बलात्कारीद्वारा पीडित परिवारमाथि धम्की

बलात्कारीद्वारा पीडित परिवारमाथि धम्की


othernewsनाबालिकाको योनि क्षतविक्षत हुँदा पनि ‘बलात्कार नदेखिएको’ फैसला †
नेपालगञ्ज/ चप्परगौडीकी मीना गत शुक्रबार जिल्ला न्यायाधीश, जिल्ला प्रहरीप्रमुख, सरकारी वकिल कार्यालयका प्रमुख र अधिकारकर्मीका अघिल्तिर भक्कानिएर रोइन् । उनको पीडादायी रोदन देखेर उपस्थित सबै अँध्यारो मुख लगाउँदै किंकर्तव्यविमुढ बन्न पुगे । मीना भक्कानिनुको कारण थियो– आफ्नी पाँच वर्षीया छोरीमाथि पासविक रूपले सामूहिक बलात्कार गर्ने अभियुक्तहरूलाई जिल्ला अदालतले ‘नाबालक’ भन्दै अभिभावकको जिम्मा लगाएपछि पीडक पक्षबाट उल्टै बदला लिने भन्दै विभिन्न प्रकारका धम्की आउनु । एकातिर कलिली छोरी बलात्कृत हुनु, बलात्कारीले सजिलै उन्मुक्ति पाउनु र त्यसमाथि गाउँमा खुलेआम हिँडिरहेका बलात्कारीका परिवारबाट धम्क्याइनु कतिसम्म अन्याय † प्रहरीमा उजुरी दिई थुनाएको र मुद्दा चलाएको भन्दै छुटेका अभियुक्तहरूले घरमै आएर धम्की र डरत्रास देखाइरहेकै बेला बलात्कृत छोरीमा स्वास्थ्य समस्या बढेको मीनाको दुःखेसो छ ।
सरकारी कार्यालय प्रमुखका सामु आफ्नो पीडा सुनाउँदै मीनाले भनिन्, ‘न्याय पाउने आशमा बलात्कारीलाई प्रहरीमा उजुरी दिएका थियौँ, अदालतले ‘नाबालक’ भन्दै घर पठाइदियो । छोरीका बलात्कारीहरूलाई अदालतले घर पठाएकाले हामी घोर अन्यायमा प-यौँ, उनीहरू छुटेपछि दिनरात धम्की आइरहेको छ ।’ उनले डाँको छोड्दै थपिन्, ‘बलत्कारीले खुलेआम धम्क्याउँदा गाउँमा बस्नै मन लागेको छैन, अपराधीमाथि कारबाहीको माग गर्दा उल्टै आफैँ मर्नु न बाँच्नुको दोसाँधमा परियो ।’ स्थानीय राजनीतिक दल, विद्यालय, प्रहरी र अदालतसम्मको मिलमतोमा बलात्कारीलाई छुटाइएको आरोप मीनाले लगाइरहँदा सहभागी सरकारी प्रमुख र अधिकारकर्मी निरीह बनेर सुनिरहेका थिए । आफू एक दलित भएकैले नाबालक छोरी बलात्कृत हुँदा पनि न्याय पाउन नसकेको मीनाको चीत्कार थियो ।
गाउँकै विद्याज्योति प्राविमा अध्ययनरत पाँच वर्षीया बालिकालाई ज्ञानज्योति उमाविमा अध्यनयरत दुई किशोरले गत चैत ९ गते दिउँसो विद्यालय हाताभित्रै सामूहिक बलात्कार गरेका थिए । बलात्कृत बालिकालाई कोहलपुर मेडिकल कलेजमा चार दिन भर्ना गरिएको थियो । भेरी अञ्चल अस्पतालको रिपोर्टले समेत बालिकाको योनि च्यातिएको उल्लेख गरेको छ । तर, वैशाख १३ गते जिल्ला अदालतका न्यायधीश हरिप्रताप केसीको एकल इजलासमा भएको थुनछेक बहसपछि आरोपितलाई नाबालक ठहर गर्दै अभिभावकको जिम्मा लगाउने फैसला भएको थियो । फैसलापछि अभियुक्तहरू गाउँमै बसेर पीडित परिवारलाई धम्क्याइरहेका छन् ।
अधिवक्ता सुनिता शर्माले अस्पतालले योनि च्यातिएको प्रस्ट बताएको र आरोपितहरू १३ देखि १६ वर्षसम्मका भएको उल्लेख गर्दागर्दै घर पठाइनुले आफू आश्र्चयचकित बनेको प्रतिक्रिया दिइन् । आरोपितहरू छुटेपछि घरमै गएरै ‘हामीलाई फसाउन खोजेको थिइस् तर हामी छुट्यौँ, देखिस्’ भन्दै ज्यानकै धम्की दिइरहेका पाएको छु,’ उनले भनिन्, ‘बलात्कारी हुन् भन्ने जान्दाजान्दै विभिन्न कानुनी अड्चन, फितलो अनुसन्धानका कारण पीडितमाथि घोर अन्याय भएको छ ।’
पीडितको गुनासो र पीडा सुनेपछि जिल्ला अदालतका न्यायाधीश हरिप्रताप केसीले जिल्ला अदालतको फैसला अन्तिम नहुने भन्दै चित्त नबुझे पुनरावेदन र सर्वोच्च अदालतसम्म जाने बाटो रहेको बताए । बलात्कार केसमा फैसला गर्दा शारीरिक परीक्षण रिपोर्टमा कुनै लक्षण र सङ्केत नदेखिँदा समस्या भइरहेको उल्लेख गर्दै उनले बलात्कार घटनापछि तत्काल स्वास्थ्य परीक्षण गर्न सुझाव दिए भने जिल्ला न्यायाधीश, बाँके प्रहरी प्रमुख वसन्त पन्त, सरकारी वकिल कार्यालयका कर्णबहादुर मल्लको जवाफप्रति सहभागी महिलाले असन्तुष्टि जनाए । भेरी अञ्चल अस्पतालका डा. सञ्जय कुमार बर्मा, डा. नारायणप्रसाद पौडेल र अस्पताल विकास समितिका विष्णुप्रसाद थारूद्वारा हस्ताक्षरित गत चैत २० गतेको रिपोर्टले भने बालिकाको कन्याझिल्ली च्यातिएको उल्लेख गरेको छ । अधिकारकर्मी महिलाले बलात्कारी छुट्नुमा ज्ञानज्योति उमाविको किर्ते कागजात पनि कारक रहेको आरोपसमेत लगाए । अपराधीहरूलाई नाबालक देखाउन विद्यालयले किर्ते काम गरेको आशङ्का अधिकारकर्मीहरूले गरेका छन् ।
– दिनेश ठाकुर

