मेगालिस्थिक मन्दिरहरूको टापु माल्टाको यात्रापछि…

मेगालिस्थिक मन्दिरहरूको टापु माल्टाको यात्रापछि…


  • डिल्लीराम अम्माई, बेल्जियम

भूमध्यसागरको बीचमा रहेको टापुहरूको देश रिपब्लिक माल्टा केवल देश मात्र होइन रहेछ, त्यो त संसारकै प्राग इतिहास बोकेको युनेस्कोद्वारा संरक्षित विश्व सम्पदाको मुटु रहेछ । जुन कुरा त्यहाँ पुगेपछि थाहा भयो । माल्टाका नेपालीको अवस्था बुझ्ने र पौराणिक मन्दिरहरूको अवलोकनबारे एक सूचनामूलक वृत्त आलेख तयार पार्ने उद्देश्यसहित ५–६ हजार वर्ष पुराना मन्दिरका टापुहरूको देश माल्टा पुगियो यसपटक । त्यहाँको अनुभव, सङ्कलित जानकारी र त्यहाँको जनजीवनबारेका अनुभव पाठकहरूसँग बाँड्न पाउनु खुसीको कुरा हो । यकिन तथ्याङ्क नभए पनि दुई हजारभन्दा बढी नेपालीले केही समयदेखि पसिना बगाउँदै गरेको टापुमा झन्डै तीन दिन बिताएर फर्कंदा केही लिएर आएको अनुभव भएको छ ।

यात्राको सिलसिलामा नयाँ अनुभूति हुनु स्वाभाविक हो । भनिन्छ यात्रा सधैँ सुखमय मात्र हुँदैन । सबै क्षणहरू सुविधायुक्त पनि हुँदैनन् । कतिपय बेला यसले दुखाउँछ र मुटु नै हल्लाउने गरी चिथोर्छ । यी सबै परिणाम सहन्छु भनेर नै यात्रा गर्ने हो । तर, यात्राले हामीलाई सिकाउँछ परिवर्तन गर्छ र हाम्रो मस्तिष्क, हृदय र शरीरमा आशातीत छाप पनि छोडेको हुन्छ । हामीले यात्राबाट केही ल्याउँछौँ र भविष्यका लागि केही सञ्चय पनि गर्छौं । त्यसैले छोटकरीमा भन्दा यात्रा बाँच्नुको प्रमाण हो ।

एनआरएन भेलाको निहुँ नै सही, एनआरएनएका युरोप संयोजक शिव बरुवाल, आईसीसी पदम गुरुङ, व्यवसायी सङ्घ बेल्जियमका निवर्तमान अध्यक्ष सीपी भट्ट, पत्रकार ओम शर्मा, मित्र पारस गौतम र म माल्टा जाने अनायासै योजना बन्यो । साथीहरूले टिकट लिइसकेका रहेछन् । ओमजी र मैले पनि फेब्रुअरी ९ तारिख बेलुका राइन एयरको अनलाइन टिकट लियौँ । पर्सिपल्ट अर्थात् ११ फेब्रुवरी बेलुका ७ः३० बजेको उडानको समय थियो । घरबाट दुई बजे निस्किएर आन्त्वेर्पेनको ट्रेन स्टेसन हुँदै ब्रसेल्समिडी पुग्यौँ । त्यहाँ रहेका दुई साथी पदमजी र पारसजीसहित ट्याक्सीमार्फत हामी सालारुवातर्फ हुइँकियौँ ।

बेलुका ८ः१५ मा मात्र राइन एयरको जहाजले भूमध्यसागरको नीलो मणि भनिने माल्टातर्फ आफ्नो उडान भऱ्यो । मौसम राम्रो भएकोले अँध्यारोमा स्विजरल्यान्ड र इटालीका बस्तीमा बलेका बत्तीहरू जुनकिरीको पिल्काजस्तै देखिन्थे । जमिन र जल अँध्यारोले छोपे पनि ती उज्यालोका पिलिपिली अँध्यारोले छोप्न सकिरहेको थिएन । हेर्दाहेर्दै उज्यालो हरायो र हामी तलको आकाशमा बादलका थुम्काहरू देखिन थाले । हामीले अनुमान लगायौँ कि अब सिसिलदेखि पारिको अथाह जलमा प्रवेश गऱ्यौं ।

