ओलम्पिकको विवाद राष्ट्रिय स्वाधीनतासँग गाँसिएको छ-युवराज लामा (सदस्यसचिव, राखेप)

ओलम्पिकको विवाद राष्ट्रिय स्वाधीनतासँग गाँसिएको छ-युवराज लामा (सदस्यसचिव, राखेप)


-श्रीविक्रम भण्डारी
यतिबेला नेपाली खेलकुदमा नयाँ तरङ्ग उत्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा युवराज लामा नियुक्ति भएपछि सरकारी काम, कहिले जाला घाम भन्नेहरू मात्र नभई खेलकुदलाई आफ्नो बाबुको बिर्ता सम्झनेहरूको मुटुले ढ्याङ्ग्रो ठोकेको छ । हिजोसम्म एक-अर्कालाई लडाएर, बजाएर आफ्नो स्वार्थसिद्ध गर्दै आएकाहरू अहिले सदस्यसचिव लामाको रणनीति र कार्यशैलीका अगाडि भिजेकोे मुसो सावित भएका छन् । खेलकुदमा धमिराले एकपछि अर्को गुँड लगाएर खेलकुदको अस्तित्वसमेत सखाप पार्न लाग्दा अनदेखि र अनसुनी गरेर बसेका खेलकुद पदाधिकारीहरू अहिले लामाका अगाडि लुते कुकुरले झैैं पुच्छर हल्लाउन थालेका छन् । परम्परागत शैली र मनपरीतन्त्रको विरोधमा लामाले कदम उठाएपछि खेलकुदलाई माध्यम बनाएर विदेशको सयर गर्ने र वर्षोनी लाखौँलाख आर्थिक लाभ उठाउनेहरूको होस् उडेको छ । अहिले नेपाली खेलकुदको अवस्था घरज्वाइँ आएको व्यक्ति छोरी पोइल गइसक्दा पनि ससुरालीमै बसेको जस्तै भएकोले यसको व्यापक सुधार र परिवर्तनको आवश्यकता भएको बताएपछि अहिले खेलकुदमा ठूलो रडाको मच्चिएको छ । नयाँ सोच, सबैको सक्रिय दायित्व र सहभागिताबिना खेलकुदले काँचुली फर्ेन नसक्ने दावा गर्ने लामासँग घटना र विचार साप्ताहिकले अहिलेका जल्दाबल्दा विषयमा गरेको सङ्क्षिप्त कुराकानी :
० राखेपमा दर्ता भएका सबै सङ्घ गैरकानुनी छन् भनिन्छ, सङ्घ दर्ता हुँदा सङ्घसंस्था ऐनअनुसार हुनुपर्छ कि पर्दैन ?
– सर्वप्रथम राखेपमा दर्ता भएका सबै सङ्घ गैरकानुनी छैनन् । केहीले नियम र कानुनी प्रक्रिया पुर्‍याएका छन् भने केहीले छैनन् । तसर्थ राखेपले त्यस्ता सङ्घहरूलाई आफ्नो वैधानिकता पुष्टि गर्न ६० दिनको समय अवधि तोकेको छ । सो अवधिमा नियम र कानुनी प्रक्रिया मिलाएर आउने वैधानिक मानिने छन् भने अन्य स्वत: खारेज हुनेछन् । जहाँसम्म सङ्घ संस्थाअनुसार दर्ता हुनुपर्ने प्रश्न छ, खेलकुदको विधानमा सङ्घसंस्थाको दर्ताको बारेमा स्पष्ट रूपमा उल्लेख नभए पनि खेलकुदको नियमावलीमा राखेपमा दर्ता हुने प्रावधान छ । सोहीअनुरूप राखेपमा सङ्घहरू दर्ता भएको देखिएको छ ।
० जबसम्म सङ्घहरू नियमपूर्वक जिल्ला प्रशासन कार्यालयमा दर्ता हुँदैनन् तबसम्म वैधानिक मान्यता पाउँदैनन् भनिन्छ नि ?
– यस्तो कुरा जिल्लाको हकमा लागू हुने भए पनि राष्ट्रिय सङ्घका लागि आवश्यक पर्दैन । खेलकुदको नियमावलीअनुसार दर्ता भए पुग्छ । त्यसपछि ती सङ्घहरूले आफ्ना खेलकुदका क्रियाकलाप अगाडि बढाउन पाउँछन् ।
० तपाईंले नियम पुर्‍याएर नआउने सङ्घ स्वत: खारेजमा पर्नेछन् भन्नुभयो, यसको अर्थ के हो ?
