माओवादीको खेलकुद कब्जा गर्ने रणनीति कस्तो लाग्यो ?

माओवादीको खेलकुद कब्जा गर्ने रणनीति कस्तो लाग्यो ?


श्रीविक्रम भण्डारी
हरेक दिन नयाँ-नयाँ दृश्यले गर्दा यतिबेला नेपाली खेलकुद कुनै सिनेमाभन्दा कम देखिएको छैन । फटाफट परिवर्तन भएका यी दृश्यले खेलकुदको अस्तित्व र प्रतिष्ठामाथि प्रश्न खडा गरेका छन् । परिवर्तनको नाममा खेलकुदमा के हुन लागेको त्यसको भनक कसैले पाउन सकेका छैनन् । हेडक्वाटरको ठाडो आदेशमा कथा र पटकथाले मागेका पात्रहरूको चयनबिना निर्देशन गरिरहेका सदस्य सचिव लामाले खेलकुदलाई कुन मार्गका डोर्‍याउन लागेका हुन् त्यो अहिले चिन्ताको विषय बनेको छ । युवराज लामा राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव भएदेखि पाँच विकास क्षेत्रका क्षेत्रीय खेलकुद विकास समिति पर्ुनर्गठन भएका छन् । त्यस्तै ७५ जिल्लाका जिल्ला खेलकुद विकास समितिमा नयाँ नियुक्ति गरिएको छ । वास्तविक रूपमा भन्नुपर्दा राष्ट्रिय खेलकुद परिषद् खेलकुदको सर्वोच्च निकायभन्दा एकीकृत माओवादीको खेलकुद परिषद् बन्न पुगेको छ । माओवादीले समग्र खेलकुदको विकास र परिवर्तनका लागि यो कदम उठाएको व्याख्या गरे पनि उसको नियतमा अहिले विभिन्न शङ्का, उपशङ्का गरिन थालेको छ । सदस्यसचिव लामाको यो कदमप्रति असन्तुष्टि जाहेर गर्दै माओवादीकै भ्रातृ सङ्गठन नेपाल गणतान्त्रिक खेलकुद महासङ्घले असहयोग गर्ने भनेपछि लामाका हरेक कदम विचाराधीन र शङ्कास्पद बन्न पुगेका छन् । तर्सथ माओवादीको खेलकुद कब्जा गर्ने यो रणनीतिबारे खेलकुदसँग सम्बद्ध व्यक्तिले आफ्नो धारणा यसरी राखेका थिए ।
पीताम्बर तिम्सिना, उपाध्यक्ष राखेप
माओवादीको खेलकुद कब्जा गर्ने रणनीतिभन्दा पनि जिल्ला र क्षेत्रको सर्न्दर्भमा सम्मानित सर्वोच्च अदालतले अन्तिम किनारा नलगाउन्जेलसम्मका लागि गत असार ९ गते अन्तरिम आदेश जारी गरिसकेको छ । जसले गर्दा कर्मचारी अन्योलमा परेका छन् । नयाँ पदाधिकारीसँग सम्बन्ध राखेर कार्य अगाडि बढाउँदा सर्वोच्च अदालतको अपहेलना, विधि र कानुनी शासनको उल्लङ्घन हुन जान्छ । तर्सथ अदालतको अन्तिम फैसला नहुन्जेल आर्थिक कारोबार, दैनिक प्रशासन र खेल गतिविधि सञ्चालन गर्न मिल्दैन । तर्सथ खेलकुदको कायापलट गर्ने कुरामा स्वर्णर्ीम शब्द खर्च गर्दै आउनुभएका सदस्यसचिव लामालाई अदालतको आदेशले नराम्रोे झड्का दिएको छ । मुलुकमा एमाले र माओवादीको संयुक्त सरकार रहेको वर्तमान अवस्थामा पनि एमालेलाई पूर्ण रूपमा बाइपास गरेर माओवादीले हिँड्नु दर्ुभाग्य भएको छ । छलफल र सल्लाहबिना मेरो गोरुको बाह्रैटक्का भनेर हिँडेपछि त्यसबाट निस्कने चुनौती र परिणामको पनि सदस्यसचिवले सामना गनुपर्छ ।