इटालीको सिसिलदेखि जम्मा असी किलोमिटर मात्र टाढा छ माल्टा । कल्पनामा आइहाल्यो ६ हजार वर्ष पुराना मन्दिर र स्मारकहरूले भरिभराउ टापु अनि एघार म्याथानिथिक मन्दिर, हगर क्युइम र मनाज्द्राको ऐतिहासिक बिरासतलाई काखमा बोकेको रिपब्लिक अफ माल्टा ।

समुद्रको बीचमा हीराझैँ टल्केको एउटा जुनकिरीको थुप्रोभित्र जहाज झऱ्यो हुरुरुरु । मन त्यसै–त्यसै रोमाञ्चित भइरह्यो । एउटा समाचार बनाउने आग्रहले हामी दुई (ओम सर र म) थपिएका थियौँ एनआरएनएको समूहमा । हाम्रो ध्येय घुम्नु र जानकारी लिनु मात्र थियो । एनआरएनएको भेला र समिति निर्माण हाम्रो उद्देश्यभित्र थिएन ।

हामी झोला बोकेर एयरपोर्टबाहिर निस्कियौँ । एक दिनअगाडि माल्टा पुग्नुभएका एनआरएनए केन्द्रीय उपाध्यक्ष कुमारजीले अघिल्लो दिन फोनमा कुरा गर्दा ‘एयरपोर्ट लिन आउँछु’ भन्नुभएकोले यताउता हेरेँ, देखिनँ । हामीले बुक गरेको ‘सेन्ट जर्ज वेस्थित सेन्ट जुलियान्समा अवस्थित होलिडे इन एक्सप्रेस’ होटेलमा जान हामीले ट्याक्सी लियौँ । झन्डै आधी घन्टामा होटेलमा पुगियो । त्यहाँ पुगेपछि बेलायतबाट आएको एनआरएनए केन्द्रका सहकोषाध्यक्ष सोम सापकोटालगायतको टोली भेट भयो ।

उपाध्यक्ष कुमार सर सपरिवार अर्को होटेलमा बस्नुभएको रहेछ । हामी बस्ने होटेलमा आउनुभयो र भेट भयो । भोलिपल्ट हुने भेला तथा एनआरएनए माल्टाको तदर्थ समिति गठनकै सेरोफेरोमा गफ भयो । त्यहाँ भेलाकै लागि धेरै अभियन्ताहरू आएका थिए । ओम सर र म त विशेषगरी घुम्न आएको हुँदा साथीहरूबीच चासो बाझिएपछि ऐतिहासिक स्थलबारे चुस्त योजना बन्न सकेन । दुईजनाले मात्र योजना बनाउने कुरा पनि भएन । अतः हाम्रो फितलो योजनाले झन्डै एक र आधा दिनमा माल्टाका सबै ऐतिहासिक स्थलको अवलोकन सम्भव थिएन र सकिएन पनि ।

पहिलो दिनको घुमाइ (फेब्रुअरी १२) :

अबेरसम्म गफगाफ भएपछि हामीहरू सुत्यौँ । भोलिपल्ट बिहान नास्ता गरेपछि बेल्जियमको टोली बसमार्फत टापु भ्रमणमा निस्कियौँ । इसापूर्व ४००० मा बनेको सफालिनी हाइपोजियम हल, हजर क्युइम, लागेस्ट मोनोलिथ, टार्सियन टेम्पलको अवलोकन गर्दै सन् १५७७ मा बनेको सेन्ट जोन्स को–क्याथ्रेदलको सम्पूर्ण भाग टाँगाबाट अवलोकन गरियो । त्यसको लगत्तै माल्टाको पौराणिक घरहरू, गार्डेनहरू हेर्दै हामी ग्रिनबेल्ट पुगेर त्यसदिनको यात्रा विसर्जन गऱ्यौं । हामीमध्ये एनआरएनए युरोप संयोजक शिबजीलाई भेलामा सहभागी हुने हातारो भैरहेको थियो । उहाँ सुरुमै घुम्न जान हिच्किचाउनु भएको थियो र हाम्रो जोडबलले त्यो दिनको भ्रमणमा आउनु भएको हामीलाई ज्ञात छ ।

