लेख्ने र बोल्नेहरू कहाँबाट सञ्चालित छन् ?– विनोद त्रिपाठी

लेख्ने र बोल्नेहरू कहाँबाट सञ्चालित छन् ?– विनोद त्रिपाठी


nice phortoपूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका विषयलाई लिएर यो साता सकारात्मक–नकारात्मक प्रतिक्रिया नेपाली समाजमा छताछुल्ल आए । पाँचपटक प्रधानमन्त्री भइसकेका थापा फरक–फरक राजनीतिक व्यवस्थामा नेतृत्वदायी भूमिकामा थिए । ०७२ साल वैशाख २ गते बुधबार राति थापाको मृत्युपछि आएका प्रतिक्रियाबाट नेपाली समाजमा लेख्ने र बोल्नेहरू कहाँबाट सञ्चालित छन् भन्ने गम्भीर प्रश्न तेस्र्याएको छ । हरेक राजनीतिक परिवर्तनका व्यवस्थामा सूर्यबहादुर थापा फुत्त माथि उठेर किन र कसरी प्रधानमन्त्री बन्न पुगेका थिए र उनलाई नै प्रधानमन्त्री बनाउने अवसर कहाँबाट सिर्जना थियो भन्ने व्याख्या स्पष्ट रूपमा धेरैले धेरै प्रकारका कोणबाट बाहिर ल्याएका छन् । तर, यसरी बोल्ने र लेख्नेहरू वर्तमानका सन्दर्भमा कति पारदर्शी, अहिंसात्मक, सदाचार र पवित्र छन् भन्ने केलाउन सान्दर्भिक देखिएको छ ।
अहिले नेपालीमाझ चर्का–चर्का भाषण गर्न जान्ने र कडा–कडा लेख्न जान्नेलाई जनताले चिनेका छन् । युवा नेताका नामबाट चिनिएका वक्ताहरू र फरक धारणाबाट आफ्ना तर्क राख्नेहरू लेखकबीचको सम्बन्ध अचम्म लाग्दो छ । यसरी आफूलाई निकै पवित्र रूपमा चिनाएर अन्यलाई खेदो खन्ने विभिन्न पार्टीका युवा नेताहरू र केही लेखकहरूको आर्थिक पृष्ठभूमिलाई कसैले केलाउन प्रयास गरेका छैनन् । त्यसैले, वृद्ध नेता चित्रबहादुर केसी चार दशक लामो काठमाडांै बसाइमा पनि डेराको डेरामै बसेर जुन प्रकारको सदाचारको उदाहरण बनेका छन्, यही प्रकारको प्रेरणा अहिलेका युवा नेताहरू र लेखकहरूले दिन सक्छन् ? यो कल्पना वास्तविकताभन्दा परको कुरा भएको यथार्थ जान्दाजान्दै उनीहरूले गरेको क्रियाकलाप र बोल्ने भाषणबारे कुनै भ्रम नहोस् भन्नका खातिर नेपाली समाज अब सजग हुन जरुरी छ ।
मानिस दुई प्रकारका बेइमान हुन्छन्, पहिलो नियति बेइमान र दोस्रो नियत बेइमान । नियति वा निरीह बेइमान हुने मानिसका परिवेश र बाध्यता छुट्टै प्रकारका हुन्छन् । यो श्रेणीका मानिस सकेसम्म असल बन्छन् नसके बेइमान भएर पनि आफ्नो जीवन धानिरहेका छन् । देश, काल र परिस्थिति सुध्रियो भने यसप्रकारका व्यक्ति पुन असल बाटोमै फर्कन्छन् र आफ्नो असली रूप इमानदारकै बाटोमा लाग्छन् । रह्यो दोस्रो प्रकारका व्यक्ति । यो व्यक्तिको नियत नै बेइमान गरेर जीवनयापन गर्ने ध्येय हुन्छ । कथम्कदाचित इमानदार बने पनि त्यो नाटकीय हुन्छ । अन्ततः उनीहरूको वास्तविक चित्र बेइमान नै हुन्छ । हो यही प्रकारका व्यक्तिहरू नेपालको राजनीति र लेखन क्षेत्रमा व्यापक फैलिएका छन् । ०३० सालमा युवा राजनीति गर्नेहरू यतिबेला बुढेसकालको राजनीतिबाट बदनाम भएका छन् । त्यो समयमा आवाज उठेको थियो होला युवालाई नेतृत्व दिनुपर्छ, बूढाहरूले गरेनन्, तर अहिले देखियो तिनै युवाहरूको सिलसिला बूढा नेताहरूको भन्दा फरक भएन । यसका मुख्य कारणमध्ये नियत नै प्रमुख कारण हो । वा अग्रजहरूको बाटो पछ्याउने नाममा विकृतिहरूको देखासिकी पनि सँगसँगै लैजानु हो ।
