गीतसँग किन डरायो सरकार ?

गीतसँग किन डरायो सरकार ?


  • बबिता बस्नेत

सामान्यतया गीतमा सर्वसाधारणको चाहना समेटिएको हुन्छ । विश्वमा सबैभन्दा बढी गीतहरू माया, प्रेम, यौन र धोखासँग सम्बन्धित छन् । शास्त्रीय हुन् या आधुनिक या पप, रक जे भए पनि गीतमार्फत मानिसले एक–अर्काप्रतिको आकर्षणलाई रोमाञ्चक, मार्मिक या भावुक तरिकाले प्रस्तुत गरेको पाइन्छ । तर, कम्युनिस्ट प्रणालीमा भने प्रायः जे गरिन्छ, जनताका नाममा गरिने हुँदा गीतलाई पनि जनताका गीत भनी परिभाषित गर्ने गरिएको छ ।

यो देशमा विगतमा जनवादी गीत निकै गाइयो । कतिपय गीतहरू जनजिब्रोमा आइरहने खालका थिए, कति गाउनेहरूले नै बिर्सिए पनि होलान् । गाउँगाउँबाट उठ गीत जनवादी गीतमध्येको एक सम्झिरहने गीत हो । विगतमा कम्युनिस्टहरू गीत भनेको माया–प्रेमको होइन, मुद्दामा आधारित हुनुपर्छ भन्थे । गीतले समाज र मुलुकमा व्याप्त विकृतिलाई समेटेको हुनुपर्छ भन्ने मान्यता राखिन्थ्यो । तर, अब ती सब कुराहरू एकादेशको कथाजस्तै बनिसके या बन्दै गएका छन् ।

मुलुकमा व्याप्त विकृति र विसङ्गतिलाई गीतमार्फत जनसमक्ष ल्याउनु कम्युनिस्ट सत्तामा गलत हुन थालेको प्रमाण पशुपति शर्माको गीत बनेको छ । अनियमितता, भ्रष्टाचार, अन्याय, अत्याचारविरुद्ध गीत गाउने ‘ओरिएन्टेसन’बाट आएका गायक, सङ्गीतकार तथा गीतकार पशुपति शर्माको ‘लुट्न सके लुट’लाई सत्ता पक्षले प्रतिबन्ध लगाउने शैलीको व्यवहार ग¥यो । मुलुकमा व्याप्त भ्रष्टाचारलाई मुख्य विषयवस्तु बनाएर गाइएको उक्त गीत युट्युबमार्फत एकैछिनमा लाखौँले हेरेका थिए ।

समाजका हरेक तह र तप्काले मन पराएको सो गीत केपी ओली सरकारले आफ्ना कार्यकर्ता प्रयोग गरी युट्युबबाट हटाउन लाउने प्रकारको नभई पुरस्कृत गर्नुपर्ने खालको थियो । उक्त गीत प्रधानमन्त्रीले दिँदै आउनुभएको भ्रष्टाचारविरुद्धको अभिव्यक्तिलाई सघाउ पुऱ्याउने खालको थियो । गीतमा राष्ट्रपतिको हेलिकोप्टरवाला लाइनलाई सत्तापक्षले आपत्तिजनक मानेको बताइएको छ । तर, गीतमा राष्ट्रपतिलाई डेढ अर्ब खाएको या भ्रष्टाचार गरेको भनिएको छैन । गीतको सन्देश त ‘लक्जरियस’ भयो भन्ने मात्रै हो । यद्यपि यसलाई भाषागत रूपमा अलि मिलाइएको भए हुन्थ्यो । अहिलेको मात्र नभएर भोलि आउने जोकोही राष्ट्रपतिका लागि गरिएको व्यवस्था हो त्यो । राष्ट्रपति भनेर व्यक्तिगत रूपमा यसलाई हेरिनुहुँदैन ।