यात्राको आधा मजा आफू हराएको अनुमान हो । यात्राको बेला आफ्नो उपस्थितिको आभास हुँदैन र नयाँ ठाउँ घुम्ने उत्कण्ठाले आफ्नो उपस्थितिलाई सर्लप्पै निलिदिन्छ । माल्टा मात्रै होइन नयाँ ठाउँ घुम्दा त्यस्तो अनुभूति हुन्छ ।

मलाई डर लाग्यो कतै इजिप्टको पिरामिडभन्दा पनि अगाडिको सभ्यताको अवशेष संसारकै पुरानो गोजो टापुमा अवस्थित ग्गान्तिजा (ग्गंतिजा) छुट्ने त होइन । त्यही धुकचुकी मनमा खेलाउँदै म साथीहरूसँग भेलातर्फ लागेँ ।

भेला : बेलुका साढे ५ बजेदेखि भेलाको लागि माल्टावासी नेपाली अन्नपूर्ण रेस्टुरेन्टमा थुप्रिएका थिए । डेढ–दुई सयभन्दा बढी नेपालीको जमघटबीच भेला शुरु भयो । एनआरएनए केन्द्रका वरिष्ठ उपाध्यक्ष कुमार पन्तको प्रमुख आतिथ्यतामा भेलाले रस्साकस्सी पछि तेजबहादुर लिम्बूको नेतृत्वमा एक २५ सदस्यीय समिति घोषणा गऱ्यो । हामीले माल्टावासी नेपालीका समस्याबारे कुनाकानीमा बसेर खोतल्न थाल्यौँ । उनीहरूको प्रमुख आक्रोश नेपाली बिचौलियासँग रहेको बुझियो । मासमा केहीले आक्रोश पोख्दै थिए, ‘बिचौलियालाई एनआरएनएको तदर्थ समितिको प्रमुख पदहरूमा किन प्रस्ताव गरियो ? यो गलत गरिँदै छ, हामी मान्दैनौँ ।’

माल्टावासी नेपालीको गुनासोबारे :

माल्टावासी नेपालीको गुनासाका चाङमा बिचौलियाबाट उनीहरूमाथि भएको विश्वासघात, चलाखी, लुट र धोका भएको थाहा भयो । जुन कुराले पत्रकारद्वय मर्माहत भयौँ र पीडितमध्ये केहीसँग भिडियो कुराकानी पनि गरियो । त्यहाँ भएका टाठाबाठा नेपालीले अत्यधिक पैसा असुलेर दलाली गर्दा रहेछन् । वर्किङ भिसामा कालोसूचीमा रहेको कम्पनीमार्फत नेपालबाट ल्याइएका कतिपयले काम र कागज नपाएर बिचल्ली भएको बताए । नेपाली दलालहरूले कतिपय अदक्ष जनशक्तिलाई दक्ष जनशक्तिको नक्कली प्रमाणहरू बनाएर बोलाउने र त्यस्तालाई माल्टिज कम्पनीले स्वीकार नगरेपछि बिचल्लीमा परेको पनि गुनासो सुनियो । केही बिचौलियाद्वारा पीडित नेपालीले आफ्ना समस्याबारे लेखिदिन गरेको आग्रहमा हामीले ‘प्रमाण पुऱ्याएर ल्याएमा लेख्ने मात्र होइन, उनीहरूलाई नांगेझार पारेर जनसमक्ष ल्याउने आश्वासन दियौँ । यदि समस्या भयो भने माल्टामा पनि हाम्रा सहकर्मीहरू छन् (280 Flt Trig ir-Ripubblika, Valletta Malta, VLT 1112, fon 99458781) त्यहाँ सम्पर्क गर्नुहोस् हामीले पनि समन्वय गरेर अनुसन्धान र कानुनी उपचारको लागि सहयोग गर्नेछौँ । पत्रकार महासङ्घ माल्टा (Institute of Maltese Journalist, www.igm.org.mt) को यो केन्द्रीय कार्यालयमा गएर आफ्ना समस्या राख्न पनि सक्नुहुनेछ । एक नेपालीलाई अलपत्र पारेर रुपैयाँको चाङमा सुते पनि बिचौलियाले चयनको सास लिन पाउनेछैन । सकभर दलाली नगर्नुस् यदि दलालीबाटै धन आर्जन गर्ने लत बसेको छ भने माल्टाको कानुनी आधारमा टेकेर, तथ्यगत सूचना प्रवाह गरेर, कामको ग्यारेन्टी गरेर राष्ट्रको झन्डाको बदनाम नगरीकन बिचौलियाको खेती गर्नुहोस् । नेपाली झन्डा वा सङ्घसंस्थाको छायामा लुकेर दलाली गर्नुभो भने तपाईं सकिनुभयो भनेर बुझ्नुस् । आत्मिक रूपमा पीडितको पीडाको आँसुले तपाईंले जीवनभर आनन्दको अनुभूति गर्न पाउनुहुनेछैन ।’

