प्रचण्ड वक्तव्यको रहस्य

प्रचण्ड वक्तव्यको रहस्य


  • देवप्रकाश त्रिपाठी

‘माओवादी’ प्रचण्ड केही समयको अन्तरालमा तरङ्ग पैदा गरेर आफ्नो उपस्थितिको अनुभूति दिलाइरहन्छन् र यसपटक उनले भेनेजुएलाको सार्वभौमिकता, राष्ट्रियता, राष्ट्रिय एकता तथा शान्तिको पक्ष लिँदै अमेरिकी हस्तक्षेपको विरोध गरेर तरङ्ग ल्याइदिए । करिब दुई दशकदेखि कम्युनिस्ट शासन रहेको र कम्युनिस्ट शासनसँगै ‘गरिबीमा रमाउन थालेको’ भेनेजुएलामा प्रजातन्त्रका पक्षमा चलिरहेको जनआन्दोलनलाई समर्थन गर्नु हस्तक्षेप हो या त्यहाँको वामपन्थी मडुरो सत्ताले जनआन्दोलनविरुद्ध लिएको अडानलाई समर्थन गर्नु उचित हो भन्ने विषयमा बहस–छलफल हुँदै गर्ला । कम्युनिस्ट शैलीमा विजयी राष्ट्रपति निकोलस मडुरोलाई सहयोग पुऱ्याउनु ठीक या जुआउन गाइडोको नेतृत्वमा चलेको प्रजातान्त्रिक आन्दोलनका पक्षमा उभिनु ठीक भन्ने प्रश्नमा पनि मानिसका आ–आफ्ना धारणा हुन सक्छन् । तर, यहाँ प्रचण्डले भेनेजुएला घटनामा जसरी वक्तव्य जारी गरे त्यसले एकसाथ अनेक प्रश्न उठाएको छ ।

सबभन्दा पहिलो आश्चर्य प्रचण्डले राष्ट्रियता, सार्वभौमिक सर्वोच्चता र विदेशी हस्तक्षेपविरुद्ध बोल्नुलाई मान्नुपर्ने हुन्छ । नेपालमा राज्यसत्ताको कार्यकारी प्रमुखको हैसियत प्राप्त गर्न विदेशी भूमिमा सेल्टर लिएर नेपालभित्र हिंसा र आतङ्क पैदा गर्ने, विदेशीलाई साक्षी राखेर विदेशमै सम्झौता गरी देशको आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेपलाई खुला आमन्त्रण गर्ने र विदेशीले भिराइदिएका एजेण्डा बोकेर तिनकै इच्छा र इसारामा कम्मर मर्काइमर्काई नाच्ने प्रचण्डले कसैको आन्तरिक मामिला तथा सार्वभौमिक सर्वोच्चताको पक्षमा र विदेशी हस्तक्षेपका विरुद्धमा आवाज बोल्नु आफैँमा आश्चर्यजनक हो ।

शक्ति प्राप्त गर्न शक्तिशालीकै साथ आवश्यक पर्ने बुझेका प्रचण्डले अमेरिकाविरुद्ध दिएको वक्तव्यले प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकारलाई सकसमा पारेको छ ।

प्रधानमन्त्री पद प्राप्तिका निम्ति रचिएको हिंसात्मक सङ्घर्षका क्रममा प्रचण्डले अमेरिका र युरोपको समेत साथ–सहयोग प्राप्त गर्न केसम्म गरेका थिए, त्यसको खुलासा डा. केबी रोकायाले गरिरहेकै छन् । नेपालको संस्थापन पक्षलाई विस्थापन गर्न इन्डियाका प्रधानमन्त्री तथा अन्य उच्चाधिकारीहरूसमक्ष लिखित–मौखिक रूपमा गरिएका याचनाबारे पनि आमनेपालीले जानकारी पाइसकेका छन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक ढाल्ने, उनको अपमान र उपेक्षा गर्ने, भाषिक क्रान्तिका नायक आदिकवि भानुभक्तको सम्मान गर्न नखोज्ने, गोरखनाथदेखि नरहरिनाथ र फाल्गुनन्ददेखि प्रपन्नाचार्यसम्मका तपश्वीहरूको आदर गर्न नजान्ने, तर नेपाललाई कुनै पनि प्रकारले योगदान नपुऱ्याएका मार्क्स, लेनिन, स्टालिन र माओत्सेतुङदेखि गोञ्जालोसम्मको महिमागान गर्ने प्रचण्ड नेपालमा बाह्य हस्तक्षेप भइरहँदा सञ्चो मान्ने, सात समुद्रपारिको भेनेजुएलाका आन्दोलनकारीलाई कसैले सहयोग गर्न खोज्दाचाहिँ उत्तेजित हुने घटना आफैँमा सन्देहास्पद र हास्यास्पद छ । आफ्नो मुलुकको स्वाभिमान तथा राष्ट्रियता र सार्वभौमिकताको कद घटाउन मुख्य भूमिका निर्वाह गर्ने व्यक्तिले बिरानो मुलुकको सार्वभौमिकता र राष्ट्रियताको चिन्ता प्रकट गर्दा ‘आफ्नी गृहिणीको स्वार्गवास हुँदा भोज गर्नेले छिमेकीकी पत्नी मर्दा रुवाबासी गरेझैँ’ देखिएको छ ।

