नेपाली चेली ‘सिर्जना’ भर्जिनियामा चुनाव लड्दै

नेपाली चेली ‘सिर्जना’ भर्जिनियामा चुनाव लड्दै


अमेरिकाको उत्तरी भर्जिनियामा बस्दै आएकी नेपाली चेली सिर्जना उप्रेतीले भर्जिनियाको ८६ डिस्ट्रिक्टबाट निर्बाचनमा उम्मेदवारी दिने तयारी गरेकी छिन् । त्यहाँस्थित एक विशेष निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

समाजसेवी समेत रहेकी उप्रेतीले स्थानीय हर्नडनमा एक कार्यक्रमको आयोजना गरी आफूले उम्मेदवारी दिन लागेको खुलासा गरेकी हुन् । डेमोक्रेटिक पार्टीका युवा नेता तथा सीपीए हरि शर्माले जनमतलाई समेट्ने गरेर काम गर्न, पारदर्शी तरिकाले खर्च गर्न, आचारसंहिता पालना गर्न र साँच्चिकै समाजलाई सेवा गर्छु भन्ने प्रतिवद्धता व्यक्त सुझाव दिएका छन् । उनलाई त्यहाँस्थित डेमोक्रेटिक पार्टीको पनि साथ छ ।

उप्रतीले आफूले छोटो समयमा उम्मेदवारी दिएको, आफूसंग धेरै चुनौती रहेको बताइन् । यस क्षेत्रको विशेष निर्वाचन आगामी फेब्रुअरी १९ मा हुँदैछ । अमेरिकामा आईटीको पेशामा रहेकी उप्रेती ग्लोबल नेपाली टिभीकी संचालिका तथा पत्रकारहरुको संस्था ईन्जाकी बोर्ड अफ डाईरेक्टर पनि हुन । सामाजिक काममा जहिले पनि अघि सर्ने उनले भूकम्पका बेला नेपालका विभिन्न जिल्लाहरुमा पुगेर राहत वितरण गरेकी थिइन् । अमेरिकामा पनि उनले थुप्रै सामाजिक काम गर्दै आएकी छिन् । महिला सशक्तिकरणको आवाज पहिलेदेखि नै बुलन्द गर्दै आएकी उप्रेतीले यिनै विषयलाई समेटेर ‘तुइन’ नामक चलचित्र समेत निर्माण गरेकी थिइन् । कार्यक्रममा उप्रेतीले आफ्ना प्रस्तुतिमा आफूसंग अमेरिकी मतदातालाई तान्न सक्ने धेरै एजेण्डा भएको र मूलतः महिलाहरुकै मतले आफूले चुनाव जित्ने उनको दाबी छ ।

लामो समयदेखि अमेरिका बस्दै आएकी उप्रेतीलाई शुभचिन्तकहरुको पनि उत्तिकै माया र साथ छ भने निर्वाचनमा उम्मेदवारी दिन शुभचिन्तकहरुको ठूलै सहयोग पनि छ । उनलाई एएनए अध्यक्ष मेदिनी अधिकारी, ईन्जाका अध्यक्ष गुणराज लुइँटेल, एनआरएन भर्जिनियाका अध्यक्ष गोविन्द सुवेदी, पर्शुराम भण्डारी, कृष्ण सादगी, सुरेश अधिकारी, यादव जोशी, शिवहरि दाहाल (पिएचडी), अम्विका दाहाल, सुशीला सुवेदी, इनेपलिजका सम्पादक विश्व थापा, मनकुमारी घर्तिमगर, डा. देशराज संयोक, नवीन केसी, पण्डित राजेन्द्र खनाल लगायतले शुभकामना र सल्लाह दिएका थिए ।

संघर्षशील जीवन बिताउँदै अमेरिकाबाट विभिन्न विषयमा स्नातकोत्तर गरेकी उप्रेती चुनाव जित्नेमा विश्वस्त छिन् ।