जलेर नेपालीको र जिपको ठक्करबाट बालकको मृत्यु

जलेर नेपालीको र जिपको ठक्करबाट बालकको मृत्यु


गुल्मीमा आगोमा जलेर एकजनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ मा गोठमा लागेको आगो निभाउने क्रममा जलेर ५१ वर्षीय जितबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिए ।

सोमबार राति नेपालीको गोठमा आगलागी भएको थियो । आगो निभाउने क्रममा जलेर घाइते भएका नेपालीलाई गएराति नै उपचारका लागि पाल्पा लगिएको थियो । उपचार गर्दागर्दै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, दाङको लमहीमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । लमही नगरपालिका–५ रातोडाँडामा आज बिहान ११ बजेतिर जिपको ठक्करबाट बाजुराको फैती गाउँपालिका–३ हाल लमही बस्ने सात वर्षीय हेमन्त मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु.१च ८०४१ नम्बरको जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका मल्लको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिए ।

मृतक मल्ल सशस्त्र प्रहरीका हबल्दार धर्मजित मल्लका छोरा हुन् । सिंहका अनुसार चालकले ती बालक कुकुरसँग खेलिरहेको अवस्थामा आफैँ ठोक्किन आउँदा दुर्घटना भएको बयान दिएका छन् ।