पाठक मञ्च

पाठक मञ्च


pathakmanchसमलिङ्गी तेस्रोलिङ्गीलाई आफ्नैबाट त्रास
शिक्षक अनिल शेर्पा समलिङ्गी तेस्रोलिङ्गी हुन्, तर उनलाई आफ्नै समुदायभित्रका मोहिनी र रजन भनिने दिलीप राईले मरणान्त हुनेगरी हातपात गरे । डन प्रवृत्तिका मोहिनीले पहिलेदेखि नै अनिललगायतमाथि बेलाबेला हातपात गर्दै आएको पीडितको दाबी छ । आक्रमणकारीहरू यतिबेला प्रहरी हिरासतमा छन् भने उनीहरूलाई हिरासतमै राखेर कानुनी कारबाही गर्न समलिङ्गी तेस्रोलिङ्गीहरूले माग गरेका छन् ।
मोहिनीको डेरानजिकै एक होटलमा भेला भएर गत साता समलिङ्गी तेस्रोलिङ्गीहरूले नीलहिरा समाजकी अध्यक्ष पिङ्की गुरुङसहित समाजको नेतृत्व तहले खुट्टा कमाउन नहुने भन्दै कोकोहोलो मच्चाए । डन प्रवृत्तिका तेस्रोलिङ्गी मोहिनीलाई सवक नसिकाई त्यत्तिकै रिहा गरेमा आफूहरूको ज्यानकै सुरक्षा नहुने भन्दै समलिङ्गी तेस्रोलिङ्गीहरूले प्रहरी प्रशासनसँग मात्रै गुहार नमागी ‘यता ठिक्क पार्ने र यता दिक्क पर्ने काम नहोस्’ भन्दै अध्यक्ष पिङ्कीलाई पनि चेतावनी दिए । मोहिनीको त्रासका कारण आफूहरूलाई स्वतन्त्र रूपले हिँडडुल गर्नसमेत कठिन परिरहेको खुलासा गर्दै पीडित समलिङ्गी तेस्रोलिङ्गीहरूले महानगरीय प्रहरी वृत्त दरबारमार्गको प्रहरी टोलीले पक्रेर कारबाही थालेकोमा खुसी व्यक्त गरे । पीडित अनिल शेर्पाले पटक–पटक कुटाई खाएर पनि अहिलेसम्म सहेर बस्नु आफ्नो समुदायका सदस्यको गल्ती–कमजोरी भएको पनि उनीहरूले स्वीकार गरे ।
‘मेहिनीले मलाई मार्छु भनेको छ,’ अनिल भन्छन्, ‘मोहिनीकै हातबाट मलाई मर्न लेखेको रहेछ भने उसकै घरअगाडि जान्छु, मारोस् !’ मोहिनीबाट लगातार आफूहरूले मानसिक तथा शारीरिक पीडा र दुव्र्यवहार खेप्दै आएको दाबी गर्दै पीडित अनिलसहितका समलिङ्गी तेस्रोलिङ्गीहरू एकमुख लागेर भन्छन्, ‘हाम्रो सुरक्षाको प्रत्याभूति नभएसम्म मोहिनीजस्ता डनहरूलाई रिहा नगरियोस् । नीलहिरा समाजले पनि अपराधीलाई कारबाही गराउन प्रहरी–प्रशासनलाई सहयोग गर्नुपर्छ ।’
समाजकी कार्यवाहक निर्देशक मनीषा ढकालले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने जानकारी दिइन् । ढकालले मोहिनीजस्ता व्यक्तिको डरत्रासमा बसेर अधिकारप्राप्तिको अभियानलाई असर पर्न दिन नहुने र उसलाई कानुनी कारबाही हुनुपर्नेमा जोड दिइन् । समाजकी अध्यक्ष पिङ्की गुरुङले नीलहिरा समाज अपराधीलाई संरक्षण दिने संस्था नभएको दाबी गरिन् ।
– हेम लम्साल

खाजापानीको खर्च विद्यालयको होइन
लोकप्रिय साप्ताहिक घटना र विचारको गत मङ्सिर १० गते (वर्ष २०, अङ्क २१)मा प्रकाशित ‘भग्न भवनमा भविष्य कोर्दै बालबाालिका’ शीर्षकको समाचारप्रति ढिलै गरी केही भन्नुपर्ने अवस्था आएकोले यो प्रतिक्रिया दिँदै छु । अर्घाखाँचीको कीर्तिपुर सिमलपानीस्थित बुद्ध निम्नमाध्यमिक विद्यालयको दूरावस्थाप्रति संवेदनशील हुँदै पत्रिकाले सचित्र प्रकाशन गरेको सो समाचार सत्य–तथ्यको नजिक छ । यसप्रति खुसी र आभार प्रकट गर्दै थोरै गुनासो राख्न बाध्य छु । वास्तवमै समाचारमा संलग्न तस्बिर हृदयविदारक या मन छुने प्रकारको छ । सो समाचार प्रकाशित भएयताका तीन–चार महिनामा विद्यायलयको भौतिक अवस्थामा सुधार पनि आएको छ । समाचारमा उल्लेख गरिएका विवरण अधिकांशतया तथ्यमा आधारित छन्, तर अनुगमनको निम्ति आउने जिल्लाका हाकिमहरूको नास्तापानीका लागिसमेत विद्यालय भवन निर्माणकै बजेट खर्च हुने गरेको आशय समाचारमा उल्लेख भएकोप्रति भने हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । वास्तवमा केही वर्षअघि भवन बन्दै गर्दा अनुगमनको निम्ति जिल्लाबाट आउने सरोकारवाला अधिकारीहरूले चियाखाजा खाँदाको खर्च व्यक्तिगत तवरबाटै गर्ने गरेको अवगत गराउन चाहन्छु ।
– बाबुराम पोख्रेल (प्रधानाध्यापक)
बुद्ध निमावि, कीर्तिपुर (सिमलपानी), अर्घाखाँची

यस्तै हुन्छन् ‘मुस्कानसहितको प्रहरी’ ?
इलाका प्रहरी कार्यालय चिसापानी (कैलाली)मा कार्यरत रायमाझी थरका प्रहरी निरीक्षकको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली हुँदाहुँदै पनि उनले कसरी जागिर खाइरहेका छन्, अचम्मलाग्दो कुरा छ । आफूलाई नेपाली काङ्ग्रेसका सभासद् राजन केसीको सालोभाइ भएको दाबी गर्ने ती इन्सपेक्टरलाई चिन्नेहरू प्रहरीभित्रका असक्षम अधिकृतमध्येका एकका रूपमा चिन्दछन् । आईजीपी उपेन्द्रकान्त अर्यालको ‘मुस्कानसहितको प्रहरी’ भन्ने नाराको सार्थकता यस्तै कतै नबिकेकाहरूको हुल जम्मा गर्नु मात्रै त होइन होला नि ? के रायमाझीजस्ता नक्कली शैक्षिक प्रमाणपत्रको भरमा संवेदनशील ओहोदामा जागिर खाने व्यक्तिहरूको शैक्षिक प्रमाणपत्रको छानबिन हुनुपर्दैन ।
– अञ्जली केसी, बत्तीसपुतली (हाल : लसएन्जलस, यूएस)