सत्यको उत्खनन् हो पत्रकारिता

(संयोगका पानाहरू–३७)

1 Comments


  • गोपाल पराजुली

ल कलेजमा अध्ययन गर्दा मेरो एउटा रहर थियो कविता लेख्ने, लेखरचनाहरू लेख्ने, रेडियो नेपालमा गएर बोल्ने, सभा–समारोहमा गएर भाषण गर्ने । ती सिर्जना र गतिविधिहरूलाई आम जनमानसमा पुऱ्याउने सशक्त माध्यम मिडिया र पत्रकारिता नै हो भन्ने लाग्थ्यो । जसले गर्दा कता–कता पत्रकारिता पनि मेरो जीवनको एउटा ठूलो रहरको विषय बन्न पुग्यो । पछि मैले ‘आरती’ नामको एक साप्ताहिक पत्रिकामा काम पनि गर्न थालेँ । आरती साप्ताहिकका सम्पादक इन्दू शर्मा हुनुहुन्थ्यो ।

पत्रकारितामा रहर बढेसँगै मैले रामराजा पौडेलको ‘पत्रकारिता’ भन्ने पुस्तक पढेँ । पत्रकारमा कृष्णको जस्तो प्रत्युत्पन्नमति, बुद्धको जस्तो तप, रामको जस्तो सत्यवादिता, पुलिञ्जरको जस्तो जाँगर, बेञ्जामिन फ्रेङ्कलिनको जस्तो अन्वेषण, थोमस एडिसनजस्तो अविष्कारक, अब्राहम लिङ्कन जस्तो त्यागी इत्यादि गुणहरू हुनुपर्छ भन्ने खालका कुराहरू उहाँको किताबमा उल्लेख थिए । सत्यका प्रति समर्पित हुने सत्यलाई उत्खनन् गर्ने प्रतिभा भएका पत्रकारहरू नै इतिहासमा सवल, सफल र चीरस्मरणीय हुन्छन् भन्ने प्रेरक अभिव्यक्तिहरू उहाँको कितावमा थियो ।

रामराजा पौडेलको कितावपछि मैले गृष्मबहादुर देवकोटाको ‘राजनीति’ भन्ने किताव पढेँ । त्यो कितावभित्रको समग्र विषयवस्तुको अध्ययण गर्दा त्यहाँ कैयन सत्य र केही तथ्यहरू पनि उजागर गरिएका थिए । यद्यपि उहाँलाई कुन कुरामा चित्त नबुझेर हो दुई तिहाई बहुमत पाएको तत्कालीन सरकारलाई लाक्षणीक रूपमा पुस्तकभित्र ठाउँ–ठाउँमा होच्याएको जस्तो प्रतीत हुन्थ्यो । हुन सक्छ उहाँ राजा महेन्द्रको नजिक हुनुहुन्थ्यो वा तत्कालीन व्यवस्थाको प्रभाव उहाँमा थियो । अथवा त्यो दुई तिहाइको राजनीतिक शक्तिसँग उहाँको निकटता थिएन कि ?

पत्रकारिता र विद्यार्थी राजनीतिका क्रममा मैले मेरा अत्यन्त प्रिय साथी यादवनाथ आलोकसँग थुप्रै यादगार क्षणहरू विताएको छु । उहाँ अधिवक्ता पनि हुनुहुन्थ्यो । अत्यन्त सरल व्यवहार भएका, मृदुभाषी मेरा हितैषी मित्र आलोकसँगको अन्तिम क्षण मैले रूपन्देहीको सूर्यपुरामा कुनै कार्यक्रममा जाँदा बिताएको थिएँ । सूर्यपुरामा अवस्थित पुष्पानन्द गिरीको घर छेउमा कार्यक्रम राखिएको थियो । त्यहाँ जाने क्रममा खैरेनी भन्ने ठाउँमा आलोक र मैले सँगै खाना खाएका थियौँ । खाना खाने क्रममा आलोकजीले भन्नुभयो– ‘आजको कार्यक्रममा गिरीजाबाबु आउन नहुने हो । त्यो कार्यक्रममा सरिक हुने निर्णय गरेर उनले गल्ती गरे । आजको समय, स्थान र परिस्थिति विचार गर्दा किन–किन मलाई विरोधीहरूले कार्यक्रमस्थलमा हमला गर्छन् जस्तो लागिरहेको छ ।’

