क्यान इन्फोटेक प्रविधि प्रदर्शनीमा ‘रोवोट’को आकर्षण

क्यान इन्फोटेक प्रविधि प्रदर्शनीमा ‘रोवोट’को आकर्षण


–छविलाल बगाले
वर्षेनी हुने सूचना–प्रविधि मेला (क्यान इन्फोटेक) नयाँ–नयाँ प्रविधिको जानकारी लिन र खरिद गर्न उपयोगी बन्दै आएको छ । जहाँ विदेशमा विकसितसहित नेपालमै प्रबद्र्धित प्रविधिको प्रदर्शन हुन्छ । काठमाडौंमा जारी मेलामा सूचना प्रविधितर्फ नेपालले गरेको विकास र प्रयोगलाई पनि उत्तिकै महत्व दिइएको छ ।


सन् २०१७ मा निर्मित रोवोटले अह्राएको काम खुरुखुरु गरिरहेको छ । जारी क्यान इन्फोटक मेलामा यो रोवोटले अबलोकनकर्ताले ध्यान तानेको छ । नेपाली बैज्ञानिकले स्वदेशमै निर्माण गरेका यो रोबोटले अबलोकनकर्तालाई जिज्ञासु मात्रै होइन केही सिक्ने अवसर पनि दिएको छ । इलेक्ट्रोनिक्स सामानको किनबेचलाई प्रधानता दिने गरेको मेला पछिल्ला वर्षमा नेपालमै विकसित प्रविधिको प्रदर्शनी र विदेशी प्रविधिको प्रयोगमा नेपालका सफल उदाहरणमा पनि केन्द्रित हुन थालेको छ । दूर–दराजमा ‘ड्रोन’मार्फत भइरहेको औषधि ओसार–पसार, दूरशिक्षा सिकाइ, स्मार्ट होम र कृषि क्षेत्रमा भइरहेको प्रविधिको प्रयोग पनि मेलाका आकर्षण हुन् । यस पटकको मेला सर्भिस सेक्टर र इन्नोभेसन केन्द्रित रहेको महासंघका महासचिव रन्जित प्रधानको दावी छ ।


सूचना तथा सञ्चार क्षेत्रमा भित्रिएका नौला प्रविधि र उपकरण, नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण तथा नेपाली प्राविधिकले विकास गरेका प्रविधि पनि प्रदर्शनीमा छन् । बैंकिङलगायत क्षेत्रमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको भन्दै क्यानले ‘इनोभेसन’ सेक्टरमा आउन चाहनेका लागि मेला ‘एक्सपोजर’ हुने जनाएको छ ।


अवलोकनका लागि आएका विद्यार्थी भने क्यानले काठमाडौं केन्द्रित यस्तो प्रदर्शनीलाई जिल्ला सदरमुकामसम्म पु¥याउन सक्नु पर्नेमा जोड दिन्छन् । मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायत स्टल छन् । मेला आज आइतबार सकिदैंछ ।