नेपालीलाई छाडेर विदेशीको लाइसेन्स नेपालीकरण !

नेपालीलाई छाडेर विदेशीको लाइसेन्स नेपालीकरण !


–छविलाल बगाले
विभिन्न देशले जारी गरेका सवारी चालक अनुमति–पत्र (लाइसेन्स) नेपालीकरण गर्न भन्दै दैनिक एक सय हाराहारी सेवाग्राही यातायात व्यवस्था कार्यालय एकान्तकुना पुग्छन् । तर, कार्यालयले भने नेपालीलाई बन्द गरेर विदेशीलाई मात्रै सेवा दिइरहेको छ ।

लाइसन्स नेपालीकरणका लागि पुगेका सेवाग्राही ‘स्पष्ट नियम र कार्य्विधी छैन’ भन्ने जवाफ सुनेर फर्किन्छन् । यातायात व्यवस्था विभागले विदेशमा बनाइएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) नेपालीकरण गर्ने क्रममा अनियमितता भएको भन्दै बन्द गर्न निर्देशन दिएको थियो । विदेशी लाइसेन्स नेपालीकरण गर्ने सेवा अब मुलुकभर दिने उद्धेश्यले पनि हाललाई बन्द गर्न निर्देशन दिएको यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख चेतप्रसाद उप्रेतीले घटना र बिचारलाई जानकारी दिए । प्रदेशको ऐन नियम बनेपछि सेवा सुचारु हुने प्रमुख उप्रेती दावी गर्छन् ।

के छ ऐनमा ब्यवस्था
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५२ अनुसार कसैले विदेशी मुलुकबाट प्राप्त सवारी चालक अनुमति–पत्रमा उल्लेख साधन चलाउन दरखास्त दिए अधिकार प्राप्त अधिकारीले त्यस्तो व्यक्तिबाट आवश्यक दस्तुर लिई चालक अनुमति–पत्र (लाइसेन्स) दिन सक्ने व्यवस्था छ । भदौ २४ अघि यही व्यवस्थामामा टेकेर विदेशी लाइसेन्सको नेपालीकरण गरिन्थ्यो पनि । तर, नियम र कार्यविधि स्पष्ट नभएको भन्दै यातायात व्यवस्था कार्यालय भदौ अन्तिम साताबाट यो सेवा नै बन्द गरेको छ ।

सेवामा विदेशीलाई काखा, स्वदेशीलाई पाखा
विदेशमा बसेका नेपाली वा गैर–आवासीय नेपाली, कुनै पेशा वा व्यवसाय अँगालेर नेपालमा लामो समयदेखि बसेका विदेशी नागरिक तथा कुटनीतिक नियोगका कर्मचारीको लाइसेन्स नेपालीकरण गर्ने व्यवस्था छ । तर, विभागले आफ्ना नागरिकलाई सेवा बन्द गरेर विदेशीलाई भने सेवा दिइरहेको छ । तर, यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख उप्रेती भने नेपालीकरणमा अन्योल रहेकोले विदेशी लाइसेन्स त्यागेर नेपाली लिनु नै छिटो हुने बताउँछन् ।

नेपालीकरण गर्दा झन्झट र कष्ट कम
विदेशी लाइसेन्स नेपालीकरण गर्न दैनिक एक सय हाराहारी सेवाग्राही यो कार्यालय आउँछन् । जसमध्ये भारतीय सेनामा कार्यरत र खाडी मुलुकमा हेभी गाडी चलाइरहेका बढि छन् । विदेशमा सजिलै लाइसेन्स लिएकाहरु नेपाल आएपछि झन्झटिलो र कष्टकर प्रक्रिया पुरा गरेर लाइसेन्स लिन चाहादैनन् । जसको लागि सजिलो उपाय हो–नेपालीकरण । कार्यालयका अनुसार नेपालीकरणका लागि नक्कली र म्याद सकिएको लाइसेन्स लिएर आउनेको संख्या पनि धेरै छ । यातायात व्यवस्था विभागले यो कार्यालयलाई मात्रै लाइसेन्स नेपालीकरण गर्ने जिम्मा दिएको छ ।