पाठक मञ्च

पाठक मञ्च


pathakmanchदेख्दैदेखिएन संविधान आउने छाँट
केही वर्ष पहिले भारतका वर्तमान राष्ट्रपति विदेशमन्त्री हुँदा (गिरिजाप्रसाद कोइराला बितिसकेपछि) नेपाल आएका बखत सुशील कोइराला र रामचन्द्र पौडेललाई छुट्टै राखी ‘काङ्ग्रेस काङ्ग्रेसजस्तो बनेन, तपाईंहरू उदार प्रजातन्त्रवादी बन्नुस्, तपाईंहरूको पार्टीको नाम मात्र काङ्ग्रेस भयो, अभ्यास एकदम अप्रजातान्त्रिक भयो’ भनेका थिए । सुशील र रामचन्द्रले उनको कुरा सुने मात्र, कुनै जवाफ दिनै सकेनन् । यस्तो सुझाव पाउँदा पनि चारसाले मानसिकता भएका नेताहरूको चेत खुलेन । चार सालमा गठन भएको नेपाली काङ्ग्रेसले चार दशक पनि मनखुसी शासन गर्न पाएन । पाए पनि उसको चारसाले अभ्यास कायम नै छ । ऊ सत्तामा गइसकेपछि जनताप्रतिका वाचा–कर्तव्य सबै बिर्सन्छ र चारसाले चरित्र देखाउँछ । आज पनि उसले चिनेजानेका व्यक्ति वा पार्टीनेताका चाकडीवाजहरूलाई भित्रबाट राणाशासनमा जस्तै पजनी गर्छ । काङ्ग्रेसका नेताहरू पावरको दुकान खोलेर बसेका मात्र प्रतीत हुन्छन् ।
काङ्ग्रेसमा आदर्शका अन्तिम आशा बनेर प्रस्तुत भएका तीन मोबाइलका धनी व्यक्ति सुशील कोइराला आजभोलि बलात्कार गर्नेको सजाय कम गराउन, अदालतले जेल ठोकेको व्यक्तिलाई जेलमुक्त गराउन, कमिशनखोरलाई सजिलो तुल्याउन, गैरकानुनी सम्बन्धन दिन, नेपाल टेलिकमजस्तो सरकारको दुहुनो गाईलाई जचुकाली बनाउन, नेपाललाई १४०औँ भ्रष्टराष्ट्र तुल्याउन र बन्दैनबन्ने संविधान निर्माणको नाममा प्रशासनलाई लथालिङ्ग अवस्थामा पु-याउन अभ्यस्त छन् । प्रजातन्त्र आफ्नै पिताजीको सम्पत्ति हो भनेझैँ आफूलाई कानुनभन्दा माथि जनाउन लागिपरेका छन् । जसरी भए पनि आगामी काङ्ग्रेस महाधिवेशनसम्म प्रधानमन्त्री रहने दाउमा छन् उनी । गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशी, जातीयता केही पनि सुशील या काङ्ग्रेसको एजेन्डा होइनन्, यी सब माओवादीका एजेन्डा भएकाले भोलि करकापले संविधान बनिहाले पनि काङ्ग्रेसले पारित हुन दिँदैन ।
बरु अहिलेको सरकारमा रहेर तुलनात्मक रूपमा आमजनतालाई रिझाउन एमाले सफल देखिन्छ । ऊ काङ्ग्रेसभन्दा उदार र चलाख देखिएको छ, त्यसैले अर्कोपटक काङ्ग्रेसलाई उछिनेर एकमना सरकारै बनाउने हैसियत देखाइरहेछ । जड कुरा त के छ भने एमालेको सहमतिबिना यतिबेला संविधान बन्नै सक्दैन । यस हिसाबमा भन्नुपर्दा संविधान बन्यो भने एमालेको चाहनाअनुसार बन्छ, होइन भने बन्दैबन्दैन । यहाँनेर हेक्का राख्नुपर्ने कुरा के पनि छ भने कुनै पनि कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टीलाई भरसक टिक्न दिँदैन । त्यसमाथि माओवादीले ०६४ सालमा शर्मनाक तरिकाले हराइदिएकाले पनि एमाले माओवादीसँग झस्किएको र मुर्मुरिएको छ । माओवादीले टुँडिखेलमा त के धरहरा वा कुतुव मिनार वा एफिल टावरबाटै जत्ति कराओस्, जत्ति आन्दोलनको वा समानान्तर सरकारको धम्की दिओस्– केही फरक पर्दैन । संविधान त एमालेले चाहेजस्तो बन्ने हो भने मात्रै बन्छ, नत्र बन्दैन । एमालेले माओवादीलाई ज्यान गए पनि छोड्ने देखिँदैन, निमिट्यान्न पारेरै छाड्ने मुडमा छ ऊ । उसको पोजिसन नै यस्तो छ यतिबेला ।
जहाँसम्म एमाओवादीको कुरा छ, आन्दोलन गर्न पनि मान्छे नजुटेपछि विजय गच्छेदारले पशुपति दर्शन गराउन भनी मधेसबाट मान्छे ल्याइदिएपछि एमाओवादीको इज्जत बच्यो । तिनै गच्छेदार मौका मिल्नासाथ तीसदलीय मोर्चालाई धोखा दिई सरकारमा आउने सम्भावना त्यत्तिकै बलियो छ र त्यहीँनेर आन्दोलन तुहिन सक्छ । अहिले संविधानसभाबाहिर बर्बराउँदै हिँड्दा माओवादीको साख झन् बिग्रँदै गएको छ । जनताबाट बहिष्कृत अवस्थामा तीस त के तीन हजार दल भए पनि जनताको म्यान्डेट नपाएकाले तिनले चाहना गर्नु र हामी आमजनताले चाहना गर्नु, कराउनु, बर्बराउनु एउटै कुरा हो । केवल उनीहरूको कब्जामा आमसञ्चार छ, हामीसँग छैन । गाउँगाउँबाट लघारेर सोझासाझा गाउँलेलाई काठमाडौं ल्याउँदैमा शक्ति प्रदर्शन भयो भन्लान्, तर संविधान त हाउसबाटै पारित गर्नुपर्छ । त्यहाँ काङ्ग्रेसले माने पनि एमालेले माओवादीको कुरा मान्नेवाला छैन । अन्त्यमा छिचोलेर भन्नुपर्दा यो मुलुकमा संविधान ल्याउन कुनै पनि दल इच्छुक नभएकाले संविधान आउनेवाला छैन । तीतो या मीठो जे भए पनि यथार्थ यही नै हो ।
– सञ्जीव सत्याल, ज्ञानेश्वर, काठमाडौं