आफूले गरेको कामले देशको नाम धमिलिने कार्य गर्ने मान्छे कहिल्यै राष्ट्रवादी हुन सक्दैन । आफू सही मार्गमा हिँडिएको छ भने भ्रष्टाचारको विरुद्धमा रचिएका गीत, कविता, मुक्तकबाट राज्यसत्तामा बस्नेहरू डराउनु आवश्यक छैन ।

गीतले मुलुकमा व्याप्त भ्रष्टाचारलाई उजागर गरेको छ, हाम्रो शासन व्यवस्था र एटिच्युडको रिफ्लेक्सन गीतमा छ । सर्वसाधारणले मन पराएर व्यापक सेयर गरेबाट भन्न गाह्रो पर्दैन, यो जनताको गीत हो । जनवादको परिभाषा सत्तामा हुँदा र बाहिर हुँदा फरक नपर्ने हो भने शायद यसलाई जनवादी गीत पनि भन्न सकिएला । अहिले भने यो नागरिक सरोकारको, नागरिकको भावना समेटिएको गीत हो । नागरिक भावनाको गीतलाई हटाउन लगाएर सत्तापक्षबाट नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हनन गरिएको छ । गीतमार्फत जनता जगाउने काम हिजो राणाशासनमा पनि थियो, पञ्चायतमा पनि थियो । गणतन्त्रात्मक शासन प्रणालीमा बहुमतको सरकारले एउटा गीतबाट डराएर प्रतिबन्ध (अनौपचारिक) लगाउनुपर्ने अवस्था आउनु भनेको यो शासन प्रणालीप्रति नै प्रश्न उठ्ने कुरा हो ।

कुनै पनि सिर्जना तत्कालीन अवस्थाको रिफ्लेक्सन हुन् । यस्ता कुरालाई गम्भीरतापूर्वक लिनु आफूलाई सच्याउने अर्थमा राम्रो कुरा हो, तर गीतसँगै डराउनुचाहिँ सुहाउने कुरा होइन । विश्वमा राजनीतिक विवादमा तानिएका केही गीतहरू ‘हिट’ भएका छन्, तर प्रतिबन्धित भएका छैनन् । युद्धलाई लिएर रसियामा गाइएको ब्लडी सन्डे, ब्लड रेड स्काई, भियतनाम र आयरल्यान्डमा गाइएका केही गीतले तत्कालीन सरकारहरूको व्यापक आलोचना गरे पनि ती गीतलाई प्रतिबन्ध लगाइएको थिएन । गीत, कविताजस्ता कुरामा प्रतिबन्ध लगाएर साध्य हुने पनि होइन, जति प्रतिबन्ध लगाउने कोसिस गऱ्यो त्यति चर्चित बन्छन् । पशुपति शर्मा पहिल्यै चर्चित थिए, यो गीतले झन् चर्चित बनाएको थियो, सत्तापक्षका कार्यकर्ताका धम्कीले विश्वचर्चित बने ।

विश्वका लागि यो गीतकाण्ड नेपालका नागरिकको अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको कुरा हो । कसैले खासमा त्यो गीत किन बन्द गरेको ? भनेर प्रश्न गरेमा ‘गीतमा भ्रष्टाचारको मुद्दा व्यङ्ग्यात्मक पाराले समेटिएको थियो, त्यसैले सत्तापक्षले यसलाई बन्द गर्न दबाब दियो’ भन्ने जवाफ आफैँमा नरमाइलो लाग्दो जवाफ हुुनेछ, भइरहेको छ । भ्रष्टाचारको मुद्दा उठाउनेलाई जोकोहीले दण्ड होइन पुरस्कृत गर्ने हो । अहिले पशुपति शर्माले आफैँले गीत युट्युुबबाट हटाउनुपर्ने परिस्थिति सेल्फ सेन्सरसिपको ज्वलन्त उदाहरण हो, सेल्फ सेन्सरसिप मिडयामा हुने गरे पनि गीतमा हुने गरेको थिएन ।