मधेसी–जनजाति एकतालाई चुनौती
विगत केही वर्षयता मधेसी र जनजाति एकताको भाषण दिएर नथाक्ने केही मधेसी नेताहरूले ‘मान्छे चिन्नु दुःखमा’ भन्ने कुरालाई चरितार्थ गर्दै आफ्ने सक्कली रूप देखाउन थालेका छन् । गत वैशाख १२ र २९ गते आएको विनाशकारी भूकम्पले पहाडी तथा हिमाली क्षेत्रमा सबैभन्दा ठूलो क्षति पु-याएपछि सो क्षेत्रका बासिन्दालाई बसोबासका लागि तराईतिर सार्ने कि भन्ने चर्चा हुन नपाउँदै राजनीतिमा संलग्न केही मधेसी समुदायका व्यक्तिहरूले यसको विरोध सुरु गरेका छन् । उनीहरूले हिमाली या पहाडी भेगका मानिसलाई कुनै पनि हालतमा तराई झर्न नदिने अभिव्यक्ति विभिन्न माध्यममार्फत सार्वजनिक गर्न थालेका छन् । ज्ञातव्य छ, भूकम्पबाट जनजाति समुदायका तामाङ, शेर्पालगायतका जनजातिहरू बढी प्रभावित भएका छन् । कतिपय तामाङ बस्तीहरू उच्च जोखिममा रहेकाले तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएको छ । उनीहरूलाई मधेसमा बसोबास गराउँदा मधेसी र जनजातिको एकता झनै सबल बन्ने कुराले उत्साहित हुनुपर्ने मधेसीहरू यसका विरुद्ध बोल्न थालेपछि तिनले विगतमा लगाएको नारा नक्कली भएको पुष्टि भएको छ । तर, जनस्तरमा भने दुःखमा परेका पहाडवासीलाई तराईमा बसोबास गराउँदा आफूहरूलाई खुसी लाग्ने प्रतिक्रिया मात्रै आएको छैन, तराईमा बसोबास गराउँदा राम्रो हुने धारणा यत्रतत्र आएको छ । यसको सुरुवात नै महोत्तरीका ठाकुरले गरेका थिए । उनले दोलखामा भूकम्पपीडितलाई राहत बाँड्न जाँदा त्यहाँका भूकम्प प्रभावितलाई महोत्तरी सार्नुपर्ने कुरा उठाएका थिए । विगतमा दोलखामा विभिन्न व्यापार–व्यवसायमा संलग्न मधेसी समुदायका व्यक्तिहरूले आफूहरूलाई राम्रो अवस्था हुँदा दोलखेलीले धेरै सहयोग गरेकाले आपत् परेका बेला उनीहरूलाई कुनै पनि प्रकारको सहयोग पु-याउने बताएका छन् ।
भूकम्पपीडितलाई कहाँ कसरी बसोबास दिलाउने भन्नेबारेमा स्पष्ट खाका नबन्दै तराईका केही युवाले आपत्का बेला उनीहरूलाई तराईमा बसोबास दिलाउनुपर्छ भन्दा मधेसका नाममा मुलुकको ढिकुटी रित्याउँदै आएका केही मधेसीले आपत्ति जनाएका छन् । सरिता गिरी नाम गरेकी एक महिलाले मधेसमा भूकम्पपीडितलाई कुनै पनि हालतमा बसोबास गराउनुहुन्न भन्ने प्रतिक्रिया दिँदा अन्य मधेसी नेताहरूको मौनतालाई आश्चर्यको रूपमा हेरिएको छ । त्यसो त, नेपालको राजनीतिमा कुनै प्रभाव नभएका कारणले सरिता गिरीको कुरालाई अन्यले भाउ नदिएका पनि हुन सक्छन् । तर, मधेसी फुटको राजनीतिक फाइदा उठाउँदै मन्त्रीसमेत भइसकेकी व्यक्तिले त्यसरी अभिव्यक्ति दिनुलाई आपत्तिजनक ठानिएको छ ।
मुलुकलाई र यहाँका जनतालाई आपत्–विपत् परेको बेला छुद्र राजनीति गर्न खोज्नेहरूको राजनीतिक भविष्य त भोलिका दिनले तय गर्ला नै । तर, कस्तो अवस्थामा के बोल्ने भन्ने अलिकति पनि संवेदना नभएका यस्ता विचार राख्ने व्यक्ति कुनै बेला यो देशकी मन्त्री थिइन् भन्नुपर्दा नेपाली जनताको शिर निहुरिने अवस्थाको सिर्जना भएको छ । यसैबीच तराईका विभिन्न जिल्लाबाट युवा जमातले भूकम्पपीडितलाई पु-याएको राहतको प्रशंसा गरिएको छ ।
यही विषयलाई लिएर देशद्रोहीका रूपमा सजाय भोगिसकेको सीके राउत भन्ने व्यक्तिले भूकम्पपीडितलाई तराईमा बसोबास दिलाए गृहयुद्ध हुने भनेका छन् । मधेसी र पहाडीको रेखा यसैगरी कोर्दै जाने हो भने भविष्यमा केसम्म हुन सक्छ भन्नेतिर अलिकति पनि ख्याल नगरी दिइएको यस्ता अभिव्यक्तिले स्थानीयस्तरमा त्यति धेरै तरङ्ग पैदा गर्ने देखिँदैन । आपत्विपत्का बेला यस्ता अभिव्यक्ति दिन सक्नेहरूको मानसिकतालाई हेर्दा यस्तै प्रकारका अभिव्यक्ति मधेसबाहेक मुलुकका अन्य भागमा बस्ने मधेसीका नाममा आउन थाल्यो भने त्यसको परिणाम के होला भनेर अनुमान मात्रै गर्न सकिन्छ ।

ह्वात्तै बढ्यो मदिरा व्यापार– रामहरि पाण्डे
वैशाख १२ गतेदेखि निरन्तर गइरहेको भूकम्पका कारण राजधानीका अधिकांश पसल तथा व्यापारिक केन्द्र बन्द छन् । खुलेकाहरू पनि साँझ नपर्दै बन्द हुन्छन् । भूकम्पको निरन्तर पराकम्पनका कारण मानिस आवश्यक कामबाहेक खुला चौर र सुरक्षित ठानिएको स्थानबाट अझै बाहिर निस्कन सकेका छैनन् । यदि निस्किहाले पनि आवश्यक सामग्री खरिद गरी हतारहतार परिवार भएतिरै फर्किहाल्छन् ।
मानिसको चहलपहल कम भएपछि राजधानीका अधिकांश व्यापार व्यवसायमा सुस्तता आएको छ । सानादेखि ठूला अधिकांश व्यापारिक केन्द्रहरूका भवन भूकम्पका कारण चर्किएपछि बन्द गरिएका छन् । खुलेका केही व्यापारिक केन्द्रमा भने घुइँचो लाग्ने गरेको छ । भूकम्पका कारण सबैभन्दा बढी व्यापार मदिराको भएको छ ।
नेपालमा विदेशबाट करोडौँको मदिरा भित्रिने गर्छ । विदेशबाट आएका मदिरा ठूला होटल र ठूला रक्सी पसलबाट खपत हुने गर्छ । महँगा रक्सी खरिद गर्नेले पनि भूकम्प गएपछि सामान्य र न्यून क्वालिटीको रक्सी खरिद गर्न बाध्य भएका छन् । भूकम्प गएपछि विदेशबाट मागअनुसारको मदिरा भित्रिन सकिरहेको छैन । त्यसैले नेपालमै उत्पादित र सडकमार्ग हुँदै भारतबाट ल्याएका मदिराले यहाँको माग धानिरहेको छ ।
भूकम्पपछि राजधानीका धेरै स्थानका मदिरा पसल बन्द भएका छन् । खुलेका पसलमा रक्सी किन्नेको भीड लाग्ने गर्छ । ती मदिरा पसलमा नेपालमै उत्पादित र केही विदेशी ब्रान्डका रक्सी मात्र पाइन्छ । यसअघिको जस्तो रोजी र छाडी रक्सी पाइँदैन । एक व्यापारीले भने, ‘धेरै मदिरा पसल त अझै बन्द छन्, जति खुलेका छन्, त्यहाँ नेपालमा उत्पादित रक्सीको अत्यन्तै राम्रो व्यापार भएको छ ।’ मदिराको सबैभन्दा बढी व्यापार साना होटल तथा रेस्टुराँहरूले गरेका छन् । उनीहरूले पनि नेपालमै उत्पादित मदिराको व्यापार गरिरहेका छन् ।
स्थानीय मदिरा व्यापारी तथा साना होटल व्यवसायीका अनुसार खुला तथा फराकिलो चौर भएका स्थान वरपरका मदिरा पसलका मदिरा बढी बिक्री भएको छ । मदिराका होलसेल व्यापारी शिवदेव पाण्डेले भने, ‘भूकम्प आएपछि स्वदेशमै उत्पादित मदिराको बिक्री–वितरण अत्यधिक भएको छ । जहाँ बढी मानिस पालमुनि बसेका छन्, त्यस आसपासका क्षेत्रमा रहेका पसल तथा साना होटल र भट्टीबाट मदिरा बिक्री हुने गरेको छ ।’ उनका अनुसार रत्नपार्क, कोटेश्वर, तिनकुने, कलंकी, चाबहिल, सीतापाइलालगायतका क्षेत्रमा बढी मदिरा बिक्री हुने गरेको छ भने त्यहाँ मदिराको परल मूल्यभन्दा चौबर मूल्यमा मदिरा बिक्री–वितरण भएको छ ।
अहिले पचास रुपैयाँ पर्ने मदिरा दुई सय रुपैयाँमा बिक्री–वितरण भइरहेका छन् । तैपनि मानिसले किनेर लगेका छन्, व्यापारी पाण्डेले भने, ‘अरू व्यवसायमा घाटा लागे पनि मदिरा व्यवसाय निकै नाफामा चलिरहेका छन् ।’ भूकम्पका कारण ठूला होलसेलहरू बन्द भए पनि भट्टी पसल र साना व्यापारीहरूले मदिरा बेचिरहेका छन् । उनीहरूले विभिन्न ब्रान्डका भोड्का, बियर, स्थानीय तथा विदेशी रक्सी बिक्री गरिरहेका छन् ।
लगनखेलको मानभवनस्थित होम मदिरा पसलका व्यापारी सानुराजा महर्जनले पछिल्लो समय मदिराको व्यापार निकै बढेको बताए । ‘भूकम्प गएको हप्ता दिनसम्ममा मागअनुसारको मदिरा उपलब्ध गराउन नसकेको जानकारी गराउँदै भने, ‘अहिले पहिलेको जस्तो माग आउन केही कम भएको छ ।’ महँगोभन्दा पनि सस्तो मूल्यका मदिरा बढी बिक्री भएको उनले बताए । महँगो र राम्रो मदिरा सकिएकोले विदेशी र ठूला घरानाका मानिसले पनि सस्तो मूल्यका मदिरा लैजाने गरेको महर्जनले जानकारी दिए ।
सोमबार साँझ उनको पसलमा मदिरा खरिद गर्न आएका एक व्यक्तिले ठट्टा गर्दै भने, ‘पालमुनि सुत्नुपर्छ, निद्रा नै लाग्दैन, त्यसैले निद्रा लाग्ने औषधि किन्न आएको, अहिले त यो पनि पाउन छाडियो ।’ उनका अनुसार भूकम्प गएदेखि मदिरा नपिएको रात नै छैन । उनले हाँस्दै भने, ‘म मात्र होइन, सबैको यस्तै हालत छ ।’ त्यस्तै सात दोबाटोको एनएस मदिरा पसलका सञ्चालक मनोज श्रेष्ठले पनि अहिले मदिराको बिक्री निकै राम्रो भएको बताए । उनले भने, ‘पसल खोल्न डर लाग्छ र मात्र, नत्र व्यापार राम्रो भएको छ । उनका अनुसार अहिले दिउँसैदेखि मदिरा किन्ने मानिस आउन थाल्छन् र यो सङ्ख्या साँझ परेपछि बढ्दै जान्छ । अहिले आज ल्याएको रक्सी आजै सकिन्छ, स्टक नै रहँदैन ।’
ललितपुरकै नमस्ते स्टोरमा सोमबार साँझ मदिरा किन्नेको निकै भीड थियो । स्टोरमा आएका ग्राहकहरू अन्य स्थानमा मदिरा नभएकोले यहाँसम्म आएको भन्दै एक–आपसमा कुरा गरिरहेका थिए । स्टोरका कर्मचारी विक्रम भण्डारीले भूकम्पपछि रक्सीको व्यापार निकै राम्रो भएको बताए । उनले भने, ‘धेरैजसो रक्सीपसल बन्द छन्, खुलेका केही पसलमा पनि रक्सी पाउन निकै मुस्किल छ ।’ होलसेलमै रक्सी नभएको र विदेशबाट नआएको उनले बताए ।
पहिलेपहिले साँझ परेपछि मात्र ग्राहकहरूको आगमन हुने रेस्टुरेन्टहरूमा भूकम्पपछि ग्राहकहरू पनि दिउँसै आउन थालेका छन् । ती ग्राहकमध्ये केही त्यहीँ खाएर फर्कन्छन् त केही खरिद गरेर लैजान्छन् । पुतलीसडकस्थित कुमारी रेस्टुरेन्टका कर्मचारी सुजन कँुवरले भने, ‘यहाँ आएकामध्ये धेरैले मदिरा खरिद गरेर पनि लैजाने गरेको देखिन्छ ।’ ‘बाहिर पाइँदैन, त्यसैले यतैबाट लैजानुप-यो भन्दै लैजान्छन्,’ उनले भने, ‘त्यसका साथै रक्सीसँग खाने अन्य परिकार पनि प्याकिङ गरेर लैजाने गरेका छन्,’ कर्मचारी कुँवरले भने ।

