समयमा विवाह नगरेकोमा राजेशलाई पछुतो -राजन घिमिरे

समयमा विवाह नगरेकोमा राजेशलाई पछुतो -राजन घिमिरे


० तपाईंका मनपर्ने तीन व्यक्ति ?
– आमा, बुबा र म आफैं थिएँ । यतिबेला आमाबुबा नहुनुभएकाले थप दुईको खोजीमा छु र एउटा त म आफैं ।
० पर्समा प्राय: कति पैसा बोक्नुहुन्छ ?
– अचम्म के छ भने म प्राय: पर्स नै बोक्दिनँ । मेरो सहायक रोशनले बोक्ने गर्छ ।
० मोबाइलमा प्राय: दिनमा कति खर्च हुन्छ नि ?
– त्यो पनि याद भएन ।
० प्राय: तपाईंले गरिरहने फोन नं. ?
– त्यस्तो नम्बर तपाईंलाई किन भन्ने ।
० मान्छे मरेपछि कहाँ पुग्छन् ?
– स्वर्ग या नर्क भन्छन् । तर, मलाई विश्वास लाग्दैन ।
० राति प्राय: कतिबजे सुत्नुहुन्छ र बिहान कति बजे उठ्नुहुन्छ ?
– रातिको ठेगान हुँदैन सुटिङले गर्दा । तर, बिहान भने ६ बजे उठिसकेको हुन्छ ।
० तपाईंले अहिलेसम्म देखेको राम्रो सपना ?
– म सपनामा होइन कर्ममा विश्वास गर्छु,
० कुनै राम्री केटी एक्कासि हेर्नुपर्दा त्यो केटीको पहिले के हेर्नुहुन्छ ?
– झट्ट हेर्दा त एउटै हेराइमा सबै हेरिन्छ नि । के हेरिन्छ भनेर कसरी भन्ने ?
० बढी खुसी भएको क्षण ?
– साथीभाइसँग ठट्टा गरेर बस्दा, सबैको कुरा मिलेर हात ठोक्काउँदा ।
० आफूमा एउटा परिवर्तन गर्ने मौका पाउनुभयो भने के गर्नुहुन्थ्यो होला ?
– यो त सोचेरै भन्नुपर्छ होला ।
० जीवनमा कुन कुराको पछुतो छ ?
– सबैले किचकिच गर्छन् वा यसलाई म सल्लाहको रूपमा पनि लिन्छु । मैले विवाह उमेरमा नै गरिनँ कि भन्ने कुरामा केही पछुतो लागेको छ ।
० आफ्नो पहिलो कमाइले के किन्नुभयो ?
– मैले आफूले पहिले कहिले कमाएँ अनि के किनेँ भन्नेबारेमा याद नै छैन ।
० नेपालमा रेडलाइट एरियाको कत्तिको आवश्यकता छ ?
– यो जवाफ त म दिन्नँ । यो त मुलुकको नीति-नियम बनाउनेहरूले नै सोच्नुपर्छ ।

यसपालि तिजको कुरै अर्को छ
तिज आउन अझै एक महिनाभन्दा बढी समय बाँकी छ । तर, यो चटारोले छोपिसकेको छ गायक-गायिकालाई । स्वरजस्तै अनुहारका कारण पनि चाँडै लोकप्रिय हुन सफल गायिका सुनिता दुलाल भने यसपटक ठ्याक्कै साउन १ गतेदेखि नै बजारमा आउने तयारीमा लागेकी छिन् । ‘धेरै चाँडो क्यासेटहरू बजारमा आउँदा पनि श्रोताहरूले पुरानो मान्नुहुँदोरहेछ । त्यसैले मैले त यसपटक ठीक समयमा क्यासेट बजारमा ल्याउने निर्णय गरेँ,’ उनले भनिन् ।
यसपटक सुनिता अन्य गायिकाभन्दा फरक र नौलो कोसेलीका साथ बजारमा आउने भएकी छिन् । ‘यो काम त कसैले गरेकै छैन, म दाबी गर्छु कि यो पहिलोपटक नै हो,’ उनको कथन छ । कुरो के हो त ? ‘म यसपटक अडियो र भिडियो एकसाथ रिलिज गर्दैै छु । अवश्य पनि तिजमा मेरा दिदीबहिनी र आमाहरूका लागि यो नौलो कोसेली हुनेछ,’ उनले भनिन् । सुनिताका अनुसार उनले यसपटक ‘तिजको दर’ नामक साङ्गीतिक कोसेलीमा जम्मा १० वटा गीत सङ्ग्रहित गरेकी छिन् । दशवटै गीत सङ्ग्रहित भिसिडी र अडियो ‘तिजको दर’लाई साउन १ गतेदेखि बजारमा ल्याउन लागिपरेकी छिन् सुनिता ।
पेसाले सञ्चारकर्मी पनि भएकी सुनिता दुलाल गत वर्ष आफ्नो तिजको एल्बमले पाएको लोकप्रियताबाट हौसिएर यसपटक झनै परिमारि्जत रूपमा बजारमा आउन लागेको कुरा बताउँछिन् ।

अरूलाई सुन्दरी बनाउँदै सुन्दरी
सुनिता गन्धर्व आफैं पनि सुन्दरी छिन् । अनि यिनी अब अरूलाई पनि सुन्दरी बनाउन लागिपरेकी छिन् । ललितपुरको मानभवनमा ‘ब्युटी स्पा’ नामक ब्युटिपार्लर खोलेर त्यसैमार्फत सौन्दर्यताको क्षेत्रमा पनि हात हालेकी सुनिता लामो समयदेखि कलाकारिता क्षेत्रमा सक्रिय एउटा नाम हो ।
सुरुमा उनी म्युजिक भिडियोमार्फत दर्शकहरूमाझ चिनिएकी थिइन् भने पेपर र टेलिविज्ञापनमा पनि सुनिताले आफूलाई रामै्रसँग चिनाएकी छिन् । ‘मलाई लाग्छ कलाकारिता पनि सौन्दर्यताकै एउटा अंश हो भने ब्युटिपार्लर पनि सौन्दर्यताकै अर्को पक्ष हो । त्यसैले यो दुवै क्षेत्रलाई एकसाथ अगाडि बढाउने योजना बनाएकी छु,’ उनले भनिन् । सुनिताले ब्युटी स्पा’मा आउनेले सुन्दरताको हरेक पक्षका बारेमा बुझन सक्ने कुरा बताइन् । ‘यो एउटा अध्ययनको केन्द्र पनि हो । अहिलेको समयमा सुन्दर हुन कसलाई पो मन लाग्दैन र ? त्यही इच्छालाई हामी पूर्णता दिनेछौँ,’ सुनिता भन्छिन् ।
चलचित्र चिनोकी नायिका सुनितालाई यसबीचमा अन्य चलचित्रबाट पनि अफर नआएका होइनन् । ‘तर मैले कथा अनि भूमिका मन नपरेपछि छाडिदिएँ,’ उनी भन्छिन् । उनको भनाइमा अनुहार देखाउनका लागि मात्र चलचित्र खेल्नु राम्रो होइन । ‘म सङ्ख्या होइन मैले खेलेको सिनेमा गुणात्मक पनि होस् भन्ने चाहन्छु,’ सुनिताको ठम्याइ छ ।