मेलमिलापको पर्व थारु माघी

मेलमिलापको पर्व थारु माघी


  • लक्की चौधरी

माघी भूमिपुत्र थारु समुदायको प्रमुख सांस्कृतिक पर्व हो । एकाअपसमा रमाइलो गर्ने, साथी–भाइबीच भातृत्वप्रेम तथा आदरसम्मान गर्न सिकाउने ‘माघी’ थारुको नयाँ वर्ष हो । नयाँ नीति नियम बनाउने, कार्यान्वयन गर्ने, नयाँ प्रतिवद्धता तथा नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने माघीमा थारु समुदायले वर्षभरिको कामको समिक्षा गर्छन् । पश्चिमका थारुले माघी माघे संक्रान्तिकोरुपमा यसलाई मनाउँछन् भने पूर्वका थारुले यसलाई तिला संक्राइतकोरुपमा पनि मनाउँछन् ।

थारु जातिको मौलिकता बोकेको ऐतिहासिक् चाड माघी मेलमिलापको पर्व हो । यसले ‘मेरो हैन हाम्रो’ भावनाको विकास गर्छ । पूर्खाको आशीर्वाद, आफूभन्दा ठूलाको आदर र सानालाई माया गर्ने भावनाको विकास गर्दछ । वर्षभरिको दुःखसुखका कुरा एकापसमा साटासाट गर्ने, मीठो–मसिनो खाएर आत्मसन्तुष्टि लिने काम यसै पर्वमा हुन्छ । विवाह गरी अन्य घरमा गएका चेलीबेटीलाई उपहार दिने र उनीहरुको सुख–दुःखको कुरा माइतीपक्षबाट जानकारी लिने काम पनि हुन्छ । वर्षभरि गरिएको मेहनत र प्रगतिबारे एकापसमा जानकारी लिने र थप योजना बनाएर अघि बढ्ने कामको समिक्षा यसै पर्वमा थारुले गर्छन् ।

नेतृत्व छनोट

माघी पर्व यस अर्थले पनि महत्वपूर्ण छ कि माघे संक्रान्तिका दिन नदी, पोखरी तथा जलासयमा गएर नुहाउँदा वर्षभरिको गलत कामको पाप पखालिन्छ भन्ने जनविश्वास छ । त्यो दिन थारुहरुले सशुल्क स्नान गर्छन् । जलदेवतालाई पैसा चढाएर मात्र जलाशयमा डुबुल्की मार्छन् । कामको सिलसिलामा घरबाहिर गएका थारु सदस्यहरु माघीमा अनिवार्य घर फर्कन्छन् । मिलनको अवसर जुराउने यस पर्वले नयाँ नेतृत्वको छनौट गर्दछ । गाउँको नेतृत्व कसलाई दिने, उसको पारिश्रमिक कति तोक्ने निक्र्यौल हुन्छ । गाउँको नेतृत्वकर्ता (बरघर) गाउँको पूजारी (चिरक्या) र हुलाकीको काम गर्ने (चौकीदार) को व्यवस्था गरिन्छ । उनीहरुको वर्षभरिको पारिश्रमिक र जिम्मेवारी तोकिन्छ । हरेक घरका सदस्यले वर्षभरिको घरको नाफा नोक्सानको समिक्षा गर्छन् । थारुहरु संयुक्त परिवारमा बस्न रुचाउँछन् । घरमा एकजना घरमुलीको व्यवस्था गरेका हुन्छन् । चित्तबुझ्दो भए एक वर्षकालागि घरमुली पुनः नियुक्त गर्छन् । चित्तबुझ्दो नभए अर्को व्यवस्था गर्छन् । घरमुली सकेसम्म घरको जेठो सदस्यले सम्हाल्ने प्रचलन छ । तर जेठोभन्दा सक्षम अन्य सदस्य छन् भने पनि जिम्मेवारी दिइन्छ । घरको अनुशासन कायम घरमुलीले गर्छ भने गाउँको बरघरले गर्छ । गाउँको नीति नियम बनाउने र त्यसको कार्यान्वयन गराउने जिम्मेवारी गाउँभरिका मानिसहरु सामुहिक छलफल गरेर बरघर लगायतका पदाधिकारीलाई सुम्पन्छन् । गाउँको साझा नीति नियम बमोजिम पदाधिकारीले काम गर्नुपर्ने हुन्छ । त्यसो हुन नसके गाउँको व्यवस्थापन र अनुशासन खलबलिन्छ । यसप्रति सबै चनाखो हुन्छन् ।

