खेलकुदमन्त्रीको मौनताले आठौँ राष्ट्रिय अन्योलमा

खेलकुदमन्त्रीको मौनताले आठौँ राष्ट्रिय अन्योलमा


  • श्रीविक्रम भण्डारी

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले मौनता साँध्दा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्योलतातर्फ धकेलिएको छ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले अहिलेको भौतिक संरचनामा आठौँ हुन नसक्ने दाबी गर्दा र सदस्यसचिव केशवकुमार विष्टले आठौँ फागुनमा हुन्छ, हुन्छ, हुन्छ, कसैले रोकेर रोक्न सक्तैन भन्ने अभिव्यक्ति सार्वजनिक गर्दासमेत राखेपका अध्यक्षसमेत रहेका मन्त्री सुनारले अहिलेसम्म ‘उफ’समेत नगर्नुले आठौँको आयोजनाप्रति थुप्रै सवाल खडा गरिदिएको छ । आठौँप्रति मन्त्री सुनारको यो मौनता आँधी आउनुअघिको शून्यता हो कि आँधी नै आउन नदिने सङ्केत हो त्यो रहस्यमय बन्दै गएको छ । अन्यथा खेलकुदमा यतिबेला ‘हटकेक’ बनेको आठौँ राष्ट्रियको बारेमा मन्त्री सुनार किन जिम्मेवार रूपमा प्रस्तुत भइरहेका छैनन् त्यो आफैँमा सोचनीय कुरो बनेको छ ।

यतिबेला सदस्यसचिव विष्टले जसरी नेपालगन्ज, बर्दिया र दाङको दौहाडा गरिरहेका छन् र आठौँको आयोजनाबारे ठोकुवाका साथ सञ्चारमाध्यमहरूमा प्रतिक्रिया दिइरहेका छन् । सदस्यसचिव विष्टले दिएका ती प्रतिक्रियालाई मध्यनजर गर्दा आठौँ फागुनको अन्तिमदेखि शुभारम्भ हुने प्रायः निश्चित देखिन्छ । आठौँको भौतिक पूर्वाधारको निर्माणमा भएको ढिलासुस्ती र त्यसको परिणाममा देखिएको दयनीय अवस्थामा आफैँमा कहालीलाग्दो बनेको राखेपबाट निरक्षणमा गएका पदाधिकारीको वयानबाट पनि प्रस्ट हुन्छ । यस्तो विषम परिस्थितिमा पनि विष्टको सकारात्मक गर्जन र आत्मविश्वासलाई खेलकुदको लागि राम्रो सङ्केत मान्न सकिन्छ । तर, खेलकुदमन्त्री सुनारको आठौँको बारेमा किन अहिलेसम्म प्रस्ट रूपमा बोली फुटेको छैन त्यो खेलकुदको लागि आठौँको लागि दुर्भाग्य बनेको छ ।

फागुनमा गर्न नसक्ने भए बोर्ड बैठक बसेर सोहीबमोजिमको निर्णय गरे भइहाल्यो, अन्यथा राज्यको करोडौँ लगानी भइसकेको र जिल्लाबाट छनोट भएर आठौँमा प्रतिस्पर्धाका लागि तयारीमा बसेका खेलाडीहरूमाथि मन्त्री सुनारले कदापी अन्याय गर्न मिल्दैन । यसको लागि मन्त्री सुनारले पछिल्ला राष्ट्रिय प्रतियोगिताहरू कसरी सञ्चालन भएका थिए त्यसको पुनरावलोकन गर्नु जरुरी छ । यो देशमा पछिल्ला अर्थात् चौथौँ, पाँचौँ, छैैटौँ र सातौँ राष्ट्रिय प्रतियोगिता कसरी सञ्चालन भएका थिए, त्यसपछि सुनारलाई वास्तविकता छर्लङ्ग हुनेछ । तसर्थ मन्त्री सुनारले हलो अड्काएर (मौनता साँधेर) गोरु चुट्ने कार्य गर्नुभन्दा आठौँ राष्ट्रिय प्रतियोगिताको आयोजनाको निकास के हो ? त्यसतर्फ संवेदनशील हुनु आवश्यक भइसकेको छ । त्यसको लागि मन्त्री सुनारले आठौँको आयोजनामा सहयोगी भूमिका खेल्ने आँट, साहस देखाउनु अपरिहार्य भइसकेको छ । त्यसपछि मात्रै उनी खेलकुदको सच्चा मन्त्रीको भएको पुष्टि हुनेछ ।

‘आठौँ’प्रति मन्त्री सुनारको मौनता आँधी आउनुअघिको शून्यता हो कि आँधी नै आउन नदिने सङ्केत हो त्यो रहस्यमय बन्दै गएको छ ।

आखिर आठौँको आयोजनाको सम्बन्धमा खेलकुदमन्त्री सुनारले मुखमा बुझो हाल्नुको पछाडि कुनै षड्यन्त्र त छैन प्रश्न उठ्नु स्वाभाविकै हो । चर्चाअनुसार र सुर्निअनुसार मन्त्री सुनार विष्टको कार्यकालसम्म आठौँ गर्न इच्छुक छैनन् । यसको पछाडि थुप्रै कारण छन्, मन्त्री सुनारले यिनै कारणहरूलाई वैशाखी बनाउँदै आठौँको बारेमा अहिलेसम्म ठोस निर्णय गर्न सकेका छैनन् । त्यसमा पहिलो कारण आठौँका लागि निर्माण भइरहेका पूर्वाधार समयमा निर्माण नहुनु, दोस्रो सदस्यसचिव विष्ट नेकपाको भए पनि प्रधानमन्त्री ओली गुटको नहुनु, तेस्रो विष्टको कार्यकालले असफलताको लालमोहर लगाउनु, चौथो आसेपासेको कुराबाट प्रेरित हुनु, पाँचौँ आर्थिक चलखेल गर्न नपाउनु, छैटौँ आफ्नो आठौँमा मन्त्रालयको वर्चश्व कायम नहुनु र राष्ट्रिय प्रतियोगिताको इतिहासबारे मन्त्री सुनारलाई यथेष्ठ जानकारी नहुनुले पनि यस्तो स्थिति उत्पन्न भएको पनि हुन सक्छ । नेपालको वस्तुस्थिति र खेलकुदमा सरकारले गरेको लगानीलाई आत्मसात् गर्ने हो भने मन्त्री सुनारले क्षणभरमै आठौँको मिति तोक्न पछि पर्नुहुँदैन ।

