समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा


थाइल्यान्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बुधबार घरेलु टोली थाइल्यान्डलाई नौ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो । थाइल्यान्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले दिएको २० रनको सामान्य लक्ष्य नेपालले एक विकेट गुमाएर ३.३ ओभरमा पूरा ग¥यो । नेपालका लागि ममताकुमारी चौधरीले आठ रन बनाउँदा नेरी थापाले पाँच र डोली भट्टले दुई रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली थाइल्यान्ड नेपाली बलरसामु निरीह बन्दै १९ रनमा समेटिएको थियो । थाइल्यान्डलाई सस्तैमा समेट्ने क्रममा नेपालकी आरती बिडारीले तीन विकेट लिइन् । इन्दु बर्मा र सरिता मगरले दुई–दुई तथा रुविना क्षेत्री, सोनु खड्का र सीता रानामगरले एक–एक विकेट लिए ।

घरेलु टोलीका लागि तान्चानोक फोप्लुकले सर्वाधिक चार रन बनाइन् । नेपालले अतिरिक्त सात रन दिएको थियो । थाइल्यान्डका पाँच खेलाडी शून्यमा आउट भएका थिए । समूह ‘ए’बाट संयुक्त अरब इमिरेट्स (यूएई) समूह उपविजेताका रूपमा यसअघि नै सेमिफाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा चीनलाई, दोस्रो खेलमा मलेसियालाई र तेस्रो खेलमा यूएईलाई पराजित गरेको थियो ।

राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासको प्रशिक्षणमा रहेको नेपाली टोलीले करिब दुई वर्षपछि अन्तर्राष्ट्रिय महिला प्रतियोगिता खेलेको हो । यसअघि नेपाली महिला टोलीले सन् २०१७ को नोभेम्बरमा आईसीसी टी–२० विश्वकपको एसिया क्षेत्रको क्वालिफायर खेलेको थियो । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोलीमा सीता रानामगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल छन् ।

प्रतियोगिताको सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया र थाइल्यान्ड ‘ए’ तथा समूह ‘बी’मा हङकङ, थाइल्यान्ड, इन्डोनेसिया, भुटान र म्यानमार छन् । नेपालले सेमिफाइनलमा समूह ‘बी’को उपविजेतासँग खेल्नेछ ।