तीन वर्ष सत्ता नछोड्ने †
राष्ट्रिय सरकार बनाउने विषयमा नेपाली काङ्गे्रस र एमालेबीच सैद्धान्तिक सहमति भएको छ । त्यस्तो सरकारको नेतृत्व कसको हुने भन्ने विषयमा भने दुई पक्षबीच सामान्य छलफलसमेत आरम्भ भएको छैन । सुशील कोइराला आफ्नै नेतृत्वको वर्तमान सरकारलाई पुनर्गठन गरेर सहमतिको सरकार गठन गर्न सकिने विश्वासका आधारमा सहमतीय सरकार निर्माणका लागि राजी हुनुभएको हो । अरू कसैको नेतृत्वमा सहमतिको सरकार गठन गर्नेबारे कोइरालाले सोच्नुसम्म भएको छैन ।
सहमतीय सरकार गठनका लागि नेकपा एमालेद्वारा काङ्गे्रससँग संवाद गर्ने जिम्मेवारी पाउनुभएका वरिष्ठ नेता माधवकुमार नेपालले सुशील कोइरालासँग संवाद गर्नुहुँदा पनि उहाँले कोइरालाबाट कुनै सकारात्मक सङ्केत प्राप्त गर्नुभएन । बालुवाटारनिकटको सूत्रले जनाएअनुसार माधवसँगको संवादका क्रममा प्रधानमन्त्री कोइरालाले राष्ट्रिय सरकार आफ्नै नेतृत्वमा हुनुपर्ने स्पष्ट गरिदिनुभएको छ । उहाँले आफूबाहेक अरू कसैको नेतृत्वमा सहमतिको सरकार गठन हुने अवस्था नरहेको बताउँदै आफू प्रधानमन्त्री नभएमा सहमतिको सरकार नै नबन्ने धारणा नेता नेपालसमक्ष राख्नुभएको छ । कोइरालानिकट अर्को एक सूत्रले जनाएअनुसार संविधान बनाउने, स्थानीय निर्वाचन गराउने र पुनर्निर्माण योजना अघि बढाउने काम गरेपछि मात्र सरकार छोड्ने मानसिकता सुशीलले बनाउनुभएको छ । यसबाट सुशील कोइराला आगामी तीन वर्ष सत्तामै बसिरहन इच्छुक रहनुभएको स्पष्ट हुन पुगेको छ । तर, उता नेकपा एमालेले भने वर्तमान सरकारलाई नै सहमतीय रूप दिनेबारे सोचेकोसम्म छैन । सहमतिको सरकारमा नयाँ नेतृत्व हुनुपर्ने र नेतृत्व केपी शर्मा ओलीले गर्नुपर्छ भन्नेमा एमाले स्पष्ट रहेको बुझिन्छ । त्यसैले सहमतिको सरकार गठनका विषयमा काङ्गे्रस–एमालेबीच सैद्धान्तिक सहमति भए पनि अन्ततः नेतृत्वकै विषयलाई लिएर दुईपक्षबीच असमझदारी बढ्ने निश्चित छ ।