हामी निर्धारित समयमै सूर्यपुरामा पुग्यौँ । विशाल कार्यक्रम थियो । किसान मजदुर आदिवासीहरू समेतको ठूलो उपस्थिति थियो । नेताहरूबाट भेलालाई सम्बोधन गर्ने क्रम सुरु भयो । अनायास कुनै शत्रुराज्यबाट हमला गरेको शैलीमा कार्यक्रमस्थलमा खुकुरी भाला खुँडासहितको ठूलो जत्था घुस्यो । कार्यक्रममा सहभागीहरूमाथि अन्धाधुन्ध हमला भयो । गिरिजाप्रसाद कोइराला, शैलेजा आचार्य, शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायतका नेता र हामीहरू समेतको समुह ज्यान जोगाउन पुष्पानन्द गिरीको घरको माथिल्लो तलामा पसेर ढोकामा आग्लो लगायौँ । वाहिर हेर्दा जथाभावी आक्रमण र काटमार भैरहेको देखेपछि मैले पुष्पानन्द गिरीलाई सोधेँ– ‘तपाईँको घरमा हतियार छ भने ल्याउनुस्, म त राम्रो सुटर पनि हो ।’

उहाँले १२ बोर बन्दुक दिनुभयो । मैले हतियार लोड गरेँ । भिडलाई तितरवितर पार्ने कोशिसमा आकाश तर्फ फायर गर्न खोजेँ । तर त्यसबाट छुस्सऽऽ आवाज मात्रै आयो । पड्किएन । सायद त्यो हतियार हामीसँग रहेको सुइँको आक्रमणकारीहरूले पाएको भए हामी कोही पनि बच्ने थिएनौँ होला । जयप्रकाश गुप्ता त्यसबखत काङ्ग्रेसका राम्रा कार्यकर्ता थिए । गिरिजाप्रसाद कोइरालासँग निकट पनि थिए । उनले त्यो विशाल कार्यक्रम र आक्रमणका थुप्रै तस्बिरहरू खिचेका थिए । उक्त घटनामा थुप्रै व्यक्ति घाइते हुन पुगे । मेरा अनन्य मित्र यादवनाथ आलोकमाथि सांघातिक हमला भयो । उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा उहाँको मृत्यु भयो ।

मिडिया र न्यायाधीश उस्तै–उस्तै हुन्, जोसित हतियार हुँदैन । मिडिया र जुडिसिएरी दुवैलाई ध्वस्त पार्न केही माफिया शक्तिहरू लाग्ने गर्छन् । भेनेजुयला र अफ्रिकामा यस्ता कैयन उदाहरणहरू हामी देख्न सक्छौँ । कतिपय घटनामा त लागुऔषध तस्करले इजलासमै गएर न्यायाधीशलाई गोली समेत हानेका छन् ।

त्यसैबेलादेखि मैले खुलेरै बोल्न थालेँ कि यो पञ्चायती व्यवस्था पनि तानाशाही व्यवस्था हो । मानिसले शान्तिपूर्ण तवरले आफ्ना अभिव्यक्ति पनि दिन नपाउने ? प्रजातान्त्रिक व्यवस्थामा शान्तिपूर्ण ढंगबाट आफ्ना कुराहरू, विचारहरू राख्न पाउनुपर्छ । अभिव्यक्तिहरूलाई कुण्ठीत पार्नु हुँदैन । विचार र विवेकमा ताल्चा लगाउनु हुँदैन । राष्ट्रप्रति उत्तरदायी व्यक्तिलाई राज्यले कारवाही गर्न सक्दैन । यदि गर्छ भने त्यो तानाशाहीतन्त्र हो भन्ने खालका कुराहरू समेटेर मैले पम्पलेट लेखेको थिएँ । त्यसैवापत मलाई पनि पक्राउ गरेर तत्कालीन शासकले हिरासतमा लिएको थियो ।