यो हाम्रो माल्टाका नेपाली बिचौलियालाई चेतावनी र आग्रह दुवै हो । कुनै पनि मानिस जो माल्टाको सत्य–तथ्यबाट टाढा छन् उनलाई यो कुरा अतिसयुक्ति लागे पनि हामी पत्रकारहरूले माल्टा भूमिमा पुगेर सत्य बुझेपछि हामीमा बेचैनी या छटपटीको मात्रा बढायो । माल्टा भ्रमणको यो नकारात्मक परिदृश्य देखेर हामी अलिक दुःखी भएर फर्केका छौँ । पीडितले बिचौलिया भनेर केही नाम दिएका छन् त्यसको हामीले निरन्तर फलोअफ गरिरहनेछौँ । केहीको गुनासोलाई क्यामेरामा कैद गरेपछि हामीले अन्नपूर्ण रेस्टुरेन्टमै नेपाली स्वादको खाना खायौँ । केही साथीहरू भन्दै थिए, ‘खाना त स्वादिलो हो, तर ३० युरो प्रतिव्यक्ति धेरै महँगो भयो ।’

हामी पुनः अर्को आधा दिनको भ्रमणबारे कथा रच्दै होटेलमा फर्कियौँ । होटेलको ८ नम्बर हलमा साथीहरूबीच केहीबेर जोक्स भन्ने लहर चल्यो । साथीहरूका जोक्सले मुटु मिचिमिची हाँस्दै ओमजी र म सुत्न गयौँ ।

सुत्ने बेलामा दलाई लामाको यात्रासम्बन्धी ‘एकपटक त्यहाँ जाऊ जुन ठाउँमा जीवनमा कहिल्यै गएका छैनौ, अनुभूति ताजा हुनेछ’ भन्ने भनाइ सम्झँे । माल्टाको यात्रा, भेलामा त्यहाँका नेपालीको गुनासो, सुन्दर माल्टामा बगेका नेपालीका आँसुले मन छिन्नभिन्न भयो । माल्टा आकाशबाट हेर्दा जसरी खित्का छोडेर हाँसिरहेको देखिन्छ, तर त्यहाँ पुगेपछि थाहा भो त्यहाँ त नेपालीको आँसुको भेल पनि सँगसँगै समुद्रमा मिसिएको रहेछ ।

फेब्रुअरी १३ :

म बिहानको नित्यकर्मपछि चिया पिउने तरखरमा थिएँ । ओमजी नुहाउँदै हुनुहुन्थ्यो । पदमजीको फोन आयो । उहाँले दारी फाल्ने मेसिन बिर्सनुभएको रहेछ । मलाई तुरुन्त मेसिन लिएर आउन भन्नुभयो । हामी ८ नम्बर हलतर्फ निस्कियौँ । पदमजीलाई मेसिन दिएँ । नास्ता गरियो र राजधानी भेलेटा घुम्न जाने योजना बनाइयो । त्यत्तिकैमा भान्जा सुमन गैह्रे र गोरखाका विकास भट्ट भाइ आए । उनीहरूलाई लिएर राजधानीको भ्रमण गर्ने योजना बनाइयो । भेलेटा विश्व सम्पदामा सूचीकृत शहर हो । त्यहाँको सामुद्रिक किनारा र बारक्का बँगैचा अत्यन्त सुन्दर छन् । पोप पिउस चौथो र फ्रान्सेसको लापारेलिलले नक्सा बनाएर यो सहरको निर्माण गरेका हुन् । यहाँ माल्टाको संसद् भवन, न्यायालय, राष्ट्रपति भवन (सान आन्तोन प्यालेस) लगायत थुप्रै सरकारी केन्द्रीय कार्यालय छन् । भान्जा र म माल्टाको बसाइ, त्यहाँका समस्यालगायत घरायसी अन्तरंगका कुराकानी गर्दै बसबाट साथीहरूसहित त्यहाँ पुग्यौँ । हेर्नुपर्ने सबैको प्रत्यक्ष अवलोकन गऱ्यौं । नेपालीले माल्टामा पाएका पीडा र दुःखबाहेक सबै सुन्दर देखिन्थे । त्यहाँ पुगेपछि थाहा भयो– माल्टामा रोमन, ग्रिक, बन्जान्टिनेस, सिसिलियन, स्पेनिस, सेन्ट जोन, फ्रान्सेली र बेलायतीहरूले शासन गरेका रहेछन् । बेलायतको शासनबाट सन् १९६४ सेप्टेम्बर २१ मा मात्र माल्टा स्वतन्त्र भएको रहेछ ।