महाधिवेशन सार्न बेग्लै षड्यन्त्र
नेपाली काङ्गे्रसका सभापति सुशील कोइराला आफ्नो कार्यकाल लम्ब्याउन पार्टीको निर्धारित महाधिवेशन एक वर्ष पछि सार्ने प्रपञ्चमा लाग्नुभएको जानकारी प्राप्त भएको छ । पार्टी पदाधिकारीहरूको बैठकले महाधिवेशन निर्धारित समय (आगामी भदौ) मै गर्ने निर्णय गरिसकेपछि पनि कोइराला सार्ने प्रयास गर्दै हुनुहुन्छ । तत्काल महाधिवेशन भएमा आफू पुनः निर्वाचित हुन मुस्किल पर्ने यथार्थबोध गर्नुभएका कोइरालाले यतिबेला उत्तराधिकारी पनि पाउनुभएको छैन । डा. शशांक कोइरालालाई उत्तराधिकारी बनाउने इच्छा त उहाँले राख्नुभएको बुझिन्छ, तर डा. शेखर कोइराला र सुजाता कोइरालालाई कसरी ‘चित्त बुझाउने’ भन्ने विषय उहाँका लागि निकै कठिन बन्न पुगेको छ । त्यस्तै पार्टीभित्र डा. शशांकलाई सभापतिकै रूपमा स्वीकार गर्ने वातावरण बनिनसकेकोबारेमा पनि सुशील स्पष्ट हुनुहुन्छ । त्यसैले भूकम्पलाई निहुँ बनाएर वर्ष दिन मात्र महाधिवेशन सार्न सकियो भने परिस्थिति अनुकूल बन्ने ठम्याइ कोइरालाको छ । तर, तत्काल महाधिवेशन स्थगित गरिएको या सारिएको निर्णय गर्दा पार्टीभित्रबाट व्यापक विरोध हुनसक्ने र महाधिवेशन निर्धारित समयमै गर्न दबाब पर्ने भएकोले केही सातापछि मात्र महाधिवेशन रोकिएको सूचना जारी गर्ने तयारीमा कोइराला रहनुभएको बुझिएको छ । वर्षात् सुरु हुनेबित्तिकै बाढीपहिरोका कारण अर्को विपत्ति आउनसक्ने विश्वासमा रहनुभएका कोइरालाले त्यही समय पारेर स्थगनको निर्णय गर्ने सोच बनाउनुभएको निकटवर्तीहरूको भनाइ छ । महाधिवेशन पछि सार्ने विषयमा प्रमुख निर्वाचन आयुक्तसँग कुराकानी गर्न सुशील कोइरालाले प्रतिनिधि खटाउनुभएको थियो । निर्वाचन आयुक्तहरूबाट कोइरालाले ‘सकारात्मक’ जवाफ पाउनुभएको छ । आयोग सूत्रले जनाएअनुसार प्रमुख निर्वाचन आयुक्तले ‘प्राकृतिक विपत्तिलाई कारण बनाएर पार्टी निर्णय गरी पत्र पठाएमा एक वर्षपछि महाधिवेशन गर्न आयोगले स्वीकृति दिने व्यवस्था मिलाउन सकिने’ जवाफ पठाउनुभएको छ । आयोग सकारात्मक भएकोले महाधिवेशन पछि धकेल्न कुनै कठिनाइ नभएको कोइराला र उहाँ पक्षको ठम्याइ छ । उहाँहरू केवल स्थगित भएको सूचना जारी गर्ने उपयुक्त ‘साइत’को प्रतीक्षा गर्दै हुनुहुन्छ । वरिष्ठ नेता शेरबहादुर देउवा र काङ्गे्रसका आमकार्यकर्ताहरू महाधिवेशन निर्धारित मितिमै हुनेमा विश्वस्त देखिएका छन् । कदाचित सुशील कोइरालाले स्थगनको निर्णय सार्वजनिक गरे भने के गर्ने भन्ने विषयमा समेत नेता देउवा र आमकार्यकर्ता सचेत नरहेको पाइएको छ ।

कोइराला बचाउने जिम्मा दुई आचार्यलाई
‘डाइनामिक’ र ‘स्मार्ट’ देखिने कसैमाथि विश्वास र भरोसा नराख्ने प्रधानमन्त्री सुशील कोइराला मन्त्रिमण्डलका वरिष्ठ सदस्यहरू डा. रामशरण महत र प्रकाशमान सिंहलाई छोडेर नरहरि आचार्य र महेश आचार्यको शरणमा पर्नुभएको छ । बालुवाटारस्थित निवासमा आफ्ना विश्वासप्राप्त एवम् परिवारका सदस्यहरूसँग प्रकाशमान, डा. मीनेन्द्र, डा. नारायण खड्का र डा. महतको नकारात्मक टीका–टिप्पणी गर्न रुचाउनुहुने कोइराला पछिल्लो समयमा नरहरि र महेशमाथि निर्भर हुन थाल्नुभएको छ । उहाँले उच्चस्तरीय बैठकहरूमा समेत नरहरि र महेशलाई लिएर जाने गर्नुभएको छ । त्यस्तै आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठनको वातावरण बनाउन पनि प्रधानमन्त्री कोइरालाले विभिन्न दलका नेताहरूसँग संवाद गर्न दुई आचार्यलाई खटाउनुभएको छ । आचार्यहरूले एमाओवादी अध्यक्ष प्रचण्डलगायत अन्य दलका नेताहरूसँग भेटवार्ता पनि गरिसक्नुभएको छ । सुशीलको प्रधानमन्त्री पद जोगाउने अभियानको अगुवाइ दुई आचार्यहरूले गरिरहेका भए पनि वर्तमान सरकारले महिना दिन काट्ने विश्वास निकै कम हुँदै गएको छ ।

किन नबनाउने बेग्लै पर्यटन केन्द्र ?
भूकम्प प्रभावित पाँच जिल्लामा एकएक पर्यटकीय गाउँ बनाउन पर्यटन विभागले गरेको प्रस्तावलाई सकारात्मक मानिएको छ । तर, काठमाडौंको गोंगबु र माछापोखरी आसपासका क्षेत्रलाई जस्ताको त्यस्तै (ढलेका घरहरू) राखी त्यसैलाई पर्यटकीय गन्तव्य बनाउनेबारेमा छलफलसम्म नगरिनुलाई भने उपयुक्त ठानिएको छैन । भूकम्पबाट अति प्रभावित त्यस क्षेत्रको निश्चित क्षेत्रफल तोकी सरकारले खरिद गर्ने र ढलेका घरहरू अवलोकन गर्नेसमेतको व्यवस्था भएमा त्यहाँ वर्षेनी लाखौँ पर्यटक पुग्ने विश्वास गर्न सकिन्छ । स्वदेशी र विदेशी पर्यटकलाई निश्चित शुल्क लिई भूकम्प प्रभावित स्थानको दुश्यावलोकन गराउन सके त्यसबाट देशलाई लाभ पुग्ने कतिपय पर्यटन व्यवसायीको धारणा छ । पर्यटन विभागले गोरखा, धादिङ, रसुवा, दोलखा र सिन्धुपाल्चोकमा एक–एकवटा पर्यटकीय गाउँ बनाउने प्रस्ताव गर्दा काठमाडौंको गोंगबु आसपासको सीमित क्षेत्रलाई बेग्लै ढङ्गको पर्यटनस्थल बनाउनेबारेमा किन चासो नदेखाइएको हो बुझ्न सकिएको छैन । सो स्थानलाई पर्यटकीय केन्द्र बनाइएमा आर्थिक लाभ मात्र हुनेछैन, भविष्यका सन्ततीलाई भूकम्पले कुन हदसम्मको क्षति पु-याउन सक्छ भन्नेबारेमा प्रत्यक्ष ज्ञान–चेतना दिन पनि सकिनेछ । घरहरू भत्केका, कोल्टे परेका या क्षतिग्रस्त भएका दृश्यहरू जस्ताको त्यस्तै देखेपछि आमजनतामा भूकम्पप्रतिको सचेतनता सधैँ जीवित रहिरहने विश्वास गर्न सकिन्छ । त्यसैले माछापोखरी–गोंगबु क्षेत्रमा भूकम्पले क्षतिग्रस्त तुल्याएका घरहरूलाई जस्ताको त्यस्तै राखी सरकारले सम्बन्धित व्यक्तिलाई जग्गाको मुआब्जा दिएर त्यसलाई पर्यटन केन्द्र बनाउनु उपयुक्त हुने देखिएको छ ।

भ्रष्टाचार छोप्न समाचारको खण्डन
नेपाल प्रहरीमा भएको एक भ्रष्टाचार प्रकरणलाई ढाकछोप गर्दै प्रहरी प्रधान कार्यालयले डेढ वर्षयता भीड नियन्त्रण इक्विपमेन्ट खरिद नगरिएको र टेन्डर आह्वान गरी खरिद प्रक्रियामा नगएको जनाएको छ । प्राप्त जानकारीअनुसार उपेन्द्रकान्त अर्यालले प्रहरी प्रमुखको कार्यभार सम्हाल्नुभन्दा केही अघि उक्त इक्विपमेन्ट खरिद गर्न टेन्डर आह्वान भएको र सोको टेन्डर माफियाका रूपमा समेत चिनिने दीपक भट्ट नामक व्यक्तिले प्रतिथान चार सय पचहत्तर (४७५) अमेरिकी डलरमा कबोल गरी प्रहरीलाई उपलब्ध गराएका थिए । यस विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । तर, स्वच्छ छविका भनिने आईजीपी उपेन्द्रकान्त अर्यालले वास्तविकताबारे स्पष्ट नगरी समाचारको खण्डन मात्र गर्ने प्रयास गर्दा यो प्रकरण थप रहस्यपूर्ण बनेको छ । दीपक भट्टले प्रहरीलाई चार सय पचहत्तर अमेरिकी डलरमै उपलब्ध गराएको भीड नियन्त्रण इक्विपमेन्ट सशस्त्र प्रहरीले डेढ सय डलरभन्दा कममा खरिद गर्ने प्रक्रिया सुरु गरिरहेको छ । वास्तविकता यस्तो हुँदाहुँदै पनि भ्रष्टाचार प्रकरणलाई ढाकछोप गरेर आईजीपी अर्यालले कसलाई खुसी तुल्याउन खोज्नुभएको हो, खोजीको विषय बनेको छ ।