– यसको अर्थ ती सङ्घहरूको सम्बन्ध राखेपसँग हुनेछैन । अरू सङ्घले जस्तो सहयोग र सुविधा ती सङ्घले पाउने छैनन् । तिनीहरूको वैधानिक मान्यता खोसिनेछ । ती सङ्घ राखेपअन्तर्गतका सङ्घ नभई नाम मात्रका सङ्घका रूपमा गणना हुनेछन् । उनीहरूले गर्ने खेलकुदका क्रियाकलापसँग राखेपको कुनै सरोकार रहने छैन ।
० तपाईं यसरी तानाशाहीको रूपमा प्रस्तुत हुनुको कारण के हो ?
– यसको एउटै कारण छ, खेलकुदको विकास । मैले खेलकुदको विकासकै लागि निकै सोचविचार र होमवर्क गरेर यो कदम उठाएको हुँ । घुमेर, बसेर खानेलाई उसको जिम्मेवारीबोध गराउन र सहरकेन्द्रित खेलकुदलाई गाउँगाउँसम्म पुर्‍याउन यस्तो अभियानको थालिनी गरेको हुँ । कसैले यसलाई तानाशाही भन्छ भने मलाई कुनै फरक पर्दैन । म आफ्नो अभियानमा अडिग छु, हात्तीसरी लम्किरहनेछु ।
० अहिले राखेपले दुईवटा पौडी सङ्घलाई एक बनाएको छ, तर प्रधानको ओलम्पिक कमिटीले नियमविपरीत भन्दै यसको विरोध गरेको छ, यसबारेमा तपाईंको विचार के छ ?
? सर्वप्रथम दुईवटा पौडी सङ्घ एक बनाइए होइन, एक भइसके । यसमा कसैले अन्यथा मान्नुपर्ने आवश्यक छैन । जहाँसम्म यो एकतालाई नेपाल ओलम्पिक कमिटीले नियमविपरीतको संज्ञा दिएको छ त्यो उसको सरोकारको कुरा होइन । एनओसीको आफ्नो हैसियत के हो ? त्यो बिर्सनुहुँदैन । उसको काम भनेको अन्तर्राष्ट्रिस्तरमा समन्वय गर्नु मात्र हो, राखेपले गरेका कामकारबाहीमा हस्तक्षेप गर्नु होइन ।
० त्यसो भए राखेपले जे गरे पनि हुन्छ त ?
? कदापि हुँदैन, त्यो हाम्रो सोच पनि होइन । हामी नियमसङ्गत कार्य गर्न चाहन्छौँ । नियमसङ्गत गरेको कार्यमा कसैले दखल अन्दाजी गर्छ भने त्यो पक्कै सह्य हुँदैन । अझ खेलकुदको एउटा अङ्गको रूपमा रहेको ओलम्पिक कमिटीले राखेपले गरेको निर्णय उपर औंला उठाउँछ भने उसको हैसियत देखाउनु हाम्रो जिम्मेवारी हो । राखेपले उत्पादन गरेका खेलाडी र सोअन्तर्गत रहेका सङ्घहरूलाई राखेपले जुन रूपमा मिलाउन र कारबाही गर्न सक्छ त्यसमा एनओसीले हस्तक्षेप गर्न कदापी मिल्दैन । त्यो एनओसीको कुनै पनि कार्य र चार्टरमा पर्दैन ।
० अहिले नेपालमा दुईवटा ओलम्पिक कमिटी अस्तित्वमा रहेका छन्, यो विवादको समाधानका लागि कस्तो रणनीति बनाउनुभएको छ ?
– ओलम्पिक कमिटीको विवाद अहिले राष्ट्रिय स्वाधीनतासँग गाँसिएको छ । तसर्थ राखेपले यो विवाद समाधानका लागि दुवै पक्षसँग बसेर छलफल गरिरहेको छ । मिलेर समस्या समाधान गर्न सल्लाह दिएको छ । मलाई विश्वास छ, चाँडै समाधान पनि निस्किन्छ होला ।
० विवादको समाधान निस्किएन भने के गर्नुहुन्छ त ?
– सधैंभरि विवाद राखेर समस्याको समाधान हुँदैन । तसर्थ राखेपले खेलकुद ऐन, नियमावली र ओलम्पिक चार्टरलाई मध्यनजर राख्दै समस्याको निकास के हो ? त्यसलाई आधार मान्दै हल निकाल्नेछ । त्यसका लागि राखेपले सबै कुरालाई पारदर्शी ढङ्गले अगाडि बढाउँदै सम्बन्धित निकायसम्म पुर्‍याउनेछ ।
० प्रधानको ओलम्पिक कमिटीलाई सम्मानित सर्वोच्च अदालतले अवैधानिक भएको फैसला सुनाउँदा पनि सरकार र राखेपले कुनै कारबाही गर्न नसक्नुको कारण के होला ?
