योग्य छान्न खोज्दा विपत्तिको वर्षा

योग्य छान्न खोज्दा विपत्तिको वर्षा


-वसन्तराज कुँवर
प्रहरी प्रमुखले मन नपराएका व्यक्तिलाई सप्तरी जिल्लाको जिम्मेवारी दिएर खटाइने अघोषित प्रथा १२-१५ वर्षअघि प्रहरीमा व्याप्त थियो । त्यतिबेला पङ्क्तिकार प्रहरीमा एसपी थियो र चाकडी खोज्ने आईजीपीद्वारा मन नपराएको कारण नै हुनसक्छ- पङ्क्तिकारलाई पनि सप्तरी खटाइयो । सप्तरी खटिएपछि त्यहाँको गरिबी र शोषण देखियो । त्यहाँ खटिएपछि नै बुझियो कि वर्गसङ्घर्षको नाराले त्यहाँका बेरोजगार युवालाई सरकारविरुद्ध हतियार उठाउन सजिलै प्रेरित गर्न सक्छ ।
त्यसबखत माओवादी युद्ध अकासिँदै थियो र सरकारप्रमुख, गृहमन्त्री र प्रहरी प्रमुखका लागि माओवादी युद्ध प्रहरीको दरबन्दी थप्ने, हातहतियार खरिदमा कमिसन खाने र आफ्ना कार्यकर्ता भर्ना गर्ने राम्रो अवसर सावित भइरहेको थियो । यसै सिलसिलामा एकपटक ठूलो सङ्ख्यामा प्रहरी जवानको नयाँ दरबन्दी थप हुँदा सप्तरीबाट पनि ३० जना जवान छनोट गरी पठाउनुपर्ने भयो । मैले यी ३० जना साँच्चिकै योग्य व्यक्ति निष्पक्ष ढङ्गले खटाउने निर्णय गरेँ । म प्रमाणित गर्न चाहन्थेँ कि भनसुन गरिदिने कोही नभएका नागरिकले पनि राष्ट्रसेवक भएर काम गर्न पाउँछन् ।
सप्तरीमा त्यसबखत एसपीप्रति जनताको ठूलो विश्वास थियो । त्यसैले मैले त्यहाँको ११४ गाविसमा निष्पक्ष रूपमा अनौपचारिक कमिटी बनाई पढेलेखेका र राम्रो स्वास्थ्य भएका एक-एकजना छानी सदरमुकाम पठाउन निर्देशन दिएँ । केहीदिनमै ६ फिट अग्ला र एसएलसी पास गरेका झन्डै एक सय तीसजना युवा गाउँ-गाउँबाट छनोट भएर सदरमुकाम राजविराज आइपुगे । मैले तिनको लिखित जाँच लिएँ, अन्तर्वार्ता लिएँ । अब लगभग पचासजना मात्र बाँकी भए । त्यसमध्ये ३० जना छान्न अब एक-दुई दिनको मात्र काम थियो । यसबीच धेरै मान्छेले ‘प्रतिप्रहरी ५० हजार दिन्छौँ, आफ्ना मान्छे भर्ती गरिदेऊ’ भन्ने प्रस्ताव पनि ल्याए, तर म मेरो मनसायमा दृढ थिएँ ।
अन्तिम छनोट गरी छानिएका प्रहरी जवानलाई विराटनगर तालिम केन्द्र पठाउनुपर्ने थियो । लगभग दुई-तीन दिनभित्र निष्पक्ष छनोटको प्रक्रिया समाप्त हुनेवाला थियो, यस्तैमा एक साँझ क्षेत्रीय प्रहरी कार्यालयबाट कोड म्यासेज -सबैले नबुझ्ने भाषामा) आयो । उक्त आदेशात्मक म्यासेजको आशय थियो- ‘३० जना प्रहरी छान्दा काङ्ग्रेस पार्टी कार्यालयको प्याडमा ज-जसको नाम आउँछ त्यसबाट २८ जना छनोट गर्नू, एकजना भूतपूर्व प्रहरीका सन्तान भर्ना गर्नू र एकजनाचाहिँ आफूले चाहेको व्यक्ति भर्ना गरी तालिम केन्द्र पठाउनू ।’