सामान्य बन्दै राजधानी
वैशाख १२ गतेयता आएको लगातारको भूकम्पबाट त्रसित बनेका राजधानीवासी बिस्तारै सामान्य जीवनमा फर्कन थालेका छन् । भूकम्पका कारण राजधानी छाडेर बाहिरिएकाहरूको पनि राजधानी आउने क्रम बढ्दै गएको छ ।
१२ गतेको भूकम्पपछि सामान्य बन्दै गएका राजधानीवासीलाई २९ गतेको अर्को भूकम्पले थप त्रसित बनाएपछि उपत्यका आउँदै गरेका र आउने तरखरमा रहेकाहरू रोकिएका छन् । घरघरमा बस्न लागेका मानिस फेरि पालमै फर्किएका थिए । तर, भूकम्पको पराकम्पन कम हुँदै गएपछि राजधानीबाट बाहिरिएकाहरू फेरि राजधानीमै भित्रिण थालेका छन् ।
‘पहिलेको जस्तो छैन, अहिले राजधानी छाड्ने र भित्रिने मानिसको सङ्ख्या समानजस्तै देखिन थालेको छ,’ ट्राफिक प्रहरी प्रमुख यज्ञबहादुर चन्दले भने, ‘पहिले थामिनसक्नु मानिस बाहिर गएका थिए, आउने कोही हुँदैनथे, तर अहिले राजधानी भित्रिनेको सङ्ख्या पनि बढ्दै गएको देखिन्छ ।’ चन्दका अनुसार अहिले दैनिक चालीस हजार मानिस उपत्यका भित्रिने गर्छन् भने उपत्यकाबाट ४८ हजारसम्म मानिस बाहिरिने गरेका छन् ।
उपत्यकाका सडकमा सवारी साधनको चाप पनि बिस्तारै बढ्दै गएको छ । पहिले पाँच–दश प्रतिशत सवारीसाधन नगुड्ने सडकमा एक–दुई दिनयता ७० प्रतिशतसम्म सवारीसाधन गुड्ने गरेको ट्राफिक प्रहरी प्रमुख चन्दले जानकारी दिए । उनले भने, ‘राजधानीको जनजीवन सामान्य बन्दै गएको छ, अब फेरि भूकम्प आएन भने एक–दुई हप्तामै राजधानी पुरानै अवस्थामा फर्कन्छ ।’
भूकम्पबाट त्रसित बनेर खुला चैरमा बस्दै आएका मानिस पनि बिस्तारै आफ्नो दैनिक कार्यमा फर्कन थालेका छन् । बन्दजस्तै रहेको असन, इन्द्रचोक, नयाँ सडक, बागबजार, कोटेश्वर क्षेत्रका बन्द रहेका पसलहरू खुल्न थालेका छन् भने त्यस क्षेत्रमा मानिसको भीड पनि बढ्दै गएको छ ।
नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले पनि उपत्यकाको जनजीवन सामान्य बन्दै गएको बताए । ‘भित्रभित्र गल्लीमा रहेकाबाहेक राजधानीका अधिकांश पसल खुलेका देखिन्छन्, कार्यालयहरू खुलेका छन्, सडकमा बाक्लै गाडी गुडेका छन्, मानिसको भीडभाड बढ्दै गएको छ,’ प्रवक्ता बमले भने, ‘भूकम्पको पराकम्पन आइरहे पनि राजधानीको जनजीवन बिस्तारै नर्मल बन्दै गएको छ, अब केही दिनमै सामान्य बन्छ ।’
पराकम्पनका कारण मानिस अझै खुला आकाशमुनि पालको भरमा बसिरहेको जानकारी दिँदै सिंहले ती मानिस पनि बिस्तारै आफ्नो घर जान लागेको बताए । उनले भने, ‘यो त्रास अझै केही दिन कायमै रहन्छ होला ।’
जनजीवन सामान्य रहे पनि भत्केका संरचना हटाउने अझै केही समय लाग्ने सिंहको भनाइ थियो । बस्न नहुने गरी चर्केका घर भत्काउन पनि समय लाग्ने जानकारी गराउँदै त्यसबाहेकको अन्य कार्य नर्मल हुँदै गएको र अब थप कम्पन नआए जीवन सामान्य हुने बमको भनाइ थियो । तर, घर नभएकाहरू अझै कति दिन खुला चौरमा बस्नुपर्ने हो त्यसको कुनै टुङ्गो छैन ।’
राजधानीका विभिन्न स्थानमा सामान्य व्यापार गर्दै आएकाहरूले दैनिक गुजाराका लागि पसल खोले पनि उनीहरूको बास पालमुनि नै भएको छ । असनमा कपडा पसल सञ्चालन गर्दै आएका काभ्रे बनेपाका विकास ध्वजूले दिउँसो पसल खोलेर राति सुत्नका लागि खुला मञ्चमै जाने गरेको बताए । बाँच्नका लागि ज्यानको बाजी थापेरै पसल खोलेको जानकारी दिँदै उनले भने, ‘तर, अहिले पसलमा सामान किन्नेहरू आएका छैनन्, पसल खोल्नु मात्र भएको छ । पसल खुले पनि भूकम्पको भन्दा अरू कुरा नै हुँदैन ।’ व्यापारी ध्वजूले भने, ‘मानिसमा डर रहे पनि त्यसलाई लुकाएर उनीहरू सामान्य जीवनमा फर्कंदै छन् ।’
भूकम्पपछि मानिस सामान्य जीवनमा फर्कंदै गरे पनि नियमित काम गर्न भने अझै सकेको देखिँदैन । रत्नपार्कको छहारीमा बसिरहेका दोलखा खरिढुङ्गाका कुमार लामाले भने, ‘खै दैनिक त सामान्य बन्दै गएजस्तो लाग्छ, तर काम गर्ने जाँगर छैन ।’ उनी पत्रिका पढिरहेका थिए ।
भूकम्प गएको क्षण त्यसले पारेको क्षति हेर्दा त अझै काम गर्ने जाँगर छैन,’ पुरानो बसपार्कमा जुत्तापसल सञ्चालन गरिरहेका मनोज थापाले भने, ‘अझै भूकम्प आउला कि भन्ने डर लागिरहेको छ, तै पनि पसल खोलेर सामान्य व्यापार गरिरहेको छु ।’
‘भूकम्पले पारेको मानसिक क्षतिलाई मेटाउन अझै समय लाग्छ,’ थापाले भने, ‘तर, त्यसलाई सम्झेर कामै नगरी बस्ने कुरा त भएन, काम गर्नुप-यो नि ।’ बिहान नौदेखि पाँच बजेसम्म पसल खोल्ने गरेको जानकारी दिँदै व्यापारी थापाले भने, ‘म बेलुका सुत्नचाहिँ बनेपास्थित सानीआमाको घरमा जाने गर्छु ।’
धरहरानजिक कपडा पसल सञ्चालन गरिरहेका रामेछाप गुन्सीका केदार गौतमले पनि भूकम्प आएपछि बन्द गरेको पसल सोमबारबाट मात्र खोलेको बताए । ‘अब भूकम्प नआउला कि भनेर पसल खोलेको जानकारी गराउँदै भने, ‘आइहालेमा भागौँला नि ।’ उनले पसल खोले पनि व्यापार भने नभएको जानकारी दिँदै भने, ‘हिजो पाँच सयको व्यापार गरेँ, आज त बोहनीसमेत भएको छैन ।’ उनले भूकम्पको डरका कारण कोठामा सुत्न भने नसकेको जानकारी दिए । उनले भने, मेरो सुताइ टुँडिखेलमा भएको छ ।’
सुन्धारमा झन्डै एक दशकदेखि व्यापार गर्दै आएका रामेछाप गुन्सीभदौरेकै विनोद चौलागार्इंले भने आज मंगलबारबाट पसल खुलेको बताए । उनले भने, ‘कोटेश्वरमा रहेको खुला चौरमा त्रिपालमुनि बसिरहेको छु ।’ ‘सबैले पसल खोल्न थालेपछि मैले पनि खोलेको हुँ,’ चौलागाईंले भने, ‘कतैबाट केही राहत पाएका छैनौँ, अनि आफ्नो पसल नखोलेर के गर्ने त ?’ सोह्रखुट्टेमा रहेको भाडाको कोठा भत्किएकाले अहिले कोठाको समस्याले पनि सताइरहेको छ । चौलागाईंले भने, ‘कति दिन टुँडिखेलमा बस्ने त्यसको कुनै टुङ्गो छैन ।’

