आज चौथो राष्ट्रिय योग दिवस मनाइँदै

आज चौथो राष्ट्रिय योग दिवस मनाइँदै


चौथो राष्ट्रिय योग दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको योग दिवसको नारा ‘शान्ति र समृद्धिका लागि योग’ तय गरेको छ ।

चौथो योग दिवस मनाउन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा योगका क्षेत्रमा काम गर्ने १०० भन्दा बढी संस्थाका प्रतिनिधि सदस्य रहेको मूल समारोह समिति गठन गरिएको छ । शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।

माघ १ देखि ७ गतेसम्म सप्ताहव्यापी रूपमा कार्यक्रम गरी योग दिवस मनाइने जनाइएको छ । माघ १ गते बिहान शान्तिवाटिकाबाट प्रभातफेरी गरिने र माघ ७ गते समापनका दिन कार्यपत्रको प्रस्तुतिसहित कार्यशाला गोष्ठी गरिने जनाइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा ‘योग सबैका लागि सधैँका लागि’ आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गर्नुभयो । जसलाई युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए ।

सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको जनाइएको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाउन थालिएको हो ।

माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरूले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गर्न तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए ।

दिवसका अवसरमा योगसँग सम्बन्धित विभिन्न संस्थाले विविध कार्यक्रम गरी मनाइने मन्त्रालयले जनाएको छ । यस वर्ष ७७ जिल्ला समन्वय समिति र ७५३ स्थानीय तहलाई पनि विशेष कार्यक्रम गरी योग दिवस मनाउन मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्राचार गरेको छ ।

व्यक्तिभित्रको सम्भावना उजागर गर्न सहयोग पुऱ्याउने साधनाका रूपमा योगलाई आत्मसात गर्न जागरण फैल्याउने उद्देश्यले योग दिवस मनाउन थालिएको हो ।

नेपाल संस्कृत विश्वविद्यालय योग विभागका प्रमुख डा. हरिप्रसाद पोखरेलले नेपाललाई विश्वमै योग पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने बताउनुहुन्छ । ‘नेपालको हिमवत्खण्ड र मानस खण्डको बीचमा योगको विकास भएको हो, नेपालमा बर्षेनी हजारौँ विदेशी योग सिक्नकै लागि नेपाल आउँछन्, काठमाडौँमा ५० वटा योग केन्द्रले विदेशीलाई मात्र योग सिकाएर बसेका छन्,’ उहाँले भन्नुभयो ।

नेपाल महर्षि वैदिक फाउण्डेशनले देशभरका ७५ गुरुकुल र एक दर्जनभन्दा बढी सामुदायिक एवं संस्थागत विद्यालयमा ध्यान साधनासहितको कार्यक्रम शुरु गरेको छ ।

गुरुकुलमा विश्व शान्तिको सङ्कल्पले वैदिक रुद्राभिषेक र विद्यालयमा चेतनामा आधारित शिक्षा लागू गरेको जनाएको छ । थप गुरुकुल र विद्यालयमा पनि यो कायक्रम लागू गर्ने तयारी गरिएको फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले जानकारी दिनुभयो ।

पतञ्जलि योग पीठले ७७ वटै जिल्लामा शाखा खोलेर ४० हजार योग शिक्षकमार्फत योगको पुनर्जागरण शुरु गरेको जनाएको छ । नेपालीले योग गरेर निरोग भए विदेशिने अर्बौँ डलर स्वास्थ्यका नाममा जानबाट रोकिने विश्वास लिइएको छ । योग प्रशिक्षक निर्यात गर्नसके श्रमका लागि विदेशिएकाले भन्दा राम्रो र इज्जतको रोजगारी अवसर पाउने सम्भावना छ ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले देशका ७२ जिल्लामा राजयोग र ध्यान सिकाउने अभियान शुरु गरेको जनाएको छ ।

यसैगरी पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रलाई योग ध्यान साधनास्थलका रूपमा विकास गर्ने तयारी शुरु गरेको छ ।

पशुपति मन्दिरको दक्षिण मूल ढोकाअघिको पञ्चदेवलमा महात्मा सुशीलले पाशुपत योग प्रशिक्षण शुरु गर्नुभएको छ । कोषको सहयोगमा शुरु भएको यो कार्यक्रम देशभर विस्तार गरिने उहाँले जानकारी दिनुभयो ।

rss