आठौँ राष्ट्रिय खेलकूदको व्यग्र प्रतिक्षामा नेपालगञ्जवासी

आठौँ राष्ट्रिय खेलकूदको व्यग्र प्रतिक्षामा नेपालगञ्जवासी


नेपालगञ्जका खेलप्रेमी, खेल पदाधिकारी, उद्योगपति, व्यापारी, राजनीतिक दलका स्थानीय नेता कार्यकर्ता, स्थानीय जनप्रतिनिधिलगायत आठौँ राष्ट्रिय खेलकूदको व्यग्र प्रतिक्षामा छन् ।

पूर्वको विराटनगरमा भएको सातौं राष्ट्रिय खेलकूद प्रतियोगिता समापनमा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता नेपालगञ्जमा गर्न सक्ने आँट र साहसका साथ झण्डा ग्रहण गरेका मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम ओलीलगायत नेपालगञ्जका सबै पक्ष अहिले युद्धस्तरमा खेलकूदको भौतिक पूर्वाधार निर्माणमा जुटेको छ ।

‘आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारीमा जुटेका छौँ’, अध्यक्ष ओलीले भने । नेपालगञ्जमा २०१० सालमा निर्माण गरिएको रङ्गशालालाई भण्डै रु २५ करोडको लागतमा अहिले अत्याधुनिक बनाइँदैछ । रङ्गशाला क्षेत्रभित्र कभर्डहलको मर्मतसम्भार, नयाँ सुटिङरेन्ज, भारोत्तोलन, पौडीपोखरी, क्रिकेट मैदानलगायत संरचना धमाधम निर्माण भइरहेको छ ।

गत मङ्सिर २१ गते गर्ने भनिएको सो प्रतियोगिता भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइले हुन सकेको थिएन । राष्ट्रिय खेलकूद परिषद्ले अहिले फागुनको दोस्रो सातादेखि सो प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । अध्यक्ष ओलीका अनुसार, भौतिक पूर्वाधार निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको छ । ‘अब तोकिएकै समयमा प्रतियोगिता सञ्चालन हुन्छ,’ उनले भने ।

आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन र समापन नेपालगञ्ज रङ्गशालामा गरिनेछ भने बाँकेको कोहलपुर र खजुरा, बर्दियाको गुलरिया र ठाकुरद्वारा, दाङको बेलझुण्डी, कपिलवस्तु र रुपन्देहीमा समेत केही खेल हुने अध्यक्ष ओलीले बताए । प्रतियोगिताका लागि बर्दिया राष्ट्रिय निकुञ्जको पहिचान झल्किने गरी हात्तीको छावालाई ‘मष्कट’का रुपमा राखेपले पारित गरिसकेको छ । प्रतियोगिता समयमै आयोजना गर्न सङ्घीय, प्रदेश नं ५ र त्यसअन्तर्गतका स्थानीय तहसँग क्षेत्रीय खेलकूद विकास समितिले सबैखाले सहयोग, सहकार्य र अपनत्व ग्रहण गर्न आग्रह गर्दै आएको छ । प्रतियोगितामा ३५ खेलका पाँच हजारभन्दा बढी खेलाडी सहभागी हुने बताइएको छ ।