बुझ्दा थाहा भयो– ४ लाख ७५ हजार जनसङ्ख्या भएको रिपब्लिक माल्टाको आम्दानीको ठूलो हिस्सा पर्यटन रहेछ । यहाँ २०१८ मा मात्र २.५ मिलियनभन्दा बढी पर्यटक घुम्न आएको देखियो ।

नेतृत्व :

माल्टामा लेबर पार्टीका नेता जोसेफ मुस्काट प्रधानमन्त्री छन् भने मारिया लुइस कोलेरो प्रेसा महिला राष्ट्रपति छिन् । इटालीको सिसिलीबाट ८० किलोमिटर दक्षिण रहेको यो टापुको मुख्य भाषा माल्टिज र अङ्ग्रेजी हो ।

माल्टा र इबिजाको तुलना :

गत अगस्टमा म परिवारसहित इबिजा पुगेको थिएँ । दुवै टापुको क्याथेद्राल चर्च उस्तै भए पनि इबिजाको माटो रातो छ भने माल्टाको खैरो । दुवै टापु भूमध्यसागरमा रहे पनि क्षेत्रफलको हिसाबले माल्टाभन्दा इबिजा ठूलो छ । इबिजाको क्षेत्रफल ५७२.५६ स्क्वायर किलोमिटर छ भने माल्टाको ३१६ स्क्वायर किलोमिटर क्षेत्रफल छ । दुवै टापुका सामुद्रिक किनारा सुन्दर छन् । इबिजा डुल्दाको जुन आनन्द बेनेरासबिचको अस्ताउँदो सूर्य, ह्यापी मार्केटको मनोरम, युनेस्कोबाट संरक्षित मोनोग्राफिक पुइग अर्थात् इसापूर्व ७०० वर्ष पुरानो चिहान भएको म्युजियम, १८औँ शताब्दीको नाट्यघर, काँनमार्सा गुफा, सान्ता गेर्त्रुदिसलगायत पुरातात्विक महत्वका धेरै कुराको ज्ञान इबिजा पुगेर अवलोकनबाट लिएका थियौँ । त्यस्तै, तर अलिक फरक अनुभव माल्टाको प्रागऐतिहासिक हजर क्युइम, हाइपोजियम, मानज्द्रा, मोनोलिथ र कोक्याथ्रेदाल डुल्दा भयो । फरक स्थानको भ्रमण गर्दा फरक स्वाद हुनु स्वाभाविक नै हो । इबिजामा रेस्टुरेन्ट व्यवसाय गरेर बसेका भाइहरू क्रमशः टीकानिधि कँडेल, कृष्ण कँडेल, तोया कँडेल र बैनीहरूको त्यसबेलाको सत्कार र अवलोकनको लागि दिएको समय हाम्रो लागि अमूल्य रहेको थियो । जसको लागि जति आभार प्रकट गरे पनि थोरै हुन्छ । त्यस्तै, अहिले माल्टामा भ्रमणको सूचना दिएर सहयोग गर्ने आदरणीय एनआरएनए केन्द्रीय उपाध्यक्ष कुमार पन्त, संयोजकलगायत ग्रुपका साथीहरू, गुम्न गाइड गर्ने भान्जा सुमन पाठक, भट्ट भाइलगायत सबै नेपाली साथीप्रति आभारी भयौँ ।

घर फर्किंदा :