भ्रष्टाचारविरुद्धको अभियानमा ‘लुट्न सके लुट’जस्ता गीतहरूले सहयोगी भूमिका निर्वाह गर्छन् । यस्ता गीत बन्द गर्नुको अर्थ सत्तापक्ष भ्रष्टाचार निर्मूल गर्न तयार छैन भन्ने अर्थ लगाउन सकिन्छ ।

भ्रष्टाचार नैतिकतासँग मात्र नभएर मानिसको आत्मसम्मानसँग पनि जोडिएको कुरा हो । सत्तामा बस्ने केही मानिसले शक्तिको दुरुपयोग गरी गरेको भ्रष्टाचारका कारण सर्वसाधारण नागरिकले किन सर्मिन्दा हुनुपर्ने ? तर, हाम्रो सवालमा यस्तो भइरहेको छ । तमाम नेपालीले भ्रष्टाचार नगरेर के गर्नु ? विश्वको नजरमा त म भ्रष्टाचारको लाइनमा १ सय ७५ मध्ये १ सय २४ नम्बरमा पर्ने देशको नागरिक हुँ । त्यसैले भ्रष्टाचारको सवालमा पशुपति शर्माले मात्र होइन नखाएको विष लागिरहेका हरेक नेपालीले सरोकार राख्न आवश्यक छ । भ्रष्टाचार नेता, प्रधानमन्त्री, मन्त्री या राष्ट्रपतिको मात्र नभएर सबै नेपालीसँग जोडिएको विषय हो । नागरिकले राज्यको नीति, नियम उल्लङ्घन गर्ने कुरा पनि भ्रष्टाचार हो । ट्राफिक लाइट रातो बलिरहेका बेला कसैले गाडी नरोकी जान्छ भने त्यसलाई पनि भ्रष्टकै लाइनमा राखिन्छ । तर, हामीकहाँ त मन्त्रीका गाडी नै रातो बत्तीमा बाटो काटिरहेका हुन्छन् । एउटा सानो हाइड्रोपावर परियोजनाका लागि अनेक नीति–नियम देखाएर कर्मचारीले पटकपटक घुस खाँदै स्वीकृति दिन वर्षौं लगाएको यो पङ्क्तिकारले आँखाअगाडि देखेकी छु ।

राज्यले बनाएका नीति–नियमहरू त नागरिकलाई कामकाजमा सहजता प्रदान गर्नका लागि हुनुपर्ने हो, तर यहाँ त तिनै नीति–नियम देखाएर कसरी अल्झाउन सकिन्छ भनेर कर्मचारीहरू लागिपर्ने गरेका छन् । भ्रष्टाचारविरुद्धको अभियानमा ‘लुट्न सके लुट’जस्ता गीतहरूले सहयोगी भूमिका निर्वाह गर्छन् । यस्ता गीत बन्द गर्नुको अर्थ सत्तापक्ष भ्रष्टाचार निर्मूल गर्न तयार छैन भन्ने अर्थ लगाउन सकिन्छ । भनिन्छ, शक्तिले मानिसलाई भ्रष्ट बनाउँछ । शक्ति आफैँमा भ्रष्ट हुँदैन, यसको प्रयोग गर्ने मानिसहरू भ्रष्ट हुन्छन् । यसैगरी राष्ट्र आफैँमा कहिल्यै पनि भ्रष्ट हुँदैन, देशमा बस्नेहरूले भ्रष्टाचार गरिदिँदा देश नै भ्रष्टको लाइनमा जोडिन पुग्छ । कुनै पनि राष्ट्रवादी मान्छेले भ्रष्टाचारलाई प्रवर्द्धन गर्ने काम गर्दैन । यदि कसैले गर्छ भने त्यो राष्ट्रवादी होइन । आफूले गरेको कामले देशको नाम धमिलिने कार्य गर्ने मान्छे कहिल्यै राष्ट्रवादी हुन सक्दैन । आफू सही मार्गमा हिँडिएको छ भने भ्रष्टाचारको विरुद्धमा रचिएका गीत, कविता, मुक्तकबाट राज्यसत्तामा बस्नेहरू डराउनु आवश्यक छैन ।