चस्मा फेर्नुपर्‍यो

चस्मा फेर्नुपर्‍यो


· बबिता दिदी, नमस्कार !
· महिलाहरू बिग्रिएकै हुन् त भन्ने शीर्षकमा घटना र विचार साप्ताहिक र त्यसको फेसबुक संस्करणमा तपाईंको लेख पढेपछि केही लेख्न खसखस लाग्यो । मेरो खसखस तपाईंलाई चित्त बुझनु वा नबुझनु अर्कै कुरा हो ।
· तपाईंले काभ्रेको गोकुले गाविसकी एक महिलाको पीडादायी घटनालाई बडो मार्मिक ढङ्गले उठाउनुभएको छ । ती महिलाले भोग्नुपरेको समस्या मलाई आइपर्ने हो भने के गर्थें होला भन्ने कल्पना मात्र गर्दा पनि म अत्तालिन्छु । बिचरा ती महिलाले कसरी त्यसलाई पचाएकी होलिन् । तर, कुनै पनि घटनाको दुईवटै पाटोलाई गम्भीरतापूर्वक विश्लेषण नगरी एउटा पाटोलाई मात्र केलाएर त्यसको निचोड निस्कँदैन । पत्रकारिता, समाजशास्त्र वा अपराधशास्त्रले पनि त्यसै भन्छ । तर, नेपालका महिलावादी नेताहरू- मेरो विश्लेषणमा तपाईं पनि त्यसमा पर्नुहुन्छ वा एनजीओकर्मीहरू (सामाजिक कार्यकर्ता) काम गरेको देखाउने निहुँमा घटनाको एउटा पाटोलाई विश्लेषण गरेर आफ्नो क्रान्तिकारिता देखाउँछन्, जसले गर्दा दीर्घकालीन रूपमा समस्या समाधान हुनुको साटो बारम्बार बल्भिmरहन्छ । अनि एनजीओकर्मीको जागिर पाकिरहन्छ । त्यसरी जागिर पकाउने तपाईं अपवादमा पर्नुहोला नहोला, त्यो अर्कै कुरा हो तर धेरैजसो एनजीओकर्मी समस्या समाधानको पक्षमा हुँदैनन् । समस्या समाधान भयो भने खाने बाटो बन्द होला भन्ने डरले उनीहरूलाई सताइन्छ । उनीहरूको त्यही डरकै कारण समाधान भइसक्नुपर्ने समस्याहरू पनि बल्भिmरहेका दर्जनौँ घटना एक-एक प्रमाणसहित म दिन सक्छु । त्यसबारेमा र्सर्भेक्षण गर्न चाहुनभयो भने सम्पर्क राख्नुहोला ।
फेरि तपाईंले उठाउनुभएको घटनामै जाऊँ, यसको विश्लेषणमा तपाईं नराम्ररी चुक्नुभएको छ । तपाईंको नियतमाथि प्रश्न उठाउन चाहन्न, तर तपाईंले ती महिलाको पीडा त देख्नुभयो, बिचरा तिनको लोग्नेको पीडालाई पटक्कै आत्मसात् गर्न सक्नुभएको छैन । विचार गर्नुस्, साउदी अरबमा तिनले कति हन्डर खाए होलान्, केको लागि ‘श्रीमती, छोराछोरीका लागि होइन’ त्यसरी दु:खजिलो काम गरेर २/४ हजार रुपैयाँ त्यो पनि ल्याए कि ल्याएनन् कुन्नि लिएर घर आउँदा श्रीमतीको त्यो कर्तुत गर्दा तिनलाई कस्तो भयो होला, घटनाको विश्लेषण गर्दा तपाईंले त्यो कुराको हेक्का राख्नुपर्ने होइन, लोग्नेको दु:ख परिवारप्रतिको दायित्व र कर्तव्यलाई ती महिलाले सम्झिनुपर्ने थिएन, लोग्ने केही समय बिदेसिँदा नै मन थाम्न नसकेर चहार्दै हिँड्ने र लोग्ने घर आएपछि पनि ढाँट्ने ती महिलाको दोष होइन ? तपाईंले घटनाको विश्लेषण गर्दा त्यो लोग्नेको ठाउँमा म भएको भए के गर्थें होला भनेर सोच्नुपर्ने थिएन ?