तर, विडम्बना ! आठौँप्रति मन्त्री सुनारको सोच र लक्ष्य के हो ? त्यसबारे खेलकुदकर्मीहरू अनविज्ञ छन् । सुनारको यही सोचका कारण आठौँ फागुनमा हुने भनेर राष्ट्रिय खेलकुद परिषद्ले प्रचारप्रसार गरे पनि अहिलेसम्म कुन मितिबाट आयोजना हुने भनेर किटानी गर्न सकेको छैन । जसले गर्दा आठौँ फागुनमा हुन्छ या हुँदैन अन्योलको स्थिति बनेको छ । यदि फागुनको अन्तिम साताबाट पनि आठौँ सञ्चालन भएन यो साल आठौँ हुने देखिँदैन । त्यसपछि नेपालगन्जको प्रचण्ड गर्मी र प्रतिकूल वातावरणले आठौँलाई कम्तीमा पनि सात महिनापछि धकेलिनेछ । त्यसपछि सबैभन्दा महत्वपूर्ण कुरा प्रत्येक दुई वर्षमा आयोजना हुने राष्ट्रिय प्रतियोगिता पुनः एकपटक समयमा हुनेछैन । यसपछि यसको सम्पूर्ण दोष मन्त्री सुनारले लिनुपर्नेछ । त्यसपछि उनीमाथि अर्को चुनौती थपिनेछ, राष्ट्रिय प्रतियोगिता नगर्नुको कारण र उनले गर्न चाहेको राष्ट्रिय प्रतियोगिताको स्तरीयता ।

राष्ट्रिय खेलकुद प्रतियोगिता खेलकुदको ‘मेरुडण्ड’ हो भन्दा सायदै कसैको दुईमत होला । त्यसैले राष्ट्रिय प्रतियोगिता हचुवाको भरमा गर्न मिल्दैन । राष्ट्रिय प्रतियोगिता गर्दा यसले आफ्नो औचित्य पनि पुष्टि गर्नुपर्छ । प्रतिभाबीच प्रतिभाको प्रतिस्पर्धाबाट ‘उत्कृष्ट प्रतिभा’ राष्ट्रिय खेलकुदले निकाल्न सक्नुपर्छ, त्यसपछि मात्रै त्यसले राष्ट्रिय प्रतियोगिताको संज्ञा पाउँछ । तर, राष्ट्रिय प्रतियोगिताको तीतो सत्यता अर्कै छ । नामले राष्ट्रिय प्रतियोगिता भनिए पनि अहिलेसम्म आयोजना भएका कुनै पनि राष्ट्रिय प्रतियोगिता आफ्नो औचित्य पुष्टि गर्न सकेका छैनन् । साँचो रूपमा भन्ने हो सबै राष्ट्रिय प्रतियोगिता हचुवाको भरमा आयोजना भएका छन् । पछिल्लोपटक आयोजना भएका चारवटा राष्ट्रिय प्रतियोगिताका संस्करणहरूलाई मध्यनजर र विश्लेषण गर्ने हो भने ती नाम मात्रका राष्ट्रिय प्रतियोगिता थिए । विद्यालयस्तरका जस्ता लाग्ने ती प्रतियोगिताहरूमा ‘राष्ट्रिय’को कुनै झझल्को देखिँदैनथ्यो । खालि उद्घाटन र समापन समारोहको तडकभडकबाहेक अन्य सबै सामान्य हुन्थे, जसलाई कुनै कोणबाट पनि राष्ट्रिय प्रतियोगिता भन्न मिल्दैन ।

तर, विडम्बना ! जे, जसरी र जस्तो अवस्थामा राष्ट्रिय प्रतियोगिता आयोजना भए त्यसले ‘राष्ट्रिय’को संज्ञा पाए । त्यसमा राष्ट्रले गौरव गर्ने अवस्थाभन्दा पनि खेलकुदका पदाधिकारीले गौरव गर्ने वातावरण बन्यो । यसर्थमा कि उक्त प्रतियोगितामा तत्कालीन राजा, राष्ट्रप्रमुख र प्रधानमन्त्रीहरूको उपस्थितिले यो कुरालाई प्रमाणित गर्छ । यो परम्परा र संस्कार अहिले पनि खेलकुदमा कायमै छ, कसैले पनि राष्ट्रिय प्रतियोगिता गम्भीरताको विषयमा चासो राखेको पाइँदैन । जुन समग्र खेलकुदको विकास र विस्तारको लागि दुर्भाग्य बन्दै गएको छ । खेलकुदको विकास, आपसी भाइचारा र प्रेमको अभिवृद्धि गर्न राष्ट्रिय प्रतियोगिता मात्र राष्ट्रिय प्रतियोगितामा मात्रै सीमित बन्न पुगेको छ ।