झलनाथले भेटे चिनियाँ कम्युनिष्ट पार्टीका नेता

झलनाथले भेटे चिनियाँ कम्युनिष्ट पार्टीका नेता


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । मंगलबार बिहान डल्लुस्थित खनाल निवासमा उक्त पार्टीका विदेश विभागका १ नम्बर ब्युरोको नेपाल–भारत विभागका उपप्रमुख साओ लियाङको नेतृत्वमा पुगेको चिनियाँ प्रतिनिधिमण्डलले भेटघाट गरेको हो ।

खनाालका स्वकीय–सचिव कृष्ण भट्टराईले दिएको जानकारीअनुसार उक्त भेटमा मुलुकमा विकसित पछिल्लो राजनीतिक अवस्था, नेपालको कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धबारे छलफल भएको थियो ।

भेटमा दुई देशका जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा पनि छलफल भएको बताइएको छ । भेटघाटमा चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय विदेश विभागका हु ववेन, यु आ लगायत नेताको सहभागिता रहेको थियो ।

यस्तै, सभामुख कृष्णबहादुर महराले नेपालको विकासमा चीन सरकारले गर्दै आएको सहयोग आगामी दिनमा अझै विस्तार हुने विश्वास व्यक्त गरेका छन् । सभामुख महरासँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत हाउ याङ्छीले सोमबार गरेको शिष्टाचार भेटमा उनले चीनले नेपालको जलविद्युत्, पर्यटन, सडकलगायत भौतिक पूर्वाधारका क्षेत्रमा थुप्रै सहयोग गरिरहेको भन्दै प्रशंसा गरे ।

चीनले शुरु गरेको बेल्ट एण्ड रोड परियोजनाबाट नेपालले धेरै फाइदा लिन सक्ने भन्दै सभामुख महराले उक्त परियोजनामा नेपालका तर्फबाट आफू अर्थमन्त्री हुँदा सहमतिमा हस्ताक्षर गरेको स्मरण गरे ।

चीनको सहयोगमा नेपाल–चीन रेल सेवा चाँडै सम्पन्न हुनेमा आफूहरू विश्वस्त रहेको उल्लेख गर्दै सभामुख महराले केरुङ–रसुवागढी–काठमाडौँ रेलमार्ग चाँडै बन्नेमा आशावादी रहेको पनि बताए ।

भेटमा नेपालका लागि चिनियाँ राजदूत याङछीले ‘वेल्ट एण्ड रोड’ परियोजनामा नेपाल महत्वपूर्ण साझेदार मुलुक भएको भन्दै नेपालले पनि उक्त परियोजनाबाट महत्वपूर्ण उपलब्धि हासिल गर्ने तर्क गरेकी थिइन् ।