हामीलाई समयले घेराबन्दीमा पारिरहेको थियो । हामीले चाहँदाचाहँदै पनि गोजो टापु पुगेर ग्गनटिजा हेर्न नपाउने भयौँ । सयौँ पुस्तक र कविता लेखिएको गोजोको त्यो पुरानो धरोहर पुनः हेर्न आउने मनमनै वाचा गर्दै मैले भान्जालाई डेरामा फर्कन आग्रह गरेँ । उहाँले एयरपोर्टसम्म जाने ढिपी कस्नुभयो । हामी बस चढेर एयरपोर्टको लागि हिँड्यौँ । एयरपोर्ट पुगेपछि भान्जा नरमाइलो मान्दै फर्कनुभयो । मलाई पनि मेरो आफ्नै कोही परिवार विछोडिएकोजस्तो नमज्जा लाग्यो ।

एयरपोर्ट पुगेपछि थाहा भयो– त्यो दिन बेल्जियममा आमहडताल भएकोले हवाईजहाज सालारुवाको सट्टा जर्मनीको उइजे जाने भयो । तर, बोर्डिङ पासमा डुसेल्दर्फ लेखिएकोले हामीले डुसेल्दर्फबाट आन्त्वेर्पेन जाने फिलिक्स बसको टिकटसमेत अनलाइनबाट काटिसकेका थियौँ । जहाज हल्यान्डको बोर्डर उइजेमा उत्रियो जुन डुसेल्दर्फबाट ८० किलोमिटर उत्तरपश्चिम रहेछ । सालारुवाबाट एयरबस लिन आउने रहेछ, हामीलाई जानकारी पनि दिइएन । पदमजी र पारसजी एयरपोर्टबाटै सालारुवाको एयरबसमा जानुभयो । बीचमा नरोक्ने भनेपछि हामी खच्कियौँ र डुसेल्दर्फबाट घर जाने निधो गऱ्यौं । हामीले त्यतिखेर गुगल म्याप हेरेर उइजेबाट घर आउने अनुकूल बस वा ट्रेनको टिकट काट्नुपर्ने थियो । गल्ती गऱ्यौं अथवा बोर्डिङ पासमा लेखिएको दुसेल्दर्फले झुक्यायो– बुझ्न सकिएन । राति उइजेबाट ट्रेन स्टेसनसम्म ट्याक्सी, अनि ट्रेनबाट डुइसबर्ग, त्यहाँबाट फेरि ट्याक्सी गर्दा गोजी रित्तिनु, बस फुत्किनु भनेजस्तो भयो ।

धन्न ट्याक्सीड्राइभर राम्रो भएकोले छुटेको बसलाई पछ्याउँदै भेट्टाइछाड्यो । ‘मर्ता क्या नही कर्ता’ भनेझैँ ट्याक्सीले फिल्मी शैलीमा बस रोक्यो, तर बसको ड्राइभरले ज्यान जाला चढाउन मानेन । धेरैबेरको हाम्रो अनुनयविनय र गुहारपछि पुनः भाडा तिरेर हामी आन्त्वेर्पेन आयौँ । अपहरणको शैलीमा युरोपमा बस चढेको यो मेरो जीवनकै पहिलो अनुभव हो ।

सधैँ परिपक्व र नेतृत्वदायी भूमिकाको लागि अब्बल सम्झिने हामी यात्राको क्रममा अपरिपक्व र योजनाविहीन देखिन पुग्यौँ । अर्को दिन जहाज बेल्जियम आउने थियो । अझ दुई दिन घुमेर त्यसैमा आएको भए माल्टाको घुमाइले रहर पुग्ने थियो । त्यो निर्णयबारे सोच्दा घर पुगेपछि मलाई पछुतो लागेर आयो । त्यसैले माल्टाको यात्रा रोमाञ्चक भएर पनि अन्त्य झुर भयो । सम्पूर्ण माल्टाको खर्चभन्दा जर्मनको खर्च बढी र उत्तिकै तनाव । त्यसैले भनिएको होला ‘घुमन्तेहरूका लागि सबै किताबका सारहरू, संसारका नालीबेली, सांस्कृतिक बिरासत र खराब दिनका कथाहरू पासपोर्टका पेजहरूको बीचमा गमेर मनको आँखाले हेऱ्यो भने भेटिन्छन् ।’

(लेखक घटना र विचार साप्ताहिकका युरोप संवाददाताको साथै पत्रकार महासङ्घ युरोप शाखाका वरिष्ठ उपाध्यक्ष हुन् ।)