माघीदेखि थारुहरुको नयाँ खाताको सुरुवात हुन्छ । तिर्नुपर्ने ऋणहरु चुक्ता गर्ने र नयाँ कामको प्रारम्भ गर्छन् । कुलोपानीको उचित व्यवस्थापन गर्न अग्रसर हुन्छन् । थारुहरु बरघर छनौट गर्दा गाउँको सक्षम व्यक्तिको चयन गर्छन् । पुरुष या महिला जो नेतृत्वका लागि सक्षम हुन्छ त्यही नै बरघरको जिम्मेवारी पाउँछ । थारु गाउँमा महिलाहरु बरघर हुने प्रचलन उहिलेदेखिको हो । तर संख्यात्मक रुपमा महिला बरघर भएको निकै कम उदाहरण भेटिन्छ । बरघरको छनौट लोकतान्त्रिक पद्धतिअनुसार गरिन्छ ।

जीता मार्ने चलन

माघेसंक्रान्ति मकरसंक्रान्ति सँगै पर्छ । विशेषगरी माघ १ गते अशुभ र पापजन्य काम नगर्ने हुनाले थारुहरु पुसको अन्तिम दिन नै मासुका लागि सुंगुर–बंगुर काट्ने गर्छन् । जसलाई थारु भाषामा “जीता मार्ने” भनिन्छ । मासुको लागि जीता भरसक गाउँबाटै खोज्ने गरिन्छ । गाउँको भलमन्साको घरमा सामुहिक जम्मा भई मासु काटेर भाग लगाई गाउँका सदस्यहरुलाई वितरण गरिन्छ । मासु खानपाइने हुनाले सो दिन गाउँघरका केटाकेटीहरु निकै फुरुङ्ग हुन्छन् । माघेसंक्रान्तिका दिन गेडागुडीका विशुद्ध चोखो चिजबस्तुहरु घरमा बनाई खाने गरिन्छ । चेलीबेटीलाई माइतमा बोलाई मीठोमसिनो खान दिइन्छ ।

चेलीबेटीलाई उपहार

यस पर्वमा थारुहरु आफ्ना चेलीबेटीलाई गच्छअनुसार उपहार टक्र्याउँछन् । चेलीबेटीका लागि नछुट्याएसम्म घरका सदस्यले केही खाँदैनन् । कुखुरा बासेपछि शुद्ध जलाशयमा गई स्नानगरी घर आएर चेलीबेटीका नाममा नुन, चामल, दाल, नगद आदि खाद्यान्नहरु छुट्याएर मात्र अन्य कामको शुरुवात गर्छन् । त्यसका अतिरिक्त नगद, लत्ताकपडा तथा अन्य सामग्री पनि निसराउको रुपमा चेलीबेटीलाई दिन्छन् । विवाह गरी पराइ घरमा गएका चेलीलाई मात्र सो सामान उपहारस्वरुप दिने गरिन्छ । जसलाई थारुमा ‘निसराउ’ भनिन्छ । माघीको निसराउ नपाए चेलीबेटीहरु आफू माइतबाट उपेक्षित भएको महशुस गर्छन् । उपहारले आफ्ना चेलीबेटीसँगको सम्बन्ध सुधारमा ठूलो महत्व राख्ने थारुहरुको बुझाइ छ ।

माघीमा परिकार

विशेषगरी माघीमा थारुहरु ढिक्री, मुरही, खिचरी, तिलको लड्डु, खँरिया, अण्डीभात, सखरखण्ड, तरुल, माछा, गंगटा, सुंगुरको मासु, जाँड र त्यसको झोल एवं दारु, तिलको लड्डु, भुजा, वयरको चटनीलगायतका परिकार खाने गर्दछन् । माघीमा लामो ढिक्री बनाउने गरिन्छ । कारण, लामो ढिक्री खाँदा आयु पनि लामो हुने विश्वास गरिन्छ । माघेसंक्रान्तिको अघिल्लो दिन रातभरी जाग्राम बसी धुमरुगीत तथा डफुहरु बजाई मनोरञ्जन गर्छन् । थारु गाउँघरमा एउटा उखान छ ‘जाँर ना दारु काहेक् थारु’ (जाँड र दारु नभएको के थारु) । त्यसैले माघी पर्वमा प्रायः सबै घरमा जाँड र दारुको व्यवस्था गरिएको हुन्छ । घरमै उत्पादन गरिएका अन्नका ती जाँडहरु सत्कारस्वरुप पाहुना तथा गाउँघरका सदस्यलाई खान दिइन्छ । काम गर्न र खानमा नहिच्किचाउने थारुहरु परिआएको बेला जस्तोसुकै सहयोग गर्न पनि तयार हुन्छन् ।

