प्रहरीको कल्याण कोष पनि नेताको खुराक

प्रहरीको कल्याण कोष पनि नेताको खुराक


-बसन्तराज कुँवर
कुनै समय म एसएसपी दर्जामा रहँदा आईजीपी प्रदीपशमशेर राणाको प्रमुख स्टाफ अफिसर थिएँ । त्यो दर्जालाई आईजीपीको पीए पनि भन्ने चलन छ । उहाँले एक दिन मसँग प्रहरीको कल्याण कोषलाई कसरी बढाउन सकिन्छ र त्यो पैसाबाट कसरी वहालवाला तथा भूतपूर्व प्रहरीका साथै तिनका परिवारको कल्याण गर्न सकिन्छ – भनेर सल्लाह माग्नुभयो । उहाँको पालोभन्दा पहिले कल्याण कोषमा रकम वृद्धि गर्न प्रहरीका नाचगान टोली देशव्यापी कार्यक्रम लिएर जान्थे र केही रकम जुर्टाई कल्याण कोषमा जम्मा गर्थे । यसबाहेक डीबी लामाद्वारा स्थापना गरिएको पेट्रोलपम्प र स्कुलबाट केही रकम जम्मा हुन्थ्यो । ०५० सालतिरबाट जब कम्बोडियाबाट संयुक्तमा राष्ट्रसङ्घमा प्रहरीहरू पनि जान थाले र ठूलै रकम प्राप्त गर्न थाले त्यसपछि तिनले निश्चित प्रतिशत कल्याण कोषमा जम्मा गर्नुपर्ने नीति बन्यो, तर त्यस समय संयुक्त राष्ट्रसङ्घमा ठूलो सङ्ख्यामा प्रहरी नगई पर्यवक्षकको रूपमा थोरै सङ्ख्यामा मात्र जाने गर्दथे । प्रहरी कल्याणका क्षेत्रमा आवश्यकता धेरै थिए तर स्रोत सीमित मात्र ।
म प्रदीपशमशेर राणाको प्रमुख स्टाफ अफिसर भएर जानुअघि नै उहाँले आईजीपीमा वहाली भएकै दिन प्रहरी कर्मचारीबाट नियमित रूपमा आफ्नो तलबबाट प्रदान गरिने एक प्रतिशत रकम खेलकुद फन्डमा जम्मा हुने गरेकोमा अब पचास प्रतिशत कल्याण कोषमा राख्ने गर्छर्ुुनेर बोल्नुभएको थियो तर त्यतिबेला म प्रहरी प्रधान कार्यालयमा कार्यरत नभएका कारण त्यो रकम कति हुन्छ – र, त्यस रकमले प्रहरी कल्याणलाई के-कति योगदान दिन्छ भन्नेबारे विस्तृत रूपमा मैले बुझेको थिइनँ । त्यस दिन आईजीपी प्रदीपशरले कल्याण कोषको कुरा गर्नुहुँदा मात्र मैले धेरै कुरा बुझेँ । उहाँले भन्नुभयो, ‘अहिले कल्याण कोषमा वारि्षक करिब पचास लाख पेट्रोलपम्पबाट, एक करोड स्कुलबाट आएको छ र केही योगदान संयुक्त राष्ट्रसङ्घमा सेवामा जानेहरूबाट पनि प्राप्त भएको छ, तर म तर्राईमा प्रहरी परिवारका केटाकेटी पढ्न रौतहटमा एउटा प्रहरी स्कुल स्थापना गर्न चाहन्छु, साना-साना प्रहरीका बच्चाहरूलाई साँगा स्कुल पढाउनुअघि एक स्कुल अर्को काठमाडौंमै खोल्न चाहन्छु, प्रहरीको अस्पताल काठमाडौंमा मात्र भएकोले सबैलाई सुविधा भएको छैन, त्यसैले नेपालगन्जमा एक प्रहरी अस्पताल खोल्न चाहन्छु साथै प्रहरी अधिकृतहरूका लागि एक आधुनिक हेल्थ क्लब बनाउन चाहन्छु । यी कामहरूका लागि प्रशस्त रकम चाहिन्छ त्यसैले मैले स्पोर्टस् फन्डबाट आउने रकम कल्याण कोषमा डाइभर्ट गर्ने निर्णय गरेको हुँ ।’
प्रहरी सङ्गठनमा सबै प्रहरीहरूले तलबको एक प्रतिशत खेलकुद कोषलाई दिने गर्दछन् र त्यति बेला -करिब ४५ हजार प्रहरी भएको बेलामा) त्यो रकम वर्षमा झन्डै २ करोड हुँदोरहेछ । यो रकम प्रदीपशमशेर राणाको कार्यकालभन्दा पहिला केही खेलकुदमा र बढी भोजभतेरमै खर्च गरेको देखिन्थ्यो । लौ त भनौँ भने यो कोष आईजीको खर्चका लागि दुरुपयोग हुने गर्दथ्यो । राणाले त्यसलाई स्पष्टसँग खेलकुद र कल्याणमा बाँडिदिनुभयो र