महासमिति बैठकपछि कांग्रेस थप मजबुत : निधि

महासमिति बैठकपछि कांग्रेस थप मजबुत : निधि


नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको गुटउपगुट अन्त्य भएको बताएका छन् । नेपाल प्रेस युनियन दैलेखको चौथो जिल्ला अधिवेशनको सोमबार दुल्लुमा उदघाटन गर्दै उपसभापति निधिले भने, ‘ऐतिहासिक महासमिति बैठकपछि गुटउपगुट अन्त्य भई पार्टी थप मजबुत बनेको छ ।’

उपसभापति निधिले महासमिति बैठकबाट एकताको सन्देशसहित विश्वमै उत्कृष्ट र समावेशी विधान बनाउन सफल भएको उल्लेख गर्दै अब कांग्रेसभित्रको टिके प्रथा अन्त्य हुने बताए । वर्तमान सरकारले संघीयतालाई खतरामा पार्ने गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै उनले संघीय प्रणाली नेपाली कांगे्रसको एजेन्डा भएको बताए ।

नेता निधिले मुलुकमा भइरहेको हत्या, हिंसा, बलात्कार र अपराधलाई नियन्त्रण गर्न सरकार उदासीन रहेको उल्लेख गर्दै लोकतन्त्र दरिलो भए मात्रै प्रेस जगत् स्वतन्त्र हुने बताए ।

समृद्ध मुलुक निर्माणमा प्रेसको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै उनले लोकतन्त्रको पर्यायवाची प्रेस जगत् भएको धारणा व्यक्त गरे । नेता निधिले प्रेस स्वतन्त्रता खोस्ने काम कहीँकतैबाट हुनुहुँदैन भन्दै प्रेसमाथि सुनियोजित ढंगबाट आक्रमण भइरहेकोमा दुःख व्यक्त गरे ।

नेपाल प्रेस युनियनका जिल्ला सभापति भूपेन्द्र शाहीको अध्यक्षतामा भएको कार्यक्रममा युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, कर्णाली प्रदेश सभा सदस्य हिमबहादुर शाही, कांग्र्रेस दैलेखका सभापति कृष्णकुमार विसी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष चक्र केसी, नेपाल महिला संघका जिल्ला अध्यक्ष सीता रानालगायतले मुलुकको विकास र समृद्धिका लागि प्रेसको भूमिकाका विविध पक्षमाथि प्रकाश पारे ।