ब्याजदर घट्नुपर्ने उद्योगी र व्यापारीको माग

ब्याजदर घट्नुपर्ने उद्योगी र व्यापारीको माग


बैंकले लिने ब्याजलाई सरकारले अविलम्ब घटाउनुपर्ने उद्योगी एवंं व्यापारीले माग गरेका छन् ।

उनीहरूले उत्पादनमूलक उद्योगसँग सात प्रतिशत र व्यवसायीमूलक उद्योगसँग नौ प्रतिशतसम्म बैंक ब्याजदर कायम हुनुपर्ने माग राखेका हुन् । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा संयुक्तरूपमा विहीबार आयोजित छलफलमा सहभागीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने सङ्कल्प र पाँच लाख युवालाई रोजगार दिने सरकारको प्रतिबद्धता उद्योग र व्यापार क्षेत्रबाट मात्र सम्भव भएकाले यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।

नयाँ सामन्तीका रूपमा देखा परेका कुनै पनि बैंक घाटामा नरहेको यथार्थलाई नेपाल राष्ट्र बैंकले बुझ्नु जरुरी छ भन्दै उद्योगी र व्यापारीले मुलुकमा व्यापार घाटा कम गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र प्रशस्त रोजगारी सिर्जना गर्न उद्योग र व्यापार फस्टाउनु पर्नेमा उहाँहरुको तर्क थियो ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले आर्थिक क्रान्तिबिना राजनीतिक क्रान्ति सफल नहुने भन्दै उद्योग र व्यापार क्षेत्रमा देखिएको समस्यालाई तत्काल सरकारले सम्बोधन गर्नुपर्ने बताए । मोरङ व्यापार सङ्घका अध्यक्ष पवनकुमार शारडाले स्वदेशी लगानी बढाउन र विदेशी पूँजी भित्र्याउन ब्याजदर कम हुनुपर्ने धारणा राखे ।

सङ्गठनका वरिष्ठ उपाध्यक्ष सुशेन प्याकुरेल र उद्योगी मोती दुगडले बैंकको गलत नीतिले उद्योग र व्यापार डुब्न लागेको छ भन्दै यसले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर देखा पर्ने निश्चित छ भने ।