‘साकार’द्वारा पत्रकारलाई सहयोग
झन्डै दुई दशकदेखि मुलुकका विभिन्न स्थानमा होटल तथा रेस्टुरेन्ट व्यवसाय गर्दै आएको सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटीको १६औँ वार्षिक साधारणसभाले चिन्तामणि न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । काठमाडौं, बुटवल, नेपालगञ्ज, कैलालीको चिसापानी, टीकापुरसमेत विभिन्न दश शाखाबाट ग्राहकलाई सेवा दिँदै आएको बिजनेस ग्रुपले यसै आर्थिक वर्षदेखि चितवनको चुम्लिङटार, सुर्खेतको वीरेन्द्रनगर, पूर्वको इटहरी र पोखरामा समेत सेवा विस्तार गर्ने जनाएको छ । साधारणसभाकै अवसर पारेर सिद्धार्थ ग्रुपले शिक्षा, स्वास्थ्यलगायतका विविध क्षेत्रमा टेवा पु-याउने उद्देश्यले गैरनाफामूलक संस्था ‘सिद्धार्थ एसोसिएसन फर केयर एन्ड रेस्पोन्सिबिलिटी’ (साकार)को कार्य आरम्भ गरेको छ । कार्यप्रारम्भको अवसर पारेर सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका नेपालगञ्जका युवा पत्रकार गोपी बुढालाई ‘साकार’को तर्फबाट पचास हजार सहयोग गरिएको छ ।

विपत्तिले धनी–गरिब भन्दैन : हिमानी
पूर्वयुवराज्ञी हिमानी शाहद्वारा सञ्चालित हिमानी ट्रस्टले धादिङका भूकम्पपीडितलाई जस्तापातासहितका राहत सामग्री वितरण गरेको छ । गत वैशाख १२ र २९ गते गएको भूकम्पका कारण करिब साठी प्रतिशत घर ध्वस्त भएको धादिङको तसर्पु गाविसका वडा नम्बर ३, ४, ५, ६ र ७ का चार सय ६१ घरधुरीलाई हिमानी स्वयम् उपस्थित भई जस्तापाता र तीन हजार थान पाल प्रदान गरेकी हुन् । राहत सामग्री प्रदान गर्दै हिमानी शाहले विनाशकारी भूकम्पका कारण्ँ राष्ट्रमा ठूलो धनजनको क्षति भएको र यस्तो अवस्थामा दुःखमा परेका नागरिकलाई कोषमार्फत मानवीय सहयोग गर्ने सामान्य प्रयत्न गरिएको बताइन् । वर्तमान सङ्कटको समयमा सम्पूणर््ँ नेपाली एकजुट भई एक–अर्कालाई सहयोग र सद्भाव कायम गरी पुनर्निर्माण्ँमा जुट्नपर्ने धारण्ाँ पनि उनले राखिन् । धनी–गरिब, ठूलो–सानो नछुट्याई विपत्ति सबैलाई पर्न सक्ने भएकाले कोही–कसैलाई निषेधको भावमा हेर्नुहुँदैन भन्दै समाजसेवी हिमानीले सबै मिलेर विपत्तिको सामना गर्नुपर्ने सुझाव दिइन् । एक नेपालीलाई दुःख पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्ने उनको कथन थियो । गाविसका सबै घरधुरीलाई राहत बाँड्ने योजना भए पनि अपुग भएकाले अहिले पाँचवटा वडामा बाँडिएको र पछि छुटेका गाविसलाई पनि यथाशक्य राहत प्रदान गरिने वाचा हिमानीले गरिन् । स्मरणीय छ, तसर्पुका जनताले हिमानी ट्रष्टलाई चिठी लेखेरै जस्तापाता र राहत मागेका थिए । यसअघि हिमानी ट्रष्टले काठमाडांै, भक्तपुरलगायतका भूकम्पपीडितलाई राहत वितरण्ँ गरेको थियो ।

बारामा ‘भावी राहुल गान्धी’को दबदबा †
बारा क्षेत्र नम्बर ४ बाट संविधानसभामा प्रतिनिधित्व गर्ने एमाले सभासद् नजमा खातुनले संसदीय विकासको रकममा उपभोक्तासँग दुई लाख अग्रिम रकम लिई उपभोक्ता समिति बनाउने गरेको बहुअरी (बारा)मा गठित उपभोक्ता समितिका सचिव रघुवीर मुखियाले आरोप लगाएका छन् । बहुअरीमा नियमपूर्वक समिति बनाई जिल्ला विकास समितिमा दर्तासमेत गराइसकेको अवस्थामा उपभोक्ता समिति खारेज गरेर सभासद् खातुनले आफूनिकटका व्यक्तिसँग अग्रिम रकम लिई गाविससचिव ऋषिकेश तिवारीलाई दबाब दिएर जिविसमा नियमविपरीत दर्ता गराएकी भन्दै स्थानीय जनता आक्रोशित भएका हुन् । सभासद् खातुनले नियमविपरीत गठन गरेको समिति खारेज गर्नुपर्ने मागसहित निवेदन दिएइएकोमा खातुनकै धाकधम्की र अनुचित दबाबका कारण निवेदनमाथि सुनवाइ नभएको स्थानीय जादोलाल साहले बताए । खातुनले जबर्जस्ती गठन गराएको प्रसौनी, बुनियाद, इनर्वासिरा, बन्जरिया, प्रस्टोका, भलुही भरवलीयालगायत गाविसमा उपभोक्ता समिति गठनमै विवाद भएको छ । आफ्ना छोरा मोविन आलमलाई स्वकीयसचिव बनाएर मनोमानी गर्दै आएकी सभासद् खातुनकै दबाबमा ती उपभोक्ता समिति बनाइएका थिए । हरेक उपभोक्ता समिति गठनका बेला खातुनपुत्र मोविनले आफूलाई ‘भविष्यको राहुल गान्धी’ बताउँदै गाविसका सडक निर्माण, ग्राभेललगायत शीर्षकमा उपभोक्ता समितिसँग योजनापूर्व नै ५० हजारदेखि दुई लाखसम्म रकम लिने गरेका छन् । खातुन र उनका पुत्रको दबदबा कहिलेसम्म जारी रहने हो, स्थानीयवासी नियालिरहेका छन् ।

राहत बाँड्न पन्ध्र सय किमिको यात्रा
मानवीय संवेदनाले छोएपछि न त दूरी टाढा हुन्छ न त्यहाँ कुनै राजनीतिक स्वार्थको प्रभाव नै रहन्छ । अरूको दुःखलाई आफ्नो दुःख देख्ने अनि निःस्वार्थ सेवामा तल्लीन रहनेहरूको अझै कमी भइसकेको छैन । यस्तै सहयोगी भावना भएकाहरू १५ सय किलोमिटर लामो यात्रा गरेर नुवाकोटका भूकम्पपीडितलाई सहयोग गर्न गत शनिबार नुवाकोट आइपुगे ।
नेपाली काङ्ग्रेसनिकट नेपाली जनसम्पर्क समिति चण्डीगढ भारतका पदाधिकारीहरू नुवाकोटको विदुर नगरपालिका–५ स्थित माझीटार क्षेत्रमा राहत लिएर आइपुगेका हुन् । नेपालका आफ्ना दाजुभाइ विनाशकारी भूकम्पका कारण अत्यन्त प्रभावित भएको खबरले मर्माहत बनेका उनीहरूलाई यहाँसम्म आइपुग्न लामो दूरीले रोकेन, राजनीतिक आस्थाले पनि छेकेन । माझीटार क्षेत्रका करिब चार सय परिवारलाई राहत वितरण गरेपछि संस्थाका अगुवा गोपाल कोइरालाले भने, ‘सबैभन्दा ठूलो मन हो, भूकम्पका कारण नेपालीको मन नै भाँचिएको बेला भारतमै रहिरहन हामीले सकेनौँ ।’
नेपाली जनसम्पर्क समिति चण्डीगढले उपलब्ध गराएको पाँच केजी चामल, पाँच केजी चिउरा, एक केजी दाल, एक केजी दालमोठ, एक प्याकेट तेल र नुनसहितको राहत प्याकेजले माझीटार क्षेत्रका भूकम्पपीडितको तत्कालको दैनिक गुजारमा मद्धत पुग्ने स्थानीयहरूले बताए । राहत वितरण कार्यको संयोजन गरेको स्थानीय तादी त्रिशूली युवा क्लबका अध्यक्ष जितेन्द्र अर्यालले सरकारी राहत प्रभावकारी हुन नसकको बेला नेपाली जनसम्पर्क समितिको राहत अत्यन्त उपयोगी ठानिएको प्रतिक्रिया दिए ।