– सर्वोच्चको फैसला ‘हिमाल चढनु’ भनेर आएको छ । ठाडै कारबाहीमा उत्रिनु भनेर आएको छैन । तसर्थ हिमाल चढ्दा के-के चाहिन्छ त्यसको बन्दोबस्त गरेर मात्रै अगाडि बढ्नुपर्छ । अहिले राखेप ती सामग्री जुटाउनेतिर लागेको छ । त्यसैपरे राष्ट्रको ठाडो कानुन लगाएर पनि समस्या हल गरिन्छ ।
० खेलकुदमा एमाओवादीका ६ सयभन्दा बढी कार्यकर्तालाई भर्ती गर्ने तयारी भइरहेको बुझिएको छ, के यो साँचो हो ?
– सर्वप्रथम म चिया गफको बारेमा केही भन्न चाहन्नँ, जुन कुरोको कुनै अर्थ छैन । सही र तथ्य कुरा के हो, त्यसको धरातलमा नपुगी अड्कल र अनुमानकै भरमा कसैले मेरो र पार्टीको बारेमा यसरी टिप्पणी गर्छ भने मेरो भन्नु केही छैन । मैले उठाउने कदमहरू खेलकुदको विकास र खेलाडीको हितमा मात्र हुनेछ । जसको मैले थालनी गरिसकेको छु ।
० अन्तिममा नेपालको खेलकुदको अवस्थाको बारेमा विश्लेषण गर्दा कसरी गर्नुहुन्छ ?
– दु:खको कुरा, यहाँ मनपरीतन्त्र चलेको रहेछ । समग्र खेलकुदको विकासका लागि त्यस्तो हुन दिनुहुँदैन । यसरी खेलकुद अगाडि बढ्न पनि सक्तैन । वास्तविक रूपमा भन्नुपर्दा मैले अहिले नेपाली खेलकुदको अवस्था घरज्वाइँ आएको व्यक्ति छोरी पोइल गइसक्दा पनि ससुरालीमै बसेको पाएको छु । जुन नेपाली खेलकुदका लागि दुर्भाग्य भएको छ ।

करातेलाई हराभरा पार्ने विनोदको सपना
सानैदेखिको खेलकुदप्रतिको आघात रुचिले उनले मार्सल आर्टस्लाई आत्मसात् गरेका थिए । खुलेर खेल्न नपाउने प्रतिबन्धित अवस्थामा पनि मार्सल आर्टस्लाई अपनाउनु आफैंमा निकै चुनौतीपूर्ण थियो । र पनि, सौख पूरा गर्ने क्रममा उनको लगाव मार्सलप्रति दिनप्रतिदिन बढ्दै गएको थियो । यही क्रममा वादरियो करातेमा आफ्नो भविष्य देखेका विनोद सिलवालले आफ्नो खेल जीवन पनि यही खेलबाट प्रारम्भ गरेका थिए । सुरुमा वादरियोको करातेबाट खेल्न थाले पनि विनोदले आफ्नो लक्ष्य यो खेलबाट पूरा हुने नदेखेपछि २०४३ सालदेखि सितोरियो कराते खेल्न थालेका थिए ।
२०४३ सालमा १७ वर्षको उमेरमा सितोरियो करातेमा प्रवेश गरेका विनोदले आफ्नो अथक मिहिनेतले छोटो समयमै चर्चित राष्ट्रिय खेलाडी बन्न पुगेका थिए । मिहिनेतले रंग देखाउँदै जाँदा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पाएको सफलताले उनले चर्चाले पनि शिखर चुम्दै गएको थियो । अझ लठ्ठी अभ्यास र तरबारको अभ्यासले विनोदलाई एक निपुण खेलाडी बनाएको थियो । आफ्नो खेलाडी जीवनमा उपत्यका, क्षेत्रीय, अञ्चल, राष्ट्रिय र एसियन प्रतियोगितामा थुप्रै पदक जितेका विनोदले देश, काल र परिस्थितिले गर्दा राष्ट्रिय र दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्ने मौकाबाट भने वञ्चित हुनुपरेको थियो । आफूमा प्रतिभा हुँदा पनि उक्त प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्न नपाएकोमा अहिलेसम्म उनलाई पछुतो लागेको छ ।
