabichar.com/137031