एनआरएनए नर्वेमा पण्डित
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) नर्वेको अध्यक्षमा कुमार पण्डित निर्वाचित भएका छन् । कुल खसेको दुई सय २१ मतमध्ये पण्डितले एक सय ३५ मत प्राप्त गरेका थिए । अध्यक्ष पदका अर्का उम्मेदवार तथा पूर्वउपाध्यक्ष सञ्जिद थापाले ८४ मत मात्रै प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा प्रेम परियार पनि निर्वाचित भए ।
उनले एक सय ४४ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी रामकृष्णले ७७ मत मात्रै प्राप्त गरेका थिए । परियार यसअघिको कार्यसमितिमा कोषाध्यक्ष थिए । त्यस्तै सचिव पदमा रत्नप्रसाद सापकोटा चयन भए । उनले एक सय ३३ मत प्राप्त गरेका थिए । सचिव पदका प्रत्याशी प्रह्लाद विष्टले जम्मा ८४ मत प्राप्त गरेका थिए । अन्य पदमा भने सर्वसम्मति भएको थियो ।
जेठ १ र २ गते गरी दुई दिन भएको निर्वाचनबाट नयाँ समिति चयन भएको थियो । नर्वेको राजधानी ओस्लोभन्दा बाहिर रहेका प्रतिनिधिहरूले डिस्ट्यान्स भोटिङमार्फत मतदान गरेका थिए ।
चौथो साधारणसभाले आगामी दुई वर्षका लागि चयन भएका कार्यसमितिमा रहेका पदाधिकारीहरूमा उपाध्यक्षमा शालिकराम अर्याल, महासचिवमा द्वारिका महर्जन, कोषाध्यक्षमा राजेन्द्र क्षेत्री, महिला संयोजकमा रोशनी धौबञ्जार र युवा संयोजकमा डा. प्रलय रिजाल रहेका छन् । समितिका सदस्यहरूमा भुवन श्रेष्ठ, बोधराज खनाल, ध्रुव कार्की, चन्द्रहरि राना, सन्तोषराज उप्रेती र दीपेन्द्र क्षेत्री रहेका छन् । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई गैरआवासीय नेपाली सङ्घ युरोप क्षेत्रीय संयोजक सोम सापकोटाले पद तथा गोपनीयताको शपथ दिलाएका थिए ।
अध्यक्ष पदमा निर्वाचित भएका पण्डित हेल्पिङ ह्यान्डस फर नर्वे र नेपालिज सोसाइटी अफ आसका सल्लाहकार पनि हुन् । पण्डित एन आरएनए नर्वेको तदर्थ समितिका अध्यक्षका रूपमा पनि काम गरिसकेका छन् । नर्वेमा रहेका युवा समुदायमाझ पण्डित लोकप्रिय अनुहार हुन् । यसअघि एनआरएनए नर्वेको अध्यक्ष डा. सुरज थापा थिए । यसैबीच नवनिर्वाचित कार्यसमितिले नेपालमा गएको विनाशकारी भूकम्पबाट प्रभावितहरूका लागि विशेष सहयोग कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको पनि जानकारी अध्यक्ष पण्डितले दिएका छन् ।

मित्रराष्ट्रसँग मिलेर सेनाको सक्रियता जारी
भूकम्पबाट प्रभावित जिल्लाका विभिन्न स्थानमा आफ्ना फौज एवम् उपलब्ध स्रोत–साधन सदुपयोग गर्दै खोज, उद्धार, राहत पु-याउने, भग्नावशेष हटाउने तथा भूकम्पबाट अवरुद्ध सडक खुलाई सर्वसाधारणको दैनिकी सामान्यीकरण तुल्याउन अहम् भूमिका निर्वाह गर्दै आएको नेपाली सेनाले भूकम्प प्रभावित धादिङ र दोलखाका विभिन्न स्थानमा गत सोमबार सात हजार दुई सय ५० केजी खाद्यान्न र तीन हजार एक सय ५० केजी अन्य राहत सामग्री पु-याएको छ । त्यसैगरी भूकम्पको कारण विभिन्न स्थानमा स्थलमार्ग अवरुद्ध भई अलपत्र परेकामध्ये दोलखाबाट आठ र धादिङबाट १८ नागरिकलाई सेनाले सोमबार नै हवाई साधनद्वारा उद्धार गरेको छ । भारतीय वायुसेनाको हवाई साधन प्रयोग गरी पोखराबाट चार हजार आठ सय केजी राहत सामग्री मुलुकका विभिन्न भूकम्प प्रभावित स्थानमा ढुवानी गरेको पनि सेनाले जनाएको छ ।
यस्तै, नेपाली सेनाको मेडिकल टिमले सिन्धुपाल्चोकको चौतारा र घोर्थली, रामेछापको चुचुरे, रसुवाको धुन्चेमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ भने नेपाली सेना र भारतीय सेनाको मेडिकल टिमले संयुक्त रूपमा दोलखाको चरिकोटमा पनि घुम्ती स्वास्थ्य शिविर तथा भारत, क्यानडा र जापानको संयुक्त टोलीले सिनामंगल, सुकुटे र राजधानीको टुँडिखेलमा फिल्ड अस्पताल सञ्चालन गरी घाइते तथा बिरामीको उपचार गरिरहेको छ । गत आइतबारसम्ममा विभिन्न मित्रराष्ट्रका सैनिक मेडिकल टोलीद्वारा २४ हजार आठ सय २० जनाको उपचार गरिएको बताइएको छ । यसैबीच विनाशकारी भूकम्पको कारण अवरुद्ध रहेको विभिन्न सडक खण्ड खुलाउने क्रममा मित्रराष्ट्र भारतको कम्ब्याट इन्जिनियर टोलीले भक्तपुर क्षेत्रमा तीन सय मिटर बाटो खोलेको, मित्रराष्ट्र क्यानडाको ‘डार्ट’ टोलीले सिन्धुपाल्चोकको सुकुटेमा पहिरो हटाएको र साँखुमा एक सय २५ मिटर बाटो खोलेको तथा मित्रराष्ट्र चीनको इन्जिनियर टोलीले केरुङ–रसुवागढी सडक खण्डमा तीनवटा चट्टान फुटाउनुको साथै लिङलिङको पहिरो हटाउने कार्य सम्पन्न गरेको सेनाले जनाएको छ ।
त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले पशुपतिनाथ विश्वरूपा मन्दिर, भीमसेन दरबार, नारायण मन्दिर, शिव मन्दिर, जगतनारायण, पाटन, बुङमती मन्दिर, भक्तपुर फसिदेवल र बालाखु मन्दिर, चाँगुनारायण मन्दिर र इन्द्रेणी इलाकाको पुरातात्िवक महत्वका संरचनाहरूको भग्नावशेषहरू व्यवस्थित गर्ने एवम् भग्नावशेषमा पुरिएका मूर्ति तथा विभिन्न पुरातात्िवक महत्वका वस्तुहरूको खोजी गरी सम्बन्धितलाई बुझाउने कार्यमा सक्रियता दर्शाएको छ । पुरातात्िवक महत्वका संरचनाहरूको भग्नावशेषमा रहेका महत्वपूर्ण वस्तुहरूको सुरक्षाको निमित्त नेपाली सेना विशेष सजगताका साथ दिनरात लागिपरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
यसैक्रममा उद्धार तथा राहत कार्यलाई समन्वयात्मक एवम् थप प्रभावकारी बनाउने सन्दर्भमा प्रधानसेनापति गौरवशमशेर जबरा र मित्रराष्ट्र अमेरिकाको एमईएफका कमान्डर लेफ्टिनेन्ट जनरल विस्लरबीच सोमबार जङ्गी अड्डामा भेटघाट भएको छ भने मित्रराष्ट्र जापान र भुटानका मेडिकल टिमका टोलीले समेत प्रधानसेनापतिसँग भेट गरी भूकम्प प्रभावित नागरिकलाई उपचार सेवा उपलब्ध गराउने सम्बन्धमा छलफल गरेका छन् ।

