औपचारिक भ्रमण सम्पन्न गरी फर्किए प्रधानसेनापति

औपचारिक भ्रमण सम्पन्न गरी फर्किए प्रधानसेनापति


मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा गत पुस २७ गतेबाट भारत भ्रमणमा निस्कनुभएका प्रधानसेनापति पूर्णचन्द्र थापाले ६ दिवसीय भ्रमण सम्पन्न गरी आज (२ माघ) अपरान्ह स्वदेश फर्कनुभएको छ ।

प्रधानसेनापति थापालार्ई बलाधिकृत रथी हेमन्तराज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

नेपाल सरकारको निर्णयबमोजिम भारत भ्रमणको क्रममा पुस २८ गते प्रधानसेनापति थापालाई भारतका महामहिम राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी (Honorary Rank of General of the Indian Army) दर्जा प्रदान गर्नुभएको थियो । भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावतसँग भेटघाट गर्नुको साथै नयाँदिल्लीस्थित नेशनल डिफेन्स कलेज, जयपुरस्थित South-Western Command र लखनऊस्थित Central Command को मुख्यालयहरुको निरिक्षण भ्रमण समेत गर्नुभएको थियो ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमण र दुई देशको सेनाका प्रधानसेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट नेपाली सेना र भारतीय सेनाबीच विगतदेखि रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धले निरन्तरता पाउनुका साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन महत्वपूर्ण भएको विश्वास नेपाली सेनाले लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।