मनोज घिमिरे, सञ्चारकर्मी
विगतमा हरेक राजनीतिक शक्तिले आफू खेलकुदको नेतृत्वमा आउँदा सबै तहमा राजनीतिक नियुक्ति गर्ने गरेको कसैबाट छिपेको छैन । वर्तमान अवस्थामा यसलाई माओवादीले पनि निरन्तरता दिएको छ । आफू नेतृत्वमा आउँदा माओवादीले आफ्नो पार्टीका कार्यकर्तालाई नियुक्ति गर्नु आफंैमा खराबचाहिँ पक्कै होइन । अलिकति खेलकुदमा योगदान गर्नेभन्दा राजनीतिक योगदान गर्नेहरूलाई प्राथमिकता दिएका कारणले यस्तो देखिएको मात्र हो । उदाहरणका लागि क्षेत्रीय खेलकुद विकास समितिमा पूर्वाञ्चल फुटबल क्षेत्रमा परिचित किरण र्राई तथा मध्यमाञ्चलमा तेक्वान्दो खेलाडी राजाराम कार्कीलाई नेतृत्व दिइएको छ । तर, अन्य तीन विकास क्षेत्रमा भने खेलकुदभन्दा बाहिरका व्यक्तिको चयन गरिएको छ । यसमा अलि सुधारेको भए राम्रो हुन्थ्यो । यसले सदस्यसचिव लामाको नेतृत्वको रुचिमा काम गर्ने चाहना देखिए पनि कार्यान्वयनमा समस्या उत्पन्न पनि हुनसक्छ । खेलकुदका विज्ञहरूलाई साथमा लिई राजनीतिक नियुक्ति गरिए पनि निर्णयको अभावमा विज्ञहरूको सल्लाहलाई आत्मसात् गर्न सके कार्यान्वयनमा पनि सहयोग हुनजान्छ । निर्णय गर्ने सवालमा पनि खेलकुद जान्ने वा नजान्ने जे भए पनि हाम्रै कार्यकर्ताको मात्रै सुनुवाइ हुनुपर्छ भन्ने मान्यता राखेमा यसले नेपाली खेलकुदको हविगत नराम्रोे पनि हुनसक्छ ।

मीनकृष्ण महर्जन, पूर्वकोषाध्यक्ष राखेप
सर्वप्रथम यो सरकारले खेलकुद बुझेको, जानेको व्यक्ति सदस्यसचिवमा ल्याएर एकदमै राम्रोे कार्य गरेको छ । यो नेपाली खेलकुद इतिहासमा पहिलो घटना हो जसले सकारात्मक सन्देश पनि दिएको छ । यसका लागि सरकार धन्यवादको पात्र बनेको छ । जहाँसम्म माओवादीले खेलकुद कब्जा गर्ने दुस्साहस गरेको छ त्यो हिसाबले खेलकुद चल्दैन । वर्तमान राजनीतिक तरल अवस्थामा कसैले कहीँ पनि तानाशाही लाद््न पाउँदैन । अझ खेलकुदजस्तो रचनात्मक ठाउँमा तानाशाही लाद्दा खेलाडीहरूमा ज्यादै नकारात्मक प्रभाव पर्छ । राजनीतिक दलहरू राष्ट्रिय सरकारको निर्माणतर्फ अग्रसर भइरहेको अवस्थामा सहमति र सहकार्य गरेर अगाडि बढ्नुपर्छ । तर, यहाँ माओवादीले खेलकुदलाई एकलौटी रूपमा चलाउन खोजेको देखिएको छ । तानशाही प्रवृृत्ति लोकतन्त्रमा कति सुहाउँछ त्यो माओवादीले स्वयम् बुझ्नुपर्ने हो । तानाशाहीकै कारणले दुई सय ४० वर्षको शाही शासन समाप्त भएको इतिहास हाम्रोेसामु भएकोले यो विषयमा माओवादी गम्भीर हुनु जरुरी भइसकेको छ । सत्ताको मातमा अर्काको अस्तित्वलाई बिर्सनुभन्दा दूरदर्शी भएर काम गर्ने बेला भएको छ । जुन समग्र रूपमा माओवादी र खेलकुदका लागि राम्रोे हुनेछ ।