हिंसात्मक युद्धकालमा अमेरिकासँग गुप्त सम्पर्क बनाउनुअघि नै कुनै सन्दर्भमा बनेको वक्तव्य प्राविधिक त्रुटिबस अहिले सार्वजनिक हुन पुगेको होइन भने प्रचण्डको विज्ञप्तिको व्यहोरा निकै आक्रामक छ । अमेरिकालाई साम्राज्यवादी हस्तक्षेप नगर्न चेतावनी दिएको वक्तव्यमा प्रचण्डले भेनेजुएलामा अराजकता सिर्जना गर्न खोजेको, आन्तरिक मामिलामा हस्तक्षेप गरेको, राष्ट्रिय सार्वभौमिकतामाथि धावा बोलेकोजस्ता आरोप लगाउँदै संयुक्त राष्ट्रसङ्घलगायत संसारभरिका सबै मुलुकलाई वामपन्थी तानाशाह निकोलस मडुरोको समर्थन गर्न आग्रह गरिएको छ ।

प्रधानमन्त्री बन्न शुरु गरिएको हिंसात्मक युद्धको सुरक्षित अवतरण गर्न माओवादीलाई बेल्लै प्रकारले सहयोग पु¥याउने अमेरिकासँग नेपालको धेरै पुरानो दौत्य सम्बन्ध छ र पछिल्लो समयमा अमेरिका नेपालप्रति विशेष सहयोगी भूमिकामा देखा पर्न पनि खोज्दै छ । तर, भेनेजुएलासँग नेपालको कूटनीतिक सम्बन्ध स्थापित भएको छैन र, नेपालको विकास प्रक्रियामा भेनेजुएलाको साझेदारी पनि छैन । कुन्नि कतातिरको एउटा कम्युनिस्ट अधिनायकवादीको सत्ता सङ्कटमा पर्दा आफ्नो देशको राष्ट्रिय हित नै सकसमा पर्ने गरी वक्तव्यबाजी गर्नुलाई नेपालमा स्वाभाविक मानिएको छैन । करिब दुई दशकको अन्तरालमा नेपालका परराष्ट्रमन्त्रीलाई आमन्त्रण गरेर न्यानो आतिथ्य दर्शाउँदै ‘आइन्दा नेपाललाई आफ्नै आँखाले हेर्ने’ घोषणासहित अमेरिकाले ठूलो धनराशि सहयोग गर्ने वचनबद्धता प्रकट गरेको केही दिनमै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षको हैसियतमा प्रचण्डबाट ‘कठोर’ वक्तव्य जारी हुनुलाई सामान्य रूपमा ग्रहण गर्न सकिँदैन ।

अमेरिकाले नेपाललाई इन्डो–प्यासिफिक कमाण्डसँगको सहकार्यमा सामेल गर्न प्रयास गरेको र ‘नेपाललाई केन्द्रीय भूमिका निर्वाह गर्न’ अमेरिकाले राखेको प्रस्तावप्रति नेपाल कम्युनिस्ट पार्टीको सरकारले सकारात्मक सङ्केत दिँदै गरेको पृष्ठभूमिमा प्रचण्डको विज्ञप्तिले ‘तोप पड्काइदिएको’ अनुभूति गराइदिएको छ ।

