आईएम सरी श्रेया





  • बबिता बस्नेत

पूर्वअधिराजकुमार धीरेन्द्र शाहबारे पञ्चायतकालमै पनि विभिन्न समाचारहरू आउने गर्थे । राजपरिवारका सदस्यहरू संविधानभन्दा माथि रहेका बेला राजा वीरेन्द्रका कान्छा भाइ धीरेन्द्रले विदेशी प्रेमिकाका लागि श्री ५ अधिराजकुमारको पदवी छोडेको घटना सानो थिएन । प्रेमिकाका लागि उनले पत्नी प्रेक्षा, तीन छोरी र दरबारको मान, शान सबै छोडिदिएका थिए । यो ०४६ सालको प्रजातन्त्र आउनु ठीक अघिको कुरा हो ।

त्यसो त, पूर्वअधिराजकुमार धीरेन्द्रबारे चर्चा हुने अरू पनि कुरा थिए, तर पारिवारिक जीवनको कुरा गर्दा उनीसँगै जोडिएर आउने गरेको अर्को नाम थियो, जया पाण्डे शाह । जया र धीरेन्द्रबाट एक छोरीको जन्म भएको त्यतिबेलै सुनिएको थियो । यस अर्थमा विदेशमा रहेकी प्रेमिकासँगको विवाह धीरेन्द्रको तेस्रो थियो भनेर बुझ्न सकिन्थ्यो । धीरेन्द्रबारे गुगल सर्च गर्नेहरूले अहिले पनि पढ्ने यही कुरा हो, ‘सन् १९५० मा जन्मिएका धीरेन्द्र श्री ५ महेन्द्रका कान्छा छोरा हुन् । उनलाई जन्म दिँदा उनकी आमा इन्द्रराज्यलक्ष्मीको निधन भएको थियो । उनकी पहिली पत्नी प्रेक्षाबाट तीन छोरी छन् । दोस्री पत्नी जया पाण्डेसँग अप्रिल २२, १९८६ मा दक्षिणकालीमा उनको विवाह भयो । जया र धीरेन्द्रबाट सन् १९८८ जुन १६ मा एक छोरी जन्मिइन् जसको नाम श्रेया शाह हो । क्यानडामा जन्मिएकी ब्रिटिस नागरिक सिरले ग्रेनीसँग तेस्रो विवाह भयो, सिरलेबाट सन् १९९३, जुलाई २२ मा एक छोरी जन्मिइन्, जसको नाम उहाना लैला शाह हो । आफ्नी बैनी प्रेक्षालाई छोडेर अर्को विवाह गरेपछि रानी ऐश्वर्यले उनलाई श्री ५ को पदवीबाट मुक्त गरिदिएकी थिइन् ।’

०७५ साल वैशाखको पहिलो हप्ता एक मित्रले फोनमा श्रेयाको नागरिकता प्रसङ्गबारे जानकारी दिँदै एकपल्ट जया र श्रेयालाई भेटिदिन आग्रह गरिन् । एउटा पत्रकारका लागि समाजमा लुकेका धेरै कुरा समाचार हुन् । तर, समाचारका लागि नभएर के रहेछ त, केही गर्न सकिन्छ कि भन्ने लागेर भेट्नका लागि समय मिलाएँ । श्रेयालाई देख्नासाथ पूर्वअधिराजकुमार धीरेन्द्रको झझल्को आयो । मुहार हुबहु, बोलीमा शालीनता, बोल्ने शैली उस्तै । ०५७ मा पूर्वअधिराजकुमारसँग मेरो दुईपटक भेटघाट र कुराकानी भएको थियो । अधिराजकुमारी शारदा राज्यलक्ष्मीदेवी शाह र कुमार खड्गविक्रमको घरमा भएको पछिल्लो भेटमा देवप्रकाश त्रिपाठीजी र यो पङ्क्तिकारले लिएको अन्तर्वार्ता ०५७ जेठ १८ गते प्रकाशित भएपछि उक्त अन्तर्वार्ताले निकै चर्चा पाएको थियो । अनौपचारिक कुराकानी र अन्तर्वार्ताका क्रममा उहाँको बोल्ने शैली जस्तो थियो श्रेयाको पनि उस्तै थियो । श्रेयाकी आमा जया शाहबारे पहिल्यैदेखि सुनेको भए पनि मैले पहिलोपल्ट भेटेकी थिएँ । आफ्नो सन्तानलाई नागरिकता दिलाउन नसक्दाको पीडा त थियो नै, साथमा छोरीलाई लिएर नागरिकता बनाउन जाँदा वडाध्यक्षका वचनले मनमा लागेको चोट र अपमानको पराकाष्टा सहिनसक्नु भएर घरी–घरी आँखामा झल्किन्थ्यो ।