योगेन्द्र भण्डारी, खेलप्रेमी
वर्तमान अवस्थामा माओवादीको यो कदमले खेलप्रेमीहरूलाई सोच्न बाध्य पारेको छ । आखिर उनीहरूको सोच के हो – खेलकुद कुनै पनि राजनीतिक दलको पेवा होइन । राजनीतिक नियुक्तिसँगै आफूलाई काम गर्न सजिलोका लागि केही महत्त्वपूर्ण ठाउँमा फेरबदल र नियुक्ति गर्नु स्वाभाविकै हो, त्यो गर्नु पनि पर्छ । तर, परिवर्तनका नाममा खेलकुदको पूरै संरचनालाई हल्लाउने कामचाहिँ कसैले गर्न मिल्दैन । खेलकुदमा माओवादी आएपछि खेलकुदको बारेमा सोच्नु आफैंमा स्वागतयोग्य कुरा हो । तर, विडम्बना † माओवादीले खेलकुदबारे सोच्ने क्रममा खेलकुदसँग गोरु बेचेको नातासमेत नभएका आफ्ना कार्यकर्तालाई नियुक्ति गर्नचाहिँ मिल्दैन । हो, यस्तो कुरा मुलुकमा माओवादीको एकलौटी सरकार भएको बेलामा गर्न सकिने सम्भावना भए पनि अहिलेको अवस्थामा भने कदापि मिल्दैन । यो बेला मुलुकलाई हरेक दृष्टिबाट निकासको आवश्यकता भएकोले समग्र खेलकुदको हितका लागि सहकार्य र सहमति गरेर अगाडि बढ्नु बुद्धिमानी हुनेछ । मलाई लाग्छ सदस्यसचिव युवराज लामाले यसबारे दूरदर्शी भएर सोच्नुहुनेछ ।

दीपक श्रेष्ठ, राष्ट्रिय खेलाडी
यो उहिलेदेखिको परम्परा र चलन हो । सत्तामा पुगेपछि सबै राजनीतिक दलले खेलकुदलाई आफूखुसी आफ्नोअनुकूल चलाउँदै आएका छन् । अहिले माओवादीले खेेलकुद हाँकेको छ, उसले आफ्नो सुविधाअनुरूप चलाउनु स्वाभाविकै हो । यसमा माओवादीले खेलकुद कब्जा गर्न लागेको भनेर भन्न मिल्दैन । यस्तो आरोप लगाउनुअघि विगतको खेलकुदको इतिहास हर्ेर्नुपर्ने हुन्छ । साँचो रूपमा भन्नुपर्दा खेलकुदमा यस्तो भाँडभैलो मच्चिन नदिन सर्वप्रथम २०४७ सालको खेलकुद ऐनलाई परिवर्तन गर्नुपर्छ । उक्त ऐनमा एउटा व्यक्ति अर्थात् सदस्यसचिवलाई खेलकुदको सर्वशक्तिमान बनाएको हुँदा यस्तो अवस्थाको सिर्जना भएको हो । जबसम्म खेलकुदको सम्पूर्ण वागडोर एकजनाको हातमा हुन्छ तबसम्म यो हस्तक्षेप र चलखेललाई कसैले रोक्न सक्तैन । तर्सथ २०६७ सालको राष्ट्रिय खेलकुद नीतिअनुसार २०४७ सालको ऐन पारित नभएसम्म खेलकुदमा यस्तै भइरहन्छ, यसमा दुईमत छैन । तर्सथ परिवर्तनका नाममा माओवादीले चालेको कदमप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ चकित हुनुपर्ने आवश्यक पनि छैन । जबसम्म राजनीतिक दलहरूले खेलकुदलाई आफ्नो एजेन्डामा प्राथमिकताका साथ राख्दैनन् तबसम्म खेलकुदको आमुल परिवर्तन हुने कुरालाई सोच्न पनि सकिँदैन ।

