न्यूनतम ८० प्रतिशत इन्धन भण्डारण नगर्ने डिपो प्रमुखलाई कारबाही

न्यूनतम ८० प्रतिशत इन्धन भण्डारण नगर्ने डिपो प्रमुखलाई कारबाही


उदयपुर सिमेन्टलाई नाफामा पु¥याएका सुरेन्द्र पौडेलको आगमनसँगै नेपाल आयल निगम सुध्रिने तयारीमा छ । पौडेलका अगाडि चुनौतिका चाङ भएपनि निगम सुधार्ने उनको पहिलो दायित्व बनेको छ । पौडेलले मुलुकमा इन्धनको हाहाकार हुन नदिन सबै डिपोका प्रमुखहरुलाई भण्डारण क्षमता बृद्धि गर्न निर्देशन मात्रै दिएनन् कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

नेपाल आयल निगम आफ्नो भण्डारणगृहमा इन्धन मौज्दातको क्षमता बृद्धिमा तल्लिन छ । ४९ वर्षको इतिहासमा निगमको यो कार्य उत्साहजनक पनि छ ।  । निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्ति भएपछि उनले इन्धन भण्डारणलाई प्राथमिकताका साथ अघि बढाएका छन् । ट्याङ्कर व्यवसायी वा अन्य कुनै आन्दोलनका कारण इन्धन आयात रोकिदाँ मुलुकभर इन्धनको हाहाकार शुरु हुने कुनै नौलो विषय भने होइन् । इन्धन अभाव हुन नदिन आयल निगमले डिपोमा न्यूनतम ८० प्रतिशत इन्धन भण्डारण गरेर राख्न सबै डिपो प्रमुखलाई निर्देशन समेत दिएको छ । सोहीअनुसार मंगलबारसम्म देशभरका डिपोमा कुल क्षमतामध्ये ९४ प्रतिशत इन्धन भण्डारण रहेको कार्यकारी निर्देशक पौडेल बताउँछन् ।


निगमका १२ डिपोको क्षमता ४७ हजार ३ सय ३६ किलोलिटर हो । डिपोमा अहिले ४४ हजार ९७ किलोलिटर इन्धन मौज्दात छ । यसअघि देशभरका डिपोमा ३५ हजार किलोलिटर इन्धन मौज्दात थियो । जुन कुल क्षमताको ६२ प्रतिशत मात्रै हो । अहिले आयल निगमको वास्तविक क्षमता ७१ हजार ६ सय किलोलिटर छ । तर, यतिवेला १४ हजार ६ सय ३ किलोलिटर इन्धन अटाउने भण्डारणगृहमध्ये केही मर्मतमा र केही सञ्चालन गर्न नमिल्ने अवस्थामा छन् । तर कार्यकारी प्रमुख पौडेलले सबै डिपोमा ८० प्रतिशतभन्दा बढी तेल भण्डारण नगर्ने प्रमुखलाई कारबाहीको चेतावनी दिएपछि अहिले सबै डिपोमा क्षमताअनुरुपको तेल भण्डारण शुरु भएको कार्यकारी निर्देशक पौडेलको भनाई छ ।

यसअघि डिपोहरुले आफ्नो क्षमताअनुसारको इन्धन भण्डारण गर्दैनथिए । जसका कारण आपूर्तिमा असहज हुनपुग्थ्यो । अब निगमले नै भण्डारणलाई पूरा क्षमतामा राख्न निर्देशन दिएपछि आपूर्तिमा कुनै अवरोध भए करिब १० दिनलाई धान्ने इन्धन निगमको डिपोमा मौज्दात छ ।