‘स्वाइन फ्लुबाट बच्नुहोस्’

‘स्वाइन फ्लुबाट बच्नुहोस्’


काठमाडौं उपत्यकामा स्वाइन फ्लुका बिरामीहरूको सङ्ख्या ठूलो मात्रामा बढ्न थालेपछि माहामारीको रुप लिने आशंका गरिएको छ । कडा प्रकारको रुघा खोकी लागेर अस्पताल पुगेकामध्ये एक जनाको मृत्यु भएको र धेरैमा स्वाइनफ्लुको लक्षण भेटिएपछि आममानिस सचेत हुनुपर्ने अवस्था आएको हो ।

सरुवा रोग अस्पताल टेकु र ओम अस्पताल चावहिलमा बिरामीहरूको चाप निकै बढेको छ । एक मिटर परसम्मका मानिसमा सर्न सक्ने र रोग लागिसकेपछि घातक असर गर्ने भएकोले स्वाइन फ्लुलाई सम्वेदनशील र गम्भीर रोगका रूपमा लिइन्छ । स्वाइन फ्लुको औषधि सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने भएकोले बजारमा खरिद गर्न नपाइने बताइन्छ ।

कडा खालको रुघा–खोकी लाग्ने, नाकबाट पानी बगिरहने, ज्वरो आउने, घाँटी तथा शरीरका विभिन्न भाग दुःख्ने र कमजोर महशुस हुने जस्ता लक्षणहरू स्वाइन फ्लुमा देखिने चिकित्सकहरूको भनाई छ । यो समयमा स्वाइन फ्लुको सम्भावना बढ्ने भएकोले सचेत हुनुपर्ने सल्लाह ख्यातिप्राप्त छातिरोग विशेषज्ञ एवम् फिजिसिएन ओमप्रकाश अधिकारीको छ ।

डा. अधिकारीको भनाइअनुसार मास्क लगाउने, पटक–पटक हात धुने, भिडभाडमा नजाने, रुघाखोकीका बिरामीको नजिक सकेसमम नबस्ने र धेरै चिसो तथा धुलो र धुँवा भएको क्षेत्रमा हिँडडुल नगर्नाले रोग लाग्नबाट बच्न सक्ने सम्भावना रहन्छ । कतिपयले रुघाखोकी लागेका बेला मदिरा सेवन गर्ने पनि गर्दछन्, तर स्वाइन फ्लुका बिरामीहरूले अल्कोहल ग्रहण गर्नै नहुने चिकित्सकको भनाई छ ।