यसले मलाई औधी दुःखी र विचलित बनायो । तत्कालै क्षेत्रीय प्रमुखलाई फोन गरी आफूले त्यसो गर्न नसक्ने बताएँ, तर उहाँले यो आदेश नमान्दा मेरो हित नहुने स्पष्ट सुझाव दिनुभयो । त्यस रातभर म सुत्न सकिनँ । म एकातर्फ ती युवकहरूको अनुहार एक-एक गरी सम्भिmरहेको थिएँ जो गाउँबाट चामल बोकेर सदरमुकाम आई कैयौँ दिनदेखि मैले तोकेअनुसार परीक्षा दिँदै थिए । उनीहरूल्ााई यही आशा थियो कि यो एसपीले न्याय गर्छ । उनीहरूको आँखामा राज्यप्रति एक किसिमको विश्वास बढेको मैले अनुभूति गरिरहेको थिएँ । अर्कोतर्फ मेरो नाममा भयानक सन्देश आइसकेको थियो जसको आधारमा त्यहाँ छानिएका कोही पनि सिपाही बन्ने लिस्टमा पर्नेवाला थिएनन् । म आफूले छनोट गरेका युवालाई फर्काएर भोलि गृहमन्त्रीको पार्टी कार्यालयबाट आउने नामहरू मोहर लगाई छनोट गर्ने कल्पना गनैकिरहेको थिइनँ । मलाई थाहा थियो कि प्रहरी प्रमुख मलाई आफ्ना गुटको मान्दैनन् र कहाँ मौका पाउँला र यसलाई सिध्याऊँ भन्ने ताकमा छन् । ती छनोट हुने युवाले मलाई केही राम्रो गर्न सक्थेनन् तर प्रहरी प्रमुखले तिनलाई छनोट गरेकोमा मलाई बेस्सरी बिगार्न सक्थे । त्यस रातभर म सुत्न सकिनँ । निर्णर्य गर्न पनि गाह्रो भयो । बिहानीपख चरा-चुरुङ्गीको आवाज सुनिन थाल्यो । म बरण्डामा निस्केँ । पूर्वतर्फ क्षितिजमा रातो लाली देखियो । मैले दुवै हात जोडेँ र सूर्यनारायणलाई हेर्दै निवेदन गरेँ, ‘हे सूर्यनारायण, म मैले छानेका युवकलाई हटाएर कुनै पार्टीको मान्छे भर्ना गर्ने पाप गर्न सक्दिनँ, मेरो रक्षा गर्नू ।’
मैले पार्टीको प्याडमा आएको मानिस भर्ना नगर्ने नै निर्णय गरेँ । पार्टीको प्याड नै प्रयोग गर्नुपर्ने भए बरु यिनै छनोट भएकाहरूको नाम समावेश गर्न खबर पठाएँ । मेरो निर्णय सुन्नेबित्तिकै त्यहाँबाट मलाई हटाउने खेल तत्काल सुरु भयो । त्यहाँको सरकारी वकिलले थुप्रै दिन पहिले बोलेका कुरा उठाएर जुलुस निकाल्न सुरु भयो । सदनमा मविरुद्ध त्यहाँका सांसद बोल्न थाले । सरकारी वकिलको घरमा तोडफोड गर्न गएकालाई बल प्रयोग गरेको नाममा गृहसचिव श्रीकान्त रेग्मीलाई छानबिन गर्न सप्तरीमा हेलिकोप्टर दिई पठाइयो । म सबै आपतका कारण बुझिरहेको थिएँ तर त्यत्रो षड्यन्त्रमा परिसक्दा पनि आफूले छनोट गरेका व्यक्तिलाई