त्यसकारण मैले पटक–पटक भन्ने गर्छु कि अभिव्यक्ति स्वतन्त्रताको वकालत गरेवापत र लेखेवापत जेल गएको अनुभवका कारण मैले प्रत्येक लेखक र पत्रकारलाई असाध्यै सम्मान गर्दछु । यिनीहरू नै सूचनाका सही संवाहक हुन् । यिनीहरूले नै राष्ट्रलाई गति दिन सक्छन् भन्नेमा पनि म विश्वस्त छु । तर लेखक, पत्रकार र मिडियाप्रति प्रियभाव प्रकट गर्ने मेरा उपर नै कतिपय पत्रकारले भ्रामक लान्छना लगाउन पुगे । मैले भन्दै पनि आएको छु कि मिडिया र न्यायाधीश उस्तै–उस्तै हुन्, जोसित हतियार हुँदैन । मिडिया र जुडिसिएरी दुवैलाई ध्वस्त पार्न केही माफिया शक्तिहरू लाग्ने गर्छन् । भेनेजुयला र अफ्रिकामा यस्ता कैयन उदाहरणहरू हामी देख्न सक्छौँ । कतिपय घटनामा त लागुऔषध तस्करले इजलासमै गएर न्यायाधीशलाई गोली समेत हानेका छन् ।

मेरा एकजना मित्र हुनुहुन्थ्यो यम शर्मा पौडेल । म २०२९ सालमा चितवनमा अध्ययण गरिरहेको बेलामा नेपाल विद्यार्थी संघले दोस्रो महाधिवेशन नारायणगढमा गरेको थियो । उक्त कार्यक्रमका प्रमुख वक्ता रामराजाप्रसाद सिँह हुनुहुन्थ्यो । तत्कालको व्यवस्था बमोजिम स्नातक चुनाव क्षेत्रबाट लडेर उहाँले चुनाव जित्नुभएको थियो । उहाँको पम्पलेट क्रान्तिकारी, परिवर्तनकामी र देशलाई गति दिने किसिमको थियो । पञ्चायती व्यवस्थाको हारकै रुपमा उहाँको विजयोत्सव मनाइएको थियो । उहाँले भाषण गरिरहँदा रूपलाल विश्वकर्मासहितको कम्युनिष्टहरूको एउटा जत्थाले आक्रमण गऱ्यो । राँको सल्कायो । आगो लगायो । काङ्ग्रेसभन्दा त बरू पञ्चायत नै ठीक भन्ने खालका अभिव्यक्ति उनीहरूले नै राखेपछि मलाई वाम विचारधाराप्रति वितृष्णा उत्पन्न भयो र प्रजातान्त्रिक आन्दोलनतर्फ आकर्षित हुन पुगेँ । वामपन्थीहरूसँगको सामिप्यता तोडेर विचार वदलेर अघि बढेँ । त्यहि अभियानका मेरा सहयात्री हुनुहुन्थ्यो यम शर्मा पौडेल ।

यम शर्मा पौडेलले तत्कालीन प्रतिबन्धित काङ्ग्रेसका विचार र गतिविधिहरू तथा सत्य तथ्य सूचनाहरू आफ्नो अखबारमार्फत सार्वजनिक गर्नुहुन्थ्यो । यसका लागि उहाँले ‘वार्तालाप’ नामको पत्रिका चलाउनुभएको थियो । सबै पत्रिकालाई सूचना विभागले एउटा विज्ञापन दिन्थ्यो । तर उहाँको पत्रिकालाई भने दिँदैनथ्यो । उहाँले यतिसम्म हिम्मत गर्नुभयो कि आफ्नो श्रीसम्पत्ति धीतो राखेर प्रेस स्थापना गर्नुभयो । पत्रिका सबैले पढ्थे तर सहयोग कसैले गर्दैनथे । उहाँ नाजुक अवस्थामा पुग्नुभएको थियो ।

