दूतावासद्वारा मनाइयो विश्व हिन्दी दिवस

दूतावासद्वारा मनाइयो विश्व हिन्दी दिवस


काठमाडौंस्थित भारतीय राजदूतावासद्वारा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हिन्दी केन्द्रीय विभागको सहकार्यमा गत पुस २७ का दिन विश्व हिन्दी दिवस मनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको प्रमुख आतिथ्यमा होटेल हयातमा मनाइएको सो कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले विश्व हिन्दी दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा दिइएको सन्देश पढेर सुनाएका थिए ।

सो अवसरमा गोपाल ठाकुर र गुरुदेव कामतद्वारा हिन्दीका प्रख्यात कविका कार्यहरूको साङ्गीतिक प्रस्तुति दिइएको थियो । यसैगरी गायिका सरस्वती खत्रीले पनि साङ्गीतिक काव्य प्रस्तुति दिइन् भने केन्द्रीय हिन्दी विभाग, त्रिभुवन विश्वविद्यालयको वेबसाइटको लोकार्पण पनि सो अवसरमा गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा राजदूत पुरीद्वारा नेपालका आदिकवि भानुभक्त आचार्यका कविताहरूको हिन्दी अनुवादसहित दुईवटा हिन्दी पुस्तकहरूको लोकार्पण भयो ।

साथै भारतका पूर्वप्रधानमन्त्री स्व. अटलबिहारी वाजपेयीका ५१ वटा कविताको नेपालीमा अनुवाद गरेका लेखक शिवदत्त ढकाललाई सम्मानित पनि गरियो । कार्यक्रमको अन्त्यमा एक कवि सम्मेलनको आयोजन गरियो जसमा १५ कविले आफ्ना रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा अलग–अलग क्षेत्रबाट लगभग २०० जना साहित्यिक व्यक्तित्वहरूले भाग लिएका थिए ।