नेपालका महिला अधिकारकर्मी हौँ भन्नेहरू हरेक घटनालाई महिलाको चस्माबाट मात्रै हेर्छन्, मान्छेको चस्माबाट हेर्दैनन् । मान्छेको चस्माले हेर्ने हो भने घटनामा संलग्न महिला-पुरुष दुवैको भूमिकाको तठस्थ विश्लेषण गर्न सकिन्छ । तर, तपाईंहरू कुनै पनि घटनाको बारेमा सुन्नासाथ महिला मात्र भएर हेर्नुहुन्छ, महिलामात्र भएर हेर्नुहुन्छ, बिचरा त्यो महिलाले कति दु:ख पाएकी होली भन्ने आग्रहबाट तपाईंहरूको बुझाइ, विश्लेषण गराइ, लेखन सुरु हुन्छ । घटनामा संलग्न पुरुष पात्रप्रति सुरुदेखि नै तपाईंहरू संवेदनाहीन बन्नुहुन्छ र उसलाई सुरुदेखि नै अपराधीको रूपमा चित्रण गर्नुहुन्छ । जब घटनालाई हेर्ने दृष्टिकोणको प्रस्थानबिन्दुमै आग्रह-पूर्वाग्रह पालिन्छ, तब तपाईंहरूले गर्ने विश्लेषण कसरी सही हुन्छ ? विश्लेषण सही नभएपछि कसरी त्यसको सही समाधान निस्कन्छ, नेपालका महिलाको समस्या अपेक्षाकृत रूपमा समाधान नसक्नुमा पनि तपाईंजस्ता ‘टाठा’ महिलाहरूको दृष्टिकोण नै मुख्य कारण हो । मेरो भनाइ के हो भने निश्चय पनि नेपालजस्तो देशलाई पुरुषको तुलनामा महिलाहरू धेरै प्रताडित छन् । पुरुषको अत्याचार चर्को छ । तर जुन रूपमा पुरुष बिग्रिएका छन् र महिलाहरू प्रताडित छन्, त्योभन्दा बढी तपाईंहरूजस्ता महिलावादी लेखकहरूको घटनालाई हेर्ने आँखा, विश्लेषण गर्ने क्षमता र प्रस्तुत गर्ने शैली बिग्रिएको छ । महिलालाई सामाजिक क्षेत्रको नेतृत्वमा नपुर्‍याई राजनीतिक क्रान्ति पूरा हुँदैन भनेर वकालत गर्ने महिला समानताको पक्षमा सबैभन्दा प्रखर रूपमा प्रस्तुत भएका र काम पनि गरेका महानायक लेनिनलाई पुरुषको रूपमा अझ कम्युनिस्टको रूपमा मात्रै मात्र चिरण गर्नुहुन्छ र नाङ्गो फोटो खिचेर चर्चामा आउने म्याडोनाको शैलीलाई ‘स्वतन्त्रताको प्रतीक’ मान्दै आदर्शको रूपमा चित्रण गर्नुहुन्छ । अनि कसैले सुन्दरी प्रतियोगिताको विरोध गर्‍यो भने त्यसलाई महिला अधिकार र स्वतन्त्रताको विरोधीको रूपमा चित्रण गर्दै लेख्न थाल्नुहुन्छ । तपाईंहरूको महिला विकासबारेको सोचाइ, चिन्तन र विश्लेषण बडो अजब-गजबको छ ।
दिदी, साँच्चै नै महिला अधिकार स्थापित गर्ने हो र तपाईंजस्ता ‘टाठा’ महिलाहरूले सबैभन्दा पहिले आफूलाई ‘मान्छे’ मान्नुपर्‍यो र हरेक घटनाक्रमलाई महिला वा पुरुषको आँखाले होइन मान्छेको आँखाले हेर्नुपर्‍यो । महिला नेता हुँदैमा ऊ महिला अधिकारको पक्षपाती हुन्छे र पुरुष जोसुकै भए पनि ऊ महिलाविरोधी हुन्छ अथवा पुरुषलाई गाली गर्नु नै महिलावाद हो भन्ने भ्रमबाट मुक्त हुनुपर्‍यो । ‘लाउनेलाई भन्दा देख्नेलाई लाज’ जस्तो वास्तविक आसय महिलाहरू कमजोर भएकोले उनीहरूलाई प्राथमिकता दिऊँ भन्ने हो भन्दै लाइन मिचेर अगाडि बढ्न चाहन्छन्, बढ्छन् । समानताको भाषण गरेर नथाक्नेहरू प्रतिस्पर्धामा उत्रनुपर्‍यो भनेचाहिँ लेडिज फस्र्ट भन्दै चोरबाटोबाट अगाडि जान खोज्छन् । आफूलाई ‘के कम’ ठान्नेहरू पनि आरक्षणको सिटबाट प्रतिस्पर्धा गर्नु पनि त त्यही नै हो, होइन र ?