एक जुझारू खेलाडीको रूपमा परिचित विनोदले अहिले सितोरियो करातेमा तीन डान प्राप्त गरिसकेका छन् । हाल गोदावरी शाखा डोजोको प्रमुख प्रशिक्षक, ललितपुर जिल्ला क्षेत्र नं. एक ब्ल्याकबेल्ट कमिटीको सदस्य रहेका विनोदले विभिन्न डोजो र स्कुलबाट धेरै खेलाडी जन्माएर करातेलाई हराभरा गर्ने काम गरेका छन् । साथै वर्तमान अवस्थामा सेन्ट जेभियर्स गोदावरी स्कुलमा सहायक खेल प्रशिक्षकको रूपमा कार्यरत विनोदले विभिन्न करातेका खेलमा रेपीको भूमिका पनि निभाउँदै आएका छन् । अहिले पनि कराते खेलको विकासका लागि अवसरको खोजीमा रहेका विनोदले भविष्यमा यो खेललाई नेपालको नम्बर एक खेल बनाउने सपना पनि देखेका छन् ।

यू-१९ विश्वकप टोलीको छनोट
जुलाई २८ देखि अगस्ट ९ सम्म आयरल्यान्डमा आयोजना हुने यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि हालै नेपाल क्रिकेट सङ्घ क्यानले खेलाडी छनोट गरेको छ । उक्त १४ सदस्यीय टोलीको कप्तानमा पृथु बास्कोटा रहेका छन् । अन्य खेलाडीमा नरेश बुढाऐर, भुवन कार्की, फैजरुल रहमान खान, राहुलकुमार विश्वकर्मा, प्रदीप ऐरी, सुवास खकुरेल, अविनास कर्ण, राजेश पुलामी, सागर पुन, कृष्ण कार्की, रूपेश श्रीवास्तव, निश्चल पाण्डे र सुबेन्दु पाण्डे रहेका छन् । त्यस्तै अमित दाहाल, जितेन्द्र मुखिया र अमृत श्रेष्ठ वैकल्पिक खेलाडीमा रहेका छन् । टोलीको प्रशिक्षकमा जगत टमटा र व्यवस्थापकमा छत्रप्रसाद अधिकारी रहेका छन् । आयरल्यान्डमा हुने उक्त यू- १९ विश्वकप क्रिकेट प्रतियोगितामा दश राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । ती राष्ट्रमा नेपाललगायत अफगानिस्तान, स्कटल्यान्ड, केन्या, नामिभिया, अमेरिका, क्यानडा, पपुवान्युगिनी, भानुटु र आयोजक राष्ट्र आयरल्यान्ड रहेका छन् । नेपालले जुलाई २८ मा अफगानिस्तान, २९ मा स्कटल्यान्ड, ३१ मा केन्या, अगस्ट १ मा भानुटु, ३ मा क्यानडा, ५ मा नामिभिया, ६ मा आयरल्यान्ड, ७ मा पपुवान्युगिनी र ९ मा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । यो प्रतियोगितामा शीर्ष ६ स्थान हासिल गर्ने टोलीले सन् २०१२ मा हुने आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

कुस्ती खेलाडीको हत्या
नेपाल कुस्ती सङ्घका उपाध्यक्ष तथा दक्षिण एसियाली खेलकुद प्रतियोगिता साफका पदक विजेता खेलाडी उपेन्द्रदास वैरागीको गत साता अज्ञात समूहले गोली हानी हत्या गरेको छ । काठमाडौंमा सम्पन्न भएको आठौँ साफमा ६९ केजी तौल समूहमा वैरागीले नेपाललाई कास्य पदक दिलाएका थिए । ४५ वर्षीय वैगारीलाई रौतहटको गौर- ८ स्थित डेरामा जाँदै गर्दा साँझ ८ बजे पिठ्युँमा गोली प्रहार गरिएको र उनको लासलाई रामजानकी मन्दिरको छेउमा फ्यालिएको थियो । यो घटनाको भत्र्सना गर्दै नेपाल कुस्ती सङ्घका अध्यक्ष विनोद चौरासियाले अन्तर्राष्ट्रिय जगत्मा मुलुकको प्रतिष्ठा बढाउने खेलाडीलाई खुलेआम बीचबजारमा मारेर फालिन्छ भने आमजनताको हालत के होला त्यसै अनुमान लगाउन सकिन्छ भनेका छन् । चौरासियाले वैरागीको हत्याले देशले एक कुशल खेलाडी गुमाउन पुगेको बताउँदै हत्याराको चाँडोभन्दा चाँडो पत्ता लगाई कारबाही गर्न माग गरेका छन् । वैरागी वर्तमान अवस्थामा पनि राष्ट्रिय खेलकुद परिषद्मा सहायक प्रशिक्षकमा कार्यरत थिए ।