पत्रकारितामा आएपछि वडासदस्यदेखि सांसद, मन्त्री, प्रधानमन्त्री हुँदै पहिला राजा र अहिले राष्ट्रपतिसँगसम्म कुराकानी गरियो । तर, त्यसप्रकारको भाषा मलाई कसैले पनि प्रयोग गरेको थिएन ।

कुरा गर्दै जाँदा थाहा भयो– छोरी सानै हुँदा जया उनलाई लिएर अमेरिका गएकी रहिछिन् । अमेरिका जानुअघि लन्डनमा धीरेन्द्रकी अर्की पत्नीसँग पनि उनीहरूको भेटघाट र कुराकानी भएको रहेछ । आमा–छोरी धीरेन्द्रसँग निरन्तर सम्पर्कमा रहेछन् । छोरीको टिनएज शुरु भयो, अब काठमाडौंमै बस्ने भनेर ०५९ मा धीरेन्द्रले सबै व्यवस्था मिलाएर बोलाएपछि जयाले अमेरिकाको घर, सामान सबै बेचेर कुकुरसमेत अरूको जिम्मा दिएकै रात दरबार हत्या काण्डमा धीरेन्द्रको ज्यान गएको रहेछ । घटनापछि उनीहरू उतै रहे । नेपाल जाने भनेर श्रेयाको स्कुल छुटाइएको थियो, फेरि सबै कुराको व्यवस्थापन गर्नुपऱ्यो । पछि अमेरिकामा जयाको नागरिकता बन्दै गर्दा श्रेयाले आफूचाहिँ नेपाली नागरिकनै रहने बताएर अमेरिकी नागरिक बन्न इन्कार गरेकी रहिछिन् ।

दरबार हत्या काण्डपछि काठमाडौंबाट जया र धीरेन्द्रको परिवार दुवैसँग परिचित एक टाढाका नातेदारले फोन गरेर ‘अब दरबारको सम्पत्ति सरकारले लेला जस्तो छ, श्रेयाको नाममा पनि सम्पत्ति राख्दा राम्रो हुन्छ, सम्पत्ति पाउनका लागि मुद्दा हाल्नुपर्ने हुन्छ, हामीलाई अख्तियारी दिनू, हामी मुद्दा हाल्छौँ त्यसो गर्दा सम्पत्ति जोगिन्छ’ भनेछन् । यो सोच कसको हो ? भनेर जयाले सोध्दा धीरेन्द्र सरकारका छोरीहरूको भन्ने जवाफ पाएपछि उनले यतैबाट लेखेर पठाएको अख्तियारी पत्रमा हस्ताक्षर गरिछिन् । जयाले भनिन्, ‘छोरीहरूले आफ्नी बैनीलाई एसेप्ट गरे भन्ने खुसीले मलाई त्यतिबेला धेरैबेरसम्म आँसु आयो । तिनै व्यक्तिले वकिलका लागि भनेर पटकपटक पैसा मागे, मैले पठाएँ, मेरो आमासँग पनि पैसा लगेछन् । पछि श्रेयाले मुद्दा हारिन् भने । श्रेयाले बाबुको सम्पत्तिमा दाबी नगरोस् भनेर सुनियोजित रूपले त्यस्तो गरिएको रहेछ, तर त्यो कुरा बुझ्न मलाई धेरै समय लाग्यो ।’

कागजपत्रहरू हेरेँ, श्रेया जन्मिएको अस्पतालको कागजमा बाबु धीरेन्द्र शाह लेखिएको थियो । उनको प्राथमिक स्कुलमा पनि बाबुको नाम थियो । पास्नीमा धीरेन्द्रले छोरी बोकिरहेको फोटो तथा जया र धीरेन्द्रका थुप्रै फोटो थिए । प्रमाणको खाँचो थिएन । सबै कुरा सुनेर प्रमाणहरू हेरेपछि श्रेयाले नागरिकता नपाउने भन्ने कुरै थिएन । आमाकै पासपोर्टमा नाबालकका रूपमा अमेरिका पुगेकी श्रेयाले कतै यात्रा गर्ने क्रममा आफ्नै पासपार्ट बनाउन न्युयोर्कस्थित नेपाल मिसन पुगेपछि पासपोर्ट बनाउन नागरिकता चाहिने थाहा पाएकी रहिछिन् । त्यसपछि नागरिकता र पासपोर्ट बनाएर फर्किनलाई १५ दिनको समय लिई आमाछोरी ०७४ असोजमा नेपाल आएका रहेछन् ।

