किन मरे तिला नदीका माछा ?

किन मरे तिला नदीका माछा ?


अज्ञात रोगका कारण तिला नदीका माछा मर्ने गरेका छन् ।

एक हप्ता अघिदेखि जुम्लाको तिला नदीमा रहेका माछा मरेकोे चन्दननाथ नगरपालिका–१० गैरागाउँका स्थानीय नरेन्द्र भण्डारीले बताए । तिला नदीको किनारमा मरेका माछा देखिने गरेको उनको भनाइ छ । छिना साँघुदेखि कारागारसम्म आउनेजाने क्रममा नदीमा मरेका माछा देखिने गरेको उनले बताए । नदीमा रहेका सानादेखि ठूला माछा मरेर तैरिने गरेको भण्डारीको भनाइ छ ।

नदीमा मरेका माछा बजारमा बिक्रीसमेत हुने गरेका छन् । तिला नदीमा साना असला जातका माछा पाइन्छ । जुन लोपोन्मुख अवस्थाको माछा हो । विगतका वर्षभन्दा यस वर्ष तिला नदीमा पानीको बहाव पनि घटेको स्थानीयले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले विषादी प्रयोग, पानीमा करेन्टर लगाएर वा अन्य कुनै कारणले माछा मरेको हुन सक्ने बताए । माछा मर्नुको कारण यही हो भन्न नसकिने बताउँदै उनले सत्यतथ्य पत्ता लगाउनको लागि अनुसन्धान टोली गठन गरिएको जानकारी दिए ।

भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र जुम्लाका प्रमुख गोविन्दबहादुर महतको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ ।
हप्ताभित्र गठित अनुसन्धान टोलीलाई माछा मर्नुको कारण पहिचान गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले बजारमा ल्याइएका माछा नखान सर्वसाधारण सबैलाई सुझाव दिएका छन् ।