नेपालसँगको अमेरिकी सम्बन्ध नयाँ उचाइमा पुग्ने सम्भावनाको ‘खेती’ शुरु हुनेबित्तिकै आएको वक्तव्यले अमेरिकालाई स्तब्ध बनाएको हुन सक्छ, आमनेपालीसमेत यो प्रकरणमा चकित परेका छन् । अमेरिकाले नेपाललाई इन्डो–प्यासिफिक कमाण्डसँगको सहकार्यमा सामेल गर्न प्रयास गरेको र ‘नेपाललाई केन्द्रीय भूमिका निर्वाह गर्न’ अमेरिकाले राखेको प्रस्तावप्रति नेपाल कम्युनिस्ट पार्टीको सरकारले सकारात्मक सङ्केत दिँदै गरेको पृष्ठभूमिमा प्रचण्डको विज्ञप्तिले ‘तोप पड्काइदिएको’ अनुभूति गराइदिएको छ । यस प्रकरणमा कतिपयले प्रचण्डलाई कसैले फसाइदिएको हुन सक्ने अनुमान गरेको पाइएको छ भने केहीले प्रचण्डबाट नियोजित रूपमै यसप्रकारको वक्तव्य आएको निष्कर्ष निकालेका छन् ।

द्वन्द्वकालीन घटनालाई अब कहिल्यै उत्खनन नहुने गरी ‘दफन गर्ने’ योजनामा रहेका प्रचण्ड अमेरिकासहित आठ पश्चिमा मुलुकको अप्रत्यासित वक्तव्यबाट झस्किएको स्वतः बुझ्न सकिने विषय हो । उनीहरूले द्वन्द्वकालीन घटनाको न्यायिक निरूपण गर्नुपर्ने स्पष्ट सङ्केत दिएपछि ‘पश्चिमालाई रिझाएर ढुक्क हुन नसकिने’ निष्कर्षमा प्रचण्ड पुगेका हुन सक्छन । इन्डो–प्यासिफिक कमाण्डसँग नेपालले सहकार्य गर्न नहुने पक्षमा कम्युनिस्ट पार्टीभित्र मत सुदृढ हुँदै गएको र त्यसले नेतृत्वमाथि एकप्रकारको दबाब पैदा गरिरहेको अवस्थामा आठ पश्चिमा मुलुकको वक्तव्य आएपछि झस्किएका प्रचण्डले भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध आक्रोश प्रकट गर्नुलाई भूलवश या बिनासोचविचार उत्पन्न प्रतिक्रिया मान्न सकिँदैन । अमेरिकाले नेपाललाई केन्द्रीय भूमिका निर्वाह गर्न आग्रह गर्दै इन्डो–प्यासिफिक कमाण्डसँग सहकार्यका निम्ति प्रस्ताव राखेपछि नेपालका दुई छिमेकी मुलुक भारत र चीनले गम्भीर चासोका साथ हेरिरहेका छन् । खासगरी चीनले यस विषयलाई नेपालको पक्षमा अमेरिकी पहलभन्दा पनि आफ्नोविरुद्धको कदमका रूपमा बुझेको छ र नेपाल इन्डो–प्यासिफिकसँगको सहकार्यमा जाने कल्पनासम्म चीनले गर्न सकेको छैन ।

आफ्नो मुलुकको स्वाभिमान तथा राष्ट्रियता र सार्वभौमिकताको कद घटाउन मुख्य भूमिका निर्वाह गर्ने व्यक्तिले बिरानो मुलुकको सार्वभौमिकता र राष्ट्रियताको चिन्ता प्रकट गर्दा ‘आफ्नी गृहिणीको स्वार्गवास हुँदा भोज गर्नेले छिमेकीकी पत्नी मर्दा रुवाबासी गरेझैँ’ देखिएको छ ।