‘हाम्रो श्रमदान अभियान’मा काङ्ग्रेस
भूकम्पका कारण वासस्थान भत्किएर बिचल्लीमा परेका जनतालाई सहयोग गर्न नेपाली काङ्ग्रेसले विशेष अभियान सुरु गर्ने भएको छ । काङ्ग्रेसले पार्टीका सबै भ्रातृ तथा शुभेच्छुक संस्थाका कार्यकर्तालाई आफ्ना गाउँ, टोल–छिमेक र वरपर सम्भव भएसम्मका स्थानमा कम्तीमा सात दिन श्रमदान गरी पीडित परिवारको मद्दतमा उत्रन आह्वान गरेको छ । यस सहयोग अभियानलाई काङ्ग्रेसले ‘हाम्रो श्रमदान अभियान’ नाम दिएको पार्टी उपसभापति एवम् पार्टीद्वारा गठित भूकम्प प्रकोप समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले जनाएका छन् । भुइँचालोबाट क्षति नपुगेका या कम क्षति भएका स्थानका कार्यकर्ताले भूकम्प प्रभावित स्थानमा गई भत्केका घर मर्मत एवम् अस्थायी टहरा निर्माणमा सहयोग गरी पीडित जनतालाई वासस्थान उपलब्ध गराउनुका साथै राहत सङ्कलनमा समेत विशेष सहयोग उपलब्ध गराउने उपसभापति पौडेलले जानकारी दिए । पहाडबाट हिमाली गाउँलाई र मधेसबाट पहाडका प्रभावित गाउँलाई सहयोग गर्न सकभर अर्धदक्ष कामदारसहित जाने र सात दिनसम्म शिविर खडा गरी त्यहाँका भत्केका घर मर्मत वा अस्थायी टहरा बनाएर वर्षाबाट जोगिने भरपर्दो वासस्थान बनाउन सहयोग गर्ने काङ्ग्रेसको दाबी छ ।

सभासद् भण्डारीद्वारा जिल्लावासीलाई राहत
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्बर २ का सभासद् चन्द्र भण्डारीले स्थानीय भूकम्पपीडितलाई राहत सामग्री प्रदान गरेका छन् । भण्डारीले तीन हजारभन्दा बढी सङ्ख्यामा त्रिपाल, पाँच सय थान कम्बल र प्राथमिक उपचारका लागि औषधिसमेत जिल्ला विपत् व्यवस्थापन समितिमार्फत पीडितलाई उपलब्ध गराएका हुन् । उनले आफ्ना स्वर्गीय भाइ एवम् नेपाली काङ्ग्रेसका तत्कालीन जिल्ला सचिव फणीन्द्र भण्डारी र निर्माण व्यवसायी सङ्घ गुल्मीका तत्कालीन अध्यक्ष स्वर्गीय हरि न्यौपानेको स्मृतिमा गुल्मीका भूकम्पपीडितलाई खाद्यान्न सहयोगसमेत गरेका छन् ।

दश लाख स्कुले बालबालिका प्रभावित
नेपालमा हालै गएको विनाशकारी भूकम्पका कारणँ करिब १० लाख बालबालिका स्कुल जानबाट बन्चित भएको संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले जनाएको छ । भूकम्पका कारण २४ सय कक्षाकोठा भत्किएको उल्लेख गर्दै तत्काल वैकल्पिक व्यवस्था नगर्ने हो भने उल्लेखित सङ्ख्याका बालबालिका स्कुलबाट बन्चित हुनुपर्ने युनिसेफका नेपाल प्रतिनिधि टुमो होजुमीले जनाएकी छिन् । नेपालमा स्कुल जाने बालबालिकाको प्रतिशत राम्रो भए पनि विभिन्न कारणले बीचमै स्कुल छाड्ने दरसमेत बढ्दो रहेको परिवेशमा प्रलयकारी भूकम्पपछि स्कुल छाड्नेहरूको सङ्ख्या बढ्न सक्ने भएकाले तत्काल वैकल्पिक व्यवस्था गरेर पठनपाठन सुचारु गर्नुपर्नेमा युनिसेफले जोड दिएको छ । भूकम्प प्रभावित बालबालिकाहरूलाई स्कुल फर्काउन आवश्यक सहयोग गर्न पनि युनिसेफले प्रतिबद्धता जनाएको छ ।

धर्मनिरपेक्षताविरुद्ध विरोधसभा
प्रलयकारी भूकम्पको चपेटामा मुलुक छटपटिइरहेकै बेला राष्ट्रिय हिन्दू एकता मञ्च नेपालले देशलाई धर्मनिरपेक्ष घोषणा गरिएको विषयलाई लिएर विरोधसभा आयोजना गरेको छ । विश्वको एक मात्र वैदिक सनातन हिन्दू राष्ट्र नेपाललाई ०६३ जेठ ४ गते धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको विषयलाई लिएर मञ्चले झापामा विरोधसभा सम्पन्न गरेको हो । राष्ट्रिय हिन्दू एकता मञ्चका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद ओलीको प्रमुख आतिथ्यता एवम् मञ्चका बिर्तामोड नगरसचिव यमलाल मैनालीको सभापतित्वमा आयोजित विरोधसभामा संस्थाआबद्ध मणिकुमार राई, ऋषिप्रसाद नेपाल, चन्द्र प्रसाईं, मोहन सिवाकोटी, भक्ति पाठक, दीपेन्द्र ओली, ठूलीबाबा खड्कालगायत वक्ताले हिन्दू राष्ट्रबिनाको संविधान नलेख्न संविधानसभाको ध्यानाकर्षण गराए । यस मुद्दालाई सामान्य रूपमा लिइए परिणाम भयावह हुने चेतावनी उनीहरूले दिए । अध्यक्ष ओलीले नेपालीको चाहनाविरुद्धमा नलाग्न सभासद्हरूलाई सुझाव दिँदै राष्ट्रको अस्मिता र पहिचान लत्याएर ल्याइने संविधान मिनेटभर नटिक्ने दाबी गरे । कार्यक्रममा भूकम्पमा परी दिवंगत भएकाहरूको आत्माको चिरशान्तिका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो ।

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै ग्लोबल बैंक
गत वैशाख १२ गते शनिबार र २९ गते मंगलबार गएको भूकम्पबाट भएको धनजनको क्षतिलाई मध्यनजर गर्दै ग्लोबल आईएमई बैंकले राहतसम्बन्धी विभिन्न प्रयोजनका लागि एक करोड ५० लाख सहयोग गर्ने घोषणा गरेको छ । घोषणाअनुसार बैंकले ५० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिसकेको छ भने तत्काल राहतस्वरूप काठमाडौंको नाङ्लेभारे, साङ्लेखोला र फुटुङ तथा धादिङ बैरेनी–४ को वायुगाउँ र टुकटिङका करिब चार सय ६० प्रभावित घरपरिवारलाई खाद्यान्न, त्रिपाल, स्वास्थ्य–सामग्रीलगायतका राहत वितरण गरेको छ । घोषणा गरिएको बाँकी रकमबाट बैंकले बढ्ता प्रभावित पाँच जिल्लामा एक–एकवटा विद्यालय निर्माण गर्ने प्रतिबद्धता पनि जनाएको छ । यस्तै, ग्लोबल बैंकले सामाजिक उक्तरदायित्व बहन गर्ने क्रममा त्रिपुरेश्वरमा रहेको कालमोचन मन्दिरको सरसरफाइ गरेको छ । बैंकका नि. प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालको अगुवाइमा गत वैशाख २६ गते गरिएको सरसफाइ कार्यक्रममा बैंकका दुई सय कर्मचारीको उपस्थिति थियो ।

अमेरिका–नेपाल सहयोगी समाजको राहत पीडित सुत्केरीलाई
भूकम्पपीडितलाई राहत एवम् सहयोग गर्न अमेरिकाबाट आएको अमेरिका–नेपाल सहयोगी समाजका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरी आफ्नो राहत कार्यक्रमबारे जानकारी दिएका छन् । समाजका प्रतिनिधि सागर कँडेल, पदम रेग्मीलगायतको टोलीले काठमाडौं जितपुरफेदीका एक सय २५ भूकम्पपीडित सुत्केरीलाई राहत सामग्री वितरण गरेको जानकारी मंगलबारको भेटमा प्रधानमन्त्रीलाई गराए ।
यसैबीच समाजले सिन्धुपाल्चोकको ठोकर्पास्थित बाघभैरव उच्च माविका ४ सय ६४ विद्यार्थीलाई स्कुल झोला, कलम र कापी वितरण गरेको थियो । त्यस्तै मेलम्ची नगरपालिका–६ का भूकम्पपीडितलाई पनि समाजले चामल, नुन, तेल, कम्बललगायतका सामग्री उपलब्ध गराएको छ । यसअघि समाजले काठमाडौंस्थित पवित्र समाज सेवालाई राहतस्वरुप २ लाख रुपैयाँबराबरको सहयोग गरेको थियो ।