पार्टी फुट्नु दुःखद : विवेकशील साझा

पार्टी फुट्नु दुःखद : विवेकशील साझा


विवेकशील साझा पार्टीको बैठकले पार्टी फुटबारे समीक्षा गरेको छ ।
पूवनिर्धारित समयअनुसार सोमबारदेखि पार्टी केन्द्रीय कार्यालय बखुण्डोलमा बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. सूर्यराज आचार्यले पार्टीको पछिल्लो अवस्थालाई अनपेक्षित र दुःखद घटनाका रूपमा मूल्यांकन गरिएको जानकारी गराए ।

बैठकले पार्टीका संयोजक रवीन्द्र मिश्रद्वारा पूर्ण समीक्षात्मक रिपोर्ट तयार पार्ने निर्णय गरेको छ । सो घटनाले प्रदेश, जिल्ला तथा स्थानीय तहको नेतृत्व र संरचनामा कुनै प्रकारको उल्लेख्य असर नपरेको मूल्यांकन बैठकले गरेको आचार्यले जानकारी दिए । पार्टीका मतदाता, शुभचिन्तक र शुभेच्छुकहरूमा अन्योल उत्पन्न भएकाले त्यसलाई चिर्न पार्टीका विभिन्न तहमा विविध कार्यक्रम गर्ने निर्णय गरिएको छ ।

०७६ फागुनमा पहिलो महाधिवेशन

विवेकशील साझा पार्टीले ०७६ फागुन १५ देखि १९ गतेसम्म काठमाडौंमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ । सो पार्टीले विदेशमा रहेका सबै नेपालीलाई राष्ट्रिय निर्वाचनमा मताधिकारको व्यवस्था गर्न सर्वोच्च अदालतले गरेको फैसलालाई कार्यान्वयनमा ल्याउन दबाबका कार्यक्रम सञ्चालन गरिने निर्णय गरेको छ । बैठकले प्रदेश १ को संयोजकमा अनिल भेटवाललाई चयन गरेको छ । साथै अघिल्लो निर्णयअनुसार सुदूरपश्चिम प्रदेशबाट शैलु श्रेष्ठ, प्रदेश ५ बाट सरस्वती पन्थी भुसाल र गण्डकी प्रदेशबाट सुशीला केसी अधिकारीलाई केन्द्रीय समितिमा सामेल गरिएको छ ।

‘विवेकशील साझा युवा संगठन’ र ‘विवेकशील साझा महिला संगठन’ गठन गरी दुवै संगठनको संयोजकमा क्रमशः अब्दुस मियाँ र सोभिता परियारलाई जिम्मेवारी दिने निर्णय गरिएको छ । पार्टीमा देखापरेका पछिल्ला चुनौती र आउँदा दिनमा लिनुपर्ने बाटोबारे यही माघ १२ गते काठमाडौंमा देशभरिका पार्टी प्रतिनिधि सदस्यसहित ‘विवेकशील साझा राष्ट्रिय सन्देश भेला’को आयोजना गर्ने निर्णय गरेको प्रवक्ता आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।