यसरी पूरा भयो राष्ट्रपति विद्याको पुरानो इच्छा

यसरी पूरा भयो राष्ट्रपति विद्याको पुरानो इच्छा


राष्ट्रिय एकता दिवस तथा श्री ५ पृथ्वीजयन्तीको अवसरमा बिदा दिन नसके पनि सरकारी सहभागितामा उत्सव मनाउने कार्य भने सम्पन्न भयो । प्रज्ञा प्रतिष्ठानको आयोजनामा गत पुस २७ गते बिहान प्रज्ञा भवन कमलादीमा आयोजित समारोहको उद्घाटन उपप्रधानमन्त्री ईश्वर पोखरेलबाट भएको थियो । मन्त्री पोखरेलले पृथ्वीनारायणबाट एकीकरणमा पुऱ्याइएको योगदानको चर्चा गर्दै पुस २७ गतेलाई ऐतिहासिक दिनको संज्ञा दिनुभएको थियो ।

सङ्क्षिप्त समारोहपश्चात् प्रज्ञा भवनबाट शुरु भएको ऱ्यालीको नेतृत्व सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले गर्नुभएको थियो । मन्त्री बास्कोटाले सिंहदरबारको मूलद्वारअगाडि रहेको श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिकसम्म ऱ्याली लिएर गई राष्ट्रनिर्माताको सालिकमा पुष्पगुच्छा चढाउनुभयो ।

यसरी पुष्पगुच्छा चढाउनेमा मन्त्री रघुवीर महासेठ, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राप्रपाका अध्यक्ष कमल थापालगायत थिए । प्रज्ञा परिषद्ले एकता दिवसमा आयोजित समारोहमा सहभागिताको निम्ति सबै मन्त्रीहरूलाई आमन्त्रण गरेको भए पनि ईश्वर पोखरेल र गोकुल बास्कोटा मात्र कार्यक्रममा सहभागी हुन पुगेका थिए भने सालिकमा रघुवीर महासेठले पनि माल्यार्पण गरेका थिए ।

२०६३ को परिवर्तनपछि पहिलोपटक राष्ट्रप्रमुखबाट श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिकमा श्रद्धापूर्वक माल्यार्पण गर्ने कार्य भएको छ । राष्ट्रपति विद्या भण्डारी बडामहाराजाधिराजको सालिकमा माल्यार्पण गर्न सिंहदरबार मूलढोका पुग्नुभएको थियो । नेपाली सेनाका उच्चपदस्थ अधिकृत तथा सरकारका अन्य केही उच्चाधिकारीहरू पनि त्यस अवसरमा उपस्थित थिए ।

यसरी राष्ट्रपति विद्या भण्डारीबाट राष्ट्रनिर्माताको सालिकमा माल्यार्पण हुनुलाई आमरूपमा प्रशंसनीय मानिएको छ । एक सूत्रले जनाएअनुसार राष्ट्रपति विद्या भण्डारी आफूले राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेकै दिन बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न चाहनुहुन्थ्यो । विभिन्न कारणले पहिले यसप्रकारको शुभकार्य गर्न नपाएको भए पनि यो वर्ष यसरी राष्ट्रनिर्माताप्रति श्रद्धा प्रकट गर्न पाउँदा उहाँ प्रसन्न हुनुभएको बुझिएको छ । स्मरणीय छ, विद्या भण्डारीको माइतीको थर पाण्डे हो र उहाँहरू काजी कालु पाण्डेकै सन्तान भएको बताइन्छ ।