विम्बल्डनमा सारापोभाको उत्कृष्ट प्रदर्शन
हाल बेलायतमा सञ्चालन भइरहेको सन् २०११ को विम्बल्डन टेनिस प्रतियोगितामा टेनिससुन्दरी मारिया सारापोभाले उत्कृष्ट खेलको प्रदर्शन गर्न सफल भएकी छिन् । टेनिसको ताज मानिने यो ग्रान्डस्लाममा सारापोभाले उत्कृष्ट खेलसँगै उनको पोसाकले पनि टेनिसप्रेमी दर्शकको मन आकरि्षत गर्न सफल भएको छ । सेतो पहिरनमा परीजस्तै सुन्दरी देखिएकी सारापोभाका प्रत्येक फोरह्यान्ड र एसहरूले अहिले निकै चर्चा पाएका छन् । अझ सारापोभाले ती सटहरू प्रहार गर्दा फरक्क र्फकने उनको स्कर्टले दर्शकहरूलाई उनको सुन्दरताको रसास्वादन गराइरहेको छ । टेनिसलाई अझ लोकप्रिय बनाउन महिला खेलाडीलाई छोटो लुगामा उतार्दै आएको विश्व टेनिस महासङ्घको यो रणनीतिले अहिले खेलाडी र दर्शकहरूलाई रोमाञ्चित र उत्साहित पार्न सफल भएको छ । जसले गर्दा खेलाडी र दर्शकको सामीप्य अझ बढ्न पुगेको छ ।
विम्बल्डनको नियमित दर्शक रहेका विश्वका चर्चित क्रिकेटर सचिन तेन्दुलकर यतिबेला पत्नी अञ्जलीसँगै बेलायत पुगेका छन् । प्रत्येक दिन विम्बल्डनको रोम्ााञ्चमा डुबिरहेका सचिनले हालै ६ पटकका विम्बल्डन च्याम्पियन रोजर फेडररको तेस्रो चरणको खेल हेर्न पनि भ्याएका थिए । फेडररलाई सफलता दिलाउन उनले प्रहार गरेका हरेक फोरल्यान्ड सटमा ताली बजाउँदै सचिनले प्रोत्साहन गरेका थिए । फेडररले तेस्रो चरणमा विजय हासिल गरेपछि त्यसको भोलिपल्ट दुवै खेलाडीले रोयल बक्समा बसेर सँगै टेनिस हेरेका थिए । सोे क्रममा फेडररले क्रिकेटको बारेमा बताउँदा सचिन तीनछक्क परेका थिए । फेडररले आफूले गल्फजत्तिकै क्रिकेटलाई पनि नजिकबाट जानेको बुझेको बताएपछि दुई महान् खेलाडी अझ नजिकिन पुगेका थिए ।
विश्व खेलकुद जगत्का दुवै महान् खेलाडीले विम्बल्डन टेनिस कोर्टमा बसेर गरेको भलाकुसारीको अहिले खेलकुद क्षेत्रमा निकै चर्चा हुन पुगेको छ । विश्वका चर्चित समाचारपत्रहरूले यो भेटघाटलाई विशेष प्राथमिकता दिँदै आवरण पेजमा उनीहरूको बारेमा समाचार प्रकाशित गरेका छन् । भेटपछि सचिनले फेडररको प्रशंसा गर्दै उनको सरल स्वभाव र क्रिकेटप्रतिको लगावको निकै प्रशंसा गरेका थिए । सचिनले फेडरर महान् टेनिस खेलाडी मात्रै नभई मृदुभाषी भएको पनि बताएका छन् । त्यस्तै सचिनसँगको भेटलाई अविष्मरणीय भन्दै फेडररले सचिन विश्व क्रिकेटको महान् खेलाडी भएको बताउँदै विम्बल्डनमा आफूले भारतीय दर्शकबाट पाएको र्समर्थनको खुलेर प्रशंसा गरेका थिए ।