नपर्ठाई अरूलाई पठाउन भने कुनै हालतमा म तयार थिइनँ । केही दिन मविरुद्ध योजनाबद्ध रूपमा त्यो जिल्लाबाट मलाई हटाउन भयानक युद्ध नै छेडियो । मेरो पक्षमा मन्त्री, आईजीपी क्षेत्रीय प्रमुख, गृहसचिव कोही थिएनन् । मलाई त्यहाँबाट हटाउने निश्चित थियो । एक रात ९ बजेतिर मलाई जिल्ला छाड्न आदेश आयो । केन्द्रबाट प्रकाशित पत्रपत्रिका र सदनमा पनि मेरो समाचारले ठूलो स्थान पाएको थियो । राति मैले त्यो जिल्ला छोड्नुपर्‍यो । मैले जिल्ला छोड्दा मसँग श्रीमती पनि साथमै थिइन् । उनले आफ्ना सबै सामान लिएर जाने पनि अवस्था थिएन । मलिन अनुहार लाएर उनी शायद सोच्दै थिइन् मेरो मात्रै जीवनमा किन समस्या आइरहेछ – उनले त्यस समय भोगेको मानसिक पीडाले भने मलाई थोरै विचलित बनाएको थियो, तर मैले लिएको निर्णयमा मलाई कुनै पश्चात्ताप थिएन । मलाई थाहा थियो- बाहिर जे षड्यन्त्र गरिए पनि, जे भनिए पनि, जे देखाइए पनि भित्री कुरो भनेझैं मैले सिपाही भर्ना नगरेको र स्थानीय नेताहरूको दबाबमा काम गर्न नमानेकोले नै यो सब स्थिति जन्माएको थियो ।
आखिर जिल्ला छोड्दाछोड्दै भए पनि मैले आफुले छनोट गरेकालाई नै भर्ना गरेर विराटनगर पठाइदिएँ । तिनीहरूमध्ये धेरैलाई मेडिकलमा फेल गरी सिफारिसका मानिस भर्ना गर्ने काम भएछ । त्यसपछि मलाई भर्खर दरबन्दी भएको तर कार्यालय र प्रहरी कर्मचारी कोही नभएको दंगा गण पथलैया भन्ने ठाउँमा सरुवा गरियो । न अफिस थियो न प्रहरी नै बस्ने ठाउँ । केवल म एक्लो एसपी मात्र जङ्गलबीच सरुवा गरिएँ । त्यहाँ बस्ने ठाउँ पनि थिएन । पथलैयामा सडक विभागको अफिस रहेछ । मैले आफूलाई टाउको लुकाउन कुनै टहरो दिन त्यहाँका हाकिमसँग अनुरोध गरेँ । सौभाग्यवश त्यहाँका हाकिम सप्तरीकै रहेछन् । उनले भने, ‘वसन्त सर, तपार्इंजस्तो इमानदार अधिकृतलाई मद्दत गर्न पाउनु मेरो सौभाग्य हो ।’ यति भनी उनले मलाई दुईवटा टहरा दिए । मैले ती टहरालाई अफिस बनाएँ । म गएको करिब तेह्र दिनपछि एकजना हवल्दार सरुवा भई आए । तिनी आउँदा मलाई औधी भर मिल्यो, किनकि अब हामी दुईजना गणका कर्मचारी भएका थियौँ । एक्लै हुँदा मसँग कुरा गर्ने पनि मानिस थिएन । पथलैया गणपछि पुनः मलाई बरि्दया खटाइयो । त्यहाँ पनि माओवादीको बिगबिगी थियो । फेरि त्यहाँ पनि प्रहरी भर्ना गर्नुपर्ने भयो र सप्तरीजस्तै निष्पक्ष भर्ना गर्न खोज्दा मलाई रातारात सुर्खेत खटाइयो । यस घटनापछि धेरै वर्ष म पश्चिमका पहाडमा मात्र खटाइएँ ।
