पाठक मञ्च

पाठक मञ्च


pathakmanchगैरजिम्मेवार शिक्षामन्त्री !
शिक्षण अस्पतालका वरिष्ठ डाक्टर गोविन्द केसीले नेपाली जनताको आवाजलाई लागू गराउन गरेको आमरण अनशनका कारण र आफ्नै दलबाट पटक–पटक आलोचित भएर झन्डै–झन्डै मन्त्री पद खुस्काएकी शिक्षामन्त्री चित्रलेखा यादव कतिसम्म गैरजिम्मेवार रहिछन् भन्ने कुरा गत शनिबार छर्लङ्ग भएको छ । अनामनगरमा रहेको ब्लुमिङ स्कलर्स एकेडेमीले आफ्नो रजत महोत्सव मनाउने क्रममा विभागीय मन्त्रीलाई प्रमुख अतिथि बनाउने निर्णय गरेको थियो । चार दिनको प्रयासपछि उनका निजी सचिव वंशी सापकोटामार्फत मुस्किलले भेट पाएपछि प्रमुख आतिथ्यताका लागि स्वीकार गरेकी यादवले आफ्ना मन्त्रालयका सहयोगी रामप्रसाद अधिकारीलाई समयको चाजोपाँजो मिलाउन निर्देशन दिएकी थिइन् । हप्ता दिनअगाडि मिलाइएको समयअनुसार मन्त्री यादव १ बजे पुगेर उद्घाटन र मन्तव्य प्रकट सुरुमै गरी फर्किने कार्यक्रम मिलाइएको थियो । मन्त्रीका सहयोगी रामप्रसाद अधिकारीले शुक्रबार पुनः फोन गरी कार्यक्रम चलाउँदै गर्नु साढे तीन बजे मन्त्री आउने भनेपछि आयोजकले कार्यक्रम निर्धारित समयभन्दा एक घन्टा पछि सारेका थिए । तीन बजेर बीस मिनेट जाँदासम्म केही खबर नआएपछि आयोजकले मन्त्रीका सहयोगी रामप्रसाद अधिकारीको ९८४१३४२३२७ नम्बरमा दर्जनौँपटक फोन गर्दा अन्तिम समयमा आएर आउन नसक्ने भन्दै मोबाइलबाट म्यासेज पठाएका थिए । मन्त्री यादवलाई प्रमुख अतिथि बनाएर छापिएका सबै प्रमाणपत्र रद्दीको टोकरीमा फालेर आमअभिभावकका अगाडि विद्यालय परिवारलाई लज्जित पार्ने काम मन्त्री यादवले गराइन् । मन्त्री यादवको समयको चाँजोपाजो मिलाउने सचिवालयका कर्मचारीको असक्षमता र मन्त्रीको गैरजिम्मेवारीपनको उपस्थित सबैले खेद प्रकट गरेका थिए । मन्त्रीका सहयोगी सक्षम भए उनले आफैं आएर प्रमाणपत्र लगेर मन्त्रीलाई सही गराई कार्यव्यस्तताको कारण अनुपस्थित भएको भनी एउटा शुभकामना सन्देश पठाइन सक्थे । महाधिवेशनको मुखमा आएर गैरजिम्मेवारीपन देखाएकी यादवप्रति अनामनगरलगायत देशका अन्य ठाउँका केही महाधिवेशन प्रतिनिधिसमेत आक्रोशित बनेका थिए । पद र पैसाका लागि मरिहत्ते गर्ने भनेर प्रचारित यादव शनिबारको कार्यक्रममा अनुपस्थित रहनुका पछाडि तीमध्ये एक कुराको कमीले त होइन भन्ने आशङ्का जन्माएको छ ।
– आरडी पाण्डे, हाल काठमाडौं