यहाँ हामीले गम्भीर भएर सोच्नुपर्ने भएको विषय के हो भने किन युवा अवस्थामा युवा वर्गहरू अग्रजहरूको विरोध गर्छन् र किन त्यही युवाले नेतृत्व वा मौका पाउँदा अघिल्लो पुस्ताभन्दा भिन्न चरित्र देखाउन सक्दैन ? यसको मूल कारण खोज्न आवश्यक छ । ठूला राजनीतिक दलमा एकाध युवा नेताहरू अहिले निकै कथित लोकप्रिय मानिन्छन् । केही लेखकहरू पनि यस्तै लोकप्रियको नाटक मञ्चन गर्छन् । पछिल्लो राजनीतिक घटनाक्रम हेर्दा कतिपय त्यस्ता युवा नेताहरूले पार्टी वा सरकारमा कुनै न कुनै अवसर पाएकै छन् । एकजना गोकण विष्टबाहेकका कुनै पनि युवा नेतृत्वले व्यवहारमा निकै असल काम गरेको अहिलेसम्म सुनिएको छैन । तर, पनि पुरानो नेतृत्व असफल भएको सिद्ध गर्ने नाममा युवालाई अवसर दिनुपर्ने निकै जनमत बढेको छ । हो, कुनै एक व्यक्तिले एकपटक अवसर पाइसकेपछि त्यसलाई पटक–पटक अवसर दिनु भनेको त्यो जस्तो बेहोसीपन केही होइन । तर, यो पनि सत्य हो कि तिनै असफल र खराब भनेर प्रमाणित भएका अग्रजबाट प्रशिक्षित भएका युवा नेतृत्वले पनि कुनै गतिलो काम गर्न सक्दैनन् भन्ने करिब–करिब प्रमाणित भइसकेको छ ।
काठमाडांैको जमिनमा टेकेर राजनीति गर्नेहरू अधिकांश बाहिर जिल्लाबाट आएका छन् । यहाँ बसेर लेख्नेहरू पनि बाहिरबाट आएकै धेरै छन् । आउँदा उनीहरू करिब सबैजना डेरामै बस्थे । कोही अलि खान पुग्ने थिए, कोही अलि विपन्न परिवारका थिए । तर, १–२ दशककै बीचमा अधिकांशले आफ्नो निजी घर बनाए । यो क्रम अघिल्लो पुस्ताको निरन्तरता दिँदै नयाँ पुस्ताका नेताहरू नयाँ–नयाँ घर बनाउन, गाडी खरिद गर्न र बिलासितामा लालायित बनेका छन् । यो सम्पत्तिको स्रोत के थियो, कहाँबाट आयो, कसरी आयो ? यो सबैको लेखाजोखा नगरेसम्म युवा पुस्ताले देशका लागि गतिलो गर्छन्, उनीहरूको आलोचना पाच्य बन्छ र उनीहरूका योजना सकारात्मक छन् भन्नु फेरि हामी ठूलो भ्रममा पर्नु मात्र हुनेछ । केही लेखक तथा पत्रकार काठमाडांैमा बस्छन्, भ्रष्टाचारको ठूला कुरा बोल्छन्, लेख्छन्, तर उनीहरूले जोडेका सम्पत्ति नै कहाँबाट आयो ? कसैले अनुगमन गरेको छ ? कतैबाट अनुसन्धान सुरु भएको छ ? बहुप्रचारित हुन सजिलो छ, तर लोकप्रिय बन्न गाह्रो छ । यहाँ राजनीति गर्नेहरू चित्रबहादुर केसीजस्तो सदाचारी कसैले कोही नेता वा लेखक देखाउन सक्छ ? अरूलाई राम्रो वा नराम्रो भन्न–लेख्न सजिलो छ, तर त्यागपूर्ण जीवन व्यतीत गर्न त्यति नै कठिन छ । त्यसैले, हालका मुठ्ठीभरका केही पत्रकार र लेखक अनि युवा नेता भनिएका पार्टीभित्रका तन्नेरीहरू कहाँबाट कसरी सञ्चालित छन् यसको जरा खोतल्न आवश्यक छ । सर्वसाधारणबीच अघिल्लो पुस्ताभन्दा पछिल्लो पुस्ताका नेताहरू लोकप्रिय भनेर प्रचारित गरिएका यस्ता युवा नेताहरू र तिनलाई पक्षपोषण गर्ने लेखक पत्रकारहरू कहाँबाट सञ्चालित छन् भन्नेबारेमा सबै नागरिकले जान्न आवश्यक छ । यो अनुगमन र अनुसन्धानको पाटो हो, तर यो भविष्यमा सिर्जना हुन लागेको खतरनाक विकृति नरोकेसम्म नेपालले सदाचार र समृद्धिको बाटो कहिल्यै पछ्याउन सक्दैन । त्यसैले, अन्त्यमा एउटा उदाहरण पेस गर्ने अनुमति चाहन्छु । ‘०६२/६३ सालमा सात दलको जनआन्दोलन चलिरहेको थियो । तर, राष्ट्रिय जनमोर्चाले सात दलमा सहभागी नभईकन राजतन्त्रविरोधी छुट्टै आन्दोलन गरिरहेको थियो । तर, एउटा ठूलो भनिने काठमाडौंको अखबारले ‘राजमोद्वारा आन्दोलनको विरोध’ शीर्षकमा समाचार छाप्यो । राजमोका अध्यक्ष त्यागी, इमानदार नेता चित्रबहादुर केसी चितवन आउँदा मसँगको भेटमा निकै दुःख मनाउ गर्दै भनेका थिए, ‘विनोदजी, हाम्रो सानो दल भएर हो कि सङ्घीयताविरोधी भएर हो कि, त्यो अखबारले किन सधैँ हामीलाई नकारात्मक लेख्छ ?’ उनको त्यो भनाइले मलाई धेरै पछिसम्म निकै नरमाइलो मात्र बनाएन, असत्यहरूको पनि बहुमत हुने रहेछ भन्ने लागिरह्यो ।