नानो कारको उत्पादन बन्द गर्ने घोषणा

नानो कारको उत्पादन बन्द गर्ने घोषणा


विश्वकै सबैभन्दा सस्तो कार मानिएको टाटा नानो कारको उत्पादन यसै वर्षदेखि बन्द हुने भएको छ । भारतकै ठूलो कार उत्पादक टाटा मोटर्सले विगत १० वर्षदेखि सानो आकारको नानो कारको उत्पादन गर्दै आएको थियो ।

अर्को वर्षको अप्रिलदेखि नानो कारको उत्पादन र बिक्री बन्द गर्न लागेको टाटा मोटर्सले जनाएको छ । भारतीय उपभोक्ताले त्यति नरुचाएको यस कारको उत्पादन लागत बढी रहेको बताइन्छ । ‘हामी नानो कारमा थप सुधार गर्न लगानी थप्ने स्थितिमा छैनौँ,’ टाटा मोटर्सका अध्यक्ष मयंक पारिकले बताए ।

टाटाले सन् २००९ मा निकै तामझामका साथ नानो कार बजारमा ल्याएको थियो । बजारमा शुरुका दिनमा यसको बजार मूल्य २ हजार २०० अमेरिकी डलर थियो । भारतीय प्रसिद्ध उद्योगी एवं टाटा समूहका पूर्व अध्यक्ष रतन टाटाको योजनामा उक्त कारको उत्पादन थालिएको थियो । ठूलो संख्याका भारतीयलाई सस्तोमा कार दिने सपना उनमा थियो । अहिले ८१ वर्ष पुगिसकेका रतनमा मोटरसाइकल, स्कुटरजस्ता दुईपांग्रे सवारी चढ्ने ठूलो संख्याका भारतीयलाई कार चढाउने तीव्र इच्छा थियो ।

विश्लेषकहरू पनि रतनको योजनामा सहमत देखिन्थे, किनभने लाखौँ भारतीयलाई यो कार बरदान साबित हुने अपेक्षा थियो । त्यसलगत्तै, विश्वभर यो कारले ‘विश्वकै सस्तो कार’को उपनाम पाएको थियो ।

तर, यो कारको बिक्रीमा मन्दी आयो । ‘यो मार्केटिङमा भएको असफलता हो,’ अटोकार इन्डिया म्यागजिनका सम्पादक होरमाज्द सोब्रब्जीले बताए, ‘यो कारलाई गरिबको कार भनियो र भारतीयहरू आफ्नो इज्जत, प्रतिष्ठाप्रति ज्यादै सचेत छन् । मोटरसाइकलको विकल्पमा यो कारले बजार लिन सक्थ्यो, तर बजार प्रवद्र्धन त्यस किसिमबाट भएन ।’

यो कारमा सुरक्षा पनि अर्को चासोको विषय थियो । कारको इन्जिनमा आगलागीका कैयौँ घटना भएका थिए । शुरुका दिनहरुमा यो कार प्रतिमहिना २५ हजार थान बिक्री गर्ने योजना थियो, तर एक–दुई वर्षभित्रै यसको प्रतिमहिना बिक्री सयमा झरेको थियो । सन् २०१३ मा टाटा मोटर्सले बिक्री बढाउन यो कारमा स्तरोन्नति गरेको थियो । भारतमा नानोसमेतका सानो मोडेलका अरू कारको पनि बिक्री बढ्न सकेन ।

‘एउटा सपनाको अन्त्य,’ दैनिक पत्रिका मिन्टको मुख्य समाचारको शीर्षकमा भनिएको छ ।