राज्यमन्त्रीलाई झुक्याउँदै प्रधानमन्त्रीसम्म

राज्यमन्त्रीलाई झुक्याउँदै प्रधानमन्त्रीसम्म


सञ्चारकर्मीमाथि ज्यानमारा हमला गर्ने अपराधीलाई पक्रिएर कारबाही गर्नुपर्ने ठाउँमा उल्टै संरक्षण दिएर ‘होनहार एमाले कार्यकर्ता’को पगरी गुथाउन शरम नमान्ने खनालसरकारको निछट्टोपनको उपयोग गर्दै व्यक्तिगत लाभ उठाउनेहरू थुप्रै होलान् । यसरी नाजायज लाभ लिँदै राज्यलाई ठग्न तम्सने सूचीमा थपिएका छन्- बैतडी घर भई दिल्ली बस्दै आएका दुई दलित युवा- जित विश्वकर्मा र मनोज परियार । ठगका अनेक रूप भन्ने भनाइलाई चरितार्थ तुल्याउँदै उनीहरूले आर्थिक निकासाका लागि ठगीको एउटा प्रपोजल फाइल प्रधानमन्त्री झलनाथसमक्ष पेस गरेका छन् । ठग्ने उद्देश्यले नै उनीहरू विगत तीन महिनादेखि काठमाडौं कलङ्कीमा डेरा जमाएर बसेका थिए ।
मनोज र जित नामका यी दलित युवाले बागबजारस्थित ‘अन्नपूर्ण स्ट्याम्प हाउस’बाट कहीँकतै दर्ता नभएको ‘साउथ एसिया दलित फोरम’ नामक संस्थाको नाममा लेटरप्याड र छाप बनाए अनि सिँचाइ राज्यमन्त्री दलबहादुर सुनार र सभासद् पुरनसिंह दयाल -एमाले), दलित आयोगका अध्यक्ष विजुल विश्वकर्मा, सभासद् खड्गबहादुर बस्याल -काङ्ग्रेस) र सभासद् हरि श्रीपाइली -माओवादी) तथा डीएनएफका महासचिव जसबहादुर विकलगायत १३ जना सभासद् र नेताहरूका नाउँमा निमन्त्रणा-पत्र तयार गरे । पहिले नै राज्यमन्त्री सुनारलाई प्रभावमा पारेकाले उनकै नेतृत्वमा दिल्लीमा अन्तर्राष्ट्रिय स्तरको गोष्ठी हुन लागेको र त्यसैमा उल्लेखित व्यक्तिहरूलाई सहभागिताको अवसर दिलाउन लागेको विश्वास दिलाउन उनीहरूलाई कुनै कठिनाइ परेन । यसरी राज्यमन्त्रीकै नाउँबाट निवेदनसहितको ६ लाखभन्दा बढीको प्रपोजल प्रधानमन्त्रीसमक्ष पेस गरेका उनीहरू दिल्लीमा पनि लामै समयदेखि ठग्दै आएका व्यक्ति हुन् भन्ने कसैले भेउ नै पाएनन् । यति मात्र नभई निजहरूले भारतका दलित नेताहरूको नाम लिएर उनीहरूसँग भेटघाट गराउने र सर्म्पर्क बनाइदिने भन्दै सोझा राज्यमन्त्री सुनारलगायतका दलित नेताहरूलाई प्रभावमा पारी उनीमार्फत प्रधानमन्त्रीलाई भेट्न पनि सफलता पाएका छन् ।
निवेदनमा कार्यक्रमको मिति ०६८ जेठ ५-६ -तद्अनसार मे १९-२०) भनिएको छ । तर, कार्यक्रम सरेको भन्दै राज्यमन्त्रीलगायतका दलित नेताहरूलाई झुक्याउन लागिपरेका ठगहरूले प्रधानमन्त्रीका स्वकीय सचिवहरू दीपक अमात्य र रामबाबु अधिकारीलाई पनि प्रधानमन्त्रीलाई सहमत गराएर आर्थिक निकासा गराइदिए १-१ लाख कमिसन दिने भन्दै प्रलोभनमा पारेको बालुवाटारका कर्मचारीबीच नै चर्चा चल्न थालेको छ । यस्तै ठग र डनहरूको जगजगी चल्दै आएको यतिबेलाको परिवेशमा अब यी ‘होनहार’ दलित युवाहरूलाई प्रधानमन्त्री झलनाथको कस्तो कृपादृष्टि रहने हो, हामी प्रतीक्षा गरिरहेका छौँ ।
– दिलनाथ गिरी र सन्त नेपाली, पर्वत, हाल ः काठमाडौं

कारबाही नभए तर्राई प्रवेशमा बन्देज
ठूला पार्टीको आडमा बच्दै आएका भ्रष्टाचारीलाई कानुनको कठघरामा नल्याइए तर्राईमा भ्रष्ट नेताको प्रवेशमा निषेध लगाउने तयारीमा हामी लागेका छौँ । सुडान घोटालामा नाम आएका तत्कालीन गृहमन्त्रीहरू कृष्णप्रसाद सिटौला, वामदेव गौतम, भीम रावल र गृहसचिवलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्छ, अन्यथा मधेस-तर्राई फोरम उनीहरूलाई तर्राईमा छिर्न नदिने घोषणा गर्दछ, विचार रहेस् । भ्रष्टाचारीलाई कारबाही गर्न सरकारलाई १५ दिनको म्याद दिन्छौँ, समयमा कारबाही नभए ठूला पार्टीका अध्यक्षको पुत्ला दहन गर्दै कडा आन्दोलनमा उत्रन्छौँ ।
– नारायण बैठा, वरिष्ठ उपाध्यक्ष, मधेस-तर्राई फोरम