उहाँको छब्बीस महिने कार्यकालमा यही कोषद्वारा कल्याण कोषमा बचत गरी उहाँले नेपालगन्जमा प्रहरी अस्पताल, रौतहटमा स्कुल, सामाखुसीमा स्कुल र महेन्द्र पुलिस क्लबको हातामा आधुनिक स्विमिङ पुलसहितको स्पोर्टस् कम्प्लेक्स तयार गरिदिनुभयो । उहाँले यही रकमबाट महिला प्रहरी परिवार सङ्घले चलाएको ‘आसरा’ नामक दर्ुर्व्यसनी उपचार केन्द्रको पक्की भवन पनि बनाउन मद्दत गरिदिनुभयो । प्रदीपशमशेर पछि आउने आईजीपी श्यामभक्त थापा र ओमविक्रम राणाको पालामा पेट्रोलपम्प र स्कुलसमेत घाटामा गएको देखाइयो भन्ने चर्चा छ भने हाइटी र सुडानमा यो पैसा खर्च गरी भ्रष्टाचार गर्ने काम सुरु भयो । जे होस्, प्रदीपशमशेर राणासम्म आई पुग्दा प्रहरी कल्याण कोष सुरक्षित थियो, त्यसपछि त्यस कोषको दशा सुरु भयो ।
प्रहरीमा कल्याणकारी काम गर्ने आईजीपीमा इतिहासमा बिर्सनै नसक्ने व्यक्ति प्रहरीप्रमुख डीबी लामा थिए । उनले त्यसबखत प्रहरी अस्पताल, प्रहरी स्कुल, प्रहरी पेट्रोलपम्प, प्रहरी होजियारीजस्ता कल्याणकारी प्रोजेक्टहरू स्थापना गरे । उनले यिनै काम गर्न नै प्रहरी कल्याणकारी कोष स्थापना गर्र्ने कल्पना गरेको थिए र तत्कालीन डीआईजी जम्बुदीप मानको अध्यक्षतामा कल्याणकारी कोष स्थापना गरेका थिए । प्रहरी कल्याणको क्षेत्रमा डीबी लामा र प्रदीपशमशेर राणाले उल्लेखनीय योगदान दिए तर सतीले सरापेको देश भएरै होला, तिनले नै यो मुलुकमा अनेकौँ आरोप खेप्नुपर्‍यो । बाहिर जसले जे आरोप लगाए पनि म स्वयम् त्यस सङ्गठनको साक्षी भएको नाताले जहाँ पनि भन्न सक्छु कि उनीहरूले प्रहरी कल्याणको क्षेत्रमा प्रहरी कर्मचारीलाई ठूलै योगदान दिएका थिए र त्यो कुरा प्रमाणका रूपमा पनि देख्न सकिन्छ ।
डीबी लामाले स्थापना गरेको कोषलाई नै २०५२ सालमा प्रहरी कल्याण कोष बनाई विधिवत् रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्राई औपचारिकता दिइयो । यस कोषको उद्देश्यमा लेखिएको छ- यो कोष वहालवाला तथा भूतपूर्व प्रहरी र तिनका परिवारको स्वास्थ, शिक्षा र विविध कल्याणकारी सेवाका लागि स्थापना भएको हो । स्थापना गर्दा विधानको उद्देश्यमा जे लेखिएको भए पनि श्यामभक्त थापाको कार्यकालपछि यो कोषमा ग्रहण लाग्न सुरु भयो । थापाको पालामा कुनै उल्लेखनीय कल्याणकारी कार्य भएको उदाहरण छैन बरु कमाई गरिरहेका स्कुल, पेट्रोलपम्पहरू पनि क्रमशः घाटामा देखाइन थालियो । प्रदीपशमशेर राणाको पालासम्म ठूलो समूहमा संयुक्त राष्ट्रसङ्घमा प्रहरी पठाउने चलन थिएन । श्यामभक्त थापाको पालाबाट मात्र ठूलो सङ्ख्यामा प्रहरी हाइटी जान थाले । हाइटीमा प्रहरीका साथ पठाउनुपर्ने बन्दोबस्तीका सामानहरू सरकारलाई किन्न नलगाई यही कोषबाट खरिद गरी कमिसन खाने खेलको सुरुवात श्यामभक्त थापाकै समयबाट भएको थियो । सरकारी खर्चमा धेरै रित पुर्‍याउनुपर्ने भएकोले नै यो कोषमाथि भ्रष्टाचार गर्नेहरूको आँखा परेको थियो । कमिसन धेरै खाने चक्करमा के गर्न थाले भने यूएनमा पठाउने सामान थोत्रा, थाम्रो र प्रहरीकै सामान पर्ठाई उच्च मूल्य राख्ने र त्यो मूल्य प्रहरी कल्याण कोषबाट ठेकेदारलाई दिएको देखाई ठेकेदारबाट आफूले