प्रजातन्त्र सेनानीलाई उचित सम्मान गर

प्रजातन्त्र सेनानीलाई उचित सम्मान गर


pathakmanchतेस्रो नजर
भनिन्छ– प्रजातन्त्रमा सबैले सम्मानित जीवन व्यतीत गर्न पाउँछन् र योगदानको उच्च कदर हुन्छ । तर विडम्बना † नेपालको प्रजातान्त्रिक इतिहासमा सामान्य जनताले त्यो सुविधा पाउनु त परै जाओस्, प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्युँदा सहिदहरूले समेत अपमानित महसुस गर्नुपर्छ । आज उनीहरू राज्यसँग हामीलाई न्यूनतम सुविधा त देऊ भनेर भिख माग्नुपर्ने अवस्थामा छन् ।
नेपालमा प्रजातन्त्र स्थापनाको सङ्घर्षमा लामो जीवन बिताएका कपालै फुलेर विभिन्न रोगहरूले ग्रस्त यी जिउँदा सहिद भनिने प्रजातन्त्र सेनानीहरू यतिखेर राष्ट्रपति कार्यालय शीतलनिवासमा जनताका राष्ट्राध्यक्षलाई भेट्दै आफ्ना गुनासाहरू पोखिरहेका छन् । जीवनभर अधिनायकवादी शासन व्यवस्थाको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि लडेका दुःख–पीडा भोगेका यी सेनानीले आज जुन आफ्ना गुनासा पोखिरहका छन् ती वास्तवमा सामान्य खालका छन् । हामीलाई परिचयपत्र देऊ, जीवन धान्नका लागि सामान्य व्यस्थापन गरिदेऊ र उपचारका लागि सक्दो पहल गरिदेऊ भनिरहेका छन् उनीहरू । यो माग उनीहरूले उठान गर्न थालेको वर्षौं भइसक्यो । तर, विडम्बना, आफूलाई प्रजातन्त्रको ठेकेदार ठान्ने र जनताका सेवक होइन मालिक ठान्ने सरकार र राजनीतिक दलहरूले यी प्रजातन्त्र सेनानीका मागलाई पूरै बेवास्ता गरेका छन् र केवल वृद्धहरूको बकवास मात्र ठानेको छ । यहाँभन्दा प्रजातन्त्रका लागि उपहास के नै हुन सक्छ र ।
तर, यता राष्ट्रपति रामवरण यादवचाहिँ प्रजातन्त्र सेनानीहरूका सामान्य मागहरूलाई पूरा नगरी नेपालको लोकतन्त्रको प्रतिष्ठा बढ्न नसक्ने बताउनुहुन्छ । नेपालमा प्रजातन्त्रको स्थापना सहज किसिमले नभएको इतिहास कोट्याउँदै राष्ट्रपति यादवले हजारौँको बलिदान र योगदानले यो आकार लिएको राष्ट्रपति यादवले बताउनुभयो ।
वि.सं. २००७ सालमा प्रजातन्त्रको स्थापना गर्नदेखि आजको समावेशी लोकतन्त्रको स्थापना हुँदासम्म धेरैले बलिदानी दिएका छन् । जीवन होमेका छन् । नेपालको लोकतन्त्र सीमित राजनीतिक दल र नेताहरूको खल्तीको वस्तु होइन । हुन त आज जुन सङ्घर्षले प्रजातन्त्रको स्थापना भयो प्रजातान्त्रिक शक्ति भनिनेहरूबाटै कुशासन, भ्रष्टाचार, महँगी, नातावाद, कृपावादजस्ता चरम विकृतिहरू भीषण रूपमा फैलाएका छन् । यो देख्दा जीवनभर प्रजातन्त्रका लागि जीवन समर्पण गरेका सेनानी कतै नेपालको प्रजातन्त्र अधिनायकवादी शासनमा जस्तो सानो समूहको स्वार्थलाई पूरा गर्न मात्र प्रयोग भइराखेको छैन भनेर भक्कानिन्छन् । प्रजातन्त्रको नाममा जे भइरहेको छ त्यो जनताका लागि भइरहेको छैन र तत्काल आफ्नो प्रवृत्तिमा सुधार गर्न उनीहरू नेताहरूलाई आग्रह पनि गर्दछन् । कम्तीमा सरकारले यो वृद्ध अवस्थामा भए पनि एउटा परिचयपत्र बनाइदियोस् र जीवनयापनका लागि सहज बन्दोबस्त मिलाइदियोस् भन्ने उनीहरूको माग छ ।
प्रजातन्त्र सेनानीहरूको सम्मान राष्ट्रले गर्नैपर्छ । उनीहरूलाई बिनाभेदभाव राज्यले माग पूरा गरी बाँच्न ढुक्कको वातावरण तयार गरिदिनु अत्यावश्यक छ । उनीहरूको सामान्य योगदानले मुलुकले प्रजातन्त्र प्राप्त गरेको होइन । वास्तवमा उनीहरूमाथिको सम्मान सिङ्गो लोकतन्त्रको सम्मान हो । यसले पछिल्लो पिँढीलाई पनि लोकतन्त्रका लागि जीवन उत्सर्जन र योगदान गर्न प्रेरित गरिरहनेछ ।
– बी. शर्मा