घोडेपानी–घान्द्रुक पदमार्गमा २०१८ मा ६५ हजार विदेशी पर्यटक

घोडेपानी–घान्द्रुक पदमार्गमा २०१८ मा ६५ हजार विदेशी पर्यटक


म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय क्षेत्र घोडेपानी र घान्द्रुक क्षेत्रमा एक वर्षमा ६५ हजार विदेशी पर्यटक भित्रिएका छन् । सन् २०१८ मा ६५ हजार ७६ विदेशी पर्यटकले घोडेपानी–घान्द्रुक पदमार्गमा पर्ने पर्यटकीयस्थलको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय घान्द्रुकले जनाएको छ ।

वीरेठाँटीमा रहेको चेकपोष्टको तथ्यांकअनुसार सन् २०१७ को तुलनामा २०१८ मा सो क्षेत्रमा एक हजार ५३९ बढी पर्यटक भ्रमणमा आएका एक्याप घान्द्रुकका प्रमुख विदुरविक्रम कुइँकेलले जानकारी दिए । अधिकृत कुइँकेलका अनुसार सन् २०१७ मा ६३ हजार ५३७, सन् २०१६ मा ४७ हजार २७४, सन् २०१५ मा ३६ हजार र २०१४ मा ४२ हजार पर्यटक यस क्षेत्रको भ्रमणमा आएका थिए ।

वीरेठाँटी, शिख र छोमरोङ चेकपोस्टमार्फत घोडेपानी, घान्द्रुक क्षेत्रको पदयात्रामा आउने र फर्कने पर्यटकको विवरणसहितको तथ्यांक राख्ने गरिन्छ । म्याग्दीको घोडेपानी, पुनहिल, कास्कीको घान्द्रुक, लान्द्रुक, एबीसी क्याम्प, घम्पुसलगायत पर्यटकीयस्थल यहाँको आकर्षण हो ।

वीरेठाँटीबाट भित्रिएका आधाजसो पर्यटक छोमरोङ हुँदै अन्नपूर्ण आधारशिविर (एबीसी) पुग्ने गरेका छन् । सन् २०१८ मा ३३ हजार ६७९ पर्यटक छोमरोङ हुँदै एबीसी पदयात्रामा गएका थिए । छोमरोङ हँुदै एबीसी पदयात्रामा जाने पर्यटकको संख्या २०१७ मा ३१ हजार ६८९ थियो । मगर, गुरुङ बस्ती, उनीहरूको कला, संस्कृति जीवनशैली, हिमशृंखला, सूर्योदय, लालीगुराँसको जंगल, एकान्त वातावरण यस पदमार्गको मुख्य विशेषता हो । घान्द्रुक घोडेपानी क्षेत्रमा चिनियाँ, फ्रेन्च, कोरियन र मलेसियन पर्यटक बढी मात्रामा आउने गरेका छन् ।

म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङ जिल्लालाई समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्न सार्क राष्ट्रका नागरिकले प्रतिव्यक्ति रु. २०० र अन्य मुलुककाले प्रतिव्यक्ति रु. दुई हजारका दरले सरकारलाई शुल्क तिर्दै आएका थिए । सरकारले गत कात्तिकमा राजपत्रमा सूचना प्रकाशन गरेर नेपालीलाई पनि प्रतिव्यक्ति रु. १०० का दरले प्रवेश शुल्क लिने र विदेशीको प्रवेश शुल्क वृद्धि गरेकोमा समुदाय तथा पर्यटन व्यवसायीले विरोध जनाएका छन् । पछिल्लो व्यवस्थाअनुसार सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु. एक हजार र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति रु. तीन हजार शुल्क निर्धारण गरिएको छ ।