चिनजानका मान्छे वरपर थिए नै, लौन सरकारसम्म यो कुरा पुऱ्याइदिनुपऱ्यो भनेर अनुरोध गरेँ । ‘सरकारले अहिले यो विषयमा मौन नै रहने सोच लिइबक्सेको छ ।’ सुनेर दुःख लाग्यो, उहाँको मौनताले आफ्नै भाइकी छोरीको जिन्दगीमाथि अँध्यारो छरिरहेको थियो ।

नयाँ नियमअनुसार नागरिकताका लागि उनीहरू काठमाडौं महानगरपालिका–३ पुगे जुन धीरेन्द्रको बसोवासी वडा थियो । त्यहाँ वडाध्यक्ष दीपक केसीले नागरिकता बनाउन नमिल्ने मात्रै बताएनन्, जयालाई सन्तानको नागरिकताका लागि बाउ लिएर आउनुपर्ने भन्दै अपमानपूर्ण व्यवहार गरेछन् । त्यसपछि के गर्न सकिन्छ भनेर विभिन्न सङ्घसंस्था, आफ्ना चिनजानका मानिस, वकिल जता गए पनि नागरिकता दिने काम वडाध्यक्षकै हातमा रहेको जवाफ प्राप्त गर्दा ७ महिना बितिसकेको रहेछ । श्रेया फरर नेपाली बोल्न सक्दिनथिन्, तर जति बोलिन्, मन गह्रौँ बनाएर बोलिन् । १५ दिनमा फर्कन्छु भनेर आएको, म नेपाली नागरिक, मैले किन नागरिकता नपाउने ? उनको जवाफमा मैले पाइन्छ, अलि समय लाग्न सक्छ भने ।

जया र श्रेयाको कुरा सुनेपछि मलाई यो त समाचार हो जस्तो लाग्यो । मुलुक प्रगतिशील बाटोमा गएको भनिएको छ, केही मानिसहरू आफ्नो नागरिकतासहित जमानी बसेपछि नागरिकताको निर्णय गर्ने अधिकार स्थानीय निकायलाई दिइएको छ । छिमेकी मुलुकका नागरिक रातारात नेपाली भएका समाचारहरू आइरहेका छन् । कुनै बेला यो देशका जल्दाबल्दा अधिराजकुमारकी छोरी नेपालको नागरिक हुनका लागि महिनौँदेखि भौँतारिइरहेकी छिन् । निश्चय नै यो समाचार थियो ।

०७५ साल वैशाख ५ गतेको घटना र विचारमा ‘अधिराजकुमार धीरेन्द्रपुत्री भन्छिन्– नेपाली बन्न खोज्दा धेरै दुःख पाइयो’ शीर्षकको समाचार प्रकाशित भएपछि अखबारको कार्यालय र घटना र विचार टिमलाई उठाउनै नभ्याउने गरी फोनहरू आए । समाचार पढ्नेहरूले श्रेयाले तत्काल नागरिकता पाउनुपर्ने प्रतिक्रियाले अनलाइनमा राम्रै ठाउँ लियो । समाचारको उद्देश्य जानकारी दिनुभन्दा बढी उनलाई नागरिकता दिलाउनु थियो । चिनेका धेरै उच्चपदस्थ व्यक्तिहरूलाई इनबक्समा लिङ्क पठाएँ । सोसियल मिडियामा नभएकाहरूलाई फोन गरेर ‘आज अखबारमा यस्तो समाचार छ पढ्नु है त्यो केटीले नागरिकता पाउनुपर्छ, सबैले कोसिस गरौँ’ भने । पत्रकारिता गरेको २८ वर्षको अवधिमा आफ्नो अखबारमा यस्तो समाचार छापिएको छ पढ्नु है भन्दै हिँडेको पहिलोपटक थियो । नत्र धेरैले पढिदिए हुन्थ्यो भन्ने चाहना भए पनि मेरो समाचार पढ्नुस्, लेख पढ्नुस् भन्दै हिँड्ने कुरा होइन ।