यस्तो अवस्थामा नेपालभित्र कुन दल, नेता या प्रशासकको भूमिका कस्तो रहने भन्ने विषयमा चीनले सूक्ष्म अध्ययन गरिरहेको छ भने त्यो आश्चर्य मान्नुपर्ने विषय होइन । चीनको छटपटी बुझेका प्रचण्डले चीनलाई रिझाउने र आफ्नाप्रति चिनियाँ विश्वास बढाउने अवसरका रूपमा ‘समयको सदुपयोग’ गरेका हुन् भन्न सकिने आधारहरू पर्याप्त छन् । स्मरणीय पक्ष के छ भने प्रचण्डले चीनको विश्वास पूरै गुमाइसकेका थिए र, केही महिनाअघि भएको चीन भ्रमणका क्रममा चिनियाँ व्यवहारबाट उनी स्वयम्ले त्यसको आत्मबोध गरेका पनि हुन् । त्यसैले भेनेजुएला प्रकरणलाई प्रचण्डले चीनको विश्वास आर्जन गर्ने अवसरका रूपमा उपयोग गरेका हुन् भन्न सकिन्छ । केही महिनाअघि तन्त्रसाधक एवम् धर्मगुरुहरूसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुग्ध गर्ने कला र ‘मन्त्र’ लिएर भारत भ्रमणमा गएका प्रचण्ड आफ्नो मिसनमा सफल भएको ठान्दछन् । मोदीको विश्वास आर्जन गर्न पूर्ण सफल भएको ठानेपछि प्रचण्ड चीनको पनि विश्वास प्राप्त गर्ने र नेपालमा ‘निर्विकल्प’ बन्ने सपनासहित चीन पुगेका हुन् । तर, चीनले सपना पूरा गरिदिने आभाष प्रचण्डले गर्न सकेनन् र चीनले आफूलाई महत्व नदिएको पीडा उनले आफ्ना खास हितैषीहरूलाई सुनाउने गरेका पनि हुन् ।

भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध कठोर वक्तव्य दिएपछि आफूप्रतिको चिनियाँ विश्वास पुनर्जीवित हुन कर लाग्ने ठहर प्रचण्डको छ । यसरी चीन र भारत दुवैको साथ पाउने र उक्त साथले सत्ताको चिरस्थायी यात्री बनाउने विश्वासका साथ प्रचण्डले अमेरिकाविरुद्ध वक्तव्य दिएको बुझिन्छ । अमेरिका अस्ताउँदो र चीन–भारत उदाउँदो शक्तिराष्ट्रका रूपमा नभएको भए प्रचण्डबाट यस प्रकारको वक्तव्य जारी हुने आशा गर्न सकिँदैनथ्यो । शक्ति प्राप्त गर्न शक्तिशालीकै साथ आवश्यक पर्ने बुझेका प्रचण्डले अमेरिकाविरुद्ध दिएको वक्तव्यले प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकारलाई सकसमा पारेको छ । पार्टी र सरकारको लक्ष्मणरेखा देखाएर ओलीले ‘स्केप’ हुन गरेको प्रयास पनि नेपालस्थित अमेरिकी दूतावासले ‘स्पष्ट धारणाको माग’ गरेपछि असफल हुन पुगेको छ ।

यदाकदा ‘इन्डियाको साथ लिएर’ ‘भारतको इच्छाविपरीत उभिने बहादुरी’ कम्युनिस्ट नेताहरूले देखाउँदै आएको भए पनि चीनसँगको प्रश्नमा उनीहरूबाट त्यसप्रकारको व्यवहार प्रस्तुत हुन सक्ने अवस्था कहिल्यै देखिएको छैन । असंलग्न परराष्ट्र नीतिको पक्षमा रहेको दाबी गर्ने कम्युनिस्ट सत्ता र सरकार एकैपटकमा चीन र अमेरिकालाई सहयोग गर्न सक्ने या दुवैको विश्वास एकैपटक आर्जन गर्न सक्ने अवस्थामा रहेन । अमेरिका र चीनमध्ये एउटाको विश्वास पूरै गुमाउने या दुवैको विश्वास गुमाउने जटिल अवस्थामा कम्युनिस्ट नेतृत्व पुगेको छ । यो प्रकरणलाई बुद्धिमतापूर्ण ढङ्गले अवतरण गराउन नसकेमा कम्युनिस्ट पार्टीको एकता र सरकारको स्थायित्वमा समेत चरम सङ्कट उत्पन्न हुन सक्ने सम्भावना देखिएको छ । प्रचण्ड जहाँ रहन्छन् त्यहीँ ध्वङ्सात्मक अवस्थाको सिर्जना हुने गर्छ भन्ने पूर्वमान्यताको पुनर्पुष्टि पनि यस घटनाले गर्न खोजिरहेको छ ।