पैंतीस करोडको मुनरोको पहिरन -नवीन उप्रेती

पैंतीस करोडको मुनरोको पहिरन -नवीन उप्रेती


असीम सौर्न्दर्यकी प्रतिमूर्ति भनेर विश्व कहलाइएकी हलिवुड अभिनेत्री मर्लिन मुनरोले दुनियाँबाट बिदा लिएको निकै वर्ष भइसक्यो, तर कुनै न कुनै विषयमा उनको चर्चा चलिरहन्छ । एकपटक मुनरो सेतो रङ्गको पहिरनमा न्युयोर्क सहर डुल्दै गर्दा हावाको झोक्काले उनको कपडा शरीरको माथिल्लो हिस्सातिर उठेको र लज्जावश उनले त्यसलाई तलतिर सार्दै गरेको दृश्य तस्बिरका रूपमा अत्यन्त लोकप्रिय हुन पुगेको थियो । उनले पहिरिएको सोही पोसाक हालै ४५ लाख २० हजार डलरमा लिलामी भएको छ । स्मरण रहोस्, विलियम ट्राबिल्ला नामक डिजाइनरद्वारा डिजाइन गरिएको उक्त पोसाकलाई यत्रो महत्त्व दिलाउन सक्ने मुनरोको सौर्न्दर्यबाट तत्कालीन अमेरिकी राष्ट्रपति केनेडीसमेत भुतुक्कै भई मुनरोको प्रेममा परेका थिए ।

खानेपानीमा पिसाब मिसिँदा…
ओरेगनको पोर्टल्यान्ड सहरनिवासी २१ वर्षीय एक युवकको सनकका कारण सहरमा खानेपानी आपूर्ति गर्ने जलाशयबाट ८० लाख ग्यालेन पानी त्यसै बगाउनुपरेको घटनाले गत साता विश्वव्यापी चर्चा पायो । उक्त युवकलाई के सनक चढ्यो कुन्नि, जलाशयको किनारमा उभिएर उसले दिनदहाडै निर्धक्कसँग पिसाब गरिदिएछ । हाम्रोजस्तो मुलुकमा भए यस्तो घटनाले कुनै अर्थ नै राख्ने थिएन होला, तर ओरेगन सहरका अधिकारीहरूका लागि यो त्यत्तिकै आँखा चिम्लन मिल्ने विषय रहेन । बरु अभावको सामना गर्ने तर सहरवासीलाई दूषित पानी वितरण नगर्ने भन्ने सोचबाट प्रेरित भई सम्बन्धित अधिकारीले जलाशयको पूरै पानी बगाउने निर्णय गरे । कतिपयले त एकजनाले पिसाब गरिदिएकै भरमा यत्रो पानी खेर फाल्नु नपर्ने सुझाब पनि नदिएका होइनन्, तर अधिकारीहरूलाई त्यो स्वीकार्य भएन । अन्ततः लाखौँ डलर नोक्सानी व्यहोरेरै भए पनि पूरै जलाशय रित्याएर सफा तुल्याइयो र शुद्ध पानी आपूर्ति गरियो ।

लागूपदार्थको लतले सुन्दरी बर्बाद
नानीदेखि लागेको बानी छुट्न गाह्रो हुन्छ भन्ने कथन छ, यो कथन यतिबेला विख्यात हलिवुड अभिनेत्री लिन्डसे लोहानमाथि चरितार्थ हुन्छ । मदिरादेखि गाँजा, चरेस, अफिम, हिरोइनजस्ता यावत् नशालु पदार्थको सेवन गरेर अनुभव बटुलेकी यी सुन्दरी अभिनेत्री दर्ुर्व्यसनको लतमा यसरी फसिसकेकी छिन् कि यही लतले उनलाई पटक-पटक जेलको हावा खुवाइसकेको छ । तर, पनि लोहानको मति भने सुध्रन सकेको छैन । हालै मात्र लागूपदार्थ सेवनका लागि एक सपिङ स्टोरमा चोरी गर्दागर्दै रङ्गेहात पक्राउ परेकी लिन्डसे तीन महिनाको बन्दीजीवन गुजारेर मुक्त भएकी थिइन् । तर, हिरासतमुक्त भएपछि लगत्तै गरिएको जाँचमा पुनः उनी दोषी देखिएकी छिन् । यसपटक आफूले कुनै नशालु पदार्थ सेवन नगरेको बरु आफूले पिउने गरेको कोमबुचा चियामा थोरै नशालु पदार्थ हुने भएकोले नतिजा नकारात्मक आएको दाबी उनले गरिन् । तर, ढाँटेको कुरा काटे मिल्दैन भनेझैँ उनको यो बहानाले काम गरेन र अन्ततः पुनः उनी घरमै नजरबन्दमा परेकी छिन् ।