पाठकपत्र

पाठकपत्र


pathakmanchसरकार मेडिकल माफियाको कि आमनेपालीको ?
मेडिकल माफियाको कब्जाबाट मेडिकल क्षेत्रलाई जोगाउन भन्दै शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी पाँचौँपटक आमरण अनशनमा बसेका छन् । यसअघिका अनशनका क्रममा पनि सत्याग्रही केसीले सरकारबाट माग पूरा हुने प्रशस्तै आश्वासन पाएका थिए । यदि उनले पाएको आश्वासनको थोरै अंश मात्र पनि पूरा भइदिएको भए उनको पाँचौँ अनशन हामीले देखिरहनुपर्ने थिएन होला । मुलुकभरका बिरामीले चिकित्सक–हडतालको सामना गर्नुपर्ने दूरावस्था निम्तिने पनि थिएन ।
डा. केसी अविवाहित हुन् । उनको न घर छ न कुनै सम्पत्ति या विरासत उपभोग गर्ने उत्तराधिकारी नै । छ त केवल एउटा इमानदारी र मेडिकल क्षेत्र स्वच्छ तुल्याउने चाहना । डा. केसी यस्ता व्यक्ति हुन् जो मासिक रूपमा प्राप्त हुने आफ्नो पारिश्रमिकबापतको रकम बोकेर विपत्मा परेकाहरूको सेवा गर्न कहिले स्वदेशको कुना–कन्दरा चहार्छन् त कहिले विदेशभूमिसमेत टेक्छन् । उनले व्यक्तिगत सेवा–सुविधा र लाभका निम्ति कहिल्यै सरकार गुहारेका छैनन् । आज उनी जीवनलाई नै खुकुरीको धारमा राखेर मेडिकल माफियाविरुद्ध युद्ध गरिरहेका छन् । देश र तमाम देशवासीको पक्षमा निष्ठावान् सत्याग्रही बनेर उनी झुल्किरहेका छन् । सरकारको महत्वपूर्ण निकाय वा नीतिनिर्माणको तहमा समेत मेडिकल माफियाहरूको बाक्लो उपस्थिति रहेको अवस्थामा डा. केसीको एक्लो प्रयास कति दिन टिक्ला ? यो प्रश्नले सत्यको पक्षमा रहेका आमनेपालीको मन पोलेको छ ।
जायज मागसहितको सत्याग्रहप्रति डा. केसीको प्रतिबद्धता र दिनप्रतिदिन उनको समर्थनमा बढ्दो जनलहरले त मेडिकल माफियाको अन्त्यको दिन नजिकै आएको आभास नै दिलाएको छ । अब लाचार सरकारले देश र जनताको पक्षमा आफूलाई प्रस्तुत गर्छ या सत्ताको लोभमा माफियाकै पोल्टामा आफूलाई समाहित गर्छ, योचाहिँ प्रतीक्षाकै विषय बनेको छ ।
– एस. अर्याल, हाल काठमाडौं

मानवाधिकारवादी महोदयहरूसँग जवाफ छ ?
प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गरी उनको जीवन बचाउन ध्यानाकर्Èण्ँ पत्र बुझाएका मानवाधिकारकर्मीहरू सुबोधराज प्याकुरेल, कनकमणि दीक्षित, डा. केदारनरसिंह केसी, कपिल श्रेष्ठ र चरण प्रसाईंतर्फ यतिबेला आमनागरिकको ध्यान खिचिएको छ । उहाँहरूले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएलगत्तै ‘प्रधानमन्त्री कोइरालाले गोविन्द केसी मरे पनि म के गरूँ त ?’ भन्ने अभिव्यक्ति दिएको कुरा छापाहरूमा पढ्न पाइयो । प्रधानमन्त्री भएर यस्तो निर्दयी वचनवाण प्रयोग गर्ने भन्दै सचेत जनमानसमा आक्रोश पैदा भयो र उक्त प्रसङ्गले सनसनी नै मच्चायो । यति हुन्जेल चुपचाप बसेका उल्लेखित मानवाधिकारवादी महोदयहरू समाचार–प्रकरणको दुई–तीन दिनपछि ‘प्रधानमन्त्रीले त्यस्तो बोलेकै होइनन्, उहाँले त गोविन्द केसीप्रति माया–दया पो दर्शाउनुभएको थियो त’ भन्ने सफाइपत्रका साथ प्रस्तुत भएका छन् । प्रधानमन्त्रीले चिकित्सक केसीप्रति कति माया दर्शाएका छन् भन्ने त केसीले उठाएका जायज मागप्रतिको उपेक्षाभावले नै प्रस्ट पारेकै छ । तर, मानवअधिकारको ठूलाठूला कुरा गर्ने महोदयहरूले प्रधानमन्त्रीको बचाउमा त्यस्तो कृत्रिम वक्तव्य नै जारी गर्नुपर्ने अवस्थाचाहिँ कसरी किन निम्तिएछ ? हामीमा जिज्ञासा जागेको छ । के महोदयहरूले कुनै माध्यमबाट यसको जवाफ दिनुहोला ? प्रतीक्षामा छौँ ।
– सन्तोष भण्डारी, छवि अधिकारी एवम् डा. केसीको अभियानप्रति ऐक्यबद्धता जनाउने सचेत नेपालीहरू