पुनर्निर्माणमा सबैको भूमिका आवश्यक : प्रधानमन्त्री

पुनर्निर्माणमा सबैको भूमिका आवश्यक : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रको सम्पदाको पुनर्निर्माणको अवस्थाबारे जानकारी लिएका छन् ।

२१औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको आग्रहमा ०७२ को भूकम्पले क्षतिग्रस्त बनाएका स्मारकको पुनर्निर्माणको प्रगतिको अवलोकन गर्न प्रधानमन्त्री ओलीले यस स्थानको भ्रमण गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले ललितपुरमा रहेका स्मारकको पुनर्निर्माण सन्तोषजनक रूपमा अघि बढेको बताए । पुनर्निर्माण चाँडो सम्पन्न गर्न सबै दत्तचित्त भएर लाग्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए । सरकारले धार्मिक र सांस्कृतिक क्षेत्रको पुनर्निर्माणलाई प्राथमिकता दिइरहेको बताउँदै काठमाडौं उपत्यकाका अघि बढ्न नसकेका स्मारकको पुनर्निर्माण चाँडो शुरु गर्ने उनले प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीले भने, ‘पुनर्निर्माणलाई गति दिन जनप्रतिनिधि, स्थानीय तह, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र जनता सबैको भूमिका छ ।’

विश्वसम्पदा सूचीमा सूचीकृत यस क्षेत्रमा रहेका स्मारक र पुनर्निर्माणको अवस्थाबारे नगरप्रमुख महर्जनले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । गृहमन्त्री अध्यक्ष हुने ‘२१औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समिति’को व्यवस्थापन उपसमितिको संयोजक ललितपुर महानगरपालिकाका प्रमुख महर्जन रहेका छन् । सरकारले वर्षेनी माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा सचेतनामूलक कार्यक्रम गरेर मनाउँदै आएको छ ।