चिया बेचेर नेपालले कमायो ३ अर्ब

चिया बेचेर नेपालले कमायो ३ अर्ब


  • छविलाल बगाले

भारत लगायतका मुलुकमा नेपाली चियाको माग उच्च छ । आर्थिक बर्ष २०७४/७५ मा मात्रै ३ अर्ब २५ करोड १७ लाख मूल्यको नेपाली चिया विदेश निर्यात भएको छ । प्रत्येक बर्ष निर्यात बढेपनि चिया उद्यमीको समस्या भने यथावत छ । संभावना भएर पनि राज्यको उपेक्षामा परेको चिया नेपालबाट निर्यात हुने प्रमुख वस्तुमध्ये एक हो । पछिल्ला दिनमा विदेशमा नेपाली चियाको माग उच्च रहेको तर सोचेअनुरुपको निर्यात गर्न नसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनाल बताउँछन् । उनका अनुसार सरकारले चियाको ‘ब्रान्डिङ’ गर्न नसक्दा निर्यातमा समस्या भएको छ ।

आर्थिक बर्ष २०७४÷७५ मा चियाको निर्यात सबैभन्दा बढी २ अर्ब ८७ करोड १३ लाख बमुल्य बराबरको चिया भारतमा निर्यात भएको तथ्यांक भन्सार विभागसँग छ । यसका साथै नेपालको सिटिसी र अर्थोडक्स चिया जर्मनी, संघीय रूस, चेक रिपब्लिक, संयुक्त राज्य अमेरिका, चीन, फ्रान्स, जापान, क्यानाडा लगायतका मुलृुकमा निर्यात हुँदैं आएको छ । नेपाली चिया निर्यातको करिब ८८ प्रतिशत भारतसँग कारोबार हुने गरेको हिमालयन अर्थोडक्स चिया एशोसिएसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाको भनाई छ । ‘सरकारले चियाको ब्रान्डिङ गर्न नसक्दा नेपाली चियाको फाइदा भारतले उठाइरहेको छ ।’ उनले भने, ‘सरकार बेलैमा सचेत हुन आवश्यक छ ।’ भारतले नेपाली चिया लगेर ‘मेड इन इन्डिया’ का नाममा अन्य मुलुकहरुमा समेत निर्यात गर्दै आइरहेको छ ।

चिया उद्यमीले चिया क्षेत्रमा देखिएका समस्या समाधानमा सरकारले चासो नदिएको गुनासो गरेका छन् । सरकारले चिया क्षेत्रलाई प्राथमिकतामा नराखेको र अर्गानिक चियालाई निर्यात गर्दा समेत उचित मूल्य नपाएको गुनासो गर्दै आएका छन् । सरकारले चिया उत्पादक तथा निर्यातकर्तालाई थप प्रोत्साहन गर्न र कृषिक्षेत्रमा आत्मनिर्भरतातिर लाग्नु जरुरी छ । नेपालको प्रमुख निर्यात हुने वस्तु चियामा पछिल्लो समय लगानी बढ्न भने सकेको छैन । बजारीकरणको समस्याले उद्योगीहरू थप लगानीका लागि तयार हुन सकेका छैनन् । चिया उद्योगमा लगानी बढ्न नसक्नुको अर्को कारण मजदुर र किसानसँगको बढ्दो असमझदारी बन्न पुगेको छ ।

मजदुर ज्याला विवाद र हरियो पत्तीको मूल्य समायोजनलगायतका समस्याले बर्षेनी चिया उद्योगमा समस्या आउने गरेको छ । मजदुर आन्दोलन, लेनदेनको असमझदारी, चियामा लाग्ने रोगजस्ता समस्याले लगानीकर्ता पछुताउने अवस्था छ । ‘भारतमा सरकारले किसानलाई चिया खेतीका लागि बर्षेनि अनुदान दिन्छ ।’ एक उद्यमीले भने, ‘मल, बिउविजनमा मात्र होइन, सिँचाइ र प्राविधिक जनशक्ति व्यवस्थापनमा पनि त्यहाँ सरकारी अनुदान छ । तर, नेपाली किसानले यस्तो अनुदान त परै जाओस्, सरकारबाट सामान्य प्राविधिक सहयोग पनि पाउँदैनन् ।’

नेपाली चियाको अन्तराष्ट्रिय बजार राम्रो भए पनि यसलाई प्रवद्र्धन गर्ने सरकारी नीति प्रभावकारी हुन नसकेको हिमालयन अर्थोडक्स चिया एशोसिएसनका अध्यक्ष बास्कोटाको भनाई छ । जसका कारण नेपालको चियाले अन्तराष्ट्रिय बजार गुमाउनुपर्ने अवस्था बढ्दै गएको छ ।