आर्थिक संकटले थलिएका ५ उद्योग संचालन गरिने

आर्थिक संकटले थलिएका ५ उद्योग संचालन गरिने


–छविलाल बगाले
सरकारी स्वामित्वमा रहेका बन्द उद्योग सञ्चालनमा ल्याउने तयारी थालिएको छ । ५ वटा बन्द रहेको उद्योग सञ्चालनका लागि सरकारले निजी क्षेत्रसँग समेत परामर्श थालेको छ । तर, जनकपुर चुरोट कारखाना सञ्चालनमा संघ र प्रदेश दुई सरकारबीच विवाद देखिएको छ ।

हेटौँडा कपडा उद्योग, बुटवल धागो उद्योग, गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना र वीरगञ्ज चिनी मिल मुलुकको सम्बृद्धिका आधार हुन् । तर यी उद्योग लामो समयदेखि आर्थिक संकटले थलिएर बन्द भएका हुन् । ढिलै भएपनि सरकारले स्वदेशी उद्योगको आवश्यकता ठानेर पुनः संचालन गर्ने कसरत थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारी स्वामित्वका पाँचवटै बन्द उद्योग विभिन्न मोडालिटीमा पुनः सञ्चालन गर्ने निर्णय गरिसकेको मन्त्री मातृकाप्रसाद यादवले जानकारी दिए ।


यी उद्योग पुनः सञ्चालनका लागि निजी क्षेत्रका उद्योगीसमेत इच्छुक देखिएकोले उनीहरूलाई भाडामा दिने तयारी थालिएको हो । सरकारले उठाउन लागेका उद्योगहरु चरम आर्थिक भारमा छन् । एकातिर कर्मचारी व्यवस्थापन र अर्को्तिर उद्योगको आफ्नै ऋणका कारण पुनः उद्योग संचालन हुनेमा केही दुविधा भने कायमै छ ।

कुन उद्योग कहिलेदेखि बन्द ?

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनकपुर चुरोट कारखाना लिमिटेड सञ्चालनको जिम्मा विदेशी लगानीकर्ताले दिने आशय व्यक्त गरेको छ । तर विदेशी लगानीकर्ताको जिम्मामा सुम्पने विषयमा प्रदेश–२ का मुख्यमन्त्री एवं सांसद भने सहमत छैनन् । उता, २०५७ सालदेखि बन्द हेटौँडा कपडा उद्योग उद्योग, २०६६ देखि पूर्ण रूपमा बन्द बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना र वीरगञ्ज चिनी मिललाई पनि निजी कम्पनीकै जिम्मा लगाउने मन्त्रालयको तयारी छ । यसका लागि पुराना कर्मचारीलाई बिदा गरी सबै दायित्व चुक्ता गर्ने तयारीमा सरकार छ रहेको मन्त्री यादवको भनाई छ ।

राज्यकै अनुदानमा मात्रै भर परेका कारण सरकारी स्वामित्वका उद्योगहरु धारासायी बनेको कसैमाझ लुकेको छैन् । अनुदान रहँदासम्म मोजमस्ती गर्ने र सकिएपछि सरकार गुहार्ने उद्योग प्रमुखकै कारण नेपाली उद्योगहरु अधोगतिमा लागेका हुन् । यसअघि आयस्रोत नभएपछि कारखानाको नोक्सानी बर्षेनि बढ्दै गएपछि उद्योग बन्द गर्न सरकार बाध्य भएको थियो ।