सोही हप्ता जया अमेरिका फर्किइन् । प्रक्रियाबाटै जानु राम्रो भन्ने ठानेर सबैभन्दा पहिला वडाध्यक्ष दीपक केसीलाई फोन गरेँ । उनलाई नागरिकताको सिफारिस गर्न किन नमिलेको रहेछ भनेर बुझ्नका लागि परिचयसहित श्रेयाको नाम मात्र के लिएकी थिएँ उनले ‘छोरीले बाउ खोज्नुभन्दा पहिले आमाले पोइ खोज्नु पऱ्यो । नेपालको कानुन यहाँहरूले पनि पढ्नुपऱ्यो, लोग्ने नभई मैले कसरी नागरिकता दिने ?’ भने । पत्रकारितामा आएपछि वडासदस्यदेखि सांसद, मन्त्री, प्रधानमन्त्री हुँदै पहिला राजा र अहिले राष्ट्रपतिसँगसम्म कुराकानी गरियो । तर, त्यसप्रकारको भाषा मलाई कसैले पनि प्रयोग गरेको थिएन । उनको जवाफपछि म कड्किएर ‘माइन्ड योर ल्याङ्ग्वेज’ भने जुन कुरा एउटा पत्रकारका रूपमा भन्न मिल्दैनथ्यो, उनका कुरा चुपचाप सुनेर जस्ताको तस्तै लेख्नुपर्थ्यो ।

०७५ वैशाख ११ गते वडाध्यक्षसँग कुरा गरेपछि वैशाख १२ को घटना र विचारमा ‘धीरेन्द्रलाई अगाडि उभ्याए मात्रै छोरीले नागरिकता पाउने, वडाध्यक्षले दिए सुन्नै नसकिने जवाफ’ शीर्षकमा समाचार छापियो । फोटोसहित छापिएको उक्त समाचारलाई लिएर वडाध्यक्ष दीपक केसीले भोलिपल्ट फोन गरे र अखबारको कार्यालयमा भेट्न आए । धीरेन्द्रका परिवारसँग नजिक रहेछन्, विगतको अदालतको कागजपत्र साथमै लिएर आए । के–कति कारणले सिफारिस गर्न मिल्दैन भन्ने उनको लामो फेहरिस्त सुनेपछि देवप्रकाशजीले के–कति कारणले दिन मिल्छ एकपल्ट त्यो कोणबाट पनि हेरिदिनुस् न भन्नुभयो । राजपरिवारले नभनुन्जेल कुनै हालतमा नागरिकताको सिफारिस गर्न नसक्ने उनले बताएपछि वार्ता त्यहीँ टुङ्गियो । हिँड्ने बेलामा उनले मलाई हेर्दै भने, ‘हजुरको च्वाइसचाहिँ राम्रो रै’छ, समाचारमा भिलेन बनाए पनि मेरो सबैभन्दा राम्रो फोटो छापिदिस्येछ ।’

एक उच्च ओहोदामा रहेका राजनीतिकर्मीलाई त मैले भनेँ पनि– राजा फाल्न, राजसंस्था फाल्न तपाईंहरूलाई अप्ठ्यारो लागेन, अदालतमार्फत नै सही आफ्ना बाबुले छोरीलाई दिएको राजकुमारी प्रेरणाको दाइजो खोस्दा तपाईंहरूलाई अन्यायपूर्ण लागेन, एउटी बच्चीलाई नागरिकता दिन अप्ठ्यारो पऱ्यो है…।

विश्वमानचित्रमा जहाँ बसे पनि नेपाली भएर बाँच्ने अठोटले आएकी एउटी युवतीमाथि राज्यमा बस्नेहरूले गरेको अन्यायले मन भारी भयो । सीडीओ कार्यालय जाँदा वडाबाट सिफारिस ल्याऊ भन्ने, वडामा जाँदा त्यस्तो जवाफ पाइने, अब कहाँ जाने ? हप्ताभरि सांसद, मन्त्री, पूर्वमन्त्रीहरू, अधिकारवादी, वकिल धेरैलाई फोन गरेँ, सबैले सहानुभूति देखाए, तर अन्ततः स्थानीय तह नै महत्वपूर्ण रहेको बताए । टेलिफोन पनि कति गरिएछ भने एक दिन बिहान एउटा फोन राखिसकेपछि आमाले भन्नु भो, ‘कति दुःख गरिरा’को, रवि लामिछानेकहाँ लिएर जाऊ न, चिनेकै होला, एउटा नागरिकता नै त हो, उनले गरेपछि भइहाल्छ नि ।’ रविप्रति आमाको विश्वास देखेर छक्क परेँ, मेरी आमाको विश्वास भनेको सर्वसाधारणको विश्वास थियो । पछि श्रेयाको बारेमा रवि आफैँले स्टोरी गरे ।