एकपटक इन्द्रजीत सिँह (जो १५ सालका सांसद पनि थिए) को अन्तर्वार्ता ‘वार्तालाप’मा छापिएपछि सबैले त्यो अन्तर्वार्ता लिने यम शर्मा पौडेलको सह्राहना गरे । इन्द्रजित सिँह खुशी भएर सकेको सहयोग गर्ने आश्वासन दिएर यम शर्मालाई लैनचौरको कुनै घरमा बोलाएछन् । राम्रै आतिथ्य सत्कारका साथ एउटा शर्त राखेछन्– ‘छापाखाना र कागजको खर्च सबै हामी ब्यहोरिदिन्छौँ, तर हरेक अंकमा कृष्णप्रसाद भट्टराईको आलोचना गरिएको लेख छाप्नुपर्छ ।’

सत्यको पक्षमा लड्दा दुःख अवश्य पाइन्छ तर मिडियाकर्मीहरू सत्यको पथबाट पटक्कै विचलित हुनुहुँदैन । सत्यको उत्खनन् पत्रकारिता हो । विचारको विचलन पत्रकारिता हुँदै होइन । अरूको मानो र भरणपोषणमा गरिएको गलत कर्मले कसैलाई चीरकालसम्म सन्तुष्टि पक्कै पनि दिँदैन ।

यम शर्माले उक्त प्रस्ताव ठाडै अस्वीकार गरी उठेर हिँड्नुभएछ । पछि कृष्णप्रसाद भट्टराईलाई भेटेर उक्त कुरा सुनाउँदा उहाँले यम शर्मालाई माया गरेर उल्टै हकार्नुभएको थियो अरे– ‘लाटा ! त्यति राम्रो प्रस्ताव पनि लत्याउने हो त । मेरो विरोध गर्दैमा तिम्रो छापाखाना चल्ने थियो भने गरेको भए भैहाल्थ्यो नि । म त एउटा पात्र न हुँ । कृष्णको विरोध गरे पनि भजन गाए पनि के फरक पर्छ र ?’ यस्तो व्यङ्ग्यात्मक ठट्टा हुँदा पनि यम शर्मा किसुनजीको सदा सर्वदा हिमायती बनिरहनुभयो । सत्यको आवाजलाई बन्धक राख्न चाहनुभएन । जे सत्य थियो त्यसैमा दृढ रहीरहनुभयो ।

तर अहिलेका कतिपय नेपाली मिडियाहरू कस–कसको भरणपोषणबाट सञ्चालित छन् ? कसलाई उतार्न र चढाउन लागेका छन् ? कसलाई सक्न वा बचाउन लागेका छन् ? कस्तो नाम र कस्तो दाम कमाउन लागेका छन् वा कस्को वदनाम गर्न के कस्तो दिशामा लागेका छन् ? कसैबाट सञ्चालित मिडियाकर्मीले आफ्नो आफ्नो छातिमा हात राखेर सोच्नुपर्ने भएको छ ।

जे होस्, यम शर्मा पौडेल जस्ता निष्ठावान व्यक्तिहरू पत्रकारिता क्षेत्रबाट पलायन भएर विदेशिनु परेको यथार्थ सबैसामु छर्लङ्ग छ । बैंकले सबै जेथा लिलाम गरिदिएपछि उहाँ श्रीमतिसहित अमेरिका गएर उतै बस्न थाल्नुभयो । उहाँसँग अचेल म सम्पर्कमा त छैन तर समयमा यी संवादहरू मसँग राख्नुभएका कारण आज उजागर गर्न सकेँ ।

त्यसकारण मलाई के लाग्छ भने सत्यको पक्षमा लड्दा दुःख अवश्य पाइन्छ तर मिडियाकर्मीहरू सत्यको पथबाट पटक्कै विचलित हुनुहुँदैन । सत्यको उत्खनन् पत्रकारिता हो । विचारको विचलन पत्रकारिता हुँदै होइन । अरूको मानो र भरणपोषणमा गरिएको गलत कर्मले कसैलाई चीरकालसम्म सन्तुष्टि पक्कै पनि दिँदैन ।

यो पनि हेर्नुहोस्–

सत्याग्रही कस्तो हुनुपर्छ ?

http://www.ghatanarabichar.com/136211

प्रतिक्रिया