तपाईंलाई थाहा छ र मलाई पनि थाहा छ, लेख्ने कुरा निकै धेरै छन् । तर पनि अहिलेलाई बिट मार्न चाहन्छु ।
तपाईंलाई सदा माया गर्ने भाइ
-बाबुराम ढकाल
काङ्ग्रेसी युवाको आवाज
५० वर्ष पूरा भएका सम्पूर्ण नेता तथा कार्यकर्तापङ्क्तिलाई हटाउनुपर्छ भन्ने आवाज विगतदेखि नै उठाउँदै आएको स्मरण गराउँदै यसको आवश्यकताबारे ससन्दर्भमा म निम्न बुँदाहरू अघि सार्छु :
१. २२ वर्षसम्म पनि देशमा आमजनताबीच प्रजातन्त्र स्थापित गर्न-गराउन बूढोपुस्ता असफल रहेकोले देशमा डरलाग्दो किसिमले कम्युनिस्ट बढेकाले ।
२. गत बीस वर्षमा यिनले प्रजातन्त्रको नाममा जे गरे-गरे तर अब यिनलाई हर्टाई प्रतिस्थापन गर्नु हामी युवा कार्यकर्ताको हक हो ।
३. जनता बीस वर्षदेखि उही जनविरोधी चेहरा बारम्बार देख्दा-देख्दा निराश र मानसिक तनावमा छन् । यिनका प्रजातन्त्रको नाममा भएका अभ्यासले देश र जनताको जीवन नर्क भएको छ ।
४. सबै नेताले हामी युवा कार्यकर्तालाई उपयोग गर्ने तर नेता बनाउने बेलामा आफ्नै स्वास्नी, ज्वाइँ, भाइ, भतिजा, भाञ्जा, भाञ्जीलगायतलाई अघिसार्दै उपप्रधानमन्त्री, मन्त्री र सांसद बनाइसके, हामीचाहिँ जिउँदा लास भएर जहाँको त्यहीँ बूढा नेताका निगाहमा बाँच्नुपर्ने ? यिनका व्यवहारले गर्दा आत्महत्या गर्नुपर्ने अवस्था निम्तिएको छ ।
५. देश आज यस्तो अवस्थाबाट गुज्रिएको बेला पार्टीका नेताहरू आ-आफ्नो गुट बनाएर अहंकारपूर्ण अस्तित्वको लडाइँ लड्दै छन् । यिनले आफ्नै पार्टीका सम्पूर्ण कार्यकर्ता समेट्न सक्दैनन् भने कम्युनिस्टलगायत देशैलाई समेटी प्रजातन्त्रलाई आमजनताको सरोकारको विषय बनाई अगाडि बढाउन अक्षम सावित भइसकेकाले अब प्रजातन्त्रलाई अगाडि बढाउन नयाँ पुस्ताबाटै नेता चाहिन्छ ।
६. जनता र कार्यकर्तालाई यिनले अपमान गर्दै सम्भव हुने ठाउँमा पनि असफल तुल्याएर हरेक नेपालीको जीवन नर्क बनाएकोले ।
७. जनताको यिनीमाथिको विश्वास पूर्णरूपमा उठिसककोले पार्टी, युवा पुस्ता र प्रजातन्त्रको भविष्य वर्करार राख्न यिनलाई हटाइनु नै पर्छ, होइन भने नेपाली जनताले पार्टीलाई प्रजापरिषद् बनाइदिनेछन् ।
८. आजसम्म बूढा पुस्ताले सातसाले सामन्ती मानसिकता लादी कार्यकर्ता र जनतालाई ह्युमिलिएट गर्नुसिवाय कुनै भिजनसहित प्रजातन्त्र अगाडि बढाउन नसकेकाले यिनलाई हटाइनु जरुरी छ ।
९. बूढाहरूको कमजोर राजनीतिक अडान वा सैद्धान्तिक दिवालियापनका कारण देशको राजनीति र प्रजातन्त्रले चर्को मूल्य चुकाउनुपरेको र आज पनि उनीहरूको कुनै मौलिक राजनीतिक अडान नभएकोले ।
१०. बूढा नेताहरूका नक्कल गर्दागर्दै कम्युनिस्टलगायत अन्य पार्टीहरूसमेत भाँडिई सबै आत्मकेन्द्रित राजनीति गर्दा देश र जनताले यति दु:ख पाउनुपरेकोले ।
११. यिनका विदेशी परनिर्भरताले गर्दा अरू पार्टीसमेत भाँडिई राजनीतिको व्याख्या र अभ्यास नै विकृत हुन पुगेकोले ।
१२. युवा कार्यकर्ताको सहनशीलता र कमजोरीको फाइदा लिएर आजसम्म प्रजातन्त्रको नाममा प्रजातन्त्रलाई नै प्रदूषित गरी रहेकाले अब युवाहरूले सबै इगो र स्टेट्स बिर्सी एक ठाउँमा जम्मा भई बूढा नेताहरूलाई सार्वजनिक रूपमा हट्न नभने, विद्रोह नगरे, देश, प्रजातन्त्र र हामी युवा पुस्ता अझै पीडित हुन्छाँै वा समाप्तै हुन्छाँै । यद्यपि हामीले हरेक प्लेटर्फममार्फत बूढा नेता हटाउने सार्वजनिक अभिव्यक्ति दिन थाल्यौँ भने उनीहरूले ह्युमिलेटेड भएर छोड्न कर लाग्नेछ । अत: बूढा पुस्तालाई हटाउने उद्देश्यका लागि आवाज बुलन्द गरौँ र यही उद्देश्यका लागि सम्पूर्ण युवा काङ्ग्रेस सबै प्रकारका भिन्नतालाई बिर्सी एक ठाउँमा आइपुगौँ, छोटो समयमा नै हामी सफलता चुम्नेछाँै । जय नेपाल ।
– सञ्जीव सत्याल