वडाध्यक्ष कुनै हालतमा सिफारिस नगर्न प्रतिबद्ध भएपछि मैले काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीसँग कुरा गरेँ । स्थानीय तहमा न्यायिक अधिकार उपमेयरलाई दिएको हुनाले पनि आशा गर्ने ठाउँ प्रसस्त थियो । समय मिलाएर भेट्न गयौँ । बाटोमा श्रेयालाई उपमेयरसँग आफ्नो पुरानो चिनजान भएकाले त्यति अप्ठ्यारो नहोला भने । फोनमा ब्रिफिङ गर्दा उनले आफूले अखबार पढिसकेको र धीरेन्द्र–जयाको सम्बन्धबारे आफू पहिल्यैदेखि बेखबर नरहेको बताएपछि विश्वास झन् बढेको थियो । जयाकी साथी नीता पनि साथमा थिइन् । उपमेयरले हार्दिकतापूर्वक स्वागत गरिन् । उनले आफ्ना सहयोगीहरू पनि राखिन् र भनिन्, ‘धेरै बुझियो, के गर्न सकिन्छ भनेर डकुमेन्टहरू पनि अध्ययन गरेँ । तर, नागरिकताको सिफारिसको अधिकार वडालाई मात्र दिइएको छ, न्यायिक समितिले यसमा केही गर्न नसकिने रहेछ, यसो भन्नुपर्दा मलाई दुःख लागेको छ ।’ केहीबेरको कुराकानीपछि हामी बाहिर निस्कियौँ ।

कम्पाउण्डमा श्रेयाले आँखाबाट तररर आँसु झरेपछि चस्मा लगाएको दृश्य म जिन्दगीमा कहिल्यै बिर्सन सक्दिनँ । त्यस रात म एक झप्को पनि निदाउन सकिनँ । मनमा अनेक तर्कना खेले, आफ्ना बाबु राजपरिवारको भएका कारणले त्यो युवा उमेरमा एउटा नागरिकताका लागि भौँतारिँदै हिँड्दा श्रेयाको मानसिकतामा कस्तो असर परेको होला ? सात महिना भइसक्यो, नागरिकता नभई पासपोर्ट बन्दैन, पासपोर्ट नभई यात्रा गर्न मिल्दैन । यहीँ बसेर केही गरूँ न त भनुँ भने एउटा मोबाइलको सिमकार्ड लिनसमेत नागरिकता चाहिन्छ । अमेरिकाको हुर्काइ र यहाँको भुक्तमानबीच अलिकति पनि तालमेल थिएन । खानादेखि बोलीचालीसम्म नमिली–नमिली सात महिना बिते, अब उनी कसरी अमेरिका जान्छिन् ? उनले भनेको सम्झिएँ– ड्याडको डीएनए सुरक्षित छ भनेको सुनेकी छु, डीएनए टेस्ट गर्न पाए त हुन्थ्यो नि । त्यसका लागि के गर्नुपर्छ उनलाई थाहा थिएन । बुझ्दा डीएनएका लागि अदालतले आदेश दिनुपर्ने र हाम्रा अदालतहरूको कामकारबाही हेर्दा वर्षौँ वर्ष लाग्न सक्ने देखियो ।

राजपरिवारले नै यो हाम्रो सन्तान हो भनिदिए तुरुन्तै नागरिकता मिल्न सक्थ्यो । राजा ज्ञानेन्द्रबाटै यिनी मेरो भाइकी छोरी हुन्, भाइको देहावसान भइसकेको अवस्थामा म नै यिनको अभिभावक हुँ भनेर नागरिकताका लागि पहल गरिदिए हुन्थ्यो नि जस्तो लाग्यो । हिमानीले आफ्ना पनि छोरी छन्, भोलि के हो के हो यो बच्चालाई नागरिकता दिलाइदिऊँ भनेर परिवारलाई कन्भिन्स गरे पनि त हुन्थ्यो नि भन्ने कुराले पनि मनमा त्यत्तिकै ठाउँ लियो । चिनजानका मान्छे वरपर थिए नै, लौन सरकारसम्म यो कुरा पुऱ्याइदिनुपऱ्यो भनेर अनुरोध गरेँ । ‘सरकारले अहिले यो विषयमा मौन नै रहने सोच लिइबक्सेको छ ।’ सुनेर दुःख लाग्यो, उहाँको मौनताले आफ्नै भाइकी छोरीको जिन्दगीमाथि अँध्यारो छरिरहेको थियो ।