ओलम्पिक छनोटमा तेक्वान्दोलाई धक्का
विगतका वर्षहरूमा निरन्तर रूपमा ओलम्पिक छनोट चरणमा भाग लिँदै आएका तेक्वान्दो खेलाडी यसपटक वञ्चित भएका छन् । आगामी वर्ष बेलायतको लन्डनमा आयोजना हुने ओलम्पिक प्रतियोगितालाई मध्यनजर राखेर नेपाल तेक्वान्दो सङ्घले खेलाडीहरू छनोट गरेर प्रशिक्षण गरेेको थियो । तर, सरकारले पर्याप्त बजेट उपलब्ध नगराएका कारणले तेक्वान्दो खेलाडीको ओलम्पिक छनोटमा खेल्न अर्समर्थ भएका हुन् । सङ्घले ओलम्पिक छनोटमा सहभागिताका लागि दुई महिनाअघि नै राष्ट्रिय खेलकुद परिषद्मार्फत १० लाख रपैयाँ मन्त्रालयसँग माग गरेको थियो । यही असार १६ देखि १९ गतेसम्म अजरबैजानमा हुने छनोट प्रतियोगिताका लागि मन्त्रालयले जम्मा पाँच लाख मात्रै दिने निर्णय गरेपछि सङ्घले भाग नलिने निर्णय गरेको हो । यो छनोट प्रतियोगिताका लागि सङ्घले महिलातर्फ मनिता शाही, आयशा शाक्य र पुरुषतर्फ आसिस महर्जन र रन्जन श्रेष्ठलाई छनोट गरेको थियो । यसबारेमा जानकारी दिँदै सङ्घका अध्यक्ष प्रकाशशमशेर राणाले पर्याप्त बजेट नभएकै कारणले छनोट चरणमा जान नसकेको स्पष्ट पारेका छन् । राणाले मन्त्रालयले दिएको पाँच लाखले खेलाडी, प्रशिक्षक र टोली नेतालाई जान आउन र खान बस्नका लागि नपुग्ने भएकोले यस्तो दुःखद् निर्णय गर्नुपरेको बताए ।

करातेमा भक्तपुर डोजो च्याम्पियन
जिल्लास्तरीय सितोरियो कराते प्रतियोगितामा भक्तपुर डोजोले टिम च्याम्पियनको उपाधि हात पारेको छ । उक्त प्रतियोगितमा भक्तपुर डोजोले नौ स्वर्ण पाँच रजत र आठ कास्य जित्दै उपाधि हात पारेको हो । दोस्रो स्थानमा रहेको ठिमी डोजोले ६ स्वर्ण चार रजत र तीन कास्य जितेको थियो भने चार स्वर्ण एक रजत र एक कास्य जितेको लालीगुराँस डोजो तेस्रो भएको थियो । भक्तपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित एकदिने प्रतियोगिताको पुरुष २० केजी तौल समूहमा स्वर्ण पदक विजेता भक्तपुर डोजोका एरिस शर्मा उत्कृष्ट खेलाडी चुनिए । त्यस्तै महिलातर्फ ४० केजीमा स्वर्ण विजेता रश्मिला थापामगर उत्कृष्ट भएकी थिइन् ।
त्यस्तै भक्तपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको दौड प्रतियोगितामा सोनाम स्वर्ण तामाङले खुल्ला १० किलोमिटर दौड प्रतियोगितामा स्वर्ण जितेका छन् । उक्त पुरुष १० किलोमिटर दौड प्रतियोगितामा सोनामले निर्धारित दूरी ३८ मिनेट ४६.