म खटिएको जिल्लाबाट छिटो-छिटो सरुवा भइरहेका थिएँ र मेरो सरुवा राजनीतिक दबाब नमानेकै कारणले भइरहेको थियो तर पनि मेरा प्रतिद्वन्द्वी साथीहरूले भने मलाई ‘वसन्तले कुनै जिल्ला पनि चलाउन सक्दैन’ भन्दै मभन्दा उनीहरू योग्य भएको दलिल दिन व्यस्त देखिन्थे । मसँग तिनको सरोकारको जवाफ पनि थिएन । मैले जे गरेँ त्यसमा म सन्तुष्ट थिएँ । आज पनि त्यस गु्रपमा सिपाहीमा भर्ना भएकाहरूले मलाई अझै धन्यवाद दिन्छन् । त्यसैमा मलाई औधी खुसी लाग्छ । त्यसबखत कुनै पार्टीको प्याडमा नाम भएकाहरूलाई मात्र भर्ना गर्ने आदेश दिने गृहमन्त्रीहरूको पनि जीवन अहिले खासै राम्रो देख्दिनँ । तिनको जीवनभन्दा मलाई आफ्नै जीवन सफल लाग्छ । त्यसबखत संसद्मा मेरोविरुद्ध षड्यन्त्रमूलक ढङ्गले बोल्नेहरू पछि मन्त्री भई म बसेको सर्ुर्खेत जिल्लामा आउँदा तिनले मलाई भेट्न चाहे पनि मैले बिदा लिएर भेटिनँ, किनकि उनीहरूप्रति मेरो कुनै श्रद्धा नै थिएन ।
यद्यपि प्रहरी-जीवनको दुई दर्जन वर्षहरूमा मैले आफ्नो आत्माको कुरा सुनेर काम गर्दा मुद्दा-मामिलामा मात्र होइन, असफल प्रहरीको पगरी पनि लगाइयो, तर पनि म आफू भने आफ्नो कामसँग सधैं सन्तुष्ट नै रहेँ । मलाई लाग्छ, कुनै पार्टीको पुच्छर भएर मैले कसैमाथि अन्याय गरिनँ । सेवा गरुन्जेल प्रहरी भएर गरेँ । ती प्याडमा कार्यकर्ता भर्ना गर्नेहरूले पनि चुनाव हारे । त्यो भर्नामा सहयोग गर्ने प्रशासकहरू खोसिए, आरोपित भए तर म आफू भने आफूलाई विजयी नै ठान्छु । अहिले मलाई के लाग्छ भने मजस्तो सानो पदमा त राजनीतिक हस्तक्षेप नमान्दा त्यतिविधि आपत्-विपत् खेप्नुपथ्र्यो भने प्रहरीका प्रमुख र उच्च प्रशासकहरूले कति खेप्नुपर्ला – सुडान काण्डमा संलग्न आईजीपीहरूले पनि मेरैजस्तो अनेकौँ दबाबहरू सहेकै होलान् । तर, मलाई के लाग्छ भने यदि आईजीपीहरूले सुडान काण्डमा मन्त्री र प्रधानमन्त्रीद्वारा दिइएको दबाब सहेर आफूले तिनीमाथि लागेका आरोपसमेतको अपराधी भई अदालतमा उभिनुभन्दा तिनका दबाब सार्वजनिक गर्न आँट गरेमा बुद्धिमत्तापूर्ण काम हुनेछ । नत्रभने सुडान काण्डका नायकको रूपमा सधैं आरोपित आईजीपीहरूमाथि नै कलङ्क लाग्नेछ । आफ्नै प्रहरी कर्मचारीको आँखामा पनि उनीहरू गिर्नेछन् । बिर्सर्ेेपनि यो गल्ती गर्नुहुँदैन र विशेष अदालतमा आईजीपीहरूले यदि मन्त्री, प्रधानमन्त्रीबाट यस केसमा दबाब दिएको भए बोल्नैपर्छ ।