हाम्रा धेरै नीति, नियम र कानुनहरू के गर्दा बाटो फुकाउन सकिन्छ भन्दा बढी के गर्दा गाँठो पार्न सकिन्छ भन्ने मान्यताबाट निर्देशित भएर अभ्यासमा छन् ।

यहाँ नाम उल्लेख नगरेका धेरै उच्चपदस्थहरूलाई गुहार्दा परिणाम शून्य निस्कियो । धेरैले भने– दरबारको मामिला भएर अप्ठ्यारो पऱ्यो …एक उच्च ओहोदामा रहेका राजनीतिकर्मीलाई त मैले भनेँ पनि– राजा फाल्न, राजसंस्था फाल्न तपाईंहरूलाई अप्ठ्यारो लागेन, अदालतमार्फत नै सही आफ्ना बाबुले छोरीलाई दिएको राजकुमारी प्रेरणाको दाइजो खोस्दा तपाईंहरूलाई अन्यायपूर्ण लागेन, एउटी बच्चीलाई नागरिकता दिन अप्ठ्यारो पऱ्यो है…।

निराश श्रेयाको अनुहार हेर्दा उनले कुनै अप्रिय निर्णय गर्ने हुन् कि भन्ने पनि लाग्थ्यो । उपमेयरलाई भेटेकै दिन श्रेयाले सोधिन्– इफ आएम नट अ ड्याड डटर, फेरि पनि नागरिकता बनाउन यस्तै अप्ठ्यारो हुन्थ्यो ? ‘यस्तो हुँदैनथ्यो’ मैले लामो जवाफ दिन आवश्यक ठानिनँ । बाबु को हो थाहै नभएका र बाबु साथमा नभएका धेरैको नागरिकता बनेको थियो, बन्नु पनि पर्छ ।

एक वर्ष पहल गर्दा पनि नागरिकता नबनेपछि अमेरिकन राजदूतावासले बनाइदिएको ट्राभल डकुमेन्टका आधारमा उनी अमेरिका फर्किएकी छिन् । साथमा पासपोर्ट नभएपछि उनले यात्रा गर्न पाउने छैनन् । श्रेयाको नागरिकताको यो असफल लडाइँमा मैले हाम्रो देशमा कुनै संवेदना नभएका मानिसहरूको कति ठूलो जमात रहेछ भनी अनुभव गर्ने मौका पाएँ । यसअघि आफ्ना नागरिकप्रति राज्य र राज्यमा बस्ने मानिस यति कठोर छन् भन्ने सोचेकै थिइनँ । खास आफ्नोबाहेक यहाँ मानिसलाई अरूको बारेमा वास्तै नहुँदो रहेछ । जबसम्म आफ्नो परिवारमा यसप्रकारका अन्यायपूर्ण घटना हुँदैनन्, तबसम्म मानिसहरूले महसुस गरेको देखिनँ । हाम्रा धेरै नीति, नियम र कानुनहरू के गर्दा बाटो फुकाउन सकिन्छ भन्दा बढी के गर्दा गाँठो पार्न सकिन्छ भन्ने मान्यताबाट निर्देशित भएर अभ्यासमा छन् ।

एक वर्षसम्मको नागरिकताको लडाइँमा असफल भएर श्रेया अमेरिका जानुलाई मैले आफ्नो पनि असफलता ठानेकी छु । एउटी नेपाली छोरी आफ्नो देशको नागरिक हुनबाट वञ्चित हुँदा टुलुटुलु हेरेर बस्ने, कलिलो युवा मानसिकतामाथि प्रहार हुँदा बचाउन नसक्नेले न्यायको कुरा गर्न सुहाउँछ ? यो प्रश्नले पटकपटक मेरो आत्मसम्मानमाथि प्रहार गर्ने गरेको छ । जनताका लागि सबैभन्दा उन्नत भनिएको राजनीतिक व्यवस्थामा एउटा नागरिक अनागरिक बनिरहँदा मैले केही गर्न सकिनँ, आईएम सरी श्रेया !

प्रतिक्रिया