साताभरी रमाइलो

पुसको अन्तिम दिनबाट शुरु हुने माघीपर्व करिब एक हप्तासम्म मनाइन्छ । पहिलोदिन माघेसंक्रान्ति, दोस्रोदिन खिचडीभात पकाइखाने ‘खिच्रहुवा’ पर्व, त्यसपछि माघी दिवानी शुरु हुन्छ । त्यसपश्चात् साताभरी नाचगान गरी रमाइलो गरिन्छ । गाउँमा केटाकेटी, उमेरले अधवैसे तथा बुढाबुढीको अलग–अलग समूह बनाई नाचिन्छ । सामुहिक नाचले गर्दा हप्तादिनसम्म गाउँ नै गुञ्जयमान हुन्छ । माघीमा मघौटा, छोक्रा, हुरडंग्वा, झुमरा लगायतको नाच नाचिन्छ । नाचसँगै जाँडको झोल र रक्सी पिउने गरिन्छ । जसलाई थारुमा ‘छाँकी पिउने’ भनिन्छ । नाचेबापत दक्षिणा असुली त्यसलाई विकास निर्माणको काममा लगानी गर्ने गरिन्छ । आजभोलि माघी पर्वको अवसरमा जिल्ला जिल्लामा माघी महोत्सवको आयोजना गरी राजनीतिक तथा सांस्कृतिक सन्देश दिने प्रचलन बढी रहेको छ ।

अभिसापजस्तै विगत

विगतमा माघी थारुका लागि अभिसाप नै सावित हुन्थ्यो । जमिन्दारको घरमा कमैया र कम्लहरी राख्ने प्रचलन माघीबाटै शुरु हुन्थ्यो । एउटा कमैयालाई छारागर्ने र अर्कोलाई पशुजस्तै खरिद विक्री गर्ने गरिन्थ्यो । वि.सं. २०५७ साउन २ गते तत्कालिन सरकारले कमैयालाई मुक्त घोषणा गरेपछि कमैयाप्रथाको अन्त्य भएको थियो । २०७० साउन ३ गते कमलरी मुक्त घोषणा गरेको भएपनि अझसम्म कमलरी राख्ने प्रचलन कायमै छ । न्यून ज्यालामा दासदासीकोरुपमा थारु बालबालिकालाई घरको काममा लगाउने प्रथा कमलरी कमलर प्रथा हो । कानूनी हिसावले कमलर र कमलरी राख्ने दण्डनिय भएपनि त्यसका अन्त्य हुन सकेको छैन ।

रुपान्तरण आवश्यक

थारु समुदायमा जाँड र दारु नभए पाहुनाको सत्कार हुँदैन भन्ने गलत बुझाई छ । जुन अहिलेको सन्दर्भमा उपयुक्त छैन । इष्टमित्र तथा पाहुनालाई सत्कार गर्ने, स्वागत गर्ने अन्य तमाम विकल्प छँदाछँदै पनि परम्परागत रुपमै चल्नु सांस्कृतिक विकृति हो । थारुको देवताले पनि जाँड र दारु खान्छन् भन्ने जनविश्वासलाई हटाई त्यसलाई अहिलेको यु्ग सुहाउँदो पद्धतिको विकास गरिनुपर्छ । संयुक्त परिवारमा बस्ने थारुहरु भाइ–भाइ छुट्टिनु प¥यो भने माघ महिनालाई नै गन्तव्य बनाउँछन् । जसले माघी पर्वको महत्वमाथि नै प्रश्नचिन्ह लगाइदिन्छ । थारु अभिभावकले आफ्ना छोराछोरीलाई विद्यालय पठाउन छाडेर दासदासी जीवन जिउन कमलरीको काममा लगाउनु हुँदैन । यसको सुधार आफैबाट गरिनुपर्छ ।

विगतदेखि माघी पर्वमा धुमरु गीत गाउने, दफु बजाउने र रातभर जाग्राम बस्ने चलन थियो । तर अहिलेका युवा पुस्ताले धुमरुगीत र दफुको महत्व विर्सन थालेका छन् । विहान स्नान गर्नजाँदा क्यासेट र लाउडस्पिकर घन्काएर जान्छन् । जुन पर्वको नाममा विकृति हो । थारु पूर्खाहरुले कायम राखेको मौलिकता र पर्वको गरिमालाई जोगाइराख्न सांस्कृतिक पुस्तान्तरणको खाँचो छ । युवापुस्ताहरु त्यसमा चनाखो हुने र पूर्खाहरुले आफूसँग भएको सांस्कृतिक ज्ञान र सीपलाई हस्तान्तरण गर्नेतर्फ सचेत्ता अपनाउन जरुरी छ ।