५ सेकेन्डमा पार गरेका थिए । रजत जित्न सफल भक्तपुरका सुरेन्द्र ग्वाछाले ४० मिनेट ११ सेकेन्डको समय लगाएका थिए । त्यस्तै, भक्तपुरकै नवीन श्रेष्ठले ४० मिनेट २२ सेकेन्डमा उक्त दूरी पार गर्दै कास्य पदकमा चित्त बुझाए । प्रतियोगिताका विजयी खेलाडीले क्रमशः नगद तीन हजार, दुई हजार र एक हजारका साथै मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगिताका विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा, नेपाल कराते महासचिव एवम् नेपाल सितोरियो कराते सङ्घका अध्यक्ष केदारबाबु सिवाकोटी, प्रतियोगिता संयोजक अन्तर्राष्ट्रिय रेफ्री राजेन्द्र कपालीलगायतले उक्त पुरस्कार वितरण गरेका थिए । सो अवसरमा सदस्य लामाले जिल्ला खेलकुद विकास समितिको निरीक्षण गर्नुका साथै कर्मचारीलाई प्रशासनलाई चुस्तदुरुस्त राख्नका लागि निर्देशन दिएका थिए भने भक्तपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख धनअर्जुन र्राईले वारि्षक कार्यक्रम पेस गरेका थिए ।

दिप्सनलाई तेस्रो डान
अखिल नेपाल तेक्वान्दो एकेडेमीको आयोजनामा चौथो कुकिवन डान वितरण कार्यक्रम हालै सम्पन्न भएको छ । गौशालास्थित गिनिज इन्टरनेसनल एजुकेसन फाउन्डेसनको हातामा आयोजित सो कार्यक्रममा एकेडेमीका खेलाडी दिप्सन कार्कीलाई विश्व तेक्वान्दो महासङ्घको आधिकारिक संस्था कुकिवनवाट मान्यता प्राप्त तेस्रो डान ब्ल्याकबेल्ट प्रदान गरिएको थियो । १६ वर्षको उमेरमा कुकिवन तेस्रो डान प्राप्त गर्ने दिप्सन नेपालकै सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् । सो अवसरमा अन्तर्राष्ट्रिय रेफ्री तथा प्रशिक्षक एन्टा अध्यक्ष अनुयाज गौतमले दिप्सनलाई डानको प्रमाणपत्र प्रदान गरेका थिए । गिनिज इन्टरनेसनल एजुकेसन फाउन्डेसनका निर्देशक अनिरुद्र अर्यालको अध्यक्षमा भएको उक्त कार्यक्रममा दिप्सनले सबैभन्दा कम उमेरमा तेस्रो डान पाउन सफल भएकोमा आफू गौरवान्तित भएको बताए । दिप्सनले यो सफलताप्रति खुसी प्रकट गर्दै भविष्यमा उत्कृष्ट खेलाडी र प्रशिक्षक बन्ने बताए ।
दिप्सनले सन् २००४ मा प्रथम र सन् २००६ मा दोस्रो पुम डान प्राप्त गरेका थिए । यसैगरी २००५ मा भारतको दार्जिलिङमा भएको प्रथम विश्व युनाइटेड तेक्वान्दो प्रतियोगितामा पुम्सेतर्फ स्वर्ण पदक जितेका थिए । त्यस्तै, दक्षिण कोरियाको जेजु सहरमा भएको जेजु अन्तर्राष्ट्रिय प्रतियोगितामा दिप्सनले स्पाइरिङ तथा पुम्सेतर्फ दोस्रो स्थान हासिल गरेका थिए । सन् २००९ मा प्रथम एन्टा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दिप्सनले स्वर्ण पदक जितेका थिए । दिप्सनको प्रतिभाको कदर गर्दै गिनिज एजुकेसन फाउन्डेसनले उनलाई ११ र १२ कक्षाका लागि छात्रवृत्ति प्रदान गरेको छ ।