फर्काई बाँडिचुँडी लिने अभ्यास सुरु भयो । श्यामभक्त थापाको कार्यकालबाट कल्याणकोष प्रहरीप्रमुख र राजनीतिज्ञले बाँडिचुँडी खाने एक व्यापारिक कोषजस्तो बन्न पुग्यो । के सञ्चय कोषको हाकिमले आफ्नो कोषमा भएको पैसाबाट दशैंमा हजारौं खसी किनी त्यसबाट आएको नाफा आफू लिएर कोषबाट झिकेको रकम फेरि त्यहीँ हालिदिन मिल्छ – के कुनै बैंक मेनेजरले आफ्नो बचत रकम कुनै व्यापारमा लगाई त्यसबाट आएको रकम आफूले लिई फेरि साँवा जति लिएको थियो त्यतिमात्र बैंकमा राख्न मिल्छ – श्यामभक्त थापा र ओमविक्रमले प्रहरी कल्याण कोषको पैसा यस्तै गरेका हुन् । त्यसबखत नै हाइटी काण्डको भ्रष्टाचार उजागर भएको थियो तर त्यस समयमा एआईजी रहेका ओमविक्रम नै पछि आईजी भएकाले उनले पहिलेको कुरामा भएका अनियमितता खोज्दै खोजेनन् किनकि उनी त्यसैबखतदेखि संलग्न थिए । सुडान काण्डको सुरुवात हाइटी काण्डबाट भएको थियो । अहिले आएर थोत्रा सामानको शोधभर्ना नै नभएपछि कोषको रगतपसिनाको रकम डुब्ने स्थितिमा आएको छ र यसलाई कुनै हालतमा डुब्न दिनुहुँदैन ।
मलाई व्यक्तिगत रूपमा दुःख लाग्छ कि प्रहरी अस्पतालको औषधि माग्दा कोषमा पैसा छैन भनिन्छ, जनआन्दोलनमा घाइते प्रहरीले वैशाखी माग्दा उसलाई पैसा छैन भनिन्छ, किड्नी फेल भएका प्रहरीले उपचारमा सहयोग माग्दा पैसा छैन भनिन्छ, तर कोषको उद्देश्यमै नभएको लडाइँस्थलमा जान आवश्यक हतियार, गाडी, जेनेरेटर, किन्न भने त्यहाँबाट करोडौँ पैसा खर्च गरिन्छ । यो कोषको दुरुपयोग गर्नेहरूलाई भगवान्ले पनि माफ दिँदैनन् जस्तो लाग्दछ । यो कोषको दुरुपयोग कमजोर आईजीपीकै पालामा बढी भएको छ । सिटौला सबैभन्दा बढी यो कोषको दुरुपयोग गर्ने मन्त्री हुन् । मलाई लाग्छ सरकार वहालवाला तथा भूतपूर्व प्रहरी र सबै सरोकार पक्षले कल्याण कोषको रक्षा गर्नुपर्छ र यसमा भ्रष्टाचार गर्नेहरूउपर कारबाही गर्नुपर्छ । कल्याण कोषको स्थापना गर्ने पनि आईजी थिए, बढाउने पनि आईजी नै थिए र यसलाई सिध्याउने पनि आईजीहरू नै भए । उनीहरूलाई प्रहरीभित्रका कर्मचारीहरू कसैले रोक्न सक्दैनन् किनकि रोक्नेहरूलाई उनीहरूले प्रशासन विभाग, आर्थिक प्रशासन र कल्याण शाखामा लाँदै लाँदैनन् । सुडान घोटालाजस्तै हाइटीमा अनियमितता भएको कुरा आइसकेपछि अख्तियारले त्यसको छानबिन पनि सुरु गर्नुपर्छ ।
अहिले काङ्ग्रेसभित्र सिटौलासँग हाइटीमा भएको धाँधलीबारे प्रश्न हुँदै छ र सिटौला आफू यसबारे अनविज्ञ रहेको बताउँदै छन् । हुन त चोरले आफैं मैले चोरेको हुँ भनेर भनेको कहाँ नै सुनिन्छ र – यहाँ सिटौलाले इन्कार गर्नुभन्दा पनि सुजाता कोइरालाले सिटौलाले भ्रष्टाचार गरेका छैनन् भनेर पार्टीमा सिटौलालाई डिफेन्ड गरेकोचाहिँ बडो अर्थपूर्ण छ । आखिर किन सुजाताले सिटौलालाई बचाइरहेकी छिन् र सिटौलाले भ्रष्टाचार गरेको छैन भन्ने कुरा कसरी उनले आत्माविश्वासका साथ भनिरहेकी छिन् – यसबाट यही बुझिन्छ कि सुडानकाण्डबारे सुजातालाई सबै कुरा थाहा छ । अख्तियार र अदालतका लागि सुजाताको भनाइ बहुत सहयोगी हुन सक्छ । आज कमजोर, लोभी, पापी आईजीपीहरूका कारण प्रहरीको कल्